'यति ठूलो प्रहार थियो कि घर हल्लियो'
इरानका बासिन्दाहरूले इजरेल र अमेरिकाले देशैभरि बम आक्रमणको निशाना बनाएको बारेमा आफ्नो अनुभव सुनाइरहेका छन्।
समर्थक र विपक्षीहरूलाई स्तब्ध तुल्याउने गरी शनिवार बिहान आक्रमण सुरु भएको थियो जसमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिए।
त्यसपछि सैन्य र रणनीतिक महत्वका स्थानहरूमा दिनरात आक्रमण भएका छन्।
अधिकारीहरूले इन्टरनेट सेवा बन्द गरेका छन्, जसले मानिसहरूलाई बाह्य संसारसँग कुराकानी गर्न निकै कठिन तुल्याइदिएको छ।
उक्त प्रतिबन्धकाबीच बीबीसीले केही व्यक्तिसँग कुराकानी गरेको छ।
इरानका सर्वोच्च नेतालाई फेला पारेर मार्ने महिनौँ लामो अमेरिकी-इजरेली अभियान
मध्यपूर्वमा लडाइँ चर्किने डर, नेपाली कामदारहरू कुन मनस्थितिमा छन्
अनुहारमा आक्रोश र क्रोध
पहिचान नखुलोस् भनेर उनीहरूको नाम परिवर्तन गरिएको छ।
राजधानी तेहरानको पश्चिमस्थित कराज सहरका हुसेनले सोमवार आफ्नो घर नजिकै ठूलो विस्फोट भएको सुनाएका छन्।
"उनीहरूले कराजमा यति ठूलो प्रहार गरे कि घर हल्लिरहेको थियो। मैले ठूलो विस्फोटनको आवाज सुनेँ (र) म कतै सुरक्षित हुने प्रयास गर्दै छु।"
उनका अनुसार भयानक बम बारीको रातपछि उक्त विस्फोट भएको हो।
खामेनेई को थिए, उनको अनुपस्थितिमा अहिले इरानको सत्ता कसले चलाउने छन्?
इरानमाथि अमेरिका-इजरेलको संयुक्त हमलाबारे हामीलाई केके थाहा छ
"मैले शृङ्खलाबद्ध १७ वटा (विस्फोटन) गणना गरेँ। मानिसहरू पर्खाइमा छन् र आक्रमणहरूपछि के हुन्छ भनेर चिन्तित छन्। अमेरिकाले (इरानी नेतृत्वसँग) सम्झौता गर्ने छ र पछि हट्ने छ भन्ने उनीहरूको सबैभन्दा ठूलो चिन्ता छ।"
उनका अनुसार राति धेरै सरकार समर्थकहरू सडकमा थिए। उनको भनाइ छ, "मैले उनीहरूको अनुहारबाट उनीहरू आक्रोशित र क्रोधित देखेँ।"
'सरकार समर्थक र विरोधीबीच विभाजन'
हुसेनले मानिसहरूलाई तर्साउन सुरक्षा बलले रातको समयमा गस्ती गर्ने गरेको बताए। उनका भनाइमा बेकरी र पेट्रोल पम्पहरू व्यस्त छन्।
"सडकहरू व्यस्त छैनन्, र मानिसहरू आआफ्ना घरमै छन्, तर अहिले इन्टरनेटमा गरिएको अवरोधले मानिसहरूलाई क्रोधित तुल्याएको छ। सरकारले यस वर्ष इन्टरनेट सेवा बन्द गरेको यो तेस्रो पटक हो," हुसेनले भने, "मलाई लाग्छ आईआरजीसी (इस्लामिक रिभोलुसनरी गार्ड कोर) सँग अझै पनि स्थल शक्ति छ, र त्यसले केही मानिसहरूलाई त्रसित बनाउने गरेको छ।"
इरानमा भएको विरोधप्रदर्शन 'अभूतपूर्व' मानिनुका पाँच कारण
खामेनेईको मृत्यु र उनले हालैको विरोध प्रदर्शनका क्रममा धेरैको मानिसको हत्या गरेको विषयले सरकार समर्थक र विरोधी जनताबीच पहिलेदेखि नै रहेको विभाजनलाई फराकिलो बनाइदिएको हुसेनको बुझाइ छ।
'सम्पूर्ण सत्ताको अन्त्य आवश्यक'
तेहरान निवासी आमिरले मानिसहरूले सामानको भण्डारण गरिरहेको सुनाए।
"मानिसहरूले किराना पसलबाट सक्ने जति सामानहरू किनमेल गर्दै भण्डारण गरिरहेका छन्। जब उनीहरूले आक्रमण गर्छन्, हामी सबै घरमा बसेर त्यो विस्फोटनको आवाज सुनिरहेका छौँ। तर हाम्रो सम्पर्क टुटेको छ," आमिर भन्छन्, "यो सबै कुरा कति जना मुख्य व्यक्तिहरू मारिन्छन् भन्नेमा निर्भर गर्छ, तर (इरानका नेताहरूले) सम्झौता गर्लान् भन्ने चिन्ता हामीलाई छ।"
तेहरानमा 'धारा बन्द': १ करोड मानिस बस्ने इरानी राजधानीमा पानीको हाहाकार कसरी निम्तियो
इरानमा दुई हजार प्रदर्शनकारीको मृत्युबीच ट्रम्पले भनेः 'सहायता पुग्दै छ'
उनका अनुसार सहरभरि रहेका धेरै सुरक्षा चौकीहरूले शङ्कास्पद ठानेर मानिसहरूलाई रोक्ने गर्छन्।
"(गत जुनमा इजरेलसँग भएको) १२ दिने युद्धमा जस्तै हामी थाकेका छौँ। निकै थाकेका छौँ। खामेनेईको मृत्यु पर्याप्त छैन -- सम्पूर्ण सत्ताको अन्त्य आवश्यक छ," आमिरले आफ्नो धारणा सुनाए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: