रवि-बालेनबीचको राजनीतिक अङ्कमाल कति कसिलो
पूर्ववाचा अनुसार वालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्री बनाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वाहवाही पाए।
आलोपालो गर्ने भित्री सहमति भएको छ कि भन्ने कतिपयलाई आशङ्का थियो।
सभापति लामिछानेले त्यो पनि अन्त्य गरिदिएका छन्। उनले सार्वजनिक रूपमै बालेन पुरै कार्यकाल ५ वर्षसम्म प्रधानमन्त्री रहने घोषणा गरेका छन्।
तैपनि मानिसहरूमा रवि र बालेनबीचको राजनीतिक अङ्कमाल कति टिक्ला भन्नेमा चासो रहेको पाइन्छ।
नेपालको पछिल्ला दशकको राजनीतिमा दुई प्रभावशाली पार्टी नेताहरूबीच टक्कर परेको पनि छन्।
खासगरी पार्टी सभापति एउटा र प्रधानमन्त्री अर्को हुँदा ठूलो राजनीतिक असमझदारी वा टक्कर देखा परेका उदाहरणहरू छन्।
'रास्वपाप्रति मतपेटिकाबाट प्रकट मोहसँग जोडिएका ती घुम्तीहरू'
भारत, चीन र अमेरिकाप्रति बालेन सरकारको सम्भावित नीति
एक म्यानमा दुई तरबार?
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले चुनावमा प्रधानमन्त्रीको रूपमा अघि सारेका कृष्णप्रसाद भट्टराईलाई बहुमत सरकारबाट हट्न बाध्य पारेको बताइन्छ।
वामपन्थी दल पनि त्यो अवस्थाबाट अछुतो रहेनन्।
नेकपा एमालेको अध्यक्ष झलनाथ खनाल हुँदा माधवकुमार नेपाल, तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्ड हुँदा बाबुराम भट्टराई प्रधानमन्त्री बन्दा सहज राजनीतिक हस्तान्तरण भएको थिएन।
नेपाल कम्युनिस्ट पार्टीबाट बहुमतको प्रधानमन्त्री केपी शर्मा ओली बनेका बेला त आन्तरिक किचलोले सिङ्गो देशकै राजनीतिलाई गिजोलिदिएको थियो।
नयाँ मन्त्रिमण्डलप्रति विज्ञहरू किन आशावादी
सरकारको १०० कार्यसूची: 'कार्यान्वयन कठिन र तर सम्भव'
कतिपय मानिसहरू एउटा म्यानभित्र दुई तरबारको अवस्था रहेको भनेर अर्थ्याउँदै ती उदाहरणहरूले राम्रो सङ्केत नगरेको ठान्छन्।
"उहाँहरूले आफूलाई नयाँ राजनीतिक शक्ति भन्नुहुन्छ, तर राजनीतिक संस्कार पनि नयाँ बनाउनु हुन्छ कि पुरानै रहन्छ, भन्ने प्रस्ट भइसकेको छैन," राजनीतिक टिप्पणीकार डम्बर खतिवडा भन्छन्, "तर तत्कालै त म भन्दिन केही वर्षमा उहाँहरूबीच शक्ति सङ्घर्ष, व्यक्तित्वको टकराब र स्वार्थ समूहहरूको ध्रुवीकरण बढ्दै जाने सङ्केत देख्छु।"
रवि लामिछाने र बालेन शाहको कार्यशैली र मनोविज्ञानमा त्यो देखिने उनको बुझाइ छ।
रास्वपा बन्नुअघिदेखि रवि लामिछानेलाई साथ दिँदै आएका डीपी अर्याललाई सभामुख पद
श्रममन्त्री बनेको १४औँ दिनमा दीपक साह पदमुक्त, स्वास्थमन्त्री निशा मेहतालाई नसिहत
ताजा प्रकरणमा 'छल्किएका मतभेद'
खासगरी मन्त्रिपरिषद् गठन, मन्त्रीको बर्खासी, उपसभामुख चयन र छोटो अवधि चलेको प्रतिनिधिसभाको अधिवेशनमा प्रधानमन्त्री बालेनको मौनता जस्ता विषयलाई पनि कतिपयले आशङ्काको आधार बनाएको पाइन्छ।
गृहमन्त्री चयनमा दुई नेताबीच तीव्र बहस भएको, पार्टी सभापतिले नचाहँदा नचाहँदै रास्वपाले श्रम संस्कृति पार्टीलाई समर्थन गरेको खबरहरू आएका छन्, भलै त्यस्ता समाचार विवरणको पार्टी भित्रैबाट वा स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। त्यस्तै प्रधानमन्त्रीसँग परामर्शमा गर्न सकिने मन्त्री हटाउने प्रकरणमा पार्टीको पत्र सार्वजनिक गरिएको घटना पनि छ।
रवि लामिछाने र बालेनले हातेमालो गरेपछि नेपाली राजनीतिमा कस्तो तरङ्ग
तबला उपहारदेखि सार्वजनिक जुहारीसम्म केपी ओली र बालेन शाहको सम्बन्धको उतारचढाव
"बालेन प्रधानमन्त्री भए पनि कता कता म सुपर प्रधानमन्त्री हुँ या मैले निर्देशित गरेको कुरा मात्रै उनले लागु गर्छन् भन्ने सन्देश रवि लामिछानेले दिन खोजेको जस्तो देखिन्छ," खतिवडाको आकलन छ।
नयाँ सरकार गठनपछिको पहिलो संसद् अधिवेशनलाई सभापति लामिछानेले सम्बोधन गरे पनि प्रधानमन्त्री बालेन बोल्दै बोलेनन्।
यस्तो छ प्रचण्ड-रवि लामिछाने 'टकराब' को शृङ्खला
कार्यक्रम प्रस्तोतादेखि उपप्रधानमन्त्रीसम्म ‘बनाएका’ ओलीसँग किन रिसाए रवि
खतिवडा त्यसलाई संसदीय लोकतन्त्र सुहाउँदो मान्दैनन्। त्यो कुरा बिस्तारै पार्टीभित्रै उठ्न सक्ने उनको ठम्याइ छ।
बालेन शाहले सितिमिति आफ्नै नेता र सांसदहरूसँग पनि दूरी बनाएर बस्ने गरेको बताइन्छ। त्यो शैली पनि बालेनको निम्ति प्रतिकूल बन्न सक्ने खतिवडा ठान्छन्।
"शक्तिको नजिक हुन चाहनेले त्यो एउटा सीमासम्म सहन्छन्, अहिले चुनाव जिताएकाले सहलान् तर १-२ वर्ष हुँदै गएपछि त्यो कार्यशैली ग्लानियुक्त र अपमानपूर्ण लाग्न थाल्छ," खतिवडाले भने, "यस्ता चिजहरूले सङ्कट आउन पनि सक्छ या रवि लामिछानेले जे सुकै होस् देशको निम्ति छोडिदिन्छु पो भन्छन् कि।"
बाँकी छ 'बालेन कार्ड'
रास्वपा सभापति लामिछानेले संसद्मा सम्बोधन गरेका थिए।
त्यस क्रममा उनले 'सरकारका प्राथमिकता, योजना र दिशा सविस्तार सम्माननीय प्रधानमन्त्रीज्यूबाट आवश्यक परे बोलेरै नपर्दा नबोलेरै कामबाट प्रस्तुत हुने' बताएका थिए।
कतिपयले त्यसलाई सार्वजनिक कार्यक्रममा कम बोल्ने गरेको देखिएका बालेनप्रति व्यङ्ग त कतिपयले उनको प्रतिरक्षाको रूपमा बुझेको पाइन्छ।
तर अहिले रास्वपामा नरहेका तर उक्त पार्टी गठनदेखि सक्रिय संस्थापक महामन्त्री मुकुल ढकालका बुझाइमा बालेन बोल्न नसकेर नबोलेका होइनन्।
बालेनको जनकपुरको छोटो भाषणले मधेश प्रदेशमा अचानक प्रभाव देखाएको बताउँदै उनी भन्छन्, "कोशी प्रदेश होस् वा चितवन वा सुदूरपश्चिम प्रदेशमा गरेको भाषण होस् बालेन नवयुवाले मन पराउने भाषण गर्न पोख्त छन्।"
'चलाउने होइन, दापभित्र राख्ने खुकुरी': संविधान संशोधन गर्न रास्वपालाई कस्तो अवसर
रास्वपा पुराना राजनीतिक नियुक्तिबारे 'कठोर' हुने सङ्केत, बालेनको चासो कस्तो
तर संसद्मा समेत किन सम्बोधन गरेनन्?
सरकारमा रहँदा अहिलेको लोकप्रियता खस्किने सम्भावनालाई ख्याल गरेर उनी मौन बसेको हुनसक्ने ढकालको आकलन छ।
"सकारमा रहँदा लोकप्रिय भइरहन सम्भव नहुन सक्छ, त्यसपछि आफ्नो नयाँ पुस्तालाई तान्ने भाषण गर्न थाल्छन् जस्तो लाग्छ," ढकालको बुझाइ छ , "त्यसैले बोल्न नजानेर होइन कार्ड राखिरहेको हो, त्यो पत्ता प्रयोग गरेपछि खस्किँदो लोकप्रियतालाई थप समयको निम्ति लम्ब्याइदिन्छ जस्तो लाग्छ।"
'बालेनमा हुटहुटी, लामिछानेमा परिपक्वता'
लामिछाने सांसद र मन्त्री भएर प्रमुख दलहरूसँग सङ्गत गरिसकेका राजनीतिक नेता हुन्।
स्थानीय तहको नेतृत्व गरेको सिवाय बालेनसँग राजनीतिक अनुभव छैन। उनी सांसद र प्रधानमन्त्री एकै पटक बनेका छन्।
सङ्घीय संसद्को दुवै सदनलाई राष्ट्रपतिले गर्ने सम्बोधन हस्तान्तरण गर्दा बालेनमा देखिएको अलमलले पनि उनको अनुभवको अभाव झल्काउँथ्यो।
प्रधानमन्त्री बालेनमा 'राजनीतिक परिपक्वता त्यति नदेखेको' बताउने विश्लेषक डम्बर खतिवडा उनमा 'काम गर्ने हुटहुटी भने रहेको' ठान्छन्। त्यस्तै आर्थिक र नैतिकताको हिसाबले बालेन 'बलियो अवस्थामा रहेको' उनको बुझाइ छ।
विभिन्न आर्थिक मामिला जोडिएका मुद्दाहरू खेपिरहेकाले लामिछाने सामु भने धेरै नै 'नैतिक सङ्कट रहेको' खतिवडाको बुझाइ छ। जसलाई उनका भनाइमा स्वच्छ राजनीति र पारदर्शी लोकतन्त्रका निम्ति राम्रो मानिँदैन।
"तर पार्टीमा उनको पकड बलियो छ, उनी वाचाल पनि छन्," लामिछानेले परिपक्वता पनि देखाउँदै गएको बताउने खतिवडा भन्छन्, "मुद्दाहरू नभएको भए एउटा राम्रो राजनीतिज्ञ हुन सक्थे भन्ने सङ्केत उनले बेला बेला दिन्छन्।"
रास्वपाका संस्थापक महामन्त्री मुकुल ढकालका बुझाइमा बालेन र लामिछानेको स्वभाव विपरीत छ। पछिल्ला घटनाक्रमबाट दुई नेताबीच शक्ति सङ्घर्ष र अविश्वासको चरण सुरु भइसकेको उनको ठम्याइ छ।
रवि लामिछाने पक्राउ, भने, 'सरकार ढाल्दा नै मलाई जेल कोच्ने सम्झौता गरियो'
संसद्मा रास्वपा र राप्रपालाई 'किनारा लगाउन' तीन ठूला दलको 'मिलेमतो'
"तर आम मानिसमा उहाँहरू दुवैको उस्तै क्रेज छ। तर उहाँहरूप्रति आकर्षित समाज र तप्का भिन्न छ," ढकाल भन्छन्, "त्यसलाई मिलाएर लग्न सक्दासम्म देशको हित हुनेछ। तर जुन परिवर्तनकामी आन्दोलन भयो त्यसको मुख्य हकदार वा संवाहकमा स्थापित हुने वा गर्ने होड बढ्दै जाँदा द्वन्द्व देखा पर्न सक्छ।"
र, त्यो सङ्घर्ष बालेन र लामिछानेभन्दा तल्लो तहबाट सुरु हुनसक्ने उनको भनाइ छ।
कहिलेसम्म जुट्लान्, किन छुट्टिएलान्?
तर जनताको नाडी छाम्न दुवै उत्तिकै पोख्त रहेको ठान्ने उनी आम जनताले जाहेर गरेको भरोसाका कारण पनि दुवै जनालाई अलग हुन सजिलो नरहेको बताउँछन्।
त्यस्तै दुवै नेतालाई जोड्ने 'गम'को रूपमा काम गरेको राजनीतिक शक्ति पनि बलियो रहेको उनको भनाइ छ। "अलग हुने बित्तिकै शक्तिहीन बन्ने कुरा दुवैले राम्ररी बुझ्नु भएको छ," उनी भन्छन्, "किन कि उहाँहरूलाई जोड्ने ग्लू पनि बलियो अवस्था छ।"
कतिपयले लामिछानेले मुद्दा मामिलाका कारण बालेनलाई समर्थन गर्न विवश रहेको विश्लेषण गर्ने गरेका छन्। त्यसबाट मुक्ति पाउने बित्तिकै लामिछानेले आफै प्रधानमन्त्री बन्न वा शक्ति आर्जनको निम्ति कडाइपूर्वक अघि बढ्न सक्ने उनीहरूको बुझाइ पाइन्छ।
बालेन्द्र शाहका कतिपय टिप्पणी किन विवादमा पर्छन्?
काठमाण्डूका मेयर बालेन्द्र शाहका कतिपय टिप्पणी किन विवादमा पर्छन्?
रवि लामिछानेमाथि हिरासतमा 'सीसीटीभी निगरानी': गोपनीयता हनन भयो कि भएन
नेता ढकाल जनादेश प्राप्त ५ वर्षको अवधिभित्रै दुई नेता अलग हुने सम्भावनाबारे अडकल गर्न उचित ठान्दैनन्। तर उनी त्यसपछि दुई नेता एक अर्काको प्रतिस्पर्धीको रूपमा उभिने सम्भावना देख्छन्।
बालेन सरकार संविधान संशोधनको 'अप्ठेरो अभ्यासतर्फ अग्रसर'
'वेगवान्' सरकारको समयसीमा मिचिँदै, सुधारका पाइलासँग कर्मचारीतन्त्रको तालमेल कस्तो?
"कि एउटा अलोकप्रिय हुनुपर्यो, या एकजनाले समर्पण वा उदार भावले छाडिदिनु पर्यो वा बाध्यताले एकजना किनारामा पुग्नु पर्यो र एउटै पार्टी रह्यो भने बेग्लै कुरा, अन्यथा अहिलेकै उचाइ र लोकप्रियता रह्यो भने उहाँहरू एक अर्काको प्रतिस्पर्धी हो," त्यो कुरा दुवैले बुझेको बताउँदै ढकाल भन्छन्, "त्यस्तो अवस्थामा ग्लूले पनि धान्दैन।"
उनी दुई नेताको सम्बन्धलाई कमिज लगाउने प्रकृयाको उदाहरणसँग दाँज्छन्। "सर्टमा टाँक नै लगाउनु पर्ने जस्तै अवस्था उक्त दलमा पनि आउँछ। त्यसो हुँदा एउटा टाँक तल अर्को माथि हुनै पर्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: