पतिको हत्यापछि राजनीतिमा पाइला टेकेकी बाङ्ग्लादेशकी प्रथम महिला प्रधानमन्त्री

पतिको हत्यापछि राजनीतिमा पाइला टेकेकी बाङ्ग्लादेशकी प्रथम महिला प्रधानमन्त्री

bbc.com . २ घण्टा अघि

बाङ्ग्लादेशको इतिहासमा प्रथम महिला प्रधानमन्त्री बनेकी खालिदा जियाको निधन भएको छ। उनको ८० वर्षको उमेरमा निधन भएको हो।

चार दशकभन्दा बढी समयदेखि जिया बाङ्ग्लादेशको राजनीतिमा एक केन्द्रीय पात्रकी रूपमा थिइन्। उनी एक गृहिणीबाट १० वर्षभित्रै बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टी बीएनपीको नेतृत्वमा पुगेकी थिइन्।

विश्लेषकहरूका अनुसार जियाले बीएनपीलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिन्। तर जमात-ए-इस्लामीसहितका समूहसँग मिलेर गठनबन्धन बनाएकोमा उनको आलोचना पनि हुने गरेको थियो।

बाङ्ग्लादेशकी प्रथम महिला प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन

उनको नेतृत्वमा बीएनपीको पहिलो कार्यकालमा देशमा संसदीय प्रणाली पुनः स्थापना भएको थियो।

उनले सन् १९८१ मा संस्थापक राष्ट्रपति जियाउर रहमानको हत्यापछि उत्पन्न अराजकताबाट पार्टीलाई जोगाएर राख्ने उत्तरदायित्व वहन गरिन्।

'पुतली'देखि खालिदा जियासम्म

खालिदा जिया ३६ वर्षको उमेरमा विधवा भएकी थिइन्। त्यति बेलासम्म उनी गृहिणी थिइन्। छोराहरू तारिक रहमान र अराफत रहमानको लालनपालनमै उनको समय व्यतीत हुँदै आएको थियो।

उनकी दिदी सेलिमा इस्लामका अनुसार त्यस बेला जियाले राजनीतिमा संलग्न हुने विचारै गरेकी थिइनन्। जियाउर रहमान राष्ट्रपति हुँदा पनि खालिदा जिया राजनीतिक गतिविधिबाट टाढै बसेकी थिइन्।

आलोचकहरू पतिको मृत्यु भएपछि बल्ल खालिदा जियाले उनको बिँडो थाम्न राजनीति गर्न थालेको र त्यसकै आधारमा स्थापित भएको तर्क गर्छन्। तर खालिदा जियाको जीवनबारे पुस्तक लेखेका पत्रकार महफुज उल्लाहको धारणा भने भिन्न छ। उल्लाहको पनि देहान्त भइसक्यो।

उल्लाहले बीबीसीलाई भनेअनुसार युवावस्थामै विधवा हुन पुगेकी खालिदा जिया पुरुषहरूको वर्चस्व रहेको समाजमा आफ्नै योग्यताका आधारमा स्थापित भएकी हुन्।

उनको नाम खालिदा खनाम थियो। परिवार र नातेदारहरूका लागि उनी 'पुतुल' थिइन् जसको अर्थ पुतली हुन्छ।

उनले जियाउर रहमानसँग सन् १९६० मा बिहे गरेकी थिइन्। त्यस बेला जियाउर पाकिस्तानी सेनामा क्याप्टेन थिए। बाङ्ग्लादेश पाकिस्तानबाट स्वतन्त्र भइसकेको थिएन।

इस्लामका अनुसार बिहेपछि आफ्नो पतिको नाम थपेर उनी खालिदा जिया बनेकी हुन्। तर उनलाई खालिदा जिया भनेर राजनीतिमा प्रवेश गरेपछि मात्र चिनिन थालेको हो।

सङ्कट पर्दा नेतृत्व

जियाउर रहमानको मृत्युपछि बीएनपीमा आन्तरिक कलह उत्पन्न भयो। कैयौँ नेताहरू सैन्य शासक जेनरल एर्शादतिर गए। पार्टी सङ्कटमा पर्‍यो।

यस्तो सन्दर्भमा जियाले ज्यानुअरी १९८३ मा पार्टीमा प्रवेश गरिन्। पहिले उनी उपाध्यक्ष बनिन्। त्यसको अर्को वर्ष १० मेमा उनी अध्यक्ष निर्वाचित भइन्।

बीएनपीका पूर्वनेता ओली अहमद उनको परिवारसँग निकट थिए। जियाउर रहमन राष्ट्रपति हुँदा अहमद उनका स्वकीय सचिव थिए। । उनका अनुसार पार्टी बचाउनुपर्‍यो भन्ने अनुरोध स्वीकार गर्दै खालिदा जिया राजनीतिमा होमिएकी हुन्।

बीएनपीका अनुसार खालिदा जियाको जन्म १५ अगस्ट १९४६ मा ब्रिटिश इन्डियाको जलपाइगुडीमा भएको हो। तर उनको जन्ममितिबारे विवाद छ। उनका बुवा इस्कन्दर मजुमदार र आमा तैयबा मजुमदार हुन्।

उनीहरूको पुर्ख्यौली घर फेनी जिल्लाको फुलगजीमा पर्थ्यो तर उनीहरू दिनाजपुरको मुदिपारा क्षेत्रमा स्थायी बसोबास गर्थे।

जिया पाँच सन्तानमध्ये तेस्री थिइन्। उनका दुई दिदी र दुई भाइ थिए।

उनकी नजिककी सहयोगी तथा बीएनपी नेता सेलिमा रहमानका अनुसार व्यस्त राजनीतिक जीवनका बीच पनि जिया आफ्नो पारिवारिक उत्तरदायित्वबाट पछि हट्दिनथिन्।

'सम्झौता नगर्ने नेता'को पहिचान

उनी सन् १९८२ मा बीएनपीको शीर्ष हुँदा बेला बाङ्ग्लादेशको सत्ता जेनरल एर्शादको हातमा थियो।

सैन्य शासनको विरोधमा नौ वर्ष बिताउने क्रममा उनी पार्टीभित्र स्थापित भएकी र उनले नै पार्टीलाई बलियो बनाएको बीएनपीका नेताहरू ठान्छन्। उनले सन् १९८३ मा एर्शादविरुद्ध आन्दोलन गर्न सातदलीय गठबन्धन बनाइन्।

अवामी लीगको नेतृत्वमा रहेको आठदलीय गठबन्धन र पाँचदलीय वामपन्थी गठबन्ध पनि आन्दोलन गर्दै थिए।

सन् १९८६ मा अवामी लीगको गठबन्धनले एर्शाद सरकारले गराएको संसदीय भाग लियो। तर जियाको गठबन्धनले त्यसलाई बहिष्कार गर्‍यो। नौ वर्ष सडक सङ्घर्षका क्रममा उनले "सम्झौता नगर्ने नेता "को रूपमा आफ्नो परिचय बनाइन्।

एर्शादविरोधी आन्दोलन क्रममा उनी तीन पटक गिरफ्तार भएकी थिइन्।

बीएनपीबारे अनुसन्धान गरेर पुस्तक लेखेका मोहिउद्दिन अहमदले जियाले आन्दोलनमार्फत् पार्टी पुनर्गठन गरेको बताए।

एर्शाद सरकारको पतनपछि बीएनपी जियाको नेतृत्वमा सन् १९९१ मा चुनावमा सहभागी भयो र सत्तामा पुग्यो। खालिदा जिया बाङ्ग्लादेशकी प्रथम महिला प्रधानमन्त्री बनिन्। पाँचवटा निर्वाचन क्षेत्रमा उम्मेदवार बनेर उनले ती सबैमा जितेकी थिइन्।

चुनावअघि एर्शादविरोधी आन्दोलनमा जुटेका तीनवटै गठबन्धनले देशमा संसदीय सरकार फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

पाँचौँ संसद्‌मा संसदीय नेताका रूपमा देशमा राष्ट्रपतीय प्रणाली विस्थापन गर्दै संसदीय प्रणाली स्थापना गर्ने विधेयक प्रस्तुत गरिन्। त्यो सर्वसम्मतिले पारित भयो।

देशमा १६ वर्षपछि संसदीय पद्धति फर्कियो। ओली अहमदका अनुसार जियाको यही योगदानका लागि बीएनपीलाई मतदाताले रुचाए।

प्रधानमन्त्रीदेखि विपक्षी नेतासम्म

बीएनपीको पहिलो कार्यकालको अन्त्यतिर अवामी लीग र अन्य दलहरूले निर्वाचन गराउन कामचलाउ सरकार बन्नुपर्ने माग चर्काउँदै लगे।

यसैबीच जिया सन् १९९६ को १५ फेब्रुअरीका दिन भएको चुनावमार्फत् छैटौँ संसद्‌बाट फेरि प्रधानमन्त्री बनिन्। उक्त संसद्ले संविधानमा १३ ‍औँ संशोधन गरेर कामचलाउ सरकारको प्रावधान पारित गर्‍यो। संसद् जम्मा १२ दिन चल्यो।

जियाले सत्ता कामचलाउ सरकारलाई जिम्मा लगाएर संसद् विघटन गरिन्। उनी सन् १९९६ को चुनावपछि विपक्षी दलकी नेत्री बनिन्।

सन् २००८ को चुनावमा पनि बीएनपी नेतृत्वको गठबन्धनले हारेपछि उनी फेरि विपक्षी दलकी नेत्री बनिन्। त्यस अघि सन् २००१ मा बीएनपीले चुनाव जितेका बेला तेस्रो पटक प्रधानमन्त्री बनेकी थिइन्।

ओली अहमदका अनुसार प्रधानमन्त्री वा दलको नेताका रूपमा खालिदा जियाले कहिलेकाहीँ निर्णय गर्न विलम्ब गरेकी छन्। तर उनमा सहनशीलता रहेको उनी औँल्याउँछन्।

अवामी लीग सरकारले सन् २०११ मा कामचलाउ सरकारको व्यवस्था खारेज गरेपछि जिया नेतृत्वको बीएनपी र गठबन्धनका सदस्यहरूले त्यसलाई पुन:स्थापना गर्न भन्दै आन्दोलन गरे। तर त्यो सफल भएन।

सन् २०१४ को चुनाव बहिष्कार गरेकाले सो दलले संसद्‌मा प्रतिनिधित्व गुमायो। उनले लामो समय शक्तिबाट बाहिर रहनुपर्‍यो र अन्ततः उनलाई जेल हालियो।

जियाले अवामी लीग सरकारका बेला सन् १९९७ मा जमात-ए-इस्लामीसहित चार दलसँग गठबन्धन बनाइन्। यो पछि २०-दलीय गठबन्धन बन्यो। गठबन्धनमा इस्लामिक दलहरूको वर्चस्व बढ्यो।

जमात- ए- इस्लामीसँगको निकटताका कारण बीएनपीको वर्षौँसम्म आलोचना भइरह्यो। तर लेखक मोहिउद्दिन अहमद त्यसको सम्पूर्ण जिम्मेवारी जियामा मात्र नरहेको ठान्छन्।

भ्रष्टाचारमा दोषी ठहर, स्वास्थ्यमा समस्या

एर्शादको शासनकालबाहेक यी बीएनपी नेतालाई सन् २००७ को कामचलाउ सरकारका बेला पनि जेल हालिएको थियो।

उनलाई अवामी लीग सरकारका बेला ८ फेब्रुअरी २०१८ मा जेल हालियो। उनलाई जिया अनाथालय ट्रस्ट र जिया च्यारिटेबल ट्रस्टसम्बन्धी दुई मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएको थियो।

उनी दुई वर्ष जेल बसिन्। स्वास्थ्यस्थिति बिग्रिएको भन्दै अवामी लीग सरकारको कार्यकारी आदेशमा उनी जेलमुक्त भइन्। तर ढाकास्थित आफ्नै घरमा बस्नुपर्ने र विदेशयात्रा गर्न नपाउने सर्त थिए।

उनको रिहाइको अवधि कैयौँ पटक बढाइयो।

जिया त्यसपछि कुनै राजनीतिक गतिविधिमा प्रत्यक्ष रूपमा सहभागी भइनन्। बिरामी परेपछि उनलाई पटकपटक अस्पताल भर्ना गर्नुपरेको थियो।

मे २०२१ मा उनलाई कोभिड भएपछि घरमै उपचार गरियो। श्वासप्रश्वाससम्बन्धी जटिल समस्या भएकाले सीसीयूमा राखेर उपचार गर्नुपर्ने भए पनि अस्पताल लगिएन।

चिकित्सकहरूले उनको कजेलो बिग्रिएको पत्ता लगाए। उनी मधुमेह, आर्थ्राइटिस अनि मिर्गौला र मुटुको रोगबाट पनि पीडित थिइन्।

परिवारले उनलाई उपचारका लागि देशबाहिर लग्न अनुमतिका लागि धेरै पटक निवेदन गर्‍यो तर सरकारले उनी "सजाय काटिरहेकी बन्दी भएका"ले त्यसका लागि कानुनी आधार नरहेको जबाफ दियो।

सन् २०२४ को जुन महिनामा उनलाई पेस मेकर हालियो।

सन् २०२४ मा उनको उपचारका लागि विदेशबाट चिकित्सकहरू ‍आए।

शेख हसिनाको सरकार आन्दोलनमार्फत् ढलेपछि कार्यकारी आदेशमार्फत् जिया ५ अगस्ट २०२४ मा रिहा भइन्।

उनलाई ज्यानुअरी २०२५ मा उपचारार्थ लन्डन लगिएको थियो। उनलाई कतार एअरवेजको विशेष सुविधायुक्त विमानबाट लन्डन पुर्‍याइएको थियो।

चार महिना लन्डनमा बसेपछि उनी स्वदेश फिर्ता भइन्। तर बारम्बार अस्पताल गइरहनुपर्थ्यो। उनको उनको स्वास्थ्यस्थिति स्थिर बनेपछि गुलशन निवासमा बस्दै आएकी थिइन्।

५ अगस्टपछि स्वतन्त्र, सीमित राजनीतिक गतिविधि

आन्दोलनद्वारा शेख हसिना अगस्टमा सत्ताच्युत र भारत पलायन भएपछि बेगम खालिदा जिया कार्यकारी आदेशमार्फत् रिहा भइन्।

त्यसयता उनी पार्टीका सीमित राजनीतिक गतिविधि अनि राज्य तथा कूटनीतिक समारोहमा सहभागी हुँदै आएकी थिइन्।

एउटा कार्यक्रममा सहभागी हुन कारमा चढेपछि उनी २१ नोभेम्बरमा अस्वस्थ भइन्। श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि उनलाई २२ नोभेम्बरमा अस्पतालको आकस्मिक उपचारकक्षमा लगियो।

विश्लेषकहरू बाङ्ग्लादेशको राजनीति खालिदा जिया र शेख हसिनाको सेरोफेरोमा घुमेको विश्वास गर्छन्।

बुढ्यौली र अस्वस्थताका कारण जिया लामो समय निष्क्रिय बसिन्। हसिनाको सत्ता ढलेपछिको कालखण्डमा राजनीतिक दलहरूको भूमिकाबारे मतभिन्नता भए आन्दोलनमा सहभागी सबै पक्षले पनि शेख हसिनालाई आदरपूर्वक हेर्थे।

बीएनपीले पार्टीभित्र उनलाई सधैँ राजनीतिक अभिभावकका रूपमा प्रस्तुत गर्‍यो।

अब हुने भनिएको निर्वाचनमा उनको पार्टीले उनलाई तीनवटा निर्वाचन क्षेत्रमा उम्मेदवार बनाएको थियो। यद्यपि उम्मेदवारी दर्ता उनको हस्ताक्षर नभई औँठाछाप प्रयोग गरिएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.