इरान र अमेरिकाबीच युद्धविरामपछि पाकिस्तानमा वार्ताको तयारी, के लडाइँ रोकिएला

इरान र अमेरिकाबीच युद्धविरामपछि पाकिस्तानमा वार्ताको तयारी, के लडाइँ रोकिएला

bbc.com . १ घण्टा अघि

दुई साताका लागि युद्धविराम गर्न सहमत भएका इरान र संयुक्त राज्य अमेरिकाबीच पाकिस्तानमा वार्ता हुन लागेको छ। इरानी टोली इस्लामाबाद पुगिसकेको छ भने अमेरिकाले उपराष्ट्रपति जेडी भान्सलाई वार्तामा सहभागी हुन पठाएको छ।

भान्सले इरानले "सद्भावनापूर्वक" व्यवहार नदेखाए तथा "झुक्याउन खोजे" अमेरिकालाई त्यो स्वीकार्य नहुने बताएका छन्।

इरानी अधिकारीहरूले वार्तासुरु हुनुअघि लेबननमा पनि युद्धविराम हुनुपर्ने माग राखेका छन्।

त्यसबाट वार्ताबारे अन्योल उत्पन्न भएको ठानिन्छ।

इजरेलले बुधवार लेबननमा सबैभन्दा भीषण हमला गर्दा ३०० जनाभन्दा बढी मानिसको मृत्यु भएको बताइएको छ। इरानी अधिकारीहरूले लेबननमाथि भएको हमलाको निन्दा गर्दै इजरेलले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन्। तर इजरेल र अमेरिकाले युद्धविरामको सहमतिमा लेबनन नपर्ने दाबी गर्दै आएका छन्।

नेतन्याहूले बिहीवार लेबननसँग प्रत्यक्ष वार्ता गर्न आफ्नो मन्त्रिपरिषद्लाई निर्देशन दिए। बेरुतले पनि आफू वार्ताका लागि तयार भएको जनाएको छ।

युद्धविराम गैरसैनिकका निम्ति अस्थायी राहत तर लामो समय नटिक्न सक्छ

इरानले होर्मुज स्ट्रेट नियमन गर्ने सहमति भएको होइन : ट्रम्प

युद्धविराम अवधिमा इरानले होर्मुज जलमार्गमा पानीजहाजहरूको आवतजावतमा अवरोध नगर्ने सर्त स्वीकार गरेको बताइएको छ।

अमेरिका र इजरेलले मिलेर इरानमा आक्रमण गर्न थालेको ४० दिनपछि युद्धविराम घोषणा भएको हो। त्यसको केही घण्टाअघि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरान होर्मुज जलमार्ग खोल्न तयार नभए "आज राति एउटा पूरै सभ्यता नष्ट हुने छ" भनेर कडा चेतावनी दिएका थिए।

स्ट्रेट अफ होर्मुज खाडी क्षेत्रबाट तेल र अन्य सामग्री निर्यात गर्न प्रयोग हुने निकै महत्त्वपूर्ण जलमार्ग हो।

ट्रम्पले 'ट्रूथ सोशल'मा एउटा पोस्टमा आफू युद्धविरामका लागि सहमत हुनुको कारण उल्लेख गरेका छन्। "हामी इरानसँग दीर्घकालीन शान्ति र मध्यपूर्वमा शान्तिको विषयमा एउटा निर्णायक सहमतिमा पुग्न अघि बढिसकेका छौँ।"

"इरान र अमेरिकाबीच विगतका विवादका विभिन्न कुरामध्ये लगभग सबैजसोमा सहमति भइसकेको छ। तर दुई साताको अवधिले सम्झौतालाई अन्तिम स्वरूप दिन र कार्यान्वयन गर्ने अवसर दिने छ," उनले लेखेका छन्।

"यो दीर्घकालीन समस्यालाई समाधानको नजिक पुर्‍याउन पाउनु गौरवको विषय हो।"

पछि समाचारसंस्था एएफपीसँग कुरा गर्दै ट्रम्पले अमेरिकाले "पूर्ण विजय" हात पारेकोमा द्विविधा नभएको दाबी गरे।

तर इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिका "ऐतिहासिक विफलता" भोग्नुपर्ने अवस्थामा भएको टिप्पणी गर्‍यो।

दुई साताको अवधिमा दुई पक्षबीच पाकिस्तानमा वार्ता हुँदा "रणभूमिमा इरानले जितेको कुरा राजनीतिक छलफलमा प्रस्तुत गरिने" र विस्तृत विवरणलाई अन्तिम रूप दिइने उक्त परिषद्ले जनाएको छ।

युद्धविराम गराउन पाकिस्तानले मध्यस्थता गरेको हो। इरान र अमेरिका युद्धविरामका लागि सहमत भएको घोषणा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले नै गरे।

"दुवै पक्षले उल्लेखनीय बुद्धिमत्ता र समझदारी देखाएका छन् अनि शान्ति र स्थिरताको उद्देश्यलाई अघि बढाउन [दुवै पक्ष] रचनात्मक रूपमा संलग्न हुँदै आएका छन्।'"

"हामी 'इस्लामाबाद वार्ता' ले दीर्घकालीन शान्ति हासिल गर्ने आशामा छौँ र आगामी दिनमा अरू राम्रो समाचार दिन चाहन्छौँ।"

संयुक्त राष्ट्रसङ्घका महासचिव अन्टोन्यो गुटेरसले मध्यपूर्वमा "दीर्घकालीन र बृहत् शान्तिको बाटो खोल्न वर्तमान द्वन्द्वसँग सम्बन्धित सबै पक्षलाई अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका सबै दायित्व पूरा गर्न तथा युद्धविरामका सर्त पालना गर्न" आह्वान गरेका छन्।

तर दुई साताको युद्धविरामबाट दीर्घकालीन शान्तिमा जाने स्थिति आयो भने अरू द्वन्द्वमा जस्तै यो मामिलामा पनि कुशल कूटनीति निकै आवश्यक पर्ने छ।

पाकिस्तानले कसरी अमेरिका र इरानलाई युद्धविराम गर्न सघायो

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

युद्धविराम हुनु भनेको के हो?

राष्ट्रसङ्घका अनुसार "युद्धविराम" शब्दको एउटै र सर्वमान्य परिभाषा छैन।

यद्यपि उक्त शब्द "हमला रोक्न" (सीज फायर) हुने सैन्य आदेशबाट बनेको छ जुन "हमला सुरु गर्न" दिइने आदेश (ओपन फायर) को विपरीतार्थक छ।

यसको अर्थ युद्धरत पक्षले वार्तामा जे अर्थ निकाल्छन् वा सहमति गर्छन् त्यही हुन्छ भन्ने हो।

यसलाई 'ट्रूस' अर्थात् सङ्घर्षविराम र 'आर्मिस्टिस' अर्थात् युद्धस्थगन जस्ता शब्दको पर्यायका रूपमा प्रयोग गरेको पाइन्छ।

हामी तेस्रो विश्वयुद्धतर्फ उन्मुख छौँ कि डर बढेको मात्र हो?

हमासले इजरेलमा घातक आक्रमण गर्ने शक्ति कसरी जुटायो

यद्यपि संयुक्त राष्ट्रसङ्घका अनुसार 'सीज फायर' र 'सिसेशन अफ होस्टिलटिज' (शत्रुताको अन्त्य) जस्ता पदावलीमा एउटा भिन्नता हुन्छ।

उसका अनुसार "शत्रुताको अन्त्य" भन्दा लडाइँ अन्त्य गर्ने अनौपचारिक सम्झौता बुझ्नुपर्छ।

"युद्धविराम" भने अलि बढी औपचारिक शब्द हो जसका लागि विभिन्न विवरणसहित सहमति भएको हुन्छ। ती विवरणमा यी कुरा पर्छन् -

युद्धविरामको उद्देश्य

त्यसपछि हुने राजनीतिक प्रक्रिया

लागु हुने मिति

लागु हुने भौगोलिक क्षेत्र

त्यसमा कस्ता सैन्य गतिविधि गर्न पाइने वा नपाइने, युद्धविरामको अनुगमन कसरी गर्ने कुरा पनि उल्लिखित हुन सक्छ।

उदाहरणका लागि सन् १९९३ मा लाइबेरियाको गृहयुद्ध अन्त्य भएको प्रसङ्ग बुझौँ।

त्यसका लागि अन्तरिम सरकारले न्याश्नल पेट्रिओटिक फ्रन्ट अफ लाइबेरिया र द यूनाइटेड लिबरेशन मूभ्मन्ट अफ लाइबेरिया फोर डिमोक्रसीसँग एउटा सम्झौता भएको थियो।

दुवै पक्षले सैन्य उपस्थिति भएको स्थानबाट अन्यत्र नजाने र त्यहाँ आक्रमण नगर्ने, अस्त्र तथा गोलीगट्ठा आयात रोक्ने, थप शत्रुता नबढाउने अनि विस्फोटक पदार्थ राखेर धराप नथाप्ने र ज्वलनशील साधनहरू प्रयोग नगर्ने सहमति गरे।

इजरेल र प्यालेस्टाइनको १०० वर्ष, पीडित को हो?

स्ट्रेट अफ होर्मुजको सङ्कटको असर इन्टरनेटमा

युद्धविराम स्थायी हुन्छ कि अस्थायी?

राष्ट्रसङ्घका अनुसार युद्धविराम स्थायी वा अस्थायी दुवै हुन सक्छ।

कहिलेकाहीँ युद्धरत पक्षहरूले अस्थायी वा प्रारम्भिक युद्धविराम गर्ने सहमति गर्न सक्छन्।

त्यसको उद्देश्य हिंसा घटाउनु वा सम्भावित मानवीय सङ्कट टार्नु हुन सक्छ।

सन् २०२३ मा इजरेल र हमाससहितका लडाकु समूहहरूले अस्थायी युद्धविराम गरेपछि दुई पक्षबीच कैदीबन्दी र बन्धक साटफेर भयो।

वार्तालाई सहयोग पुगोस् भनेर प्रारम्भिक युद्धविराम पनि हुन सक्छ। त्यसले स्थायी वा निर्णायक युद्धविरामका लागि बाटो बनाइदिन सक्छ।

इथिओपिया र एरिट्रेयाले सन् २००० को जुन महिनामा तत्कालका लागि युद्ध रोक्ने सम्झौतामा हस्ताक्षर गरे। त्यसको उद्देश्य निर्णायक युद्धविरामका लागि वार्ता गर्नु थियो। अल्जिअर्स सम्झौताअन्तर्गत डिसेम्बर महिनामा युद्धविरामको सहमतिपत्रमा हस्ताक्षर भयो र अन्ततः युद्ध टुङ्गियो।

तर प्रारम्भिक सङ्घर्षविराम बारम्बार विफल वा कमजोर हुँदा युद्ध चलिरहन सक्छ।

लेबननमा गृहयुद्ध अन्त्य गराउन राष्ट्रसङ्घले सन् १९७८, १९८१ र १९८२ मा पटकपटक युद्धविरामका लागि मध्यस्थता गरेको थियो। त्यहाँ सन् १९७५ मा सुरु भएको गृहयुद्ध सन् १९९० मा मात्र अन्त्य भयो।

कहिलेकाहीँ एक वा दुवै युद्धरत पक्षले युद्धभूमिमा आफू बलियो हुने उद्देश्यले प्रारम्भिक युद्धविराम रोज्न सक्छन्।

प्रायजसो युद्धरत पक्षहरूबीच शान्तिवार्ता सफल भएपछि मात्र निर्णायक (वा स्थायी) युद्धविराम हुन्छ।

त्यसअन्तर्गत लडाइँ गर्ने फौजलाई निरस्त्र पारिन्छ वा फिर्ता गरिन्छ। तर सहमतिपत्रमा हस्ताक्षर गरिसकेपछि धेरै वर्षसम्म अतिरिक्त सुरक्षाव्यवस्थाले निरन्तरता पाउन सक्छ।

उदाहरणका लागि नोर्दर्न आयरल्यान्डमा सन् १९९८ को गरिएको 'गूड फ्राइडे' सम्झौताले प्रोभिजनल आईआरए र त्यसलाई सहयोग गर्दै आएका समूहहरूलाई हतियार प्रयोग नगर्न सहमत गराएको थियो।

उक्त सम्झौतामा नोर्दर्न आयरल्यान्डमा जारी शान्ति वार्ता र सद्भावलाई प्रोत्साहन गर्ने खालका बुँदाहरू समाविष्ट थिए। त्यसमा नोर्दर्न आयरल्यान्ड र रिपब्लिक अफ आयरल्यान्डबीच अवरोधबिना र भन्सारशुल्क नतिरीकन व्यापार गर्न सीमा खुला राख्ने प्रावधान पनि थियो।

खाडी देशहरूले इरानविरुद्ध जबाफी कारबाही नगर्नुका कारण

के स्ट्रेट अफ होर्मुजको अर्को विकल्प छैन?

के सीमित क्षेत्रमा युद्धविराम हुन सक्छ

इजरेल र हमासबीच सन् २०२३ को नोभेम्बरमा अस्थायी युद्धविराम भयो। दुई पक्षले त्यसलाई "मानवीय सङ्घर्षविराम" भने।

युद्धरत पक्षहरूले कहिलेकाहीँ हिंसा कम होओस् भनेर र आसन्न मानवीय सङ्कट टार्न यस्तो उपाय अवलम्बन गर्छन्।

उदाहरणका लागि सुडान सरकारले 'सुडान लिबरेशन मूभ्मन्ट' र 'जस्टिस एन्ड इक्वालटी मूभ्मन्ट' नामक दुइटा सशस्त्र समूहसँग युद्धविराम गर्ने सहमति गर्‍यो। त्यसपछि डार्फरमा ४५ लिन लडाइँ रोकियो र विभिन्न संस्थाहरूले स्थानीय मानिसहरूलाई मानवीय सहायता वितरण गर्न पाए।

सन् २००४ मा इन्डोनेशियामा सुनामीका कारण ठूलो विनाश भएपछि सरकार र फ्री आचे मूभ्मन्ट दुवैले युद्धविराम घोषणा गरेपछि पहिला लडाइँ भएको स्थानमा पनि राहत सामग्री वितरण गर्न सम्भव भयो।

कुनै निश्चित क्षेत्रमा लडाइँ रोक्न भौगोलिक युद्धविराम पनि हुन सक्छ।

सन् २०१८ मा राष्ट्रसङ्घले यमन सरकार र हूथी लडाकुहरूलाई रेड सीस्थित हुदैदा बन्दरगाहवरिपरि लडाइँ नगर्न एउटा सहमति गरायो। त्यसको उक्त क्षेत्रमा बस्ने मानिसहरूको रक्षा गर्नु थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.