यूएईमा ड्रोन हमलाका फोटो, भिडिओ सामाजिक सञ्जालमा शेअर गर्नेहरू पक्राउ, नेपालीहरूलाई सजग हुन आग्रह

यूएईमा ड्रोन हमलाका फोटो, भिडिओ सामाजिक सञ्जालमा शेअर गर्नेहरू पक्राउ, नेपालीहरूलाई सजग हुन आग्रह

bbc.com . २ घण्टा अघि

खाडीका देशहरूमा इरानी हमलाका तस्बिर तथा भिडिओ खिचेर सामाजिक सञ्जालमा हाल्नेहरू धमाधम पक्राउ परेका विवरण आएका छन्।

संयुक्त अरब इमिरेट्सको अबु धाबीमा ४५ जना विदेशी समातिएका समाचार आएका छन् भने अन्य खाडी देशहरूले पनि यस मामिलामा कडिकडाउ गरिरहेका छन्।

अमेरिका र इजरेलले इरानमा गरेका हमलापश्चात् इरानले खाडीका देशहरूमा हमला गरिरहेको छ।

इरानको ड्रोन तथा क्षेप्यास्त्र हमलाले युएई, कतार, कुवेत, बाहरेन, साउदी अरेबिया जस्ता लाखौँ नेपालीहरू काम गर्ने देशहरू समेत निसानामा परिरहेका छन्।

'विस्फोट भएको सुन्दा डर लाग्छ': लडाइँ चर्किएपछि खाडीमा रहेका नेपालीहरू चिन्तित

यूएईमा इरानी ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकसहित तीन विदेशीको मृत्यु

सजग रहन दूतावासको आह्वान

शनिवार आएका समाचार विवरणहरूमा अबु धाबीमा ४५ जना विदेशीहरूलाई इरानी ड्रोन हमलाका दृश्य सामाजिक सञ्जालका प्ल्याटफर्ममा शेअर गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

ती समाचारमा विदेशीहरू कुन कुन देशका थिए भनेर चाहिँ खुलाइएको छैन। मानिसहरूमा चिन्ता पैदा हुने किसिमका भ्रामक सूचना फैलाएको आरोप तिनलाई लगाइएको सञ्चार माध्यमहरूमा जनाइएको छ।

त्यहाँका अधिकारीहरूले पुष्टि नभएका तथा आधिकारिक स्रोतबाट प्रेषित नगरिएका सूचना तथा सामग्री प्रकाशन नगर्न चेतावनी दिँदै आएका छन्।

दुबई, कतार तथा बाहरेनमा पनि त्यस्तै प्रकारका पक्राउहरू गरिएको जनाइएको छ। पर्यटन तथा विदेशी लगानीमा निर्भर खाडी देशहरूले आफूहरूलाई सुरक्षित तथा विलासी गन्तव्यका रूपमा प्रस्तुत गर्दै आएका छन्।

यूएईको समाचारपत्र खलीज टाइम्सले शनिवार नै प्रकाशित गरेको अर्को एक समाचारमा एक जना नेपाली नागरिक पनि पक्राउ परेको उल्लेख गरेको छ।

अबु धाबीस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख तथा प्रवक्ता रञ्जिता दाहालले हालसम्म आधिकारिक रूपमा नेपाली पक्राउ परेको जानकारी नआएपनि समाचारहरूमा एकजना पक्राउ परेको विवरण आफूहरूले पनि देखेको बताइन्।

"हामीले धेरै नै सचेत गराउने काम गरिरहेका छौँ। यहाँका नेपाली समुदायहरूलाई पनि अपुष्ट सामग्री शेअर नगर्न भनेर जानकारी दिइरहेका छौँ। तथापि कतिपय हाम्रा समुदायका सदस्यहरूमा चेतनाको कमी छ अनि फेरि हाम्रा समुदाय सामाजिक सञ्जालमा पनि सक्रिय छन्," दाहालले बताएकी छन्।

कडा कानुन

त्यहाँको सरकारले सामग्रीहरूलाई सामाजिक सञ्जालमा शेअर नगर्न तथा कुनै हमलाबाट खसेका वस्तुहरू वरपर नजान भनिरहेको उनले सुनाइन्।

"साथै यहाँको सुरक्षा अलर्ट सन्देशहरूमा झ्यालतिर नबस्न अनि बाहिर भएको खण्डमा भित्र सुरक्षित रहन भनिरहेको हुन्छ।"

सरकारी चेतावनी अटेर गरेर फोटो भिडिओ शेअर गर्नेहरूलाई यूएईमा १ लाखदेखि २ लाख दिरहाम (करिब ४० देखि ८० लाख नेपाली रुपैयाँ) जरिबाना तथा १ देखि २ वर्षसम्म कैद सजाय हुन सक्ने कानुन रहेको उनले बताइन्।

यस्ता मामिलामा परेका कोही नेपालीलाईलाई कन्सुलर सेवा उपलब्ध गराउनु पर्‍यो भने त्यसबारे आफूहरूले परराष्ट्र मन्त्रालयको परामर्श लिने उनले बताइन्।

यूएईस्थित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अध्यक्ष भिम मल्ल ठकुरीले यस्ता मामिलामा बारम्बार जसो नेपालीहरू परिरहेका विवरण आफूले पाइरहेको बताए।

"यहाँको कानुनले गोपनियतालाई निकै प्राथमिकता दिन्छ। भर्खर नेपालबाट आएकाहरूले अन्जानमा फोटो भिडिओ शेअर गर्दा देशनिकाला वा डिपोर्ट गरिएका छन्। मलाई नै कैयन् नेपालीहरूले यसरी डिपोर्ट हुनु परेको बताएका छन्," उनले भने।

गैरआवासीय नेपाली सङ्घ यूएईका तर्फबाट आफूहरूले नेपाली समुदायका मानिसहरूलाई त्यहाँको कानुनबारे जानकारी गराइरहेको पनि उनले बताए।

"नेपालीहरूलाई आधिकारिक सूचनाहरूमात्र पछ्याउन अनि अनावश्यक होहल्ला नगर्न भनेर पनि दूतावास तथा एनआरएनएहरूले भन्दै आइरहेका छन्," यूएईको गैरआवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष विकास शाहीले बताए।

उनले स्थानीय कानुनहरू कडा भएको र तिनको पालना नगर्दा अप्ठेरो आइपर्ने बारे मानिसहरूलाई सचेत गराइरहेको जानकारी दिए।

फेब्रुअरी २८ मा अमेरिका र इजरेलले इरानमा हमला गरेपछि सुरु भएको युद्धका कारण ती क्षेत्रमा रहेका १८ लाख नेपालीहरू (सरकारी आँकडाअनुसार) पनि प्रभावित भएका छन्।

जारी युद्धको संवेदनशील समयमा ती नेपालीहरूलाई संयमित, सचेत र संयमित रहन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ।

"यस विषम परिस्थितिमा पश्चिम एसिया क्षेत्रमा रहनुभएका सबै नेपाली नागरिकहरूलाई अत्यन्त संयमित, सचेत र सजग रहन र कानूनविपरीत कुनै किसिमका फोटो, भिडियो तथा अडियो सामग्रीहरू रेकर्ड गर्ने र आदान-प्रदान गर्ने कार्य नगर्नु हुन परराष्ट्र मन्त्रालय पुनः अनुरोध गर्दछ," मन्त्रालयले बिहीवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अरू देशले पनि आफ्ना नागरिकहरूलाई सचेत गराइरहेको छ।

यसै साता दुबईमा एकजना ६० वर्षीय ब्रिटिश पुरुषलाई इरानी क्षेप्यास्त्रको भिडिओ खिचेको आरोप लागेपछि यूएईस्थित ब्रिटिश दूतावासले आफ्ना नागरिकहरूलाई त्यहाँको कानुन तोड्ने गरी इरानी क्षेप्यास्त्रका प्रभावबारे फोटो खिच्ने वा शेअर गर्ने काम नगर्न सजग गराएको थियो।

ती पर्यटकको फोनमा क्षेप्यास्त्र हमलाको भिडिओ पाइएपछि उनलाई हिरासतमा लिइएको थियो।

'आत्तिएर अधिक तेल भण्डारण गर्नुपर्ने अवस्था छैन', मध्यपूर्व तनावमाझ के नेपाल ढुक्क हुन सक्ने अवस्थामा छ?

नयाँ सरकारले तत्काल सामना गर्नुपर्ने अर्थतन्त्रका चार मुख्य चुनौती

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.