
बीपी राजमार्ग बर्खामा पनि 'आंशिक सञ्चालन' गर्ने यस्तो छ योजना
असोजको बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्ग आगामी बर्खामा पनि आंशिक सञ्चालन गर्ने गरी पूर्वाधार तयार भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।
अघिल्लो बर्खाको अन्त्यतिर आएको विनाशकारी बाढीका कारण उक्त सडकको करिब नौ किलोमिटर खण्ड पूरै बगाएको थियो। अहिले कतिपय स्थानमा खोलाबाटै अस्थायी सडक बनाइएका कारण बर्खायाममा यो राजमार्ग बन्द हुनसक्ने चिन्ता व्यक्त भएका छन्।
तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागले बर्खामा पनि सडक पूर्ण बन्द नहुने गरी संरचनाहरू तयार गर्ने काम भइरहेको जनाएका छन्।
पूर्वपश्चिम रेलमार्गः दश वर्षमा तीन प्रतिशत काम
मुख्य राजमार्गमा प्रीमनसुनमै समस्या देखिएपछि बर्खायाममा आवतजावतलाई लिएर चिन्ता
भौतिक पूर्वाधार मन्त्रालयका सह-सचिव तथा प्रवक्ता भीमार्जुन अधिकारीले सडक कम समय बन्द गर्ने गरी संरचनाहरू तयार गर्ने काम भइरहेको बताए।
"स्थायी पुनर्निर्माणका लागि ठेक्का प्रक्रिया पनि चलिरहेको छ," अधिकारीले भने।
"बर्खामा हुनसक्ने सम्भावित अप्ठेरोलाई ध्यानमा राखेर त्यहाँ विभिन्न उपकरणहरू तयारी अवस्थामा राख्ने काम हुन्छ। बाढी आउँदा एकछिन-एकछिन बन्द भए पनि लामो समय बन्द हुन नदिने हाम्रो सोच हो।"
भौतिक पूर्वाधार मन्त्रालयले वैकल्पिक सडकहरू पनि प्रयोगमा ल्याएर बीपी राजमार्ग भएर गुड्ने सवारी साधनलाई व्यवस्थित गर्ने योजना रहेको दाबी गरेको छ।
काठमाण्डूलाई पूर्वी क्षेत्रसँग जोड्ने छोटोमध्येको यो सडकको खण्डमा असोज अन्तिमको बाढीले क्षति पुर्याउँदा यात्रा अवधि पनि बढेको जानकारहरू बताउँछन्।
बीपी राजमार्ग भएर दैनिक जसो आवतजावत गर्ने चालकहरूका अनुसार असोजको बाढीले क्षति पुर्याएको खुर्कोट-भकुण्डेबेँसी खण्डको १३ किलोमिटर पार गर्न अहिले डेढ घण्टा भन्दा बढी समय लाग्ने गरेको छ।
धुलिखेल स्थित ट्राफिक कार्यालयका प्रहरी निरीक्षक विकासकुमार तामाङका अनुसार सडकमा क्षति पुग्नु भन्दा अगाडिको अवस्थाभन्दा अहिले उक्त सडकमा यात्रा गर्ने समय ६० प्रतिशतले बढेको छ।
"बिग्रिएको सडकखण्ड पार गर्न अहिले नियमित भन्दा ६० प्रतिशत बढी समय लाग्छ। एउटा गाडी बीचमा बिग्रियो भने झन् धेरै समय लाग्छ," तामाङ भन्छन्।
यो राजमार्गमा अधिकांश माइक्रो बस, जीप र साना सवारीसाधन गुड्ने गरेका छन्।
अस्थायी पुनर्निर्माणको पहल
सडक विभागका उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालका अनुसार बीपी राजमार्गलाई बाढी अघिको अवस्थामा ल्याउन कम्तीमा पनि दुई वर्ष लाग्ने देखिएको छ।
"दुई वर्षसम्म त्यो बाटो कसरी चलाउने त, अहिले पो खोलामा छ बर्खा आयो भने त खोलाबाट हिँड्न सकिन्न। त्यसो भएर अस्थायी संरचना निर्माण गरिएको छ," अर्याल भन्छन्।
"पहिलाको जस्तो विपद् आयो भने त त्यो (बाढीले) लगिहाल्छ। त्यस्तो राम्रोसँग बनाएको त लग्यो। तर साधारण अवस्थामा त्यो बर्खामा पनि चलाउन मिल्ने गरी दुई देखि चार मिटरसम्म उठाएर बनाइएको छ।"
बीपी राजमार्गको क्षतिग्रस्त १२ किलोमिटर बाटो बनाउन चाहिने करिब १० अर्ब रुपैयाँ कसरी जुटाइँदैछ?
जलवायु परिवर्तन: ट्रम्प पछि हट्दा नेपालजस्ता देशका 'दु:ख बढ्ने'
नेपालमा मध्य जेठबाट सुरु हुने मनसुन मध्य असोजसम्म रहन्छ। उक्त अवधिभर राजमार्ग पूरै बन्द गर्नु भन्दा उच्च बाढी आएको समयमा मात्रै बन्द गर्ने गरी अस्थायी संरचना तयार गरिएको अधिकारीहरू बताउँछन्।
"अहिले खोलाको सतहभन्दा दुईदेखि पाँच मिटरसम्म पुरेर गाडी चलाउन कोसिस गरिरहेका छौँ र त्यो काम जेठ १५सम्म सक्ने गरी लागिरहेका छौँ," सडक विभागका प्रवक्ता अर्याल भन्छन्।

अधिकारीहरूका अनुसार अस्थायी संरचना बनाइएको रोशी खोलाको किनारमा यसअघिका वर्षहरूमा पानीको सतह दुई मिटर भन्दा कम मात्रै बढ्ने गरेको पाइएको थियो। जसकारण नयाँ पुनर्निर्माण नसकिँदासम्मका लागि तयार गरिएको अस्थायी संरचना खोलाले नबगाउने सडक विभागको दाबी छ।
पछिल्लो साताहरूमा भएको प्री मनसुन वर्षामा उक्त सडकखण्ड बन्द गर्नु नपरेको स्थानीय प्रहरीले बताएको छ।
अस्थायी संरचना निर्माणका लागि विभिन्न निकायबाट भएको खर्चको यकिन हिसाब हुन बाँकी नै रहे पनि चार करोड आसपास खर्च भएको हुनसक्ने सडक विभागका अधिकारीले बताए।
स्थायी पुनर्निर्माणको प्रक्रिया थालिँदै

सडक विभागका अनुसार उक्त सडक खण्डको पुनर्निर्माणका लागि सडक विभागलाई सरकारले ८.५ अर्ब बराबरको ठेक्का लगाउन अनुमति दिएको छ।
क्षतिग्रस्त सडकलाई विभिन्न खण्डमा विभाजन गरेर छुट्टाछुट्टै ठेक्काको प्रक्रिया अघि बढिरहेको सडक विभागका उपमहानिर्देशक अर्यालले जानकारी दिए।
भौतिक पूर्वाधार मन्त्रालयका सह-सचिव एवं प्रवक्ता अधिकारीका अनुसार एउटा खण्ड पुनर्निर्माणका लागि उक्त राजमार्ग निर्माणमा सहयोग गरेको जापानी सहयोग नियोग (जाईका)लाई अनुरोध गरिएको छ। उक्त दातृ निकाय सबैभन्दा जटिल सडकखण्डको पुनर्निर्माणमा इच्छुक देखिएको अधिकारीहरूले बताएका छन्।
जापान सरकारको सहयोगमा १५८ किलोमिटर लामो उक्त राजमार्ग झन्डै दुई दशक लगाएर विसं २०७१ सालमा पूरा भएको थियो।
डीजल र पेट्रोल जस्तै हाइड्रोजनबाट गाडी चलाउन दिने कानुन बन्दै
दुईपाङ्ग्रे सवारीसाधनका लागि १८ र चारपाङ्ग्रेका लागि २१ वर्ष 'नाघेपछि मात्रै लाइसन्स'
परम्परागत रूपमा भित्तो काटेर नभइ पर्खाल उठाएर बनाइएको सडकको केही भाग २०७२ सालको भूकम्पका कारण पनि प्रभावित भएको थियो।
सडक विभागले बीपी राजमार्ग बाहेक सडक स्तरोन्नतिको काम र भौतिक क्षतिका कारण अरनिको राजमार्ग, कान्ति राजमार्ग, गाईघाटबाट खोटाङ जाने सगरमाथा राजमार्ग, मेची राजमार्ग, पूर्व पश्चिम राजमार्गको दाउन्ने खण्ड र पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लीन खण्डमा बर्खाको समयमा यात्रा प्रभावित हुनसक्ने जनाएको छ।
"हामीले बाटो बिग्रने ठाउँमा विभागसँग भएका उपकरणहरू तयारी अवस्थामा राखिसकेका हुन्छौँ। सडक अवरुद्ध भएको अवस्थामा तत्कालै खुलाउने प्रयास हुन्छ," विभागका प्रवक्ता अर्याल भन्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Liked by: