गाजामा शान्तिबारे ट्रम्पको योजनालाई राष्ट्रसङ्घ सुरक्षा परिषद्को समर्थन

गाजामा शान्तिबारे ट्रम्पको योजनालाई राष्ट्रसङ्घ सुरक्षा परिषद्को समर्थन

bbc.com . २ घण्टा अघि

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले राष्ट्रपति डोनल्ड ट्रम्पको गाजा शान्तिबारे २० बुँदे योजनासम्बन्धी अमेरिकाले मस्यौदा गरेको प्रस्तावको पक्षमा मत दिएको छ।

सो योजना अन्तर्गत इन्टर्न्याशनल स्टेबिलाइजेशन फोर्स (आईएसएफ)को स्थापना गरिने छ। अमेरिकाका अनुसार कैयन् नाम नखुलाइएका देशहरूले उक्त (शान्ति कायम गर्ने) फौजमा योगदान दिन रुचि देखाइसकेका छन्।

अमेरिकी प्रस्तावका पक्षमा सुरक्षा परिषद्का १५ सदस्यमध्ये यूके, फ्रान्स र सोमालियासहित १३ सदस्यले मत दिए भने रुस र चीन मतदानमा सहभागी भएनन्।

राष्ट्रपति ट्रम्पले सो प्रस्तावलाई राष्ट्रसङ्घले अनुमोदन गरेकोलाई स्वागत गरेका छन्। यसले विश्वभरि थप शान्ति कायम हुने उनले बताए।

हमासले प्यालेस्टिनीहरूको अधिकार तथा माग सम्बोधन नगरिएको भन्दै उक्त योजना अस्वीकार गरेको छ।

'हमासको ग्रिनेड बाहिर फ्याँकेर विपिन जोशीले मेरो ज्यान बचाएका थिए'

गाजामा घर फर्किएको परिवारले फेला पार्‍यो सुत्ने कोठामा सग्लो बम

के छ योजनामा?

हमास समूहले टेलिग्राममा आफ्नो धारणा राख्दै सो योजनाले "गाजा क्षेत्रमा अन्तर्राष्ट्रिय अभिभावकत्व सहितको संयन्त्र थोपर्ने र त्यसलाई हाम्रा जनता र तिनका समूहले अस्वीकार गर्ने" जनाएको छ।

"गाजा क्षेत्रभित्र अन्तर्राष्ट्रिय फौजलाई विद्रोहको निरस्त्रीकरण सहितका कार्य तथा भूमिका दिँदा त्यसको तटस्थता गुम्छ र त्यो फौज नै सो क्षेत्रको अधीनस्थताको समर्थनमा हुने गरी द्वन्द्वको एउटा पक्ष बन्न पुग्छ," उसले भनेको छ।

पछिल्लो प्रस्तव बारेका विवरणअनुसार त्यहाँ खटाइने भनिएको आईएसएफको भूमिका 'हमास सहितका गैर राज्य पक्षीय सशस्त्र समूहहरूको स्थायी निरस्त्रीकरण' गर्नु तथा गैरसैनिक एवं मानवीय सहायता मार्गको रक्षा गर्नु रहने छ।

यसको मतलब यूकेसहित कतिपय देशले आतङ्ककारी सङ्गठन भन्दै आएको हमासले आफ्ना हतियार बुझाउनु पर्ने छ।

इजरेल अनि गाजाको दक्षिणी छिमेकी इजिप्टसँग मिलेर आईएसएफलाई काम गर्न दिनुका अतिरिक्त सो प्रस्तावमा गाजामा नयाँ प्रशिक्षित प्यालेस्टीनी प्रहरीको स्थापना गरिने पनि उल्लेख छ।

अहिलेसम्म गाजामा हमासकै नेतृत्वमा प्रहरी सञ्चालित थियो।

प्रस्तावको केन्द्रमा आईएसएफ

संयुक्त राष्ट्रसङ्घका निम्ति अमेरिकी राजदूत माइक वाल्जले परिषद्लाई सम्बोधन गर्दै आईएसएफलाई "सो क्षेत्रको सुरक्षा गर्न, गाजालाई सैन्य रहित पार्न, आतङ्ककारी संरचना नष्ट पार्न, अस्त्र हटाउन तथा प्यालेस्टीनी गैर सैनिकहरूको सुरक्षा सुनिश्चित गर्न" कार्यादेश दिइने छ।

योजनाको प्रारम्भिक चरण – इजरेल र हमासबीच युद्धविराम अनि बन्धक तथा बन्दीहरूको रिहाइ – अक्टोबर १० मा लागु भएको थियो। त्यसलाई वाल्जले एकदमै 'कमजोर पहिलो कदम' भने।

ट्रम्पको योजनाको मुख्य स्तम्भ आईएसएफ हुने छ जसमा शान्ति समिति वा बोर्ड अफ पीसको पनि कुरा छ जसको अगुवाइ उनी स्वयंले गर्ने अपेक्षा छ।

दुई वर्षको युद्धपश्चात् गाजाको पुनर्निर्माणको निम्ति वित्तीय व्यवस्था विश्व ब्याङ्कको अगुवाइमा बन्ने ट्रस्ट फन्डबाट गरिने प्रस्तावमा उल्लेख छ।

साथै प्रस्तावमा प्यालेस्टिनी राज्यको सम्भावना पनि उल्लेख छ – जुन विषयलाई इजरेलले कडा विरोध गर्दै आएको छ। मुख्य अरब देशहरूको दबावमा भविष्यमा राज्य स्थापनाको मार्ग त्यसमा उल्लेख गरिएको हो।

ट्रम्पको शान्ति योजनाले इजरेल र हमासबीच सन् २०२३ को अक्टोबर ७ देखिको लडाइँ रोकेको छ। उक्त दिन हमासका बन्दुकधारीहरूले इजरेलमा आक्रमण गरी करिब १२ सयको ज्यान लिएका अनि २५१ जनालाई बन्धक बनाएका थिए।

त्यसयता गाजामा इजरेलले गरेको सैन्य कारबाहीमा ६९,४८३ प्यालेस्टिनीहरू मारिएको हमासद्वारा सञ्चालित त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

छाडिए इजरेली बन्धक र हिरासतमा रहेका प्यालेस्टिनी, ट्रम्पले भने- मध्यपूर्वका निम्ति 'ऐतिहासिक बिहानी'

गाजा संघर्षविराम र बन्धक रिहाइ योजना इजरेलद्वारा अनुमोदन

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.