पूर्वी नेपालमा 'बर्ड फ्लू' सङ्क्रमण फैलिएपछिको असर
पूर्वी नेपालका तीन जिल्लाका एक दर्जनभन्दा बढी कुखुरा फार्महरूमा 'बर्ड फ्लू' सङ्क्रमण फैलिएको पुष्टि भएपछि ती क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरी पक्षी तथा पक्षीजन्य सामग्रीको ओसारपसारमा रोक लगाइएको सरकारी अधिकारीहरूले बताएका छन्।
बर्ड फ्लूको सङ्क्रमण देखिएका मोरङ,सुनसरी र झापा जिल्लाका १६ वटा कुखुरा फर्मका ६५ हजार भन्दा बढी कुखुरा र एक लाख २२ हजारभन्दा बढी अण्डा नष्ट गरिएको अधिकारीहरूको भनाइ छ।
सङ्क्रमण देखिएका क्षेत्रहरूमा प्राविधिक टोली परिचालन गरी थप सङ्क्रमण फैलन नदिन आवश्यक कदम चालिएको कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयकी वरिष्ठ पशु चिकित्सक डा दीपा दिवालीले बीबीसीलाई बताइन्।
बर्ड फ्लूले अर्को महामारीको रूप लिने वैज्ञानिकहरूको चिन्ता
अमेरिकामा मान्छेमा बर्ड फ्लू, नेपालमा पनि सजग हुन किन जरुरी छ
सङ्कटग्रस्त क्षेत्र घोषणा
प्रदेश सरकारका अधिकारीहरूका अनुसार चैतको पहिलो साता मोरङका छ, सुनसरीका पाँच र झापाका एउटा कुखुरा फार्ममा बर्ड फ्लूको सङ्क्रमण पुष्टि भएको थियो।
ती क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरी सङ्क्रमण नियन्त्रणको प्रयास जारी रहँदा पुनः सुनसरी र र झापाका गरी चार ठाउँमा बर्ड फ्लू देखिएपछि अहिले सङ्क्रमण नियन्त्रणमा झनै चुनौती थपिएको अधिकारीहरूको भनाइ छ।
उक्त रोग मानिसहरूमा पनि सर्न सक्ने सम्भावना रहेकाले सङ्क्रमण देखिएको क्षेत्रबाट कुखुरा, अण्डा, दाना, सुलीलगायत पक्षीजन्य सामग्रीहरूको समेत ओसारपसारमा रोक लगाइएको मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले बताएका छन्।
सतर्कता अपनाउन आग्रह
बर्ड फ्लू सङ्क्रमण रोकथामका लागि सरकारी निकायहरूले किसानहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
त्यसका लागि कुखुरा फार्ममा बाहिरी मानिसको प्रवेश सीमित गर्न, नियमित सरसफाइ र निसङ्क्रमण गर्न, बिरामी वा मरेका कुखुराबारे तुरुन्त जानकारी दिन, सुरक्षाका लागि मास्क र पञ्जालगायत सामग्री प्रयोग गर्न आग्रह गरिएको छ।
वरिष्ठ पशु चिकित्सक डा दीपा दिवालीले बिरामी कुखुरा , हाँस तथा पक्षीको मासु बेचबिखन नगर्न, नखान तथा स्वास्थ्य र सुरक्षाका उपाय अवलम्बन गर्न आग्रह गरेकी छन्।
बर्ड फ्लू के हो, यो रोग सार्ने भाइरस कसरी गाईको दूधमा पुग्यो
जीन सम्पादन गरेर के कुखुरामा बर्ड फ्लू रोक्न सकिन्छ
कुखुरापालक किसानको चिन्ता
मोरङ, सुनसरी, झापालगायतका जिल्लाहरूमा व्यावसायिक रूपमा ठूलो आकारमा कुखुरापालन हुँदै आएको छ। स्थानीय, 'लेअर' र 'ब्रोइलर' कुखुरासहित यो क्षेत्रमा हाँसको पनि व्यावसायिक पालन हुने गरेको छ।
दुई सातायता एकपछि अर्को फार्ममा बर्ड फ्लू सङ्क्रमण देखिन थालेपछि भने कुखुरापालक किसानको चिन्ता बढेको छ।
एकैसाथ धेरै कुखुरा फार्महरूमा बर्ड फ्लूको सङ्क्रमण फैलिएर हजारौँ कुखुरा र लाखौँ अण्डा नष्ट गर्नुपर्दा आफूहरू चिन्तित भएको कुखुरापालक किसानहरूको गुनासो छ।
नेपाल अण्डा उत्पादक सङ्घ सुनसरी मोरङका अध्यक्ष ओम बाँस्कोटाका अनुसार बर्ड फ्लूका कारण सुनसरी र मोरङमा मात्रै करिब दुई अर्ब रुपैयाँबराबरको क्षति भएको अनुमान छ।
"अझै सङ्क्रमण फैलने क्रम नरोकिँदा क्षतिको आँकडा निकै बढ्ने चिन्ता थपिएको छ," बाँस्कोटाले बीबीसीसँग भने ।
भारतसँगको खुला सीमानाका कारण निर्बाध रूपमा भारतीय बजारबाट कुखुरा भित्रँदा बर्ड फ्लूको सङ्क्रमण पनि भित्रिएको हुन सक्ने भएकाले सरकारले त्यसको नियन्त्रणतर्फ ध्यान दिनुपर्ने कुखुरापालक किसानहरूको भनाइ छ।
सरकारले रोग अन्यत्र फैलिन नदिन सङ्क्रमित फार्मका कुखुरा नष्ट गर्दा कुखुरापालक किसानलाई क्षतिपूर्ति दिने गरेको छ। तर उक्त क्षतिपूर्ति पर्याप्त नहुने किसानहरू बताउँछन्।
अण्डाको भाउ 'बढेको बढ्यै', यस्तो मूल्यवृद्धि कति स्वाभाविक
अण्डाको भाउ बढेपछि अमेरिकामा कुखुरा भाडामा
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: