'रोमान्स किङ' शाहरुख खानले विवाहबारे के सुझाव दिए?
मेगास्टार शाहरुख खानलाई बलिवुडका किङ अफ रोमान्स भनेर व्याख्या गर्ने गरिन्छ।
त्यसैले हालसालै विवाह गरेकी मैले, उनीसँग मध्य लन्डनमा भेट्दा - भर्खरै विवाह गरेकाहरूलाई उनको सुझाव के छ भनेर नसोधी बस्न सकिनँ।
खानले जबाफ दिनुअघि नै काजोल जबाफ दिन अघि सरिन्।
"उनका सबै चलचित्रहरू विवाह अगाडिबारे बनेका छन्, विवाह पछिका होइनन्," उनले हाँस्दै भनिन्।
"विवाह अघिसम्म भए मैले सुझाव दिन सक्थेँ। तर विवाहपछि, अब आफैँले सम्हाल्ने हो," खानले सहमति जनाए।
लन्डनको लेस्टर स्क्वाएरमा काजोल र उनको नयाँ प्रतिमा सार्वजनिक गर्न पुगेका उनले सटिक र मूल्यवान् सुझाव दिए।
"त्यति बेलासम्म, मलाई लाग्छ तपाईँले रोमान्स गर्नुपर्छ, गीतहरू गाउनैपर्छ," उनले भने।
"र तपाईँले डीडीएलजे पक्कै हेरेको हुनुपर्छ," काजोलले थपिन्।
काजोल र शाहरुख दुवै रहेको डीडीएलजे अर्थात् दिलवाले दुल्हनिया ले जाएंगे भारतीय सिनेमामा सबैभन्दा लामो समय चलेको चलचित्र हो।
नयाँ प्रतिमा गत साता बिहीवार अनावरण गरिएको थियो। यो चलचित्र पहिलो पटक आएको ३० वर्ष पुगेको अवसरमा अनावरण गरिएको हो।
शाहरुख खान : बलिवुडका सुपरस्टार अब अर्बपति क्लबमा
हिन्दी फिल्म शोलेको ५० वर्ष, किन यसको अझै चर्चा गर्छन् दर्शक
घरघरमा लिइने नाम अनि देशका सबैभन्दा लोकप्रिय कलाकारमध्येका उनी एक हुन् र उनका देशभित्र र बाहिर गरेर लाखौँ प्रशंसकहरू छन्।
आकर्षक र हास्य रस भएका अभिनेतालाई बलिवुडका "सबभन्दा महत्त्वपूर्ण सांस्कृतिक निर्यात" भनेर व्याख्या गरिन्छ र प्रशंसकहरूले उनलाई मायाले 'किङ खान' वा 'किङ अफ बलिउड' भनेर सम्बोधन गर्छन्।
उनी र काजोल आफ्नो प्रतिमा अनावरण गर्न पुगेका बेला उनीहरूको एक झल्को हेर्न प्रशंसकहरूको भिड थियो। धेरै चिच्याइरहेका थिए र उनीहरू आएसँगै फोटो पनि खिचिरहेका थिए।
बीबीसी न्यूजसँग त्यसपछि बोल्दै खानले प्रतिमा "आफ्नो ज्यानजत्रै पुतली(खेलौना)" जस्तो भएको बताए।
"मलाई लाग्छ म एकदमै सुन्दर देखिएको छु। तिमी पनि राम्री देखिएकी छौ," उनले काजोललाई भने।
"यो त पछि आएको सोचजस्तै भयो, तर पनि धन्यवाद," उनले हाँस्दै प्रतिक्रिया दिइन्।
दिलवाले दुल्हनिया ले जाएंगे चलचित्रलाई बलिवुडको रोमियो र जुलियट पनि भनिन्छ। यसमा राज र सिमरनको प्रेमकथा छ जो युरोपदेखि भारतसम्म फैलिएको छ र यसको सुरुवात किङ्स क्रस स्टेसनबाट चल्ने रेलमा हुन्छ।
केही दृश्यहरू लन्डनमा र लेस्टर स्क्वाएरभित्रै पनि खिचिएका छन्।
उनीहरूको नयाँ प्रतिमा ह्यारी पोटर, प्याडिङ्टन र ब्रिजेट जोन्सका प्रतिमाहरूमा थपिँदै लेस्टर स्क्वाएरको सिन्स इन द स्क्वाएर ट्रेलको हिस्सा बनेको छ।
खानले लन्डनमा यो प्रतिमा अनावरण हुनु "एकदम उपयुक्त" भएको बताए। किनभने बलिवुड फिल्महरूको त्यहाँ अत्यन्त ठूलो लोकप्रियता छ।
"इङ्ल्यान्डको दर्शक आधुनिक समयमा भारतीय सिनेमाको विश्वव्यापी उचाइका लागि निकै जिम्मेवार छन्," उनले भने।
६० वर्षे खानले यो प्रतिमा आफ्ना तीन सन्तानलाई "देखाउन आतुर" रहेको बताए।
उनकी सह–अभिनेत्री काजोल, जो स्वयं प्रख्यात अभिनेत्री हुन्, उनले यसरी सम्मानित हुनु "अद्भुत" र "विश्वास गर्नै गाह्रो" भएको बताइन्।
भारतको प्रमुख फिल्म उद्योग रहेको बलिवुडले हरेक वर्ष सयौँ फिल्महरू निर्माण गर्छ र विश्वभरका भारतीयहरू बीच यसका प्रशंसकहरूको ठूलो सङ्ख्या रहेको छ।
तर विश्वका अन्य फिल्म उद्योगहरूझैँ महामारीका कारण महिनौँसम्म सिनेमा घर बन्द हुँदा बलिवुडले उतार–चढाव देख्यो र धेरैलाई स्ट्रिमिङ सेवातर्फ मोड्यो। बलिवुड अझै पनि आफ्नो पहिलाको चमकमा फर्किन सकेको छैन।
मन्दीबारे सोध्दा काजोलले अहिले दर्शकहरूको ध्यानका लागि प्रतिस्पर्धा धेरै बढेकै कारण यस्तो भएको बताइन्।
"मानिसहरूसँग सिनेमामा जाऊँ कि नजाऊँ भन्ने विकल्प अचानक आयो। र, जब तपाईँले धेरै विकल्प पाउनुहुन्छ, छनोट गर्न स्वाभाविक रूपमा गाह्रो हुन्छ," उनले बीबीसी न्यूजलाई भनिन्।
"तर मलाई लाग्छ, सामुहिक रूपमा फिल्म हेर्ने संस्कृति… सधैँ रहने छ," खानले थपे। "हामी एकसाथ हेर्न, रमाउन मन पराउँछौँ।"
खानले हिन्दी फिल्म उद्योगमा तीन दशकभन्दा बढी समय बिताइसकेका छन् र एक साधारण अभिनेतादेखि ठूलो प्रोडक्सन हाउस चलाउने तथा क्रिकेट टीमका मालिकसमेत बन्ने गरी आफूलाई पुनः परिभाषित गरेका छन्।
नयाँ सूचीअनुसार उनी विश्वका सबैभन्दा धनी अभिनेताहरू मध्ये परेका छन्।
यसले उनलाई अर्नोल्ड श्वार्जनेगर, पप स्टार रिहाना, गल्फर टाइगर वुड्स र गायिका टेलर स्विफ्टजस्ता विश्वप्रसिद्ध सेलिब्रिटीहरूको स्तरमा पुर्याएको छ।
सन् २०२३ मा उनले चार वर्षको अन्तरालपछि फिल्महरूमा पुनरागमन गरे र पछिल्लो समय आफ्नो नयाँ एक्सन फिल्म किङको झलक सार्वजनिक गरेका छन्।
तर भविष्यमा अझ धेरै एक्सन फिल्महरू आउनेछन् कि — सायद अर्को जेम्स बन्डको भूमिका जस्तो?— भनेर सोध्दा खानले उत्तर दिए: "होइन। मेरो उच्चारण मिल्दैन। र मलाई 'शेकन मार्टिनी' पनि मन पर्दैन।"
शेकन मार्टिनी एक प्रकारको पेय पदार्थ हो जसलाई जेम्स बन्डले चर्चित बनाएका थिए।
प्रतिभाशाली भारतीय चलचित्रकर्मी गुरु दत्तको वियोगान्त जीवन
आमिर खानले किन नजानिँदो तरिकाले फिल्म छाडे र अहिले उनी के सोच्छन्?
लेस्टर स्क्वाएरको सिन्स इन द स्क्वाएर ट्रेल हार्ट अफ लन्डन बिजनेस अलाएन्सले सञ्चालन गरेको हो जसलाई वेस्टमिन्स्टर सिटी काउन्सिलले सहयोग गरेको छ।
गत महिना, त्यहाँ ब्रिजेट जोन्सको मूर्ति राखिएको थियो।
दिलवाले दुल्हनिया ले जाएंगे चलचित्र निर्माण गरेका एस राज फिल्मका अक्षय विड्हानीले यूकेमा चलचित्रलाई सम्मान गरिएकोमा "यो गर्वको असाध्यै ठूलो क्षण" भएको बताए।
"मेरी पपिन्स, जीन केली र ह्यारी पोटरसँगै पहिचान पाउनुले डीडीएलजेले विश्वभरि पारेको सांस्कृतिक असर देखाउँछ।"
हार्ट अफ लन्डन बिजिनेस अलायन्सका प्रमुख कार्यकारी रोस मोर्गनले थपे: "शाहरुख खान र काजोलजस्ता विश्वव्यापी मेगास्टरलाई सिन्स इन द स्क्वाएर ट्रेलमा स्वागत गर्न पाउँदा हामीलाई गर्व लागेको छ।
"दिलवाले दुल्हनिया ले जाएंगे एउटा सिनेमाटिक घटना हो जसले पुस्तौँपुस्ता प्रभावित गरेको छ र भारतीय सिनेमाप्रति लन्डनको पहिलो सम्मान- यस्तो कथालाई सम्मान गरेको छ जसको जादुले आज पनि विश्वभरका दर्शकलाई मोहित पारिरहेको छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: