ट्रम्पले इरान युद्ध 'निकै चाँडै' सकिने भनेपछि तेलको मूल्यमा गिरावट
राष्ट्रपति डोनल्ड ट्रम्पले इरान युद्ध "निकै चाँडै" समाप्त हुने बताएका छन्। तर उनले अमेरिकाले "पर्याप्त जित हासिल नगरेको" र "अन्तिम विजय" को लक्ष्य राखेको समेत बताए।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोन वार्ता गरेकै दिन ट्रम्पको इरान युद्ध अन्त्य सम्बन्धी भनाइ आएको छ। ट्रम्प पुटिन वार्तासम्म ८ अमेरिकी सेना मारिएको जानकारी सार्वजनिक भएको थियो भने अहिलेसम्म ८ जना अमेरिकी सैनिकको ज्यान गएको बताइएको छ।
सीबीएस न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिका "तालिकाभन्दा निकै अगाडि" रहेको बताए।
अमेरिकी राष्ट्रपतिको उक्त टिप्पणीपछि मङ्गलवार एसियाको प्रारम्भिक कारोबारमा तेलको मूल्य घटेको छ। सोमवार एक बिन्दुमा ती कारोबार प्रतिब्यारल ११५ अमेरिकी डलरसम्म पुगेका थिए।
इरानका नयाँ सर्वोच्च नेता चुनिए मोज्तबा खामेनेई
इरान हमला: अमेरिका र इजरेलको 'रोजाइको युद्ध'
इरानले स्ट्रेट अफ हर्मुज भनिने जल क्षेत्रलाई अवरुद्ध गर्ने धम्की दिएको छ। ट्रम्पले तेहरानलाई त्यसो गरेमा "मृत्यु, आगो र क्रोध"को चेतावनी दिएका छन्।
तेलको भाउ घट्यो
ब्रेन्ट करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारल ९२.५० अमेरिकी डलरमा पुगेको छ। अमेरिकामा कारोबार हुने तेलसमेत करिब ९ प्रतिशतले घटेर प्रति ब्यारल ८८.६० अमेरिकी डलरमा पुगेको छ।
तर यस द्वन्द्वको सुरु हुनुअघि रहेको तुलनामा मूल्य अझै पनि करिब ३० प्रतिशतले बढ्ता छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमवार युद्ध "निकै चाँडै" समाप्त हुने बताएपछि यस्तो गिरावट देखा परेको हो।
मध्यपूर्वमा लडाइँ चर्किने डर, नेपाली कामदारहरू कुन मनस्थितिमा छन्
प्रारम्भिक व्यापारमा तेलको मूल्यमा आएको गिरावटले एसियाली बजारहरूलाई प्रोत्साहन दिएको देखिन्छ।
जापानको निक्केई २२५ सूचकाङ्क २.८ प्रतिशतले बढेको छ र दक्षिण कोरियाको कोस्पी एक्सचेन्ज ५ प्रतिशतभन्दा बढीले बढेको थियो।
कैयौँ एसियाली देशहरू द्वन्द्व प्रभावित खाडी राज्यहरूका ठूला ग्राहक भएकाले तेलको मूल्यमा भएको वृद्धिसँगै एसियाली सूचकाङ्कहरूमा ठूलो धक्का परेको थियो।
ट्रम्पले अरू के भनेका छन्?
एनबीसीसँग कुरा गर्दै उनले इरानी तेल कब्जा गर्ने सम्भावनालाई खुला राखेको बताउँदै "केही मानिसहरूले यसको बारेमा कुरा गरेको" उल्लेख गरे।
न्यूयोर्क पोस्टसँगको अर्को अन्तर्वार्तामा उनले आफ्नो प्रशासन इरानमा अमेरिकी सेना पठाउने कि नपठाउने भन्ने निर्णय गर्नबाट "निकै पर" रहेको बताए।
रिपब्लिकन सांसदहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिका "केही अति दुष्ट मानिसहरूबाट छुटकारा पाउन" इरानमा "छोटो अवधिको" सैन्य कारबाहीमा तानिएको बताए।
उनले थप भने: "हामीले पहिले नै धेरै तरिकाले जितेका छौँ, तर हामीले पर्याप्त जितेका छैनौँ।"
लीज डूसेट: एक असाधारण समय जसका निम्ति इरानले गरेको थियो तयारी
आफूमाथि प्रहार नगरिए छिमेकमा आक्रमण नगर्ने इरानका राष्ट्रपतिको भनाइ
ट्रम्पले न्यूयोर्क पोस्टलाई भने अनुसार उनी इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनेईलाई लिएर "खुसी छैनन्।"
तर पछि ट्रम्पले आफ्नो प्रेस ब्रीफिङका क्रममा मोज्तबाको स्थान कसलाई चाहन्छन् वा त्यो कसरी प्राप्त हुने छ भनेर स्पष्ट पारेनन्।
उक्त ब्रीफिङमा ट्रम्पले इरानमा गरिएको कारबाही "ठूलो सफलता" भएको दोहोर्याए। तर उनले इरानले "निकै लामो समयसम्म" परमाणु अस्त्र विकास गर्न नसक्ने सुनिश्चित गर्न चाहेको र त्यो निकै ठूलो काम रहेको बताए।
पत्रकारहरूसँग बोल्दै ट्रम्पले अमेरिकाको इरानमा अझै पनि लक्ष्यहरू रहेका र ती "एकै दिनका" काम भएको बताए। तर उनले यस युद्ध "निकै चाँडै" सकिने बताए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: