'> ' /> भारत हुँदै तेस्रो देश उड्ने नेपालीलाई थप सहज बनाउन 'लचिलोपन' खोज्दै दूतावास

भारत हुँदै तेस्रो देश उड्ने नेपालीलाई थप सहज बनाउन 'लचिलोपन' खोज्दै दूतावास

bbc.com . २ घण्टा अघि

भारतका विमानस्थल भएर तेस्रो मुलुक जाने नेपालीहरूका हकमा 'नो अब्जेक्शन सर्टिफिकेट' (एनओसी) जारी गर्न पर्ने या नपर्ने विषयमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालयसँग थप स्पष्टता खोजेको छ।

गत महिना एक नेपाली विद्यार्थीलाई नयाँ दिल्लीस्थित विमानस्थलबाट कतार एअरलाइन्सले यात्रा गर्न रोकेको खबर आएको थियो।

हालै नेपालको अध्यागमन विभागले भिजिट भिसामा विदेश प्रस्थान गर्ने नेपालीहरूले त्रिभुवन विमानस्थलमा पासपोर्ट, भिसा र हवाई टिकटसँगै भ्रमणको प्रयोजन र त्यसले निम्त्याउने परिस्थितिबारे स्वयं जिम्मेवार रहने स्वघोषणा देखाए प्रस्थान गर्न पाउने निर्णय लिएको थियो।

नेपाली विद्यार्थीलाई दिल्लीबाट फर्काउने निर्णय 'आफ्नो भएको' कतार एअरवेजको स्वीकारोक्ति

नयाँ राहदानी छापिएर आउनुअघि नै मौज्दात सकिने डर, के गर्दै छ सरकार

हाल श्रम स्वीकृति भएकाबाहेक अन्य नेपालीले भारतका विमानस्थलको प्रयोग गरी विभिन्न १० वटा देशहरू जानका लागि 'नो अब्जेक्शन लेटर' लिनुपर्ने प्रावधान रहेको छ।

परराष्ट्र मन्त्रालय र अध्यागमन विभागका अधिकारीहरूले दिल्लीस्थित राजदूतावासले राय माग गरेको उल्लेख गर्दै यसबारे विभिन्न सरोकारवाला पक्षहरू बसेर एउटा टुङ्गोमा पुग्ने प्रतिक्रिया दिएका छन्।

विशेष गरी महिलालक्षित मानव तस्करीसहितलाई ध्यानमा राखेर 'नो अब्जेक्शन लेटर' लिनुपर्ने प्रावधान राखिएको अधिकारीहरूले बताउने गरेका छन्।

दिल्लीस्थित राजदूतावासले कस्तो निर्देशन माग गरेको हो?

भारतीय विमानस्थल प्रयोग गरेर तेस्रो देशमा यात्रा गर्ने नेपालीहरूले बेलाबेलामा सास्ती खेप्नुपरेका विवरणका माझ आफूले त्यसलाई सहजीकरण गर्न प्रयास गरिरहेको नयाँ दिल्लीस्थित भारतीय दूतावासका अधिकारीहरूले बताइरहेका छन्।

जर्मनी जान लागेकी नेपाली विद्यार्थी साम्भवी अधिकारीलाई दिल्ली विमानस्थलमार्फत् उडान गर्न नदिइएको भन्ने खबर आएपछि अघिल्लो साता भारतीय गृह मन्त्रालयले त्यसमा आफ्ना अध्यागमन कर्मचारीको कुनै भूमिका नरहेको बताएको थियो।

त्यसपछि बीबीसीलाई दिएको प्रतिक्रियामा कतार एअरवेजका एक प्रतिनिधिले 'यात्रुको भिसाले उनको यात्रा योजनाको तालिकाको अवधिभन्दा फरक अवधिको सङ्केत गरेको' भन्दै आफ्ना कर्मचारीले उनलाई उडानका लागि स्वीकार नगरेको बताएका थिए।

त्यसयता भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले भारतका लागि कतारका राजदूतसँग यस विषयमा छलफल गरेको अधिकारीहरू बताउँछन्।

नयाँ दिल्लीस्थित नेपाली नियोगका उपप्रमुख सुरेन्द्र थापाका अनुसार कतार एअरवेजसँग बुझेर आफूले त्यसबारे नेपाली पक्षलाई जानकारी उपलब्ध गराउने जवाफ कतारका राजदूतले दिएका छन्।

नेपाली यात्रुहरूबाट गुनासो आएसँगै आफूहरूले लुफ्थान्सा एअरलाइन्ससहितसँग छलफल गर्ने प्रयास गरिरहेको र भारतीय विमानस्थलबाट गरिने तेस्रो देशको यात्रालाई सहज बनाउने विषयमा नेपाल सरकारसँग नीतिगत निर्देशन पनि खोजेको उनले सुनाए।

नेपालको अध्यागमन विभागले अघिल्लो साता भिजिट भिजामा विदेश प्रस्थान गर्न नेपालको अध्यागमन निकायसमक्ष प्रस्तुत गर्ने कागजपत्रसम्बन्धी मापदण्डलाई लचिलो बनाएको थियो।

नयाँ दिल्लीस्थित नेपाली नियोगका उपप्रमुख थापाले अध्यागमन विभागले गरेको पछिल्लो निर्णयसँग अनुकूल हुने गरी आफूहरूले अपनाउन सक्ने लचिलोपनबारे निर्देशन दिन परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको बताए।

उनी भन्छन्, "अध्यागमन विभागको जुन निर्णय आएको छ, त्योअनुसार हामीले हाम्रो एनओसी प्रक्रियामा के सुधार गर्न सक्छौँ, के खुकुलो बनाउन सकिन्छ भनेर हामीले अध्यागमन विभागको पनि राय माग गरेका छौँ। केही परिवर्तनहरू पनि हुन सक्छन्।"

उनले थपे, "मन्त्रालयबाट केही खुकुलो बनाउने भन्ने निर्देशन आयो भने हामी सबै निकायहरूलाई एकपटक सर्कुलर गर्छौँ। नेपालमा जस्तै केही थप चाहिँदैन भन्ने भइदियो भन्ने नेपाली यात्रुहरूलाई एनओसी चाहिएन। थप केरकार नगर्नू भन्ने हिसाबले नै हामीले सर्कुलर गर्छौँ। तर त्यसमा अहिले अध्ययन भइरहेको छ।"

उनले नयाँ निर्देशन नआएको खण्डमा पनि आफूहरूले अन्तर्राष्ट्रिय वायुसेवाहरूलाई यात्रुले उठाएका मुद्दाहरूबारे 'सचेतना फैलाउने' प्रयास गरिराख्ने बताए।

कहाँकहाँ यात्रा गर्दा नो अब्जेक्शन लेटर चहिन्छ?

नेपालको विमानस्थल प्रयोग गरेर तेस्रो देशमा यात्रा गर्ने भारतीय नागरिकहरूले पनि काठमाण्डूस्थित भारतीय दूतावासबाट 'नो अब्जेक्शन लेटर' प्रस्तुत गर्नुपर्ने प्रावधान रहेको अधिकारीहरू बताउँछन्।

सन् २०२४ को जुलाई ३० मा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जारी गरेको सूचनाअनुसार भारतीय विमानस्थलहुँदै साउदी अरब, कतार, कुवेत, यूएई, ओमान, बहरेन, इराक, लिबिया र लेबनान यात्रा गर्न नेपाली नागरिकहरूले राजदूतावासबाट 'नो अब्जेक्नश लेटर' लिनुपर्छ।

तर वैदेशिक रोजगारीका लागि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएकाहरूका हकमा त्यस्तो अनुमति आवश्यक पर्दैन।

नेपालले रुसी सरकारको छात्रवृत्ति प्राप्त गरेका र रुसको 'बिज्निस भिसा' भएकाबाहेकका नेपाली नागरिकले पनि राजदूतावास वा नेपालको कन्सुलर सेवा विभागबाट लिएको यात्रा अनुमतिपत्र लिनुपर्ने प्रावधान राखेको छ।

तर अधिकारीहरूले अमेरिका, यूके, क्यानडा, अस्ट्रेलिया, न्यूजील्यान्ड, जापान र 'शेङ्गन भिसा' लागु हुने युरोपेली देशहरूका भिसा भएका वा बसोबास अनुमतिपत्र लिएका व्यक्तिहरूले कुनै पनि देश यात्रा गर्दा त्यस्तो एनओसी नचाहिने उल्लेख गरेका छन्।

त्यस्तो अनुमतिपत्रका लागि उडानको दिनभन्दा कम्तीमा सात दिनअघि सम्पूर्ण कागजपत्रसहित निवेदन दिनुपर्ने र भारु १,००० बुझाउनुपर्ने नियम छ।

राजदूतावासको प्रस्तावबारे अधिकारीहरू के भन्छन्?

नेपालको परराष्ट्र मन्त्रालयले विभिन्न सरोकारवाला पक्षहरूबीचको छलफलका माध्यमबाट उक्त विषयमा एउटा निष्कर्षमा पुग्ने बताएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बीबीसीसँग भने, "पहिला जुन तरिकाले हामीले यो व्यवस्था लागु गरेका थियौँ, के गर्न सकिन्छ भनेर सम्बन्धित मन्त्रालयहरूसँग सम्पर्क र समन्वयमा छौँ। के गर्दा उपयुक्त हुन्छ, त्यो अनुसार एउटा निष्कर्षमा पुग्छौँ।"

अध्यागमन विभागका अधिकारीहरूले पनि त्यसका लागि विभिन्न सरकारी निकायहरूले छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने अवस्था रहेको उल्लेख गरेका छन्।

अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले भने, "अध्यागमन विभागले भिजिट भिसामा जाने कार्यविधि संशोधन गरिसकेको सन्दर्भमा निर्देशन पाऊँ भनेर दूतावासले मन्त्रालयलाई पत्राचार गरेको छ। यसबारे परराष्ट्र मन्त्रालयले निर्णय गर्छ। त्यस क्रममा गृह मन्त्रालय र अध्यागमन विभागसँग पनि छलफल होला।"

मानव बेचबिखन तथा घरेलु हिंसाको सम्भावित जोखिम देखाउँदै सरकारले नेपाली महिलाहरूलाई खाडी क्षेत्रका देशहरूमा घरेलु श्रमिकका रूपमा काम गर्न जान प्रतिबन्ध लगाएको छ।

तर भिजिट भिजामा भारतसहित तेस्रो देश हुँदै महिलाहरू प्रतिबन्ध लगाइएका देशमा पुग्ने गरेका भन्दै अधिकारकर्मीहरूले चिन्ता जनाउने गराएको पाइन्छ।

नेपाली पासपोर्ट कति बलियो, विदेशको अध्यागमनमा नेपालीलाई कति सजिलो

राहदानी 'रोक्का' भएका नेपाली नागरिकले विदेशमा यात्रा गर्न पाउँछन् कि पाउँदैनन्

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.