इरान-अमेरिका वार्ता असफल हुनुका कारणबारे फरकफरक विवरण
पाकिस्तानको इस्लामबादमा भएको शान्तिवार्ता विफल हुनुका कारणबारे अमेरिकी र इरानी पक्षले फरकफरक विवरण दिइरहेका छन्।
"अमेरिकाका अनुचित मागहरू" ले युद्ध अन्त्य गराउने वार्तालाई विफल बनाइदिएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
"इरानी प्रतिनिधिमण्डलका अनेकौँ प्रयासका बावजुद अमेरिकी पक्षबाट अगाडि सारिएका अनुचित मागहरूले वार्तामा प्रगति हुनबाट रोकिदिए। यसरी वार्ता टुङ्गियो," इरानको सरकारी प्रसारक आईआरआईबीले टेलिग्राममा गरेको एउटा पोस्टमा उल्लेख छ।
इरान र अमेरिकाबीचको ऐतिहासिक शान्तिवार्ता 'निष्कर्षविहीन'
पाकिस्तानी मध्यस्थतामा इस्लामाबादमा अमेरिका र इरानबीच शान्ति वार्ता, ट्रम्पले के भने?
अर्कोतर्फ अमेरिकी पक्षले वार्तामा आफूहरू "लचिलो" र "सहयोगी" भएको जनाएको छ।
राष्ट्रपति डोनल्ड ट्रम्पले "सद्भावका साथ वार्तामा जान र सम्झौताका लागि आफ्नो तर्फबाट सबैभन्दा उत्तम प्रयास गर्न" आफूलाई भनेका उपराष्ट्रपति जेडी भान्सले बताए।
"हामीले त्यो गर्यौँ, तर दुर्भाग्यवश हामीले कुनै प्रगति हासिल गर्न सकेनौँ" उनले अगाडि थपे।
आफूहरूले गर्न सक्ने "अन्तिम र सबैभन्दा उत्कृष्ट प्रस्तावसहित" फर्किन लागेको अमेरिकी उपराष्ट्रपति भान्सले इस्लामाबादमा पत्रकारहरूलाई बताए। "इरानले त्यसलाई स्वीकार गर्छ वा गर्दैन भनी हामी हेर्छौँ," भान्सले भने।
दुई साताका लागि गरिएको युद्धविराममा अब आगामी कदम के हुने छ अथवा थप वार्ताहरू हुने छन् वा छैनन् भनी स्पष्ट भएको छैन।
पाकिस्तानको आग्रह
शान्तिवार्ताको मध्यस्थता गरेको देश पाकिस्तानका विदेशमन्त्रीले नतिजापश्चात् प्रतिक्रिया दिएका छन्।
"दुवै पक्षले युद्धविरामप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिनु अत्यावश्यक रहेको" विदेशमन्त्रीले एउटा वक्तव्यमार्फत् पाकिस्तानी बताएका छन्।
"हामीलाई आशा छ कि यो सिङ्गो क्षेत्र र त्यसबाहिर पनि दीर्घकालीन शान्ति र समृद्धि हासिल गर्न सकारात्मक प्रयासलाई जारी राख्ने छन्," सामाजिक सञ्जाल एक्समा राखिएको वक्तव्यमा उल्लेख छ।
"आउँदा दिनहरूमा" दुवै पक्षबीच संवाद गराउनका निम्ति पाकिस्तानले समन्वयकारी भूमिका जारी राख्ने वक्तव्यको अन्त्यमा भनिएको छ।
इस्लामाबादस्थित बीबीसी संवाददाता क्यारी डेभिसका अनुसार वार्ता उपलब्धिविहीन भएको भान्सको घोषणासँगै वार्तास्थलमा र आसपास निराशा देखियो।
दुवै पक्षबीच शान्ति सम्झौता हुन कठिन रहेको कुरा धेरैलाई लागेको थियो। किनकि अमेरिकी र इरानी अडानबीच ठूलो खाडल देखिएको थियो।
तथापि वार्ता टोलीमा दुवै पक्षबाट वरिष्ठ व्यक्तिहरू सहभागी भएको देख्दा उनीहरू सम्झौताका लागि गम्भीर छन् भनी आशा कतिपय मानिसमा थियो।
वार्ताबारे घोषणासँगै 'इस्लामाबाद टक्स' अर्थात् इस्लामाबाद वार्ता लेखिएका होर्डिङ बोर्डहरू कामदारले हटाउन थालेको देखिएको थियो।
संवाददाता क्यारी डेभिस अगाडि भन्छिन्, वार्तास्थलभन्दा धेरै टाढासम्म यो निराशालाई महसुस गरिने छ।
वार्ताका लागि मध्यस्थता गरेको पाकिस्तानको अमेरिकी उपराष्ट्रपतिले प्रशंसा गरेका छन्।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफ र सेना प्रमुख असिम मुनिरको प्रशंसा गर्दै भान्सले भने, "वार्तामा जे जस्ता कमीकमजोरी भए ती पाकिस्तानीहरूका कारणले होइनन्, उनीहरूले त अद्भुत काम गरे।"
अमेरिका-इरान वार्ताका प्रमुख पाँच जटिल मुद्दा
'लाखौँ कुरा बिग्रन सक्छ' - इरानको युरेनिअम जफत गर्नु अमेरिकाका लागि किन जोखिमपूर्ण हुन्छ?
दुई हप्ते युद्धविराम
वाशिङ्गटनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ बजे ३२ मिनेटमा ट्रम्पले उनको सामाजिक सञ्जालमा अमेरिका र इरान "निर्णायक" शान्ति सम्झौताको बिन्दुमा "निकै अघि बढिसकेको" बताउँदै ती वार्ता अगाडि बढाउन दुई साता लामो युद्धविरामका निम्ति आफू सहमत भएको बताएका थिए।
अमेरिका र इजरेलले मिलेर इरानमा आक्रमण गर्न थालेको ४० दिनपछि युद्धविराम घोषणा भयो।
त्यसको केही घण्टाअघि ट्रम्पले होर्मुज जलमार्ग खोल्न इरान तयार नभए "आज राति एउटा पूरै सभ्यता नष्ट हुने छ" भनेर कडा चेतावनी दिएका थिए।
स्ट्रेट अफ होर्मुज खाडी क्षेत्रबाट तेल र अन्य सामग्री निर्यात गर्न प्रयोग हुने निकै महत्त्वपूर्ण जलमार्ग हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: