कफी कम गर्दा सम्झन सकिने सपना देख्नुका कारण यस्तो छ

कफी कम गर्दा सम्झन सकिने सपना देख्नुका कारण यस्तो छ

bbc.com . २ घण्टा अघि

केही मानिसहरूले कफी खान कम गरेको केही दिनभित्र स्मरणीय सपना देखिने बताउने गरेका छन्। खास भएको के हो?

के तपाईँले हालै 'क्याफीन' को मात्रा घटाउनुभएको छ र निकै स्मरणीय सपना देखेको अनुभव गर्नुभएको छ?

क्याफीनको सेवन कम गर्दा दाँत सेतो देखिने वा पटकपटक दिसा लाग्ने समस्या कम हुने कुरा त तपाईँले सुन्नुभएकै हुन सक्छ। तर कफीजस्ता पेयपदार्थमा हुने यो तत्त्वको मात्रा घटाएका मानिसहरूले स्मरणीय सपना देख्ने गरेको कुरा पनि सुन्ने गरिएको छ। कतिपय यस्ता सपनाहरू डरलाग्दा पनि हुन सक्छन्।

'सुत्ने सैनिक विधि'ले तपाइँ दुई मिनेटमा निदाउन सक्नु हुन्छ?

यी आश्चर्यजनक खानेकुरा जसले राम्रो निद्रा लगाउँछन्

मानिसहरूले क्याफीनको मात्रा घटाउन सुरु गरेको केही दिनभित्रै यो अनौठो र खास असर देखिने गरेको अनुभव सुनाएका छन्।

के यसो हुनुका पछाडि केही वैज्ञानिक आधार पनि छन्? अनुसन्धानले के देखाउँछ एक पटक हेरौँ है त।

क्याफीनले निद्रालाई कसरी असर गर्छ

क्याफीन हामीलाई जागा राख्ने उत्तेजक पदार्थ हो। यसले हाम्रो मस्तिष्कमा 'अडेनसीन' नामक तत्त्व प्रवाह अवरुद्ध गर्छ।

यो तत्त्व दिउँसोको समयमा हामी जागा र सक्रिय रहँदा विकसित हुने गर्छ। दिउँसोको समयमा विकसित हुन सुरु हुने अडेनसीन साँझ ढल्किँदै जाँदा हाम्रो मस्तिष्कमा जम्मा भएपछि निद्रा लाग्न सुरु गर्छ। अनि हामी निदाएपछि यो पुनः हाम्रो मस्तिष्कबाट हटेर जान्छ। निद्रा पुर्‍याएर हामी स्फूर्त भएपछि फेरि अडेनसीनको विकासचक्र सुरु हुन्छ।

तर हामीले क्याफीन सेवन गरेपछि यसले अडेनसीनका सङ्केतहरू अवरुद्ध गर्छ। त्यस कारण अडेनसीन त्यहाँ रहँदासम्म हामीलाई राम्रोसँग निद्रा लाग्दैन।

क्याफीनको असर सकिएपछि मात्रै हामीलाई निद्रा लाग्न सुरु हुन्छ।

हाम्रो शरीरमा क्याफीनको आधा प्रभाव तीनदेखि छ घण्टासम्म रहन्छ। अर्थात् हामीले सेवन गरेको क्याफीनको आधा प्रभाव त्यसपछि पनि हाम्रो शरीरमा रहन्छ। यसमा बुझ्न पर्ने कुरा के छ भने यसले त्यसपछि पनि अडेनसीनलाई असर गर्न सक्छ।

त्यही कारण हो अपराह्ण वा साँझपख कफी पिएका कैयौँ मानिसहरूलाई बेलुकाको समयमा राम्रोसँग निद्रा पर्दैन।

कफीः तितो स्वाद भएको यो पेय पदार्थ कसरी मान्छेको प्यारो बन्यो

शरीरले पोषक तत्त्व सोस्ने प्रक्रियामा कफीको प्रभाव, निश्चित समूहहरू सतर्क हुनुपर्ने

हाम्रो अडेनसीनको सङ्केतलाई असर पुर्‍याए क्याफीनले हाम्रो समग्र सुत्ने अवधि पनि कम गराउँछ र गहिरो निद्रा पनि प्रभावित हुन्छ। हामीलाई पर्याप्त आराम वा स्फूर्तिका लागि 'नन्-र्‍यापिड आई मूभ्मन्ट' (NREM) निद्रा आवश्यक हुन्छ। यो भनेको आँखा चिमचिम नभई गहिरो गरी निदाउने चरण हो।

समग्रमा अनुसन्धानहरूले पनि के देखाएका छन् भने हामीले जति ढिलो कफी पिउँछौँ हाम्रो निद्रा त्यति धेरै बिथोलिन्छ।

त्यसो भए स्मरणीय सपनासँग सम्बन्ध के हो

हामीले क्याफीनको मात्रा घटाउने क्रममा बिहान ब्यूँझदासम्म नबिर्सने किसिमका सपना किन देखिन्छ भन्नेबारे धेरै अध्ययन भएका छैनन्।

अधिकांश अध्ययनले क्याफीनले हाम्रो निद्रा कसरी प्रभावित गर्छन् भनेर मात्रै देखाएका छन्। तर ती अध्ययनको खोज हाम्रो सपना कस्तो हुन्छ भन्नेतर्फ कम छ।

तर त्यसको अर्थ यसबारे हामीलाई अहिलेसम्म केही थाहा नै छैन भन्ने पनि होइन। हामीलाई निद्राको गुणस्तर र सपनाको निकट सम्बन्ध छ भन्ने चाहिँ स्पष्ट थाहा छ।

त्यसो भए किन क्याफीन घटाउँदा मज्जाले सपना देखिन्छ त?

यसको प्रत्यक्ष प्रमाण नभए पनि धेरै जनाले एउटै कुरा भन्दै आएका छन् त्यो के हो भने उनीहरूले क्याफीन घटाउन सुरु गरेपछि त्यसको केही रातपछि उनीहरूले स्पष्ट र अचम्मका सपना देख्न सुरु गर्छन्।

कफी कहाँबाट आयो? कफीले हाम्रो शरीरमा कस्तो प्रभाव पर्छ?

कफी: 'बेफाइदा भन्दा फाइदा धेरै'

खासमा क्याफीनको सेवन बन्द गर्नुको प्रत्यक्ष सम्बन्ध यस्ता किसिमका सपनासँग नभए पनि घुमाउरो सम्बन्ध अवश्य छ।

दिन ढल्कने समयमा सेवन गरिएको क्याफीनले समग्र सुत्ने अवधि घटाउने र रातिको समयमा ब्यूँझने अवस्था बढाउने भएका कारण यसको सेवन बन्द गर्दा हाम्रो शरीर पुरानै लयमा फर्कन कोसिस गर्छ।

अनि जब हामी धेरै सुत्छौँ त्यसले हाम्रो निद्रालाई र्‍यापिड आई मुभमन्ट अर्थात् 'रेम'को चरणमा पुर्‍याउँछ। त्यो भनेको हामी निद्रामा आँखा झिमझिम गरिरहने वा चलाउने अवस्था हो।

भिभिड ड्रीम के हो

'भिभिड ड्रीम' भनेको हामीलाई साँच्चिकै जस्तो लाग्ने प्रकृतिका सपना हुन्। त्यस्ता सपना निकै विस्तृत र स्पष्ट हुन्छन्, प्रायः जीवन्त दृश्यहरू र तीव्र भावनाहरू पनि त्यसमा जोडिन्छन् र कतिपय अवस्थामा ब्यूँझिएको लामो समयसम्म पनि हामीलाई त्यसको याद आइरहन्छ।

निद्राको समयमा शरीरले आराम गरिरहँदा मस्तिष्क सक्रिय हुने अवस्थालाई 'रेम' (REM) भनिन्छ। प्राय: मानिसहरूले सपना देख्ने निद्राको यही चरणमा हो। हामी जति धेरै समय रेमको अवस्थामा निदाउँछौँ त्यति धेरै हाम्रो मस्तिष्कले स्मरणीय सपनाहरू सिर्जना गर्छ। अवकाशप्राप्त सैनिकहरूमा गरिएको एक अनुसन्धानले निद्रामा रेमको प्रतिशत बढी भएका व्यक्तिहरूमा स्मरणीय वा स्पष्ट सपना देख्ने सम्भावना धेरै हुने देखाएको छ।

रेम निद्राको त्यही चरण हो जति बेला हामी राती ब्यूँझन सहज हुन्छ। अनि रेम चरणबाट हामी यदि ब्यूँझियौँ भने हामीले त्यस बेला देखेको सपना सम्झने सम्भावना धेरै हुन्छ। किनभने तिनीहरू हाम्रो स्मरणमा ताजै हुन्छन्।

त्यस कारण हामीले क्याफीनको मात्रा कम गर्दा निद्रामा रेमको चरण धेरै हुने सम्भावना रहन्छ। त्यसको अर्थ हामीलाई सपना देख्ने देखेका सपना सम्झने धेरै अवसर हुन्छ।

थकान हटाउन र मिठो निद्रा पार्न दिउँसो गर्न सकिने पाँच उपाय

राति निदाउन सक्नुहुन्न? त्यसो भए यी कुराहरू नगर्नुहोस्

पक्कै पनि निदाउने काम जटिल हो र त्यस्तै हो सपना पनि। तर सबै मानिसहरूका हकमा क्याफीन घटाउनेबित्तिकै स्मरणीय सपना देख्ने अवस्था नहुन सक्छ। अनि यस्तो असर केही दिन वा साताहरूसम्म मात्रै रहन सक्छ।

क्याफीन घटाउँदा स्मरणीय सपना देखिने विषयका बलिया प्रमाण चाहिँ छैनन्। तर त्यसको सम्बन्ध भने देखिएका छन्।

क्याफीनले हाम्रो निद्रा प्रभावित गर्छ। अनि निद्रासँग हाम्रो सपना जोडिएको हुन्छ। अनि हामीले जब क्याफीन लिन सुरु गर्छौँ वा अचानक कम गर्छौँ त्यसले हाम्रो मस्तिष्कलाई निद्राको रेम अवधि बिताउन ज्यादा समय दिन्छ।

कुरा समयको हो

हामीले क्याफीन भन्नेबित्तिकै कफी र 'एनर्जी ड्रिङ्क' सम्झन्छौँ। तर चिया, चकलेट, व्यायाम गर्नुअघि खाइने सप्लिमन्ट र केही औषधिमा पनि क्याफीन पाइन्छ।

क्याफीनका कैयौँ फाइदा पनि छन्। खास गरी मानसिक स्वास्थ्य र सङ्ज्ञानात्मक कार्य तन्दुरुस्त राख्न यसले सहयोग पुर्‍याउँछ। केही अध्ययनहरूले कफी खानेहरूमा डिप्रेशनको जोखिम कम हुने देखाएका छन्। त्यसै गरी क्याफीनले स्ना क्षयीकरणका कारण हुने पार्किन्सन्सजस्ता रोग लाग्ने जोखिम कम गर्ने पनि अध्ययनहरूले देखाएका छन्। कफीमा बी समूहका भिटामिनहरू र एन्टी-अक्सिडेन्टहरू पनि पाइन्छन्। यी दुवै स्वास्थ्य खानेकुरामा पाइने तत्त्वहरू हुन्।

राम्रो निद्रा चाहनुहुन्छ? यससम्बन्धी सोचाइ बदल्ने कोसिस गर्नुहोस्

मानिसलाई 'सपना देख्न नसक्ने' बनाउने 'एफान्टेजिया'

खास गरी रातको समयमा काम गर्नुपर्ने बाध्यता भएका मानिसहरूका लागि क्याफीन सेवन थकान घटाउने उपाय पनि हो। तर दिउँसोकै समयमा काम गर्ने कतिपय मानिसहरूलाई पनि काम सुरु गर्नु अघि एक कप कफी नपिई काममा केन्द्रित नहुने बानी हुन्छ।

यदि तपाईँ पनि क्याफीनको सेवन पूरै बन्द नगरी आफ्नो निद्रा बढाउन चाहनुहुन्छ भने त्यसको पनि उपाय छ। त्यो उपाय भनेको समय व्यवस्थापन हो।

तपाईँले सुत्न जानुभन्दा कम्तीमा आठ घण्टाअघिबाट क्याफीनयुक्त खानेकुरा सेवन गर्न बन्द गर्नुहोस्। अनि सुत् भन्दा १२ घण्टाअघिबाट धेरै क्याफीन सेन नगर्नुहोस्। तपाईँलाई निद्रा पर्न सहज हुने छ अनि तपाईँ सपनाको संसारमा रमाउन पाउनुहुने छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.