बाङ्ग्लादेशमा तारिक रहमानको दल बीएनपी जिततर्फ

बाङ्ग्लादेशमा तारिक रहमानको दल बीएनपी जिततर्फ

bbc.com . २ घण्टा अघि

बाङ्ग्लादेशमा हालसम्मको मतगणनाले बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टी (बीएनपी) विजयतर्फ अगाडि बढेको र इस्लामिक दल जमात-ए-इस्लामी दोस्रो स्थानमा रहने देखाएको छ।

प्रक्षेपणहरू अनुसार यदि बीएनपीले जितेमा पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान प्रधानमन्त्री बन्ने अपेक्षा गरिएको छ।

सञ्चारमाध्यमका प्रक्षेपणहरूमा मध्य-दक्षिणपन्थी बीएनपीले चुनावमा भारी जित हासिल गर्ने सङ्केत देखिएको हो।

मतगणना अझै जारी छ र अन्तिम परिणाम आइपुग्न शुक्रवार अबेर हुने अपेक्षा गरिएको छ। तर बीएनपीका वरिष्ठ नेता रुहुल कबीर रिजवीले "ठूलो जित" भएको दाबी गरेका छन्।

निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार बीएनपीले ८२ स्थानमा जित हासिल गरेको छ भने जमात गठबन्धनले २८ सीट र अन्यले ३ सीट जितेका छन्।

३०० सदस्यीय संसदमा चुनाव जित्नका लागि १५१ सीट आवश्यक पर्छ।

बाङ्ग्लादेशमा 'चुनावपछि प्रधानमन्त्री बन्न सक्ने' तारिक रहमान १७ वर्षपछि देश फिर्ता

बाङ्ग्लादेशमा शेख हसिना सत्ताच्युत भएपछिको पहिलो आमनिर्वाचनमा मतदान

स्थानीय प्रसारकहरूले बीएनपीले संसदका करिब दुई तिहाइ सिट जित्न सक्ने अनुमान गरिरहेका छन्।

विद्यार्थी नेतृत्वको विद्रोहले अठार महिनाअघि प्रधानमन्त्री शेख हसिनालाई नाटकीय रूपमा पदबाट हटाएपछि बाङ्ग्लादेशमा बिहीवार पहिलो पटक आमनिर्वाचन भएको हो।

हसिनाको अवामी लीग पार्टीलाई भने चुनाव लड्न प्रतिबन्ध लगाइएको थियो।

जनमतसङ्ग्रहतर्फ के छ अवस्था

बीबीसी बाङ्ग्लाका अनुसार जनमतसङ्ग्रहतर्फ हालसम्मको नतिजाले ७० प्रतिशतभन्दा बढी मतदाताहरूले 'जुलाई बडापत्र' अपनाउने पक्षमा समर्थन गरेको देखाएको छ।

जुलाई बडापत्रमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वको अन्तरिम सरकारले सुझाएको ८४ वटा सुधारका प्रस्ताव समावेश छ जसले बाङ्ग्लादेशमा कसरी शासन गरिने छ भन्ने ढाँचा प्रस्तुत गर्छ।

पूर्ण रूपमा बिथोलिएको राजनीतिक प्रणालीलाई ठिक गर्न अन्तरिम सरकारले प्रस्ताव गरेको संवैधानिक परिवर्तनको बारेमा जनमत सङ्ग्रहमा पनि मतदाताहरू सहभागी भएका थिए।

के बाङ्ग्लादेशका युवा भारतविरोधी हुँदै छन्?

बाङ्ग्लादेशको चुनावबारे थाहा पाउनुपर्ने महत्त्वपूर्ण कुरा

सरकारी स्वामित्वको बीएसएस समाचार संस्थाका अनुसार जनमतसङ्ग्रहतर्फ शुक्रवार बिहानसम्मको गणनामा ८ लाख ६० हजार भन्दा बढी मानिसहरूले हुन्छ भन्नेमा मतदान गरेका छन् भने करिब ४ लाख २० हजार मानिसहरूले हुन्न भन्नेमा मतदान गरेका छन्।

जनमत सङ्ग्रहको केन्द्रमा समानुपातिक प्रतिनिधित्वमार्फत् निर्वाचित १०० सदस्यीय माथिल्लो सदनको निर्माण गर्नु रहेको छ।

तारिक रहमान को हुन्?

प्रभावशाली जिया परिवारका अग्रणी अनुहार रहमान साठी वर्षका छन्।

सन् २००८ यता लन्डनमा बस्दै आएका रहमान ऐतिहासिक आमचुनावअघि १७ वर्षको निर्वासन तोड्दै गत डिसेम्बरमा स्वदेश फर्किएका थिए।

शेख हसिनाको अवामी लीग पार्टी सत्तामा हुँदा उनी विभिन्न आपराधिक अनुसन्धानको भागीदार बनेका थिए। तर हसिनाको शासन पतन भएपछि उनलाई सबै आरोपबाट मुक्त गरिएको छ।

हसिना बहिर्गमनको एक वर्ष : बाङ्ग्लादेशमा उत्सवका दृश्य तर अगाडिको बाटो कठिन

शेख हसिनाले आन्दोलनकारीमाथि घातक बल प्रयोग गर्न आदेश दिएको सुनिने अडिओ रेकर्ड

जेन जी विद्रोहको छाया

सन् २०२४ मा भएका युवा नेतृत्वका प्रदर्शनले हसिना नेतृत्वमा १५ वर्षदेखि बढ्दो रूपमा अधिनायकवादी बनिरहेको शासनको अन्त्य गराएको पृष्ठभूमिमा यस चुनाव भएको हो।

उक्त जेन जी विद्रोहका क्रममा ४६ दिनमा कम्तीमा १,४०० प्रदर्शनकारीहरू मारिएका थिए।

हसिनालाई दमनको आदेश प्रत्यक्ष रूपमा दिएको आरोप लगाइएको छ जुन उनले अस्वीकार गर्दै आएकी छन्।

गत नोभेम्बरमा बाङ्ग्लादेशको एक अदालतले हसिनालाई उनको दमनको कारण मानवताविरुद्धको अपराध भएको भन्दै उनीविरुद्ध मृत्युदण्डको सजाय सुनाएको थियो।

हसिना देश छाडेर भागेदेखि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारले बाङ्ग्लादेशको नेतृत्व गर्दै आएको छ।

बिहीवारको चुनावले बाङ्ग्लादेशका लागि प्रतिनिधि शासनको नयाँ युगको सुरुवात गर्ने धेरैको आशा छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.