अमेरिकी सैन्य अखडाहरूमा इरानी हमलाबाट ८० करोड डलर बराबर क्षति भएको विश्लेषण
मध्यपूर्वमा अमेरिकाले प्रयोग गर्दै आएका सैन्य अखडाहरूमा इरानले गरेका आक्रमणहरूका कारण युद्धको पहिलो दुई सातामा मात्र करिब ८० करोड डलर (झन्डै सवा खर्ब रुपैयाँ) बराबर क्षति भएको एक नयाँ विश्लेषणले देखाएको छ।
सबभन्दा धेरै क्षति अमेरिका र इजरेलले आक्रमण गरे लगत्तैको सातामा इरानले गरेका प्रतिकारका बेला भएको सेन्टर फर स्ट्राटजिक एन्ड इन्टर्न्याश्नल स्टडिज (सीएसआईएस)को एक प्रतिवेदन र बीबीसीले गरेको विश्लेषणमा देखिएका छन्।
सो क्षेत्रमा रहेका अमेरिकी ठेगानाहरूमा इरानी प्रहारले भएका क्षतिका पूर्ण विवरण अझै प्रस्ट भइसकेको छैन।
इरानमा सैन्य कारबाही रोक्नेबारे विचार गरिरहेको ट्रम्पको भनाइ
ड्रोन हमला गरिएको यूएईको बन्दरगाह मध्यपूर्वकै सबैभन्दा विशाल तेलभण्डार केन्द्रमध्ये एक
यसअघि ठानिएभन्दा धेरै क्षति
अमेरिकी सैन्य संरचनाहरूमा ८० करोड डलर बराबरको क्षति पुगेका अनुमान यसअघि ठानिएभन्दा धेरै हो र यसले युद्ध जारी रहँदा अमेरिकालाई मूल्य चर्को पर्दै जाने देखाउँछ।
"उक्त क्षेत्रमा भएका अमेरिकी अखडाहरूमा भएका क्षतिको न्यून आकलन गरिएको छ," सीएसआईएसका वरिष्ठ सल्लाहकार तथा अध्ययनका एक सह-लेखक मार्क कान्किआनले भने।
"क्षति निकै भएको देखिन्छ तर त्यसको पूर्ण आँकडा थप सूचना नभइकन थाहा हुन सक्दैन।"
यसबारे प्रतिक्रिया माग गर्दा अमेरिकी रक्षा मन्त्रालयले युद्धको अगुवाइ गर्दै आएको यूएस सेन्ट्रल कमान्डलाई सोध्न भन्यो। सेन्टकमका अधिकारीहरूले चाहिँ प्रतिक्रिया दिन अस्वीकार गरे।
इरानको प्रतिकारात्मक कारबाहीहरूले अमेरिकी हवाई प्रतिरक्षा तथा भूउपग्रह-सञ्चार प्रणालीहरूलाई निसानामा पारेको थियो।
ती प्रणाली जोर्डन, संयुक्त अरब इमिरेट्स (यूएई) र अन्य मध्यपूर्वी देशहरूमा थिए।
क्षतिको ठूलो अंश जोर्डनमा अवस्थित हवाई अखडामा रहेको थाड क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको रेडारमा भएको प्रहारले पुर्यायो।
सीएसआईएसद्वारा गरिएको रक्षा मन्त्रालयको बजेट दस्तावेज विश्लेषण अनुसार उक्त एएन/टिपीवाई-२ रेडार प्रणालीको लागत करिब ४८ करोड ५० लाख डलर पर्छ।
लामा दूरीका बलिस्टिक क्षेप्यास्त्र रोक्न यस्ता हवाई प्रतिरक्षा प्रणाली प्रयोग गरिन्छन्।
के इरान युद्धले उत्तर कोरियाका नेता किम जङ अनमा त्रास उत्पन्न गराएको छ?
इरान युद्धबाट उदाङ्गियो खाडीमा उत्पादित तेल र ग्यासमा विश्वको निर्भरता
संरचनाहरूमा पनि क्षति
इरानी हमलाले सो क्षेत्रमा रहेका अमेरिकी अखडा तथा अमेरिकी सेनाले प्रयोग गर्ने गरेका सैन्य इलाकाका भवनहरू तथा अन्य संरचनाहरूमा पुगेको क्षति थप ३१ करोड डलर बराबर रहेको छ।
बीबीसी भेरिभाईले भूउपग्रहबाट प्राप्त तस्बिरहरूको विश्लेषण गर्दा कम्तीमा तीनवटा हवाई सैन्य अखडामा इरानले एकपटकभन्दा धेरै हमला गरेको देखिएको छ।
यसरी पटकपटक हमला गरिनु भनेको निश्चित् अमेरिकी अखडालाई निसानामा पार्ने इरानको कोसिस हो।
सो क्षेत्रमा रहेका अमेरिकी सैन्य फौजबारे रुसले तेहरानलाई खुफिया जानकारी दिएको विवरण पनि आएका छन्।
भूउपग्रहबाट लिइएका तस्बिरहरूले तीनवटा हवाई सैन्य अखडा– कुवेतस्थित अलि अल-सलिम, कतारस्थित अल-उदैद र साउदी अरेबियास्थित प्रीन्स सुल्तान– मा द्वन्द्वको भिन्न समयमा ताजा क्षतिहरू पुगेको देखाउँछ।
फेब्रुअरी २८ मा इरानविरुद्ध इजरेली हमलामा राष्ट्रपति ट्रम्पले अमेरिकालाई जोडेपछि भएका घटनाहरूमा १३ अमेरिकी सैनिकको ज्यान गइसकेको छ।
अमेरिकास्थिति ह्युमन राइट्स एक्टिभिस्ट्स न्यूज एजेन्सी (एचआरएएनए)का अनुसार १४ सय गैरसैनिकसहित हालसम्म युद्धमा ३२ सयको ज्यान गइसकेको छ।
इरानको परमाणु कार्यक्रम नष्ट गर्ने, उसको परम्परागत सैन्य क्षमता निस्तेज बनाइदिने अनि इरानी सत्ताले सो क्षेत्रमा उपयोग गर्दै आएका समूहहरूलाई दिँदै आएको समर्थनको अन्त्य गर्ने आफ्ना लक्ष्यहरू हासिल गर्नेतर्फ अमेरिका सही मार्गमा रहेको ट्रम्पले बताएका छन्।
"हामीले इरानमा (उद्देश्यअनुरूप) निकै राम्रो गरिरहेका छौँ," ह्वाइटहाउसमा आयोजित एक समारोहमा शुक्रवार ट्रम्पले भने।
तर युद्धका कारण स्ट्रेट अफ होर्मुज जलमार्गमा भएको अवरोध, युद्ध कति लम्बिएला भन्ने र कतै ट्रम्पले स्थल सेना पनि परिचालन गर्छन् कि भन्ने अनिश्चयले गर्दा विश्व अर्थतन्त्र खलबलिएको छ।
कहाँ केन्द्रीत छ इरानी हमला?
भूउपग्रहबाट खिचिएका तस्बिरहरूको विश्लेषणको कार्यलाई त्यस्ता तस्बिर लिने मुख्य अमेरिकी निकायहरूले लागु गरेका प्रतिबन्धले असर पारेको छ।
तर सो क्षेत्रमा रहेका अमेरिकी सैन्य स्वार्थकाविरुद्ध इरानी प्रतिकारात्मक कार्यहरूबाट तिनको निश्चित् प्रवृत्ति फेला पार्न सम्भव छ।
सुरुमा बाहरेनस्थित अमेरिकी नौसैनिक अखडामा भएको हमलादेखि नै उनीहरूको निसानामा रेडार तथा भूउपग्रह प्रणाली रहेको देखिन्छ।
आधुनिक सैन्य कारबाहीका निम्ति ती प्रणालीले आँखा र कानको काम गर्छन्।
भूउपग्रहबाट लिइएका तस्बिरले खासगरि दुईवटा रेडोम्स – त्यस्ता संवेदनशील सामग्री जोगाउन बनाइएका रक्षा कवच – ध्वस्त पारिएको देखायो।
त्यहाँ पूरै प्रणाली नै क्षतिग्रस्त भएको पनि हुन सक्छ तर यकीनका साथ कति क्षति भयो भनेर भन्न सकिँदैन।
कुवेतस्थित अमेरिकी सैन्य केन्द्र क्याम्प अरिफ्जान र अमेरिकी विमान राखिएका साउदी अरेबियास्थित प्रीन्स सुल्तान हवाई सैन्य अखडामा रहेका रेडार स्थलहरूमा प्रहार भएका छन्।
प्रीन्स सुल्तान हवाई सैन्य अखडा क्षेत्रमा थाड हवाई प्रतिरक्षा प्रणालीको रेडार सामग्रीबाट धुवाँ उडिरहेको तस्बिरमा देखिन्छ।
यूएई र जोर्डनमा रहेका थाड प्रणालीमा अझ थप क्षति पुगेका देखिन्छन्। ती क्षति कति मूल्य बराबर भए भनेर प्रस्ट भएको छैन।
यी प्रणाली क्षतिग्रस्त भएपछि अमेरिकाले दक्षिण कोरियामा परिचालित थाड प्रणालीका सामग्रीलाई मध्यपूर्वमा सार्नु परेका विवरण आएका छन्।
तर इरानी हमलाले पुगेको क्षतिको मूल्य अमेरिकाले यस युद्धका निम्ति गरेको कुल खर्चको निकै सानो अंश हो।
रक्षा मन्त्रालयका अधिकारीहरूले कङ्ग्रेस सदस्यहरूलाई दिएको भनिएका जानकारीअनुसार युद्धको पहिलो ६ दिनमै ११.३ अर्ब डलर (झन्डै १७ खर्ब रुपैयाँ) खर्च भएको छ।
पहिलो १२ दिनमा त्यो खर्च साढे १६ अर्ब डलर (झन्डै २५ खर्ब रुपैयाँ) पुगेको सीएसआईएसले जनाएको छ।
पेन्टागनले युद्धका निम्ति थप २०० अर्ब डलर बजेट माग गरेको छ। रक्षा मन्त्री पिट हेग्सेथले त्यो अङ्क 'परिवर्तन हुन सक्ने' बताए।
"दुष्ट मानिसहरूलाई मार्न पैसा चाहिन्छ," हेग्सेथले भने।
अमेरिकाले इरानको खार्ग टापुलाई किन निशाना बनायो?
ट्रम्पको अनुरोधपछि ग्यास खानीमा आक्रमण रोक्न इजरेल सहमत, इरानी नववर्षको दिन पनि तेहरानमा हमला
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: