महिला खेलाडीको क्लब फुटबलको सुरुवात नेपालबाट, फाइनलमा एपीएफ र इस्ट बङ्गाल

महिला खेलाडीको क्लब फुटबलको सुरुवात नेपालबाट, फाइनलमा एपीएफ र इस्ट बङ्गाल

bbc.com . ७ घण्टा अघि

नेपाली फुटबलमा पुरुष र महिला टोली अहिले विपरीत अवस्थामा देखिन्छन्।

पुरुष टोलीले हालै एसियन कप छनोटमा कमजोर नतिजा भोग्यो भने लीग फुटबल नभएको भन्दै कतिपय खेलाडीहरू पलायनको बाटो रोजिरहेका पाइन्छन्।

महिला टोलीले भने राम्रो प्रदर्शन गर्दै छवि उचो बनाइरहेको देखिन्छ। एएफसी एसियन कप छनोटमा टाइब्रेकरसम्म पुगेको टोलीको देशभरिको चर्चा लोभलाग्दो देखिन्छ।

महिला फुटबल प्रतिस्पर्धा हेर्न देशभरको रङ्गशाला भरिएका छन् भने समर्थकहरूबाट जोगाउन खेलाडीहरूलाई सुरक्षा दिनुपर्ने गजबका दृश्यहरू देखिएका छन्।

महिला फुटबलको १००औँ खेलमा गरिएका चार परिवर्तन, साम्बाको ह्याट्रिकमा रोमाञ्चक जित

चलचित्रको कथाजस्तै नेपाली फुटबल कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन

यसै बेला दक्षिण एसियाली फुटबल महासङ्घ (एसएएफएफ) ले पहिलो पटक दक्षिण एसियाली महिला खेलाडीहरूका लागि भनेर साफ विमिन्स क्लब च्याम्पियनशिपको रूपमा नयाँ प्रतियोगिताको थालनी गरेको छ।

एसियामै पहिलो

यसरी महिला फुटबलको बेग्लै क्लब च्याम्पिअनशिप आयोजना गरेको एसियामै यो पहिलो हो।

त्यसको सुरुआत नेपालबाटै भयो। अर्को तथ्य- विगतमा दक्षिण एसियाली खेलकुद साग (सन् १९८४) र पुरुष टोलीको साफ च्याम्पिअनशिप (सन् १९९७) पनि नेपालबाटै सुरु भएको थियो।

दक्षिण एसियाली फुटबल महासङ्घका महासचिव पुरुषोत्तम कट्टेल भन्छन्, "दक्षिण एसियामा महिला फुटबल खेलाडी अगाडि बढिरहेका छन् । यसैले हामीले महिला केन्द्रित फुटबल कार्यक्रमलाई बढावा दिएका छौँ।"

महिलाको साफ च्याम्पिअनशिप, साफ फुटसल, साफ यू-१९ र यू-१७ जस्ता प्रतियोगिता थाल्नुले महासङ्घ महिला फुटबलमा केन्द्रित भएको देखिन्छ।

महिला फुटबललाई बल

नेपालमा महिला फुटबलको 'क्रेज' बढ्नुका तीन कारण

नेपालमा फुटबल प्रशिक्षण दिने प्रतिष्ठान खोल्ने बुफोनको 'इच्छा'

दक्षिण एसियामा महिला खेलाडीहरूको प्रतिस्पर्धाहरू कम भएको भन्दै महासङ्घले सुरु गरेको यो च्याम्पिअनशिप प्रत्येक वर्ष आयोजना हुने बताइएको छ। जहाँ दक्षिण एसियाका लीग च्याम्पिअन क्लबहरू सहभागी हुने छन्।

यसको अर्थ अब दक्षिण एसियाका सात वटै देशले हरेक वर्ष अनिवार्य रूपमा महिला लीग फुटबलको आयोजना गर्नुपर्ने भएको छ।

यसपालि दुई देश माल्दिभ्स र श्रीलङ्काका महिला टोलीले भाग लिएनन्। बाँकी पाँच देशमा नेपालबाट लीग च्याम्पिअन सशस्त्र प्रहरी बलको एपीएफ एफसी, बाङ्ग्लादेशको नास्रिन स्पोर्ट्स एकेडेमी, भारतको इस्ट बङ्गाल एफसी, पाकिस्तानको कराँची सिटी एफसी तथा भुटानको लीग च्याम्पिअन ट्रान्सपोर्ट युनाइटेड सहभागी छन्।

दशरथ रङ्गशालामा आज शनिवार हुने फाइनलमा एपीएफ र इस्ट बङ्गाल भिड्दैछन्।

राष्ट्रिय टोली निर्माणमा सहयोग पुग्ने

नेपाली महिला फुटबलमा पुरानै अनुहारहरू देखिएको लामो समय भइसकेको छ। पछिल्लो समय मिना देउवा, पूर्णिमा राई र प्रतीक्षा चौधरी जस्ता केही नयाँ अनुहारहरू देखिएका छन्।

पुराना खेलाडीहरूको प्रतिस्थापन गर्ने समय नजिकिइरहेको बेला लीगको नियमित आयोजना हुँदा घरेलु महिला फुटबल प्रतिस्पर्धा बढ्ने छ र नयाँ खेलाडीहरू उत्पादन हुने देखिन्छ।

अहिले पनि सावित्रा भण्डारी 'साम्बा' र प्रीति राई जस्ता खेलाडी नहुना साथ टोलीको प्रदर्शन असन्तुलित हुने अवस्था देखिइरहेको छ।

राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक नवीन न्यौपाने भन्छन्, " अहिले सीमित खेलाडीहरूको माझबाट खेलाडीहरू छान्नुपर्ने अवस्था छ। तर महिला क्लब फुटबल प्रतिस्पर्धा बढेमा राम्रा प्रतिभा छान्न हामीलाई मद्दत पुग्ने निश्चित छ।"

पदकको भोक मेटाउन मद्दत पुग्ने

अनिता बस्नेतको दुर्लभ 'ओलिम्पिको' गोल

इराकविरुद्ध पाँच गोल गरेपछि साम्बा फेरि चर्चामा, के छन् उनका अरू कीर्तिमान

१३ पटक फाइनलमा पुगेर पनि नेपाली महिला टोलीले अझसम्म कुनै अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्न सकेको छैन।

महिला टोलीका लागि पदक 'धेरै नजिक तर अझै टाढा' जस्तो अवस्था छ। त्यसो हुनुको मुख्य कारण लगातार प्रतियोगिता नभएर हो।

महिला खेलाडीहरू लामो समय विश्राम लिन्छन् र एकै पटक ठुलो प्रतिस्पर्धामा उत्रिँदा आत्म विश्वास डगमगाउने गरेकोले यसो भएको फुटबल विश्लेषक सञ्जीव मिश्र बताउँछन्।

उनी भन्छन्, "'फिनिसिङ टच'मा महिला खेलाडीहरू चुकिरहेका छन्। प्रतिस्पर्धाको सङ्ख्या कम हुनु त्यसको कारण हो। यस्ता प्रतियोगिताले खेलाडीहरूमा आत्मविश्वास बढ्ने र जित्न सिकाउने छ।"

विदेशी खेलाडी

काठमाण्डूमा जारी प्रतियोगितामा सहभागी इस्ट बङ्गाल एफसी र कराँची सिटी एफसीले पाँच पाँच जना विदेशी खेलाडीहरू पनि अनुबन्धित गरेका छन्। जसले प्रतिस्पर्धा झन् कडा बनाएको देखिन्छ। जसमा युगान्डा, घाना, नाइजेरिया, जोर्डन र ट्युनिसिया लगायतका खेलाडी छन्। यसले खेलाडीहरूको प्रतिस्पर्धा स्तर उच्च बनाउन मद्दत पुग्ने छ।

नेपाली खेलाडीहरू विदेशमा गएर खेल्न थालेको धेरै भइसक्यो। भारतको महिला फुटबल लीग आईडब्ल्यूएलमा १ दर्जन नेपाली खेलाडीहरू पुगेर खेलिसके। हाल गोलकीपर एन्जिला तुम्बाप्पो सुब्बा सेथू एफसी बाट खेल्दै छन्। भुटानमा रक्षक पूजा राना खेलिसकिन्। क्लब च्याम्पियनशिपमा हुने प्रतिस्पर्धामा नेपाली खेलाडीमाथि विदेशी टोलीको आँखा लाग्न सक्ने छ।

चुनौती

यति धेरै अवसरका माझ महिला फुटबल व्यवस्थापन एन्फाको लागि चुनौती पनि बन्न सक्छ।

यसै वर्षबाट महिला फुटबलको देशव्यापी नकआउट फुटबल प्रतियोगिताको सुरुआत भयो। महिलाको प्रतिस्पर्धा हेर्न दर्शकहरू ओइरिए।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धा पनि विगतको दाँजोमा यसपालि बढ्यो। यसले गर्दा खेलाडीहरू थकित भएको र सोचे अनुरूप प्रदर्शन गर्न नसकिरहेको एपीएफका प्रशिक्षक जीवेश पाण्डे बताउँछन्।

उनी भन्छन्, "खेलाडीहरू व्यस्त हुनुपर्छ तर अस्तव्यस्त भने हुनु हुँदैन।"

एन्फाले नियमितमा सञ्चालन गर्नुपर्ने लीग, जिल्लाको नकआउट गोल्डकपहरू र अन्तर्राष्ट्रिय खेलको तालमेल मिलाउनु जरुरी छ। यी सबै तारतम्य मिलेमा महिला फुटबलले आगामी दिनहरूमा सफलताको कथाहरू रच्न सक्ने निश्चित छ।

नेपाली खेलाडीका लागि बाङ्ग्लादेश फुटबल लीग फेरि खुल्ला, अहिलेसम्म कोको गए

राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डको जागिर धरापमा परेको हो ?

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.