अमेरिकी इतिहासकै लामो 'गभन्मन्ट शटडाउन' अन्त्य गर्ने विधेयक पारित
संयुक्त राज्य अमेरिकामा इतिहासकै सबैभन्दा लामो 'गभन्मन्ट शटडाउन' अन्त्य गर्ने विधेयक पारित भएको छ।
सिनेटरहरूबीच भएको सहमतिलाई मतदानबाट अनुमोदन गरिएको हो। रिपब्लिकन सिनेटरहरूसँग भएको सहमतिलाई डेमोक्र्याट सिनेटरहरूको एउटा समूहले समर्थन गरेको हो। उक्त सहमतिका पक्षमा कैयौँ डेमोक्र्याटहरूले अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा मतदान गरेका छन्।
अमेरिकी संसद् कङ्ग्रेसको माथिल्लो सदन सिनेटबाट बजेट पास गर्ने प्रयास विफल भएपछि अक्टोबर १ बाट सङ्घीय सरकारले खर्च गर्न नपाउने अवस्था अर्थात् 'गभन्मन्ट शटडाउन' सुरु भएको थियो। आइतवारको सहमतिसँगै ४० दिनपछि शटडाउन अन्त्य हुने भएको छ।
'शटडाउन' को असरले अमेरिकामा एकै दिन १,४०० उडान रद्द
न्यूयोर्कका 'सबैभन्दा कान्छा' मेयर जोहरान मम्दानी को हुन्
सिनेटरहरूबीचको सहमतिले अमेरिकाभरि सरकारी सेवाहरू पुन: चालु राख्न बाटो खोल्ने छ। तर सरकारले सम्झौताको पूर्ण कार्यान्वयनमा समय लगाउने भएका कारण सरकारी खर्चमा देखिएको अवरोध कहिलेबाट पूर्ण रूपमा अन्त्य हुन्छ भन्ने अझै स्पष्ट छैन।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मतदानअघि पत्रकारहरूलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै शटडाउन छिट्टै अन्त्य हुने बताएका थिए।
गभन्मन्ट शटडाउनका कारण सङ्घीय सरकारका १४ लाख कर्मचारीहरू बेतलबी बिदामा बसेका छन् वा तलब बिनै काम गरिरहेका छन्।
सहमतिमा के छ?
सत्तापक्ष र विपक्षका सांसदहरूबीच भएको भनिएको सहमतिमा शटडाउनका समयमा भएको कर्मचारीहरूको कटौती वा बिदा बस्न बाध्य गराइएको सूचना उल्ट्याइने उल्लेख छ।
अमेरिकी प्रसारक सीबीएसले उद्धृत गरेका स्रोतहरूका अनुसार ज्यानुअरी महिनाभरिका लागि अस्थायी स्रोतको व्यवस्था गर्ने विषय पनि सहमतिमा छ।
अमेरिकामा 'शटडाउन' लम्बिएको लम्बियै, पोषण कार्यक्रम जारी राख्न पनि चुनौती
अमेरिकामा बजेट पारित नहुँदा 'शटडाउन', सम्भाव्य प्रभाव यस्ता छन्
डेमोक्र्याट सांसदहरूको माग अनुसार स्वास्थ्य बीमा बापतको भुक्तानी करबाट घटाइनुपर्ने विषयमा पनि मतदान हुने सहमति भएको छ। सत्तापक्ष र विपक्षी सांसदहरूको सहमति अनुसार यो मतदान डिसेम्बरको दोस्रो साता हुने छ।
यसअघि सन् २०१८ मा पनि ३५ दिनसम्म अमेरिकामा 'शटडाउन' को स्थिति देखा परेको थियो। यो पटक त्यसभन्दा लामो अवधि शटडाउन लम्बिँदा एअर ट्राफिक कन्ट्रोलदेखि खाद्य तथा पोषण सहायता कार्यक्रमसम्म प्रभावित बनेका थिए।
शटडाउन कसरी सुरु भयो
राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीका सांसदहरूले बजेटसम्बन्धी विधेयकलाई एउटा निरन्तर प्रस्तावका रूपमा केही थपघट नगरी पारित गर्न चाहेका थिए।
उक्त विधेयक सिनेटबाट पारित हुन ६० सदस्यको समर्थन चाहिन्थ्यो। तर त्यहाँ ५३ जना रिपब्लिकन सांसद मात्र छन्। जसकारण उक्त प्रस्ताव विपक्षी दल अर्थात् डेमोक्र्याटिक पार्टीको सहयोगबिना विधेयक पारित नहुने अवस्था थियो।
त्यही कुरा बुझेर स्वास्थ्य सेवासहितका विषयमा आफ्ना अजेन्डा स्वीकार गर्न सरकारलाई दबाव दिनका लागि डेमोक्र्याटिक सांसदहरूले मौका छोपेको ठानिएको छ।
'ट्रोजन हर्सपछिको सबैभन्दा चातुर्य प्रदर्शन': अमेरिकाको जासुसी गरेको सोभियत कलाकृति
मम्दानीका कारण न्यूयोर्क फेरि चर्चामा, अमेरिकाको राजधानी नभए पनि किन यति महत्त्वपूर्ण
ट्रम्प सरकारले मेडिकएड, सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) र न्याश्नल इन्स्टिट्यूट अफ हेल्थलगायत स्वास्थ्यसम्बन्धी निकायहरूको बजेटमा कटौती भएको छ, जुन डेमोक्र्याटहरूलाई चित्त बुझेको छैन।
रिपब्लिकन पक्षले विपक्षीका मागको सुनुवाइ गर्न कुनै चासो देखाएको छैन, बरु बजेट पारित नभएर सरकारी कामहरू अवरुद्ध हुँदा त्यसको कारकका रूपमा डेमोक्र्याटहरूमाथि नै जनआक्रोश बढ्ने उसको आकलन छ।
कङ्ग्रेसमा रिपब्लिकन र डेमोक्र्याटिक सांसदहरूबीच बजेटसम्बन्धी विवाद नसुल्झिँदा अधिकांश सरकारी सेवाहरू अस्थायी रूपमा बन्द हुन पुगेका छन्। सङ्घीय सरकारको 'शटडाउन'को समयमा वायुसेवा कम्पनीहरूलाई उडान कटौती गर्न भनिएपछि शुक्रवार यता सयौँ उडानहरू स्थगित भएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: