मध्यपूर्व तनावसँगै नेपालमा ऊर्जा सङ्कट गहिरिँदै गए के बिजुलीले चुलो थेग्न सक्छ?
अमेरिका र इजरेलले इरान हमला गरेसँगै मध्यपूर्वमा देखा परेको तनावमाझ विश्वभर ऊर्जा सुरक्षालाई लिएर चिन्ता उत्पन्न भइरहँदा अधिकारीहरूले नेपालमा समेत 'मितव्ययी खपत' गर्न आग्रह गरेका छन्।
खासगरी विश्वको २० प्रतिशत तेल तथा ग्यास ढुवानी हुने स्ट्रेट अफ होर्मुजमा देखा परेको अवरोधले त्यस्तो चिन्ता बढाइरहे तापनि अहिलेसम्म विद्युतमा अधिक दबाव पर्ने अवस्था नरहेको र पेट्रोलियमकै आपुर्तिमा समेत कमी आएको अवस्था नरहेको अधिकारीहरू बताउँछन्।
"ग्यास तथा पेट्रोलियममा अभाव भए बिजुलीमा चाप पर्न सक्छ। तर अहिले नै चाप देखा पर्ने गरी हाम्रो प्रणालीमा दबाव परिसकेको देखिँदैन," ऊर्जा सचिव चिरञ्जिवी चटौतले बीबीसीसँग भने।
"विद्युत् प्रणालीमा हाम्रो जलविद्युत् र केही सौर्य ऊर्जा छ। पेट्रोलियमको प्रयोग हुनेगरी थर्मल प्लान्टहरू छैन।"
इरान युद्धबाट उदाङ्गियो खाडीमा उत्पादित तेल र ग्यासमा विश्वको निर्भरता
डीजल र पेट्रोल जस्तै हाइड्रोजनबाट गाडी चलाउन दिने कानुन बन्दै
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ताले भने नेपालमा खाना पकाउने ग्यास एवं डिजल तथा पेट्रोलको खपतमा करिब ५ प्रतिशतको वृद्धि देखा परेको बताउँछन्।
निगम प्रवक्ता मनोज कुमार ठाकुरले अहिले अन्तर्राष्ट्रिय बजारमा मूल्य समेत निकै बढिरहेको बताउँदै सोही अनुसार समायोजन गर्नै पर्ने आफूहरूको बाध्यता रहेको औँल्याउँछन्।
"त्यसैले हामी आम उपभोक्तालाई मितव्ययी रूपमा जैविक ऊर्जाको प्रयोग गर्ने र सक्दो बढ्ता विद्युतीय उपकरण प्रयोग गरेमा केही किफायती हुन सक्छौँ," ठाकुर भन्छन्।
जलविद्युतले सङ्कट थेग्न सक्छ?
हाल नेपालको कुल जलविद्युत जडान क्षमता ४,००० मेगावाट नाघेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।
ऊर्जासचिव चटौतले हाल अधिकतम २ हजार मेगावाट हाराहारीमा खपत भइरहेको प्रवृत्ति रहेको र पछिल्ला केही वर्षका विगत केलाउँदा त्यो अधिकतम २,५०० मेगावाटसम्म पुग्ने अवस्था रहने बताउँछन्।
"हाम्रो लागि मनसुन सुरु हुनुअघिको अबको दुई महिनाजति आयात पनि गर्नुपर्ने भएकाले केही अप्ठ्यारो हो। त्यसपछि दशैँसम्म जलविद्युतका हकमा धेरै समस्या हुँदैन।"
सौर्य ऊर्जाबाट करिब १५० मेगावाट विद्युत् उत्पादन हुने गरेको मन्त्रालयले जनाएको छ।
"बर्खा लागेपछि हामीले चार हजार मेगावाटको जडान क्षमतामा २,७०० मेगावाटसम्मै खपत गरे पनि समस्या हुँदैन। त्यतिखेर त हामी निर्यात नै गर्न थाल्छौँ," ऊर्जासचिव चटौत भन्छन्।
नेपालले बर्सेनि कति मेगावाट बिजुली बेच्न सक्ला? चुनौती के छन्?
नेपालको सडकमा बिजुली कार: भारतभन्दा अघि चीन, तर बिक्री पछि बेवास्ताको चिन्ता
हाल 'पीक आवर'मा नेपालले भारतबाट ५०० मेगावाट हाराहारीमा विद्युत् आयात गर्ने गरेको अधिकारीहरू बताउँछन्।
नेपालको खपत पेट्रोलका हकमा दैनिक २०-२५ लाख लिटर एवं डिजलका हकमा ४०-४५ लाख लिटर रहने गरेको आयल नियमले जनाएको छ।
खाना पकाउने ग्यासको माग भने मासिक रूपमा ४५ हजार मेट्रिक टन रहेको बताइन्छ।
भान्छामा 'किफायती बनौँ'
नेपाल जीवनस्तर सर्वैक्षण (चौथो) २०७९/८० का अनुसार करिब ५० प्रतिशत घरधुरीमा खाना पकाउनका लागि ऊर्जाको रूपमा दाउरा प्रयोग गर्छन्।
त्यसअघिको तेस्रो जीवनस्तरको तुलनामा दाउरामा खाना पकाउनेहरू १४ प्रतिशतले घटेको छ। तर एलपी ग्यासमा खाना पकाउनेहरू १८ प्रतिशतले बढेर ४६.६ प्रतिशत छन्।
"त्यतिखेर बिजुलीमा खाना पकाउनेहरू ५ प्रतिशत पाइएका थिए। एलपी ग्यासमा खाना पकाउँदै आएकाहरू बिजुलीतर्फ सरेमा त्यसमा केही अंश बचत गर्न सकिन्छ," आयल निगमका प्रवक्ता ठाकुर भन्छन्।
"तर बिजुलीमा नै पकाउनेहरू पनि खाना पकाउनका लागि पूर्ण रूपमा बिजुलीमा भर परिरहेका छैनन्। त्यस्तोमा नगरी नहुने अवस्थामा मात्र ग्यासलाई प्रयोग गर्ने गरी मितव्ययी हुँदा सङ्कटको बेला ऊर्जा बचत गर्न सकिन्छ।"
ऊर्जासचिव चटौतले अन्तर्राष्ट्रिय परिस्थितिको वास्तविक मूल्याङ्कन यतिखेर कसैले गर्न नसकिरहेको बताउँदै सङ्कट गहिरिँदै गए बिजुलीकै खपतलाई लिएर नयाँ रणनीतिहरू बनाइने बताउँछन्।
"सम्भावित परिस्थितिबारे हामीले निरन्तर छलफल गरिराखेका छौँ। [बिजुलीको माग] बढ्यो भने अहिलेसम्म हामीले व्यवस्थापन गर्न सक्ने अवस्थामा छौँ।"
अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईइए)को सन् २०२३ को विवरण अनुसार नेपालको कुल ऊर्जा प्रणालीमा खुद आयातको अंश २७.३ प्रतिशत छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: