पहलगाम हमला: तीन यस्ता प्रश्न जसको जबाफ हालसम्म मिलेको छैन

पहलगाम हमला: तीन यस्ता प्रश्न जसको जबाफ हालसम्म मिलेको छैन

bbc.com . १० दिन अघि

जम्मू-कश्मीरको पहलगाममा भएको हमलामा २६ जना मारिए। त्यसपश्चात् सार्वजनिक भएका कैयन् भिडिओमध्ये एउटा भाइरल बनेको भिडिओ शीतल कलाठियाको हो। शीतलका ४४ वर्षीय पति शैलेशभाइ कलाठिया पनि उक्त हमलामा मारिएका थिए।

भारतका केन्द्रीय मन्त्री सीआर पाटिल सुरतमा उनको परिवारसँग भेट्न पुगेका थिए। शीतलले आफूलाई सम्हाल्न सकिनन् र मन्त्रीकै सामु दुखेसो पोख्न थालिन्।

शीतलले भनिन्, "तपाईँको साथमा यति धेरै भीआइपी गाडी छन्। सामान्य करदाताको हाल कस्तो छ? त्यहाँ न कुनै सैनिक थिए न कुनै मेडिकल टोली थिए।"

हमलामा ज्यान जोगाएका महाराष्ट्रका पारस जैनले द हिन्दू अखबारसँग कुरा गर्दै त्यहाँ २०-२५ मिनेटसम्म हमला भइरहेको तर न कुनै पुलिस न कुनै सैनिक त्यहाँ रहेको बताए।

विवरणहरूका अनुसार केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ)को शिविर हमला भएको स्थानबाट सात किलोमिटर पर थियो भने सेनाको राष्ट्रिय राइफल्स (आरआर)को शिविर पाँच किलोमिटर पर थियो।

भारतीय सुरक्षाकर्मीको निसानामा कश्मीर हमलाका सन्दिग्धका घर, कम्तीमा १० वटा ध्वस्त

इतिहासदेखि अहिलेसम्म कायम कश्मीरसँग जोडिएको नेपाल र नेपालीको साइनो

हमलामा मारिएकाहरूको परिवार उक्त आघातबाट निस्कन खोजिरहँदा विभिन्न प्रश्न उब्जिन थालेका छन्।

जसको जबाफ अहिलेसम्म मिलेको छैन।

सबभन्दा अहम् सवाल चाहिँ पहलगामको उक्त लोकप्रिय पर्यटनस्थल बैसरनमा सुरक्षा तैनाथी किन थिएन?

बीबीसीले जम्मू-कश्मीर तथा सुरक्षासँग जोडिएका विशेषज्ञहरूसँग यी सवालका जबाफ खोज्ने प्रयास गरेको छ।

उनीहरूले दिएको रायबारे जान्ने प्रयास गरौँ।

बैसरनमा सुरक्षा किन थिएन?

पहलगाममा भएको हमलापछि उक्त लोकप्रिय पर्यटन स्थलमा सुरक्षा बन्दोबस्ती किन गरिएको थिएन भन्ने प्रश्न बारम्बार उठेको छ।

पत्रकार तथा कश्मीर मामिलाकी जानकार अनुराधा भसीनका अनुसार उनको स्मरणमा रहेसम्म जम्मू-कश्मीरमा जहिले पनि सैन्य बलको बाक्लो तैनाथी हुने गर्थ्यो।

"सन् १९९० को दशकदेखि नै मलाई त्यस्तो कुनै ठाउँको याद छैन जहाँ सुरक्षा नभएको होस्। हरेक ठाउँमा केही न केही सुरक्षाकर्मी वा सुरक्षा तैनाथी देखिन्थ्यो नै। त्यसैले उक्त इलाकामा सुरक्षा थिएन भनेको सुन्नु मेरालागि आश्चर्यजनक छ," भसीनले भनिन्।

तर हमलाको केही घण्टाभित्रै सुरक्षाकर्मीहरूले आक्रमणकारीहरूको नाम तथा चित्र सार्वजनिक गर्न चाहिँ सकेको प्रति पनि उनले प्रश्न उठाइन्।

सन् २०१९ मा संविधानको धारा ३७० हटाएपछि कश्मीरमा यस प्रकारका घटना हुँदै आएको भन्दै उनले पछिल्लो घटना दुनियाँकै सबभन्दा धेरै सैन्य उपस्थिति भएको ठाउँमा भएको बताइन् र यसले गम्भीर प्रश्न खडा गरेको भनिन्।

उनले बितेका पाँच वर्षमा सैन्य नियन्त्रणका कारण त्यहाँ शान्ति देखिएको पनि उनले बताइन्।

प्राध्यापक अमिताभ मट्टु जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)को स्कूल अफ इन्टर्न्याशनल स्टडिजमा अध्यापन गर्छन्।

भसीनका प्रश्नका उत्तर दिँदै उनले भने, "पछिल्ला केही वर्ष यता पर्यटन स्थलहरूमा सैन्य बलको बाक्लो उपस्थिति नराख्ने प्रवृत्ति रहेको छ।"

उनले भने, "यस्तो रणनीति अपनाइएको छ कि त्यो असरदार त होस् तर ज्यादा खुला रूपमा नदेखियोस्। तर जे भए पनि यो एउटा ठूलो सुरक्षा चुक हो।"

बीबीसीले जम्मू-कश्मीरका पूर्व पुलिस महानिर्देशक (डीजीपी) एसपी वैदसँग पनि कुरा गरेको छ। उनले पर्यटकहरूलाई दूर दराजको इलाकामा लगिएको हुँदा त्यहाँ पुलिसको तैनाथी हुनै पर्ने थियो भनेका छन्।

अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल सतीश दुआ लामो समय उक्त क्षेत्रमा तैनाथ थिए। उनले भने, "सेना र आरआर सबै भित्री इलाकामा रहन सक्दैनन्। सिमानामा आतङ्कवादीहरूसँग लड्न खटिएका हुन्छन्। पुलिसको हकमा पनि, कश्मीर उपत्यका १२० किलोमिटर लामो र ३८ किलोमिटर चौडा छ र हरेक ठाउँमा पुलिस तैनाथ गर्न सम्भव हुँदैन।"

कश्मीर हमलामा परेर आमासँग घुम्न गएका एक नेपाली पर्यटकको पनि मृत्यु

कश्मीरमा भएको रक्तपातपछि भारतले पाकिस्तानलाई 'सैन्य जबाफ' दिने जोखिम

सर्वसाधारण किन निसानामा पारिए?

पहलगाम हमलामा सर्वसाधारणलाई किन तारोमा पारियो भन्ने प्रश्न पनि उठेका छन्।

भारतमा लामो समयपश्चात् यति ठूलो स्तरमा आम सर्वसाधारणलाई निसानामा पारिएको हो।

दुआले यसबारे वर्णन गर्दै भने, "गत पाँच वर्षमा कश्मीर उपत्यकामा हालत सुधारिएको थियो। मानिसहरू फेरि सामान्य जीवनतर्फ फर्कँदै थिए। पर्यटन पनि तीव्र गतिले विस्तार भयो। आतङ्कवादीहरूले पर्यटन स्थललाई निसाना बनाउँदैन थिए। किनभने यसो गर्दा स्थानीय कश्मीरीको जीविकालाई निसाना बनाएजस्तो हुन्थ्यो। यसबाट उनीहरूले आस गर्ने स्थानीय समर्थन गुम्थ्यो।"

"जब म कोर कमान्डर थिएँ तब मानिसहरूले मलाई कश्मीरमा घुम्न आउन हुन्छ? भनेर सोध्थे। मैले सधैँ उनीहरूलाई कृपया तपाईँहरू आउनुहोस् र डल लेकमा बस्नुहोस् वा अन्य पर्यटकीय स्थल घुम्नुहोस् भन्थेँ किनभने ती ठाउँमा हमला हुँदैन थिए।"

प्राध्यापक अमिताभ मट्टुले आम मानिसलाई निसाना पारिएको बारे केही प्रश्न गरेका छन्।

"विगतमा आतङ्कवादी समूहले मुख्य रूपमा सैन्य इलाकालाई निसाना बनाउँथे? यसपटक तिनले कश्मीरी मानिसहरूको भावनाको कुनै ख्याल गरेनन्। के हालत सामान्य भइरहेको भन्ने भनाइलाई निस्तेज पार्ने यो एक तरीका थियो?"

"स्थानीय बासिन्दाहरूलाई असर नपर्ने गरी सैन्य लक्ष्यमा हमला गर्ने आतङ्कवादीहरूको रणनीति हुने गर्थ्यो। तर यसपाली त्यो फरक पनि गरिएन। हो, तिनले हिन्दूलाई मात्रै निसानामा चाहिँ पारे।"

देशका अन्य भागमा पनि आम भावना भड्काउन आम मानिसलाई लक्षित गरिएको हुन सक्ने दुआ ठान्छन्।

उनले भने, "आतङ्कवादीहरूले हिन्दू पुरुषहरूलाई अलग पारेर मारिदिए। यसको उद्देश्य महिलाहरू आ-आफ्ना सहरमा फर्किएर सबै कहानी सुनाऊन् भन्ने हुन सक्छ। एक महिलाको पीडापूर्ण क्रन्दनले हरेक ठाउँमा असर पर्छ। देशका विभिन्न भागमा भावनाहरू भड्किन्छन्। भारतले तिनको जालमा नफस्ने तय गर्नु पर्छ।"

उनका अनुसार सन् २०२३मा इजराइलमा हमासले गरेको हमला जस्तै हो यो।

के यो गुप्तचरीको विफलता थियो?

अमिताभ मट्टुका अनुसार यो हमलामा पाकिस्तानको हात रहेकोमा कुनै शङ्का छैन। त्यसो भए के यो गुप्तचरीको ठूलो विफलता थियो भन्ने प्रश्न उब्जन्छ।

उनले भने, "पाकिस्तानमा राजनीतिक तथा सैन्य प्रतिष्ठानका बीच कति मिलीभगत छ भन्ने अहिलेसम्म प्रस्ट छैन। सेना र आईएसआई (पाकिस्तानी खुफिया एजेन्सी) अनि लश्कर-ए-तैयबा जस्ता समूह यस्ता गतिविधिमा सामेल छन् भन्नेबारे के पाकिस्तानी सरकारलाई जानकारी थियो? मलाई एक पलका निम्ति पनि पाकिस्तान यो घटनामा सामेल थिएन कि भन्ने शङ्का लाग्दैन।"

मट्टूले भने: "यो गुप्तचरीको विफलता हो। किन हामीलाई यसबारे कुनै इलेक्ट्रोनिक जानकारी प्राप्त भएन जसबाट हमलाबारे अन्दाज लगाउन सकिन्थ्यो र त्यसलाई रोक्न सकिन्थ्यो?"

अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल सतीश दुआ पनि गुप्तचरीको विफलतालाई ठूलो चुक मान्छन्।

दुआले भने, "यो घटनाको केही दिन अगाडि पाकिस्तानका सेनापतिले एक टिप्पणी गरेका थिए जसमा उनले हिन्दू-मुसलमानका बारे कुरा गरेका थिए अनि मुसलमानको श्रेष्ठताबारे पनि बोलेका थिए। हामीले उनको सङ्केत बुझ्न सक्नु पर्थ्यो। कुनै पनि ठूला आतङ्कवादी हमलालाई सधैँ शीर्ष स्तरबाट मन्जुरी मिलेको हुन्छ। पाकिस्तानी सेनापतिलाई थाहा थियो उनी के गर्दै छन् भनेर। त्यसैले हामी यस्ता विषयमा धेरै सावधान हुनुपर्छ।"

भारत-पाकिस्तान विभाजनपछि भएका महत्त्वपूर्ण घटनाहरू

भारतले संवेदनशील क्षेत्रमा यसरी खटाउँछ गोर्खा फौजलाई

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.