प्रशान्त किशोर : भारतमा किन नयाँ राजनीतिक दल बिरलै सफल हुन्छन्?
भारतमा एक दशकभन्दा बढी समयसम्म प्रशान्त किशोर पर्दापछाडिका जादुगर थिए। प्रधानमन्त्री नरेन्द्र मोदीदेखि नीतिश कुमार र ममता बनर्जीजस्ता शक्तिशाली क्षेत्रीय नेताहरूसम्म सबैले विश्वास गर्ने राजनीतिक रणनीतिकार उनको पहिचान थियो।
तर जब ४८ वर्षीय प्रशान्त किशोर अन्ततः मैदानमा उत्रिए तब उनको जादु टुट्यो।
किशोरले डेटाका भरमा राजनीतिक स्टार्टअपको रूपमा जन सुराज (जनताको सुशासन) अभियान सुरु गरे र भारतको सबैभन्दा गरिब र तेस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको राज्य बिहारमा यथास्थितिको चक्र तोड्ने वाचा गरेका थिए।
दुई वर्ष उनले राज्यभरि पैदल यात्रा गरे। एक चुस्त सङ्गठन बनाए र लगभग सबै २४३ सिटमा उम्मेदवारहरू उठाए।
मिडियामा व्यापक चर्चा भए तापनि जन सुराजले एक सिट पनि जित्न सकेन। मोदीको भाजपा नेतृत्वको गठबन्धन सत्तामा पुग्यो।
बिहारमा निर्णायक जितसँगै मोदीको गठबन्धनमा खुसियाली
भारतको निर्वाचन आयोगलाई विश्वासको सङ्कट किन परिरहेको छ
किशोरले प्रायः स्थापित नेताहरू भन्दा बढी ध्यान बटुले। तर ती सबैका बाबजुद त्यो चर्चा भोटमा परिणत भएन।
कैयौँका ठम्याइमा चर्को र गहिरो रूपमा विभाजित भारतको राजनीतिक बजारमा उनको पदार्पण एउटा चेतावनीका रूपमा आएको छ: बाहिरबाट कमजोरीहरूको पहिचान गर्नुभन्दा प्रणालीमै प्रहार गर्नु निकै गाह्रो काम हो।
राजनीतिक इतिहास कस्तो छ?
भारतीय राजनीतिको आधुनिक इतिहासले यो कुरा प्रमाणित गर्छ।
सन् १९८३ मा क्षेत्रीय तेलुगु देशम पार्टी (टीडिपी) को उदय भएदेखि निकै कम नयाँ दलहरूले सान्दर्भिक रहिरहने गरी थ्रेसहोल्ड कटाएका छन्।
त्यस्तो चुनौती पार गर्नेमा पश्चिम बङ्गालको तृणमूल कांग्रेसदेखि ओडिशाको बिजु जनता दलसम्म छन्। प्रमुख दलहरूबाट अलग्गिएका उनीहरू विद्यमान सामाजिक आधारमा टिकेका थिए।
सन् १९८५ मा असमको असम गण परिषद् (एजिपी) वा दशकौँपछि दिल्लीको आम आदमी पार्टी (आप) जस्ता अन्य दलहरू जनपरिचालन र राजनीतिक सङ्कटको आडमा अघि बढेका थिए।
किशोरको जन सुराजसँग यी दुवै कुरा थिएनन्।
यो दल सडक आन्दोलनबाट जन्मिएको थिएन। न त यो सत्ताविरोधी क्रोधको क्षणमा देखा परेको थियो। बिहारका कैयौँ समस्याका बाबजुद सन् २०२५ मा उक्त राज्य यथास्थितिसँग धेरै हदसम्म सन्तुष्ट देखिन्थ्यो।
"कुनै पनि सत्ताविरोधी लहर थिएन। मतदाताहरू धेरै हदसम्म स्थापित राजनीतिक र सामाजिक वफादारीमा अडिग थिए। देखिने सङ्कट वा व्यापक असन्तुष्टिबिना, कडा परिश्रम र परिचालनका बाबजुद किशोरको पार्टी कहिल्यै विश्वसनीय विकल्प देखा परेन," राजनीतिशास्त्री राहुल वर्मा भन्छन्।
बिहारमा जन सुराजको सुरुवात धेरैजसो नयाँ भारतीय दलहरूको तरिकाभन्दा निकै भिन्न थियो।
एजीपी, टीडीपी र आपजस्ता दलहरू "सामाजिक-राजनीतिक आन्दोलनहरूबाट बढेका थिए, जसमा पहिले नै गहिरो भावनात्मक र तल्लो तहको प्रतिध्वनि थियो" र आप एक व्यापक भ्रष्टाचारविरोधी आन्दोलनबाट जन्मिएको थियो।
भारतको मतपरिणामबाट नेपाली नागरिक समाज उत्साहित हुन जरुरी छ?
भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
कस्तो हो प्रशान्त किशोरको दल?
दिल्लीस्थित इन्डियन स्कुल अफ डेमोक्रेसीका सौरभ राजका अनुसार जन सुराजलाई "बौद्धिक र रणनीतिक परियोजना" को रूपमा परिकल्पना गरिएको छ।
किशोरले "राजनीतिक शून्यता" भनी चित्रण गरेको अवस्था पूर्ति गर्न त्यो रणनीतिक रूपमा आएको उनी बताउँछन्।
"त्यसपछिको पदयात्रा [राज्यभरि मानिसहरूलाई भेट्न लामो, तल्लो तहको पैदल यात्रा]ले त्यो बौद्धिक विचारलाई जनताको अभियानमा परिणत गर्ने प्रयास गर्यो। तर त्यसमा अझै पनि स्वाभाविक, आन्दोलनमा आधारित ऊर्जाको अभाव थियो, जसले सामान्यतया नयाँ दलहरूको सान्दर्भिकता दर्साउँछ। त्यसअर्थमा जन सुराज आन्दोलन वा उथलपुथलबाट जन्मिएको पार्टी भन्दा 'डिजाइन गरिएको राजनीतिक सुरुवात' जस्तो लाग्छ," राज थप्छन्।
किशोरले त्यसरी सावधानीपूर्वक डिजाइन गरिएको राजनीतिक परियोजनाले प्रतिबद्ध निर्वाचन क्षेत्रमा विकल्प लिन सक्ने जोखिम मोले।
उनले रोजगारी र शिक्षाका लागि शासन, जागिर, जबरजस्ती बसाइसराइबारे कुरा गरे। त्यो जातीय र संरक्षणको राजनीतिमा लामो समयदेखि फसेको राज्यमा एक आकर्षक एजेन्डा थियो।
बिहारको १३ करोड जनसङ्ख्यामा धेरैजसो युवा छन्। उनीहरूसम्म पुग्दै किशोरले प्रचार, विधि, करिश्मा र मिमहरू समेत ल्याए।
तर धेरैका विश्वासमा उनको पार्टीमा असन्तुष्ट राजनीतिक समूहलाई आकर्षित गर्ने प्रज्वलनशील भावनात्मक ऊर्जाको अभाव थियो।
किशोर स्वयं उम्मेदवार नबन्दा उनले कुनै प्रयोग गरिरहेका थिए कि विकल्प प्रस्ताव गरिरहेका थिए भन्ने आशङ्का बढेको हुनसक्छ।
विश्व वरीयतामा भारतीय पासपोर्टको हैसियत किन कमजोर बन्दैछ
'मेसिनले महिला पुरुष हेर्दैन': भारतकी पहिलो महिला रेल चालक
प्रशान्त-सन्देश
बिहारको फैसलाले भारतीय राजनीतिको संरचनात्मक यथार्थलाई उजागर गरिदिएको छ। त्यो भनेको, ध्यान तान्नु गर्नु सङ्गठन होइन र धरातलीय बलबिनाको मिडिया प्रचार प्रत्युत्पादक हुनसक्छ भन्ने हो।
राजले उल्लेख गरेझैँ जन सुराज "कुनै पनि सिटमा गम्भीर दाबेदार बन्न असफल भयो" र यसको सामान्य मत प्रतिशतले पनि "दृश्य र शक्तिबीचको खाडल देखाउँछ।"
ऊसँग पार्टीको मान्यता पाए तापनि कुनै प्राकृतिक सामाजिक आधार नरहेको, आफ्ना प्रतिद्वन्द्वीहरूकाझैँ कुनै जातीय, धार्मिक, लैङ्गिक वा सहरी क्षेत्रहरू समेत नरहेको राज बताउँछन्।
वर्माले यसलाई अझ प्रस्टसँग भने: स्टार्टअपहरू सफल हुनुभन्दा धेरै पटक असफल हुन्छन् - व्यवसाय र राजनीतिमा।
"हामी केवल सफलताहरू सम्झन्छौँ तर धेरैजसो नयाँ दलहरू असफल हुन्छन्," उनी थप्छन्।
पार्टी निर्माण गर्न भिजिबिलिटी, सङ्गठन, परिचालन र सही उम्मेदवारहरू चाहिन्छ र विशेष गरी मतदाताहरूको विश्वासको ट्र्याक रेकर्ड बिना ती प्रत्येक एक अलग्गै चुनौती रहने वर्मा बताउँछन्।
जन सुराजले २३८ सिटमा उम्मेदवारहरू खडा गरेकामा धेरैजसो पहिलो पटक उम्मेदवार बनेकाहरू थिए।
निकै चर्चा बटुलेको किशोरको जन सुराजको असफलताले भारतीय मतदाताका बारेमा के बताउँछ?
किशोरले जहाँ जहाँ प्रचार गरे त्यहाँ भीड तान्न सफल भए। उनी स्पष्ट वक्ता थिए र मिडिया कभरेजमा हाबी थिए।
तैपनि उनको पार्टी ७४ वर्षीय अनुभवी नीतीश कुमारको नेतृत्वमा रहेको गठबन्धनसँग पराजित भयो जसलाई उनले कहिल्यै सत्तामा फर्किन नदिने चेतावनी दिएका थिए।
"आज भारतीय मतदाताहरू पहिलेभन्दा बढी राजनीतिक रूपमा सचेत र मुद्दा-संवेदनशील छन्। तर उनीहरू निकै व्यवहारिक पनि छन्। उनीहरू प्रायः नयाँ मुद्दाको ताजापनको कदर गर्छन् तर पार्टीको जीवन्ततामा विश्वस्त नभएसम्म 'सुरक्षित भएर मतदान' गर्ने प्रवृत्ति राख्छन्," राज भन्छन्।
उनको विश्वासमा जन सुराज सुशासन, रोजगारी र बसाइसराइमा केन्द्रीत थियो, जुन सान्दर्भिक र आकर्षक थियो। तर चित्ताकर्षक चुनावी अनुहारबिना, मतदाताहरू यसलाई विजयी बनाउनु पर्ने विकल्पको रूपमा रोज्न अप्ठेरो माने।
जन सुराजको भविष्य!
त्यसविपरीत दिल्लीमा आपको प्रारम्भिक सफलता, भ्रष्टाचारविरोधी अभियानकर्ता अरविन्द केजरीवालले तत्कालीन मुख्यमन्त्री शिला दीक्षितविरुद्ध व्यक्तिगत रूपमा प्रतिस्पर्धा गरेकोमा निर्भर थियो।
त्यो एक प्रतीकात्मक कार्य थियो जसले स्वयंसेवकहरूलाई मतदातामा परिणत गर्यो।
"किशोरको चुनावी प्रतिस्पर्धाबाट टाढा रहने निर्णयले त्यो भावनात्मक सम्बन्ध र विश्वसनीयतालाई सीमित गर्यो। नयाँ दलहरूको लागि, एक आकर्षक एजेन्डा महत्त्वपूर्ण छ तर त्यो एजेन्डालाई मूर्त रूप दिने एक तुलनायोग्य, जोखिम लिने नेताले प्रायः निर्णायक मोड बनाइ दिनसक्छ," राज भन्छन्।
यद्यपि यो किशोरको पार्टीको लागि अन्त्य नहुन सक्छ।
उनले विगतमा बिहारमै रहने र चुनाव हारेमा यसको तल्लो तहको उपस्थिति र एजेन्डालाई बलियो बनाउने वाचा गरेका छन्।
राजको विश्वासमा यदि जन सुराजले स्थिर रूपमा त्यहाँ उपस्थिति कायम राख्न, स्थानीय नेतृत्व बढाउन र कैयौँ नयाँ दलहरू फस्ने गरेको "चुनावपछिको सुस्तता" बाट बच्न सके भने यसले बिस्तारै आफूप्रति देखिएको आकर्षणलाई प्रभावमा परिणत गर्न सक्छ।
"बिहारको राजनीतिक परिदृश्य तरल छ। परम्परागत जातीय रूपमा प्रतिबद्धहरू बढ्दैछन् र विश्वसनीय विकल्पहरूको लागि बढ्दो भोक छ। यदि किशोरले रणनीतिक रूपमा भन्दा राजनीतिक रूपमा अग्रमोर्चाबाट नेतृत्व गर्ने विकल्प छनोट गरे र चुनावी चक्रभन्दा बाहिर तल्लो तहको संलग्नतालाई जारी राखे भने जन सुराज सन् २०३० सम्ममा अर्थपूर्ण चुनावी शक्ति बन्न सक्छ," उनी भन्छन्।
एक स्थानीय मतदाताले बिहारको एक गाउँमा एक रिपोर्टरलाई भनेका थिए: "मानिसहरूले अर्को चुनावमा [किशोरप्रति] भरोसा देखाउन सक्छन्। यस पटक उनी केवल आफ्नो खुट्टा भिजाइरहेका छन् - उनी कुनै सुपरहिरो होइनन् जो तुरुन्तै उड्न सक्छन्।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: