'> ' /> क्याम्बोडियामा जस्तो स्क्यामिङले नेपालमा जरा नगाडोस् भनेर 'सजग रहेको' बताएका अधिकारीहरू के गर्दै छन्?

क्याम्बोडियामा जस्तो स्क्यामिङले नेपालमा जरा नगाडोस् भनेर 'सजग रहेको' बताएका अधिकारीहरू के गर्दै छन्?

bbc.com . २ घण्टा अघि

क्याम्बोडिया सरकारले त्यहाँ 'स्क्यामिङ सेन्टर'मा संलग्न विदेशीहरूलाई व्यापक कारबाही थाल्ने बताइरहँदा नेपाली अधिकारीहरूले आफ्ना नागरिकलाई त्यहाँबाट निस्कने 'सम्भवतः अन्तिम अवसर'को सदुपयोग गर्न आग्रह गरेका छन्।

नेपालको आग्रहमा क्याम्बोडियाबाट गत एप्रिलदेखि हालसम्म ५५० भन्दा धेरै अलपत्र परेका नेपाली नागरिकहरू बाहिर निस्किसकेको ब्याङ्ककस्थित नेपाली दूतावासले जनाएको छ।

दूरसञ्चारसम्बन्धी त्यस्तो ठगी धन्दामा गत वर्षदेखि नै नेपालीहरू जोडिएको पाइने क्रम देखा परेको अधिकारीहरू बताउँछन्। जसमा खासगरी उनीहरू मानव तस्करको फन्दामा परेर वा स्वेच्छिक रूपमा संलग्न भएका हुन् भन्ने प्रश्न उठ्ने गर्थे।

हाल आठौँ पटक र "सम्भवतः यही नै अन्तिम अवसर बन्ने" दूतावासका अधिकारीहरू बताउँछन्।

छैटौँ र पाँचौँ चरणमा फर्कने इच्छा देखाएका ६७ जना अझै ननिस्किसकेको क्याम्बोडिया समेत हेर्ने जिम्मेवारीमा रहेका थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले बीबीसीलाई बताए।

"अधिकांश मानिसहरू निर्दोष हुने अथवा मानव तस्करले झुक्याएर ल्याउने गरे पनि सबै मानिसहरू निर्दोष नै हुन्छन् भन्न सकिँदैन। स्क्यामिङबाटै कमाइ धन्दा गरिरहेका वा त्यसमा अभ्यस्तहरू पनि त्यसमध्येमा पर्न सक्छन्," राजदूत ओलीले बीबीसीसँग भने।

"त्यस्ता व्यक्तिहरूलाई निगरानीमा राख्ने काम हुन्छ। वहाँहरूको आउजाउ, ब्याङ्क खाता निगरानीमा राख्नुपर्ने कुरा हामीले गत वर्षदेखि नै सम्बद्ध निकायलाई निरन्तर भनिरहेका छौँ। यो त अन्तर्देशीय स्वरूपको अपराध हो जसको कुनै ठेगाना हुँदैन।"

'क्याम्बोडिया कनेक्सन'बाट नेपालमा पनि 'स्क्यामिङ सेन्टर चलाउने प्रयास', १९ जना पक्राउ

क्याम्बोडियाको स्क्यामिङ सेन्टरमा नेपाली युवाको मृत्यु, श्रम स्वीकृति लिएरै पुगेको खुलासा

उनले हालसम्म क्याम्बोडिया सरकारबाट निकै राम्रो सहयोग भएको र सामान्य अवस्थामा नेपालीहरूले तिर्नुपर्ने करोडौँ रुपैयाँ बराबरको छुट पाए तापनि त्यस्तो अवसर अब थप अवधिका लागि नरहने बताउँछन्।

निगरानीका आधार

राजदूत धनबहादुर ओली 'स्क्यामिङ सेन्टर'सँगको सन्दिग्ध संलग्नताको जानकारी आफूहरूलाई अन्तर्देशीय सञ्जालबाट समेत आउने गरेको भन्दै त्यसलाई समेत निगरानीका लागि आधार मानिने बताउँछन्।

"नेपालभित्र पनि यस प्रकारका अपराधको सञ्जालले जरा नगाडून भनेर नेपालका सम्बन्धित सबै निकायहरूलाई भनिरहेका छौँ। त्यो हाम्रो विशेष चासोको विषय हो। त्यसबारे निगरानीका केही कामहरू भइरहेका छन् भन्ने हामीलाई लागेको छ," राजदूत ओली थप्छन्।

"क्याम्बोडियामा केही समय बसेर स्क्यामिङका काम गरेका नेपालीहरू नै पनि स्वदेश फर्केर समेत उक्त सञ्जालबाट टाढिन्छन् भन्ने छैन। उनीहरूले सोही काम नेपालबाट वा सीमापार गएर वा तेस्रो मुलुकमा गएर गर्नसक्ने हुनाले निगरानी आवश्यक छ।"

उनले दूतावास संलग्न हुने यस प्रकारका उद्धार तथा कारबाहीका काम परराष्ट्र मन्त्रालयमा मात्र नभईकन गृह मन्त्रालय, अद्यागमन, प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो लगायत सबै ठाउँमा एकसाथ हुने बताउँछन्।

यसरी पुर्‍याइन्छन् म्यान्मार, क्याम्बोडिया, भियतनाम र थाईल्यान्डलगायत देशका 'स्क्याम सेन्टर'मा नेपाली

म्यान्मारका 'स्क्याम सेन्टर'बाट नेपालीसहित २५० भन्दा बढी विदेशी कामदार मुक्त

प्रहरीले काठमाण्डूमा क्याम्बोडिया र म्यान्मारमा जस्तै प्रकृतिको 'स्क्यामिङ सेन्टर' चलाउने तयारी गरिरहेका भनिएका केही बाङ्ग्लादेशी नागरिकहरू हालै पक्राउ गरेर अध्यागमनलाई बुझाउने क्रममा ती अधिकांश यसअघि क्याम्बोडियामा कामका लागि गएको पाइएको थियो।

उनीहरूले प्रहरीसँगको बयानमा क्याम्बोडियामा चिनजान भएका चिनियाँ नागरिकले नै आफूहरूलाई नेपाल ल्याएको बताएको प्रहरीले जनाइरहँदा "नेपालमा र त्यहाँबाट फर्केका नेपालीहरूबाटै समेत" त्यस प्रकृतिका अपराध सुरु हुन सक्ने चिन्ता बढेको पाइन्छ।

नेपाल प्रहरीको काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरदकुमार थापा क्षेत्रीले सन्दिग्ध व्यक्तिहरूका हकमा इन्टरपोलमार्फत् पनि सूचना आइरहने बताउँछन्।

"ती कुराहरू हाम्रो रेकर्डमा बसेको हुन्छ। दूतावासबाट हुने पत्राचारका आधारमा निगरानी गर्ने काम हामीबाट भइ नै हाल्छ," थापा भन्छन्।

'अन्तिम अवसर'

सरकारले त्यहाँ अप्ठ्यारो अवस्थामा भएका, भिसाको म्याद सकिएर बसेका, जरिबाना तिर्न नसकेर अड्किरहेकाहरूलाई अनलाइन दर्ता गर्न आह्वान गरेको थियो।

"तीमध्ये राहदानी नभएका सबैजसोलाई ट्राभल डकुमेन्ट पठाइसकेका छौँ," उनी भन्छन्। "निस्किनसकेका ६७ जना हरेकलाई हामीले बारम्बार सम्पर्कको प्रयास गरिरहेका छौँ।"

हाल नेपालले क्याम्बोडिया सरकारलाई आफ्ना मानिसहरूलाई उसको नयाँ कानुन अनुसार कारबाही नगर्न र जरिबाना शुल्क मिनाहा गर्न गरेको आग्रहलाई मानिदिँदा त्यस्तो उद्धार सम्भव भए तापनि त्यस्तो अवस्था सदाका लागि नरहने राजदूत ओली बताउँछन्।

"त्यस्तो आग्रह हामीले आठौँ पटक गरेर पठाउँदैछौँ। अब पनि वहाँहरू नफर्किए नयाँ कानुन अनुसार कारबाही हुन्छ भनेर सचेत गराएका छौँ," राजदूत ओली भन्छन्।

"अहिलेसम्म ६०२ जनाको शुल्क, जरिबाना र सजाय मिनाहा छ। वहाँहरू आफ्नो टिकेट व्यवस्था गरेर घर गए हुन्छ। तर अब नफर्कनेका हकमा उनीहरूलाई पक्राउ गर्दै स्क्यामिङमा संलग्नता पाइएमा कानुन बमोजिम कारबाही गर्ने क्याम्बोडिया सरकारले बताएको छ।"

साइबर अपराध र ठगी बढेको बढ्यै : कतै तपाईँ पनि ठगको जालोमा परिरहनुभएको त छैन

'बिहे गर्नेदेखि आईफोन पठाउने प्रलोभनसम्म': मौलाउँदै साइबर ठगी, जोगिने कसरी

हाललाई उनीहरूले जुन १५ तारिखको समय सीमा तोकिदिएको अधिकारीहरू बताउँछन्।

नयाँ कानुन पारित गरेर क्याम्बोडियाले यस्ता स्क्यामिङ सेन्टरमा काम गर्नेहरूलाई दुई वर्षदेखि आजीवन कैदसम्मको सजाय हुनसक्ने व्यवस्था गरेको थाईल्यान्डस्थित नेपाली दूतावासले जनाएको छ।

"तर केही अझै सम्पर्कमा आइरहनुभएको छैन। फोन, इमेल र ह्वाट्सएप सन्देशको जबाफ दिइरहनु भएको छैन। तर हामीले वहाँहरूको परिवारमार्फत् समेत त्यसबारे जानकारी पुर्‍याउने काम गरेका छौँ। वहाँहरूका प्रियजनको हेलचेक्र्याइँले भोलिका दिनमा लामो समयको जेल र अप्ठ्यारो अवस्था हुन्छ भन्दै सोही कुरा विज्ञप्तिमा पनि सचेत गराएका छौँ," राजदूत ओली भन्छन्।

नेपालमा जानकारी

आफूहरूसँग सम्पर्कमा नआइरहेका नेपालीहरूको जानकारी देशभित्रका विभिन्न निकायहरूलाई गराएको राजदूत ओली बताउँछन्।

"गृह मन्त्रालय, नेपाल प्रहरी, परराष्ट्र मन्त्रालय सबैलाई उक्त अवस्था उल्लेख गर्दै परिवारसम्म सूचना पुर्‍याइदिन पत्राचार गरेका छौँ," उनी भन्छन्।

गत ज्यानुअरीयता क्याम्बोडियाले देशमा सञ्चालन भइरहेका स्क्यामिङ सेन्टरहरूमा काम गरेको आशङ्का गरिएका १० हजारभन्दा धेरै विदेशी नागरिकहरूलाई एप्रिलसम्म उनीहरूका देश फर्काइएको थियो।

क्याम्बोडिया समेत हेर्ने ब्याङ्ककस्थित नेपाली राजदूतावासले अनलाइन स्क्यामिङलाई एक अन्तरदेशीय अपराध बताउँदै त्यहाँका नेपालीहरूलाई सजग गराएको थियो।

दूतावासले केही नेपाली नागरिकहरू क्याम्बोडियामा अवैधानिक रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्रहरूमा संलग्न रहेको जानकारी समेत प्राप्त भएको यसअघि आफ्नो विज्ञप्तिमा जनाएको थियो।

उसले त्यस्ता काममा संलग्न व्यक्तिहरूलाई कसुरको प्रकृतिअनुसार पाँचलाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कैदसम्मको सजाय हुने व्यवस्थासहित क्याम्बोडिया सरकारले गत हप्तादेखि नयाँ कानून लागू गरेको जनाएको छ।

जसमा त्यस्ता स्क्यामिङ केन्द्रहरू बन्द गर्ने, नष्ट गर्ने तथा त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने अभियानलाई समेत तीव्र बनाएको उल्लेख गरेको छ।

जसक्रममा आफूलाई प्राप्त भिसा अवधिभन्दा बढी समय क्याम्बोडियामा नबस्न, कुनै पनि गैरकानूनी गतिविधिमा संलग्न नहुन तथा यदि त्यस्ता कार्यमा संलग्न भएको भए तुरुन्त त्यस्तो कार्य बन्द गरी नेपाल फर्कन राजदूतावास पुनः अनुरोध गरेको थियो।

खासगरी उच्च तलब तथा आकर्षक सुविधाको प्रलोभनमा परी पर्यटकीय भिसामा क्याम्बोडिया लगायत अन्य मुलुकहरूमा रोजगारीका लागि नजान उसले आफ्नो माग दोहोर्‍याइरहेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.