इरान युद्धमा यमनका हुथीहरू पनि मिसिए, 'अप्ठेरो परिस्थिति झनै बिग्रने' चिन्ता

इरान युद्धमा यमनका हुथीहरू पनि मिसिए, 'अप्ठेरो परिस्थिति झनै बिग्रने' चिन्ता

bbc.com . २ घण्टा अघि

यमनका इरानसमर्थित हुथी समूहले एक महिना पहिले इजरेल र अमेरिकाले तेहरानविरुद्ध थालेको युद्धमा आफूहरूले पहिलोपटक इजरेलविरुद्ध आक्रमण गरेको पुष्टि गरेका छन्।

उक्त समूहले "संवेदनशील इजरेली सैन्य स्थलहरूलाई निसाना बनाएर" बलिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको बताएको छ। इजरेलले इरान, लेबनन, इराक र प्यालेस्टिनी क्षेत्रमा गरिरहेको आक्रमणको बदलामा यसो गरिएको उसले जनाएको छ।

सबै मोर्चामा "आक्रमण" नरोकिएसम्म आफ्नो कारबाही जारी रहने उसले बताएको छ।

यसअघि इजरेल डिफेन्स फोर्सेजले यमनबाट प्रहार गरिएका क्षेप्यास्त्रको प्रतिरोध गरिएको जनाएको थियो।

खाडी देशहरूले इरानविरुद्ध जबाफी कारबाही नगर्नुका कारण

के स्ट्रेट अफ होर्मुजको अर्को विकल्प छैन?

युद्धमा नयाँ मोर्चा

बीबीसीका जेरुसलेमस्थित मध्यपूर्व ब्युरो प्रमुख जो फ्लोटोका अनुसार कैयन् सातादेखि यमनको हुथी समूहले इरानप्रति समर्थन व्यक्त गर्दै आएको हुनाले उसको जारी युद्धमा सहभागिता एक किसिमले अपेक्षित थियो।

इरानले हुथी समूहलाई सैन्य, वित्तीय तथा राजनैतिक समर्थन दिँदै आएको छ।

गएराति एक टेलिभिजन सम्बोधन गर्दै हुथी सेनाका प्रवक्ता याह्या सारीले सैन्य हस्तक्षेप गर्न आफ्ना लडाकूहरू तम्तयार रहेको बताएका थिए।

उनले वाशिङ्टन र इजरेलको इरानविरोधी गठबन्धनमा अन्य नयाँ साझेदार संलग्न भए वा 'रेड सी'लाई इरानविरुद्धको आक्रामक कारबाहीका निम्ति प्रयोग गरिए आफूहरू युद्धमा उत्रने बताएका थिए।

शनिवार बिहानै यमनबाट क्षेप्यास्त्र प्रहार भएको इजरेली सेनाले जनाएको छ।

हुथीको हस्तक्षेपपश्चात् अब अरेबियन प्रायद्वीपमा युद्धको नयाँ मोर्चा खुल्ने चिन्ता बढेको छ।

बीबीसी संवाददाता फ्लोटोका अनुसार सबभन्दा गम्भीर चिन्ता चाहिँ 'रेड सी'को पानीजहाज आवतजावत हुने जलमार्गमा आक्रमणको सम्भावना हो। अक्टोबर ७ मा इजरेलमा भएको हमलापश्चात् हुथीले उक्त जलमार्गमा आक्रमण गरेको थियो।

सन् २०२५मा डोनल्ड ट्रम्पले यूकेसँग मिलेर त्यहाँ आक्रमण रोक्न बमबारी गरेका थिए।

हप्तौँ चलेको उक्त सैन्य अभियानमा हजारौँ निसानामा प्रहार गरिएको थियो भने कैयन् उच्च हुथी अधिकारीहरू मारिएका थिए। पछि वार्तामार्फत् त्यहाँ युद्धविराम गरियो।

परिस्थिति झन् बिग्रने डर

यूकेको च्याटम हाउसका शोधकर्ता फारेया अल-मुस्लिमीले हुथीहरू 'रेड सी' जस्तो "अर्को महत्त्वपूर्ण अन्तर्राष्ट्रिय व्यापारीक जलमार्गको मुखमै" अवस्थित भएकाले जारी युद्धमा उनीहरूको नयाँ सहभागिता "निकै महत्त्वपूर्ण" रहेको बताए।

बीबीसीको रेडियो फोरको टुडे कार्यक्रममा बोल्दै उनले हुथी समूहले उत्तरपूर्वी अफ्रिका तथा अरेबियन प्रायद्वीपबीच रहेको उक्त साँघुरो जलमार्गमा आक्रमण गर्छौँ भनेर अहिलेसम्म नभनेको पनि बताए। उनको विचारमा "अमेरिकी हमलाको अर्को शृङ्खलाबाट जोगिन" उनीहरूले त्यसो नभनेको हुन सक्छ।

तर स्ट्रेट अफ होर्मुजमा जारी अवरोधका बीच अर्को जलमार्गमा पनि अवरोध उत्पन्न भए के होला भनेर सोध्दा उनले भने: "त्यो दुस्वप्न हो। अहिलेनै एउटा दुस्वप्न हाम्रा सामु छ र यसले थप खराब दुस्वप्न उत्पन्न गराउने छ।"

इजरेलको टाउको दुखाइ

बीबीसीका कूटनीतिक संवाददाता पल एडम्स हुथीहरूले फेरि आक्रमणको सिलसिला सुरु गरे इजरेलको निम्ति टाउको दुखाइ हुने बताउँछन्।

सन् २०२३ को अक्टोबरको मध्यतिर गाजा युद्ध सुरु भएपछि जब हुथी समूहले इजरेलमा क्षेप्यास्त्र आक्रमण थाले तब तिनले निकै कम मात्र क्षति पुर्‍याउन सकेको उनले बताए।

तर सन् २०२४ को जुलाईमा इजरेलको हवाई प्रतिरक्षा प्रणालीलाई छलेर हुथीको ड्रोनले तेल अभिभस्थित आवासीय भवनमा प्रहार गर्दा एकजना इजरेली गैरसैनिकको ज्यान गएको थियो।

यदि हुथीहरूले 'रेड सी'मा पानीजहाजमा आक्रमण गरे भने चाहिँ त्यसको प्रभाव नाटकीय हुन सक्ने एडम्स बताउँछन्।

हाल स्ट्रेट अफ होर्मुजको बाटो छल्नका निम्ति साउदी अरेबियाले प्रतिदिन ४० लाख ब्यारल तेल रेड सीको तटमा रहेको यान्बुसम्म पाइपलाइनबाट पठाइरहेको छ।

त्यहाँबाट यमन हुँदै दक्षिणतर्फ एसियाली बजारका लागि पानीजहाजबाट तेल आपूर्ति भइरहेको छ।

सन् २०२३ को नोभेम्बर देखि सन् २०२५ को सुरुवातसम्म हुथी समूहले रेड सी मा पानीजहाजहरू विरुद्ध २०० आक्रमण गरेका थिए जसमा ३० पानीजहाजमा क्षति पुगेको थियो भने कम्तीमा एउटाको अपहरण गरिएको थियो।

त्यतिखेर रेड सीको दक्षिणी पुछारमा रहेको बाब अल-मन्दाब स्ट्रेट र उत्तरी पुछारमा रहेको स्वेज नहरबीचको सो मार्गबाट हुने आवतजावत ५० प्रतिशतले घटेको थियो। त्यसको प्रभाव स्ट्रेट अफ होर्मुजको विद्यमान अवरोध जति नभए पनि निकै क्षतिकारक रहेको बताइएको थियो।

एडम्स भन्छन् यदि फेरि त्यहाँ अवरोध भए दुईवटा महत्त्वपूर्ण जलमार्गमा हुने व्यवधानले निकै प्रभाव पार्नेछ।

इरानबारेको कठोर अमेरिकी नीतिसँगै जटिल मोडमा ट्रम्प

इरान युद्धबाट उदाङ्गियो खाडीमा उत्पादित तेल र ग्यासमा विश्वको निर्भरता

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.