एकमात्र खेल जितेर विश्वकप यात्रा अन्त्य, नेपाली टोलीले देखाएको 'आशा र अस्थिरता'
मङ्गलवार राति जित सुनिश्चित गर्ने गरी चौका प्रहार गरेपछि गुलशन झा मुस्कुराए। अनि दर्शकतर्फ झुकेर अभिवादन गरे।
उनका लागि यो क्षण किन पनि महत्त्वपूर्ण थियो भने दुई वर्षअघि यस्तै अन्तिम समयमा १ रन लिन नसक्दा नेपाल विश्वकपमा दक्षिण अफ्रिकासँग १ रनले पराजित हुन पुगेको थियो।
तर स्कटल्यान्डविरुद्धको खेलका वास्तविक नायक दीपेन्द्र सिंह ऐरी भने अर्कोतर्फ उभिएर खुसीयाली मनाइरहेका थिए। ऐरीको अविजित ५० रनको अर्ध शतकमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्न सफल भयो।
जारी टी२० विश्वकपमा नेपालका तर्फबाट उदाहरणीय ब्याटिङ गर्न सफल भएका दीपेन्द्रको यो तारम्तारको दोस्रो अर्ध शतक पनि थियो।
स्कटल्यान्डसँग यही २ अङ्क लिएर नेपाली राष्ट्रिय क्रिकेट टोली नेपाल फर्किँदै छ।
ममा खेल्ने भोक अझै छ: तीन विश्वकपमा नेपालको तर्फबाट खेलेका सोमपाल कामी
टी२० विश्वकपमा पाकिस्तानी बलर उस्मान तारिकको शैलीले निम्त्याएको विवाद र बहस
एउटा क्रिकेट पावरहाउस इङ्ग्ल्याण्डसँगको अत्यन्त साँघुरो प्रतिस्पर्धापछि प्राप्त प्रशंसा, इटली र वेस्ट इन्डिजसँगको निकै कमजोर प्रदर्शन र स्कटल्यान्ड विरुद्धको शानदार विजयले नेपाली टोलीको टी२० विश्वकप यात्रा 'अस्थिरता र आशा'को मिश्रण जस्तो देखियो।
त्यसक्रममा राष्ट्रिय टोलीले केही अप्रत्याशित क्षण, प्रशस्त कमजोरी अनि थुप्रै पाठ लिएको ठानिएको छ।
मुम्बई यात्रा गर्दा कम्तीमा 'सुपर ८' पुग्ने लक्ष्य बुनेको टोलीका योजना र खेलाडीहरूको प्रदर्शनबीच मेल खाएको देखिँदैन।
तथापि विश्वकपको ठुलो मञ्चमा टोलीले महत्त्वपूर्ण सन्देश प्रवाह गरेर घर फर्कँदै छ।
नेपाली समर्थकहरूले भने अपेक्षित रूपमै फेरि आफ्नो टोलीलाई वानखेडे रङ्गशालामा साथ दिए।
कप्तान रोहित पौडेलले प्रतियोगिताको समीक्षा गर्दै खेलपछिको पत्रकार सम्मेलनमा भने, "हो हामीले क्षमता अनुरूप खेल्न सकेनौँ। तर हामी उच्च मनोबल लिएर देश फर्किँदैछौँ।"
निडर टोलीको छाप
अन्तिम समयसम्म डटेर खेल्ने छवि बनाउँदै आएको नेपाली टोलीले इङ्ग्ल्याण्डविरुद्धको खेलमा त्यो छाप छोडेको देखियो। नेपालले कुनै पनि टिमलाई हराउन सक्छ भन्ने निडर छवि उक्त खेलमा उजागर भएको थियो।
दुई पटकको विजेता इङ्ग्ल्याण्डलाई दबाबमा पारिरहँदा उक्त टोलीमा विश्वका दोस्रो वरीयताका ब्याटर फिल साल्ट र चौथो वरीयताका जोस बटलरजस्ता ब्याटर थिए भने आदिल रसिदजस्ता विश्व वरीयताका चौथो नम्बरका बलरविरुद्ध चौका र छक्का बर्सिएको थियो।
इटलीविरुद्धको खेलमा भने सम्झन लायक केही पनि देखिएन। सायद नेपाली टोली निकै कमजोर देखिएको त्यो विश्वकपको एक मात्र प्रतिस्पर्धामा गनिनेछ।
के नेपाली टोली यति धेरै फितलो पनि हुन सक्छ? भन्ने प्रश्न त्यस हारले जन्माइदिएको छ।
वेस्ट इन्डिजविरुद्धको खेलमा नेपाली टोलीले कुनै पनि समय खेलमा फर्किन सक्ने खाले प्रदर्शन गरेको देखिएन।
उक्त खेल पछि सोमपाल कामीले नेपाली दर्शकसँग माफी नै मागे।
स्मरणीय के-के रहे?
दीपेन्द्र सिंह ऐरीले भने चारवटै खेलमा सम्झिन लायक प्रदर्शन गरे। वेस्ट इन्डिज र स्कटल्यान्डजस्ता टोलीविरुद्ध अर्ध शतक प्रहार गरेर उनले वाहवाही सङ्गालेका छन्।
कुल १६९ रन बनाएका उनी कम्तीमा आजको दिनसम्म प्रतियोगिताको शीर्ष रनकर्तामध्ये दोस्रो स्थानमा छन्।
पहिलोपटक राष्ट्रिय टोलीमा स्थान पाएका स्पिनर शेर मल्लले आफ्नो पहिलो विश्वकप सहभागिताको पहिलो खेलको पहिलो बलमा पहिलो विकेट लिनु उनका लागि स्मरणीय रह्यो।
उक्त खेलमा रोहित पौडेल र ऐरीबिचको तेस्रो विकेटको लागि बनेको ८३ रनको साझेदारीले मध्यक्रमको मजबुती झल्किएको थियो।
लोकेश बमको विस्फोटक पारी र उनले जोफ्रा आर्चरलाई एकै ओभरमा दुई छक्का हान्नुले तल्लो क्रममा पनि नेपाल बलियो रहेको सङ्केत गरेको थियो।
वेस्ट इन्डिजविरुद्धको खेलमा दीपेन्द्रको अर्ध शतक महत्त्वपूर्ण रह्यो। नेपाली खेलाडीबाट दोस्रो अर्ध शतक आउन १२ वर्ष पर्खिनुपरेको थियो।
सोमपाल कामीको नाममा लगातार तेस्रो विश्वकप खेल्ने एक मात्र नेपाली खेलाडीको कीर्तिमान बन्यो। वेस्ट इन्डिजका जेशन होल्डरलाई लगातार ३ चौका प्रहार गर्दै आफू योग्य रहेको प्रमाणित गरिदिए।
कमजोरी
जारी विश्वकपले नेपाली टोलीमा रहेको कमजोरी पनि छरपस्ट देखिएको छ।
खेलमा एकरूपता नदेखिनु नेपालको मुख्य समस्याको रूपमा देखिन्छ भने महत्त्वपूर्ण क्षणहरूमा सम्हालिन नसक्ने प्रवृत्तिले नेपाललाई यसपालि पनि छोडेको देखिएन।
'डेथ ओभर बलिङ' त नियमित समस्या जस्तै देखियो। इङ्ग्ल्याण्डविरुद्ध करण केसीले अन्तिम ओभरमा २१ रन खर्चेका थिए। त्यसविपरीत इङ्ग्ल्याण्डका साम करनले अन्तिम ओभरमा २ रन मात्र दिएर टोलीलाई हारबाट जोगाइदिएका थिए।
नेपालको बलियो पक्ष मानिने बलिङतर्फ समेत यो पाली धार देखिएन। टोलीमा प्रमुख बलरहरूको अभाव खट्किन पुग्यो।
कुशल भुर्तेलले राम्रो सुरुआत नगर्नासाथ टोली तितरबितर हुन पुग्ने अवस्था हरेक खेलमा देखिन्थ्यो।
अनुशासनमा प्रश्न
टोलीकै मुख्य प्रशिक्षक स्टुअर्ट लले खेलाडीहरू सामाजिक सञ्जालमा भुल्न नहुने विषय सार्वजनिक गरेर नेपाली टोली भित्री पाटो खोलिदिएका छन्। परामर्शदाता प्रशिक्षक निक पोथसले पनि त्यसमा बल पुग्ने अभिव्यक्तिहरू दिए।
खेलाडीहरूले सामाजिक सञ्जालको प्रयोग र प्रभाव खेलमा समेत त्यसको असर देखिएपछि प्रशिक्षक स्टुअर्टले मुख खोलेको देखिन्थ्यो।
यसको अर्थ खेलाडीहरूमा अनुशासनको विषयमा चुकिरहेको गम्भीर तथ्य बाहिर आएको छ।
पोथसले त नेपाल क्रिकेट सङ्घले टिम म्यानेजर बारम्बार फेरिरहने नेपाल क्रिकेट सङ्घको कार्यप्रति पनि कटाक्ष गरेका थिए। विदेश भ्रमणका लागि जस्तै देखिनेगरी पटक पटक टिम म्यानेजर फेरिरहँदा उनीहरू आफ्नो भूमिकामा अस्पष्ट भएको उनको भनाई थियो।
त्यसलाई समर्थन गर्दै कप्तान रोहित पौडेलले भने: "टिममा एउटै म्यानेजर लामो समयको लागि भए टिमलाई राम्रो हुन्थ्यो।"
बहसमा असोसिएट-टेस्ट राष्ट्रबीचको खेल
यद्यपि विश्वकपको यो ठुलो मञ्चमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटका लागि असोसिएट राष्ट्रका तर्फबाट एउटा सन्देश दिन भने सफल भएको देखिन्छ।
कप्तान रोहित पौडेलले नेपाली खेलाडीहरूले ठुला राष्ट्रसँग खेल्ने क्यालेन्डर नभएकोले कमै मात्र मौका पाउने कुरा उठाए। उनले धेरै भन्दा धेरै खेल टेस्ट मान्यता प्राप्त राष्ट्रसँग खेल्न मौका दिनुपर्ने कुरा विश्वकप मञ्चमा उठाए।
"धेरै होइन कम्तीमा वर्षमा १/२ वटा खेल टेस्ट राष्ट्रसँग खेल्न पाए हामीलाई सहयोग पुग्नेछ," उनले भनेका थिए।
वेस्ट इन्डिजका प्रशिक्षक डारेन सामीले रोहितको भनाइलाई साथ दिएका छन्। यो विषयमा आईसीसी लगायत अन्य टेस्ट राष्ट्रको पनि ध्यानाकर्षण भएको देखिन्छ।
समग्रमा भन्नुपर्दा टिम बनावट, प्राविधिक र व्यवस्थापकीय पक्षमा नेपाल क्रिकेट सङ्घले सुधार गर्नुपर्ने पक्षहरू धेरै छन्।
यद्यपि असोसिएट राष्ट्रका तर्फबाट भएको प्रदर्शनमा धेरै नै असन्तुष्ट भइहाल्नुपर्ने ठाउँ देखिँदैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: