विद्रोहीसँग म्यानमारको सैन्य सरकारको अर्को ठूलो हार, सीमावर्ती सहरको नियन्त्रण गुम्यो

विद्रोहीसँग म्यानमारको सैन्य सरकारको अर्को ठूलो हार, सीमावर्ती सहरको नियन्त्रण गुम्यो

bbc.com . २६ दिन अघि

तीन वर्षअघि म्यानमारको सत्ता कब्जा गरेका सैन्य शासकले थाइल्यान्डसँग जोडिएको पूर्वी सीमामा अर्को एउटा ठूलो हार बेहोर्नु परेको छ।

उक्त क्षेत्रमा म्यान्मारको सेनाले हप्तौँदेखि जातीय करेन विद्रोही र अन्य कू-विरोधी समूहबाट व्यापक आक्रमणको सामना गरिरहेको थियो।

एउटा महत्त्वपूर्ण सीमावर्ती सहर म्यावाड्डीको सुरक्षामा खटिएका सयौँ सैनिकहरू विद्रोहीसमक्ष आत्मसमर्पण गर्न राजी भएका छन्।

थाइल्यान्डसँग हुने म्यान्मारको अधिकांश व्यापार उक्त सहर हुँदै हुने गर्छ।

भारत किन म्यान्मारसँगको सीमामा छेकबार लगाउन चाहन्छ

म्यान्मारको सैनिक सत्तामा 'अहिलेसम्मकै गम्भीर धक्का'

सरकारी सेनाको आत्मसमर्पण

गत शुक्रवार करेन न्याशनल युनियन केएनयूले म्यावाड्डीबाट करिब १० किलोमिटर पश्चिमस्थित थाङ्गानिनुङ सहरमा रहेको एउटा सैन्य बटालियनले आत्मसमर्पण स्वीकारेको घोषणा गरेको जनाएको थियो।

उक्त समूहले खुसीयाली मनाइरहेका आफ्ना लडाकुहरूले कब्जा गरेका कैयौँ हतियारहरू प्रदर्शन गर्दै गरेको भिडिओ पोस्ट गरेको थियो।

सप्ताहन्तमा करेन सैनिकहरू म्यावाड्डीमा बाँकी रहेको अन्तिम बटालियनसँग पनि वार्ता गरिरहेका छन्।

उक्त बटालियन आत्मसमर्पण गर्न सहमत भएको बताइएको छ।

हालैका महिनाहरूमा चीनसँग सीमा जोडिएको शान राज्य र बाङ्ग्लादेशको सिमाना नजिकै रखाइन प्रान्तमा रहेका कैयौँ क्षेत्रबाट आफ्ना सैनिकहरूलाई फिर्ता गर्नु पर्ने अवस्थाबाट गुज्रिएको सैन्य सरकारका लागि यो पछिल्लो गम्भीर धक्का हो।

अफिम उत्पादन गर्न म्यान्मार एक नम्बरमा तर किसानको दुःख भने जस्ताको तस्तै

‘म त उम्केर आएँ, फिरौती नतिरे अरू नेपाली साथीहरू बेचिन सक्छन्’

हजारौँ सैनिकको मृत्यु

हालसम्म म्यान्मारमा हजारौँ सैनिकहरू मारिएका छन् भने कैयौँले विद्रोहीसमक्ष आत्मसमर्पण गरेका छन्।

त्यसका कारण खाली भएको स्थान पूर्ति गर्नका लागि सेनाले त्यहाँको जनसङ्ख्याबाट युवाहरू लिनु परिरहेको छ।

करेन न्याशनल युनियनले आफ्नो क्षेत्रमा आफ्नो जातिको स्वशासनका निम्ति सन् १९४८ मा म्यान्मार स्वतन्त्र भएदेखि नै लड्दै आएको छ।

यद्यपि उक्त समूहले सन् १९९० को दशकमा श्रृङ्खलाबद्ध रूपमा सरकारी सेनासँग हार बेहोरेको थियो।

त्यो सन् २०१५ मा भएको राष्ट्रिय सहमतिको युद्धविरामका बेला त्यसमा हिस्सा लिने एउटा समूह पनि हो।

सन् २०२१ मा निर्वाचित सरकारलाई सैन्य कूबाट सेनाले हटाएपछि उक्त समूहले युद्धविराम आफूलाई अमान्य रहेको भन्दै पुन: सशस्त्र विद्रोह सुरु गर्‍यो।

‘बरु हामीलाई मारेर शव फिर्ता लैजाऊ’, स्वदेश फर्कन अस्वीकार गर्दै रोहिन्ज्या शरणार्थीहरू

आङ सान सू चीलाई रिहा गर्न छोराको आग्रह

सहरी विद्रोहीलाई तालिम

म्यानमारको सबैभन्दा ठूलो सहर याङ्गुनसँग तुलनात्मक रूपमा नजिक भएको र थाइल्यान्डको सीमातर्फ जानका लागि उपयुक्त मार्गमा पर्ने भएकाले करेन राज्यमा सैन्य कूपछि सेनाको दमनबाट बच्नका लागि विद्रोहीहरू भागेर जाने प्रमुख गन्तव्य बनेको छ।

केएनयूले धेरै सहरी क्षेत्रबाट आएका विद्रोही स्वयम्‌सेवकहरूलाई तालिम दिएको छ र उनीहरू म्यान्मारका सेनाहरू रहेको स्थानमा आक्रमण गर्न सहभागी पनि भएका छन्।

उक्त समूहले अन्य ठूला विद्रोही समूहहरूसँग पनि समन्वय गरेर विद्रोह अघि बढाइरहेको छ।

उक्त राज्यमा अब त्यहाँका सेनालाई लगानी गर्ने व्यक्ति तथा समूहहरूले पनि विद्रोहीहरूलाई सहयोग गर्न थालेका छन् र त्यसले गर्दा विद्रोहीहरू शक्तिशाली बन्दै गइरहेका छन्।

म्यान्मारका अन्य क्षेत्रमा पनि विद्रोहीहरूको शक्ति बलियो बन्दै गएको छ र सेनाले त्यसै बेला थाइल्यान्डसँग सीमा जोडिएको उक्त क्षेत्रमा आफ्नो नियन्त्रण गुमाउन पुगेको छ।

आफ्नो क्षतिको जवाफ सैन्य सरकारले भने थप हवाई आक्रमण गरेर दिइरहेको छ।

त्यस क्षेत्रमा हजारौँ सर्वसाधारणहरू द्वन्द्वका कारण घरबारविहीन भएका छन्। अहिले पनि कैयौँ मानिसहरू हवाई हमलाबाट बच्नका लागि थाइल्यान्डको सीमातर्फ भागेको खबर आएको छ।

लड्न अस्वीकार गर्ने म्यान्मारका सैनिकहरू

म्यान्मारमा हवाई आक्रमण बढाउँदै सेना, प्रतिरोधको उपाय खोज्दै विद्रोही पक्ष

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.