'शटडाउन' को असरले अमेरिकामा एकै दिन १,४०० उडान रद्द
अमेरिकामा सङ्घीय सरकारको 'शटडाउन'को समयमा वायुसेवा कम्पनीहरूलाई उडान कटौती गर्न भनिएपछि शनिवार १४ सय भन्दा बढी उडान र अवतरण रद्द भएका छन्।
फ्लाइट ट्र्याकर 'फ्लाइटअवेयर'का अनुसार करिब शनिवार छ हजार उडानहरू ढिलाइ भए। त्यसअघि शुक्रवार सात हजार भन्दा बढी उडान प्रभावित भएका थिए।
सङ्घीय उड्डयन प्रशासन (एफएए) ले साताको सुरुमा गरेको घोषणामा देशका ४० वटा व्यस्त विमानस्थलमा १० प्रतिशतसम्म हवाई सेवा कटौती गर्ने बताइएको थियो।
एअर ट्राफिक कन्ट्रोलरहरूले शटडाउनका कारण बिना तलब काम गर्नु परेको र उनीहरूको थकानलाई ध्यान दिएर त्यसो गर्नु परेको उसको भनाइ छ।
रिपब्लिकन र डेमोक्र्याट पार्टी अक्टोबर १ तारिकदेखि जारी गतिरोध अन्त्य गर्ने विषयमा विभाजित छन्।
यात्रुहरू मर्कामा
माथिल्लो सदन सिनेटबाट बजेट पास गर्ने प्रयास विफल हुँदा त्यहाँ 'गभर्न्मन्ट शटडाउन'को अवस्था उत्पन्न भएको हो। जसले गर्दा धेरै सरकारी कामकाज अस्थायी रूपमा स्थगित भएका छन्।
राष्ट्रपति डोनल्ड ट्रम्पको रिपब्लिकन र विपक्षी डेमोक्र्याट पार्टीले यस्तो स्थिति आउनुका पछाडि एक अर्कामाथि दोष लगाएका छन्।
अहिलेसम्मकै सबैभन्दा लामो समयसम्म भएको यो शटडाउन अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकी सिनेटरहरू सप्ताहान्तमा पनि छलफलमा छन्।
अमेरिकाको भिसा लिन १५,००० डलर धरौटी राख्नुपर्ने नियम
'डीभी' भर्न अब एक डलर तिर्नुपर्ने नियमबाट नेपालमा 'लोकप्रिय' यो चिट्ठा कार्यक्रममा पर्न सक्ने असर
बिरलै हुने शनिवारको सत्रमा उनीहरूले त्यस्तो कोसिस गर्दै छन्। रिपब्लिकन सिनेटरका अनुसार छलफल सकारात्मक भएको छ।
शटडाउनले हवाई सेवा मात्र प्रभावित भएका छैनन्। खाद्य सहायता भुक्तानीमा भएको कटौती लगायतले गर्दा धेरै भन्दा धेरै अमेरिकीहरूले आफ्नो जीवन प्रभावित भएको महसुस गर्न थालेका छन्।
थ्याङ्क्सगिभिङको बिदाअघि यात्रा प्रभावित
अमेरिकन एअरलाइन्सले शनिवार विज्ञप्ति जारी गर्दै नेताहरूलाई शटडाउन अन्त्यका निम्ति तत्काल सहमतिमा पुग्न आग्रह गरेको छ।
न्यू जर्सीको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको निम्ति धेरै लामो समय पर्खिनु पर्ने अवस्था बेहोर्नु परेको देखिएको छ।
एफएएका अनुसार शनिवार दिउँसो त्यहाँ अवतरण सरदर चार घण्टा र उडान औसत डेढ घण्टा ढिलो भएको थियो।
एफएएका अनुसार एटलान्टा र न्यूयोर्कका अन्तर्राष्ट्रिय विमानस्थलमा पनि एकदेखि तीन घण्टासम्म उडान ढिलो भएका छन्।
नोभेम्बर २७ तारिखमा पर्ने थ्याङ्क्सगिभिङको बिदा नजिकिँदै गर्दा अमेरिकामा यो समय वर्षभरिकै निकै यात्रा हुने एउटा समय हो।
फ्लाइटअवेयरका अनुसार न्यू जर्सी, सिकागो र नर्थ क्यारोलाइनास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा शनिवार सबैभन्दा बढी उडान रद्द भएका छन्।
अमेरिकामा बजेट पारित नहुँदा 'शटडाउन', सम्भाव्य प्रभाव यस्ता छन्
अमेरिकामा 'शटडाउन' लम्बिएको लम्बियै, पोषण कार्यक्रम जारी राख्न पनि चुनौती
शटडाउनका कारण व्यावसायिक उडान मात्र प्रभावित भएका छैनन्। निजी जेटहरूमा पनि प्रतिबन्ध छ। यातायातमन्त्री सन डफीले शनिवार एक्समा लेखेका छन्, "हामीले व्यस्त विमानस्थलमा निजी विमान उडान घटाएका छौँ – त्यसको साटो निजी जेटहरूले साना विमानस्थल वा एअरफिल्डहरू प्रयोग गर्छन् ताकि व्यस्त कन्ट्रोलरहरूले व्यावसायिक उड्डयनमा ध्यान केन्द्रित गर्न सकुन्।"
एफएएले रद्द उडानको प्रतिशत बढाएसँगै अवस्था झन् खराब हुनसक्छ। उसले त्यो क्रमिक रूपमा बढ्ने बिहीवार जनाएको थियो।
जसअनुसार शुक्रवार ४ प्रतिशत, नोभेम्बर ११ तारिकमा ६, नोभेम्बर १३ तारिकमा ८ र नोभेम्बर १४ सम्ममा १० प्रतिशत कटौती गरिने छ।
शटडाउनका कारण एअर ट्राफिक कन्टोलरहरूमाथि आइपरेको कामको बोझले गर्दा हवाई सुरक्षा कायम राख्न कटौती आवश्यक रहेको एफएएले जनाएको छ।
आवश्यक कामदारहरूको रूपमा कन्ट्रोलरहरूले तलब बिना पनि निरन्तर काम गर्नुपर्छ। युनियनहरूका अनुसार त्यसले गर्दा कैयौँले बिरामी बिदा लिएका छन् भने कैयौँले आवश्यक खर्च जुटाउन अर्को काम थालेका छन्।
सङ्घीय कर्मचारीको रूपमा कार्यरत १४ लाखमध्ये एअर कन्ट्रोलहरू पनि हुन्। जसले या बिना तलब काम गरिरहेका छन् या गर्न बाध्य छन्।
हवाई यात्रालाई प्रभावित पारिरहेको अर्को कारण पनि छ। शटडाउनका कारण यातायात सुरक्षा मामिलासम्बन्धी निकाय टीएसएले ६४ हजार एजेन्टहरू मध्ये अधिकांशलाई तलब दिएको छैन।
सन् २०१८ मा राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालमा भएको शटडाउनको समयमा १० प्रतिशतभन्दा बढी टीएसए कर्मचारीले बिना तलब काम गर्नुभन्दा घरमै बस्ने विकल्प रोजेका थिए।
गतिरोधको कारण के हो?
राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीका सांसदहरूले बजेटसम्बन्धी विधेयकलाई एउटा निरन्तर प्रस्तावका रूपमा केही थपघट नगरी पारित गर्न चाहेका थिए।
उक्त विधेयक सिनेटबाट पारित हुन ६० सदस्यको समर्थन चाहिन्थ्यो, तर त्यहाँ ५३ रिपब्लिकन सांसद मात्र छन्।
विपक्षी दल अर्थात् डेमोक्र्याटिक पार्टीको सहयोगबिना विधेयक पारित नहुने अवस्था थियो।
त्यही कुरा बुझेर स्वास्थ्य सेवासहितका विषयमा आफ्ना अजेन्डा स्वीकार गर्न सरकारलाई दबाव दिनका लागि डेमोक्र्याटिक पार्टीका सांसदहरूले मौका छोपेको ठानिएको छ।
अमेरिकामा 'शटडाउन'बीच आन्तरिक हवाई उडानहरूमा व्यापक असर
ट्रम्पले एच-वानबी भिसा शुल्क १ लाख डलर पुर्याउँदा भारतमा किन धेरै चिन्ता
ट्रम्प सरकारले मेडिकएड, सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) र न्याश्नल इन्स्टिट्यूट अफ हेल्थलगायत स्वास्थ्यसम्बन्धी निकायहरूको बजेटमा कटौती गरेको छ, जुन डेमोक्र्याटहरूलाई चित्त बुझेको छैन।
रिपब्लिकन पक्षले विपक्षीका मागको सुनुवाइ गर्न कुनै चासो देखाएको छैन, बरु बजेट पारित नभएर सरकारी कामहरू अवरुद्ध हुँदा त्यसको कारकका रूपमा डेमोक्र्याटहरूमाथि नै जनाक्रोश बढ्ने उसको आकलन छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: