'> ' /> 'ब्रेन क्याप' खोज जसले जन्मजात चोट बोकेका शिशुको ज्यान जोगाउन सक्छ

'ब्रेन क्याप' खोज जसले जन्मजात चोट बोकेका शिशुको ज्यान जोगाउन सक्छ

bbc.com . १ घण्टा अघि

नवजात शिशुहरूको मस्तिष्क अनुगमन गर्न प्रकाश र अल्ट्रासाउन्ड उपयोग गरिने 'स्क्यानिङ क्याप' विश्वकै पहिलो भएको अनुसन्धानकर्ताहरूले बताएका छन्।

यो प्रविधिले सेरब्रल पल्सी, छारेरोग तथा सिकाइमा कठिनाइजस्ता अवस्था भएका शिशुहरूको रोगको निदान तथा स्याहारमा सघाउने उनीहरूको आशा छ।

केम्ब्रिजस्थित रोजी मटर्नटी हस्पिटलको इमेजिङ कक्षमा तीन साताअघि जन्मिएका थीओ मस्त निद्रामा छन्। अन्य कैयौँ शिशुको जीवन परिवर्तन गराउन सक्ने नयाँ प्रविधि परीक्षणमा उनले सघाइरहेका छन्।

को हुन 'सुपरएजर्स' चिरञ्जीवी र तिनको मस्तिष्कबाट हामी के सिक्न सक्छौँ?

के हामी स्तन क्यान्सरविरुद्धको खोप नजिक पुगेका हौँ

मस्तिष्कको अनुगमन

डा फ्लोरा फौरले उनलाई हेर्दाखेरी पौडी खेल्दा लगाइने स्विमिङ क्याप वा रग्बी खेलमा फर्वर्डले लगाउने जस्तो क्याप लगाइदिएकी छन्।

क्यापमा षड्भुज आकारका 'लम्प'हरू छन् जसमा जडित प्रविधिले उनको मस्तिष्कले कसरी काम गरिरहेको छ भनेर अनुगमन गर्छ।

"पहिलोपटक प्रकाश र अल्ट्रासाउन्डलाई एकैपटक उपयोग गरिएको छ, जसले मस्तिष्कको पूर्ण तस्बिर दिन्छ," डा फौरले भनिन्। उनी 'फ्यूजन' (फङ्शनल अल्ट्रासाउन्ड इन्टिग्रेटेड विथ अप्टिकल इमेजिङ इन नीओनेट्स) अध्ययनमा सामेल छिन्।

जन्म हुनुभन्दा केही साता अगाडिदेखि तथा जन्म भएको केही सातासम्म हाम्रो मस्तिष्क प्रत्येक दिन परिवर्तन भइरहेको हुन्छ।

नवजात शिशुका मस्तिष्कमा हुने चोटपटक जीवनभरि अपाङ्गता गराउने मुख्य कारण हो। त्यस्तो चोटपटक घटाउने एउटा कार्यक्रम अहिले यूकेको न्याश्नल हेल्थ सर्भिस (एनएचएस)ले देशभरि थालेको छ।

चोटले मस्तिष्कले शरीरसँग गर्ने सञ्चारको क्षमतालाई प्रभावित पारिदिन्छ, जसले छारेरोग वा शरीरको चाल र संयोजनमा असर पर्ने सेरब्रल पल्सीजस्ता अवस्था समेत आइपर्न सक्छ।

समयअगावै जन्मिएका शिशुमा यस्तो अवस्था बढ्ता देखिन्छ। तर यसको कारक भनेको अक्सिजनको कमी, रक्तस्राव, सङ्क्रमण वा जन्म हुँदा हुने ट्रमा पनि हुन सक्छ।

मस्तिष्कमा चोट लागेको शिशुहरूलाई ती हुर्कँदा अब कस्ता असर पर्छन् भनेर विद्यमान अनुगमन प्रविधिले ठ्याक्कै ठम्याउन सक्दैनन्।

समस्याको व्यापकता

हरेक वर्ष विश्वभर ३० लाख शिशुहरू हाइपोक्सिक-इस्कीमिक एङ्केफलोपथी (एचआईई) भनिने मस्तिष्कको चोटबाट पीडित हुन्छन्, जसले तिनको ज्यान जान्छ या अपाङ्गता हुन्छ। जन्मने समयमा शिशुको मस्तिष्कले पर्याप्त अक्सिजन वा रगतको प्रवाह पाउन सकेन भने त्यस्तो चोट हुन सक्छ।

जन्मँदा हुने यस्ता चोटले विश्वमा नवजात शिशुको ज्यान लिने कारणहरूमा २३% हिस्सा ओगट्ने गरेको 'होप फर एचआईई' नामक पीडित परिवारहरूको सञ्जालले जनाएको छ। अमेरिका, युरोप तथा क्यानडामा प्रत्येक एक हजार जीवित शिशुको जन्म हुँदा एकदेखि तीनलाई यस्तो अवस्था आइपर्छ।

मध्यम आय भएका वा गरिब देशहरूमा यो सङ्ख्या अझ धेरै छ। सबैभन्दा खराब स्थिति सबसहारा अफ्रिकामा छ जहाँ प्रत्येक एक हजार जीवित शिशुको जन्म हुँदा १५ लाई यस्तो अवस्था आइपर्छ।

१०० वर्ष पुरानो एउटा खोज जसका कारण अचेल पनि धेरैले नोबेल पुरस्कार पाइरहेका छन्

नुनमा आयोडिन बढी हुँदा नेपाली भान्सा र जनस्वास्थ्यमा परेको असर

सम्भाव्य फाइदा

क्यापले कसरी काम गर्छ भनेर बताउँदै डा फौरले भनिन् : "मस्तिष्कको सतहमा अक्सिजनको परिवर्तनलाई यसको प्रकाश सेन्सरले अनुगमन गर्छ - यो विधिलाई हाई डेन्सिटी डिफ्यूज अप्टिमल टमोग्राफी भनिन्छ - अनि अल्ट्रासाउन्डले चाहिँ मस्तिष्कको भित्र रहेका साना रक्तनलीहरूको तस्बिर खिच्छ।"

अर्को महत्त्वपूर्ण कुरा चाहिँ यो उपकरण सहजै बोकेर यताउता लैजान सकिन्छ ताकि शिशुहरू सुतेकै ठाउँमा गएर यसको प्रयोग गर्न सकिन्छ।

परम्परागत 'एमआरआई' (म्याग्नेटिक रेजनन्स इमेजिङ) वा 'सीयूएस' (क्र्यानियल अल्ट्रासाउन्ड) भन्दा यसका धेरै फाइदा हुने कन्सल्ट्यान्ट न्यूरोसर्जन डा अलेक्सस जोआनिड्सको विश्वास छ।

उनका अनुसार एमआरआईका दुई मुख्य सीमा छन् - एउटा लागत, अनि अर्को समय।

"शिशुलाई तपाईँले चर्को आवाज निकाल्ने स्क्यानर भएकाठाउँमा लैजानुपर्‍यो अनि सायद २० मिनेट कुर्नुपर्छ, अनि फेरि अर्को पटक लैजानुपर्छ," उनले भने।

"यथार्थमा तपाईँले शृङ्खलाबद्ध स्क्यान गराउन त सक्नुहुन्छ तर ती सुरुका साताहरूमा शिशुको मस्तिष्क हरेक दिन परिवर्तन भइरहेको हुन्छ। त्यसैले बारम्बार परीक्षण गरिरहन सकिने विधि निकै उपयोगी हुन्छ।"

साथै एमआरआई र सीयूएससँग कुनै चोटको अनुमान गर्न सक्ने क्षमता सीमित हुन्छ।

नवजात शिशुको नियमित परीक्षण गराउन सक्दा समस्याको समयमै निदान हुने अनि उपचारका लागि थेरपी वा आवश्यक अन्य उपाय चाँडै गर्न सकिने हुन्छ।

'एक्शन सेरब्रल पल्सी' नामक संस्थाले यसको स्वागत गरेको छ।

"सेरब्रल पल्सी भएका कैयौँ बालबालिकाको निम्ति रोग निदानको मार्ग नै निकै लामो हुने गर्छ। वर्षौँसम्म परिवारले आफ्ना बच्चालाई के भएको भनेर बुझ्न सक्दैनन्। यस्तो प्रविधिले धेरै नै फरक पार्न सक्छ। यसका साथै समुदायमा उपलब्ध थेरपिस्टहरूको क्षमता वृद्धि पनि आवश्यक छ ताकि तिनले मागअनुसार सेवा प्रदान गर्न सकुन्," संस्थाकी संस्थापक अमान्डा रिचर्डसनले भनिन्।

थप परीक्षणको आवश्यकता

केम्ब्रिज विश्वविद्यालयको अस्पतालको एभलिन पेरिनेटल इमेजिङ सेन्टरका निर्देशक एवं कन्सल्ट्यान्ट नीओनेटलजिस्ट प्राध्यापक टोपन अस्टिन आफ्नो अध्ययनलाई नवजात शिशु तथा वृद्धवृद्धामा केन्द्रित गर्छन्।

नवजात शिशुको मस्तिष्क गतिविधि अनुगमन गर्ने सहज पद्धति विकासको लक्ष्य राखेको फ्यूजन स्टडी विश्वकै पहिलो त्यस्तो अध्ययन भएको उनी बताउँछन्।

"हामीले स्वस्थ तथा समयअगावै जन्मिएका शिशुहरूमा यो विधिको सफल परीक्षण गर्न १२ महिना बिताएका छौँ। अब हाम्रो ध्यान मस्तिष्कमा चोट लाग्ने उच्च जोखिम भएका शिशुहरूमा जाने छ," उनले भने।

"समयमा जन्मने वा समयअगावै जन्मने शिशुहरूको मस्तिष्कको गतिविधि बुझ्न सके हामीले चोट लाग्ने जोखिममा भएकाहरूको सुरुमै पहिचान गरेर मद्दत गर्न सक्छौँ।"

परीक्षणमा सहभागी थीओ स्वस्थ्य एवं उचित समयमै जन्मिएका शिशु हुन्। उनकी आमा स्टानी जोर्गिभा यसरी योगदान गर्नु महत्त्वपूर्ण भएको ठान्छिन्।

"उसको बुबा र म दुवै वैज्ञानिक हौँ। जब थीओ हुर्कन्छ, उसले पनि यस्ता परीक्षणले ल्याउने विकासबाट फाइदा लिन सक्छ," उनले भनिन्।

डा जोआनिड्स केम्ब्रिजस्थित एनआईएचआर हेल्थटेक रिसर्च सेन्टर इन ब्रेन इन्जुरीका सहनिर्देशक पनि हुन्। यस केन्द्रले मस्तिष्कमा चोटले असर पारेका मानिसहरूको जीवन सहज बनाउने नयाँ प्रविधि विकासमा काम गर्छ।

यस केन्द्रले उक्त अध्ययनका निम्ति पनि सहयोग गरेको छ। यदि अध्ययन सफल भयो भने त्यस्ता उपकरणको विस्तार गर्न पनि आफ्नो विज्ञता उपलब्ध गराउने उसले बताएको छ।

"अझै पनि छिचोल्नुपर्ने व्यवधान बाँकी छन्। तर हाम्रो आशा छ कि तीनदेखि पाँच वर्षभित्र हामीसँग व्यापक निरीक्षण गर्न सकिने उपकरण हुने छ," उनले भने।

"लागतले दिएमा यसले शिशुहरूको मात्र नभई जोखिममा भएका अन्यलाई पनि परीक्षण गर्न मद्दत गर्छ।"

छारेरोग नियन्त्रण गर्ने प्रयासमा विश्वमै पहिलो पटक उपकरण जडान

मृत्युनजिक पुग्दा मानिसहरू के ‘देख्छन्’?

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.