दुईजना किशोर सुन खोज्दै गए, खानीमा जिउँदै पुरिए

दुईजना किशोर सुन खोज्दै गए, खानीमा जिउँदै पुरिए

bbc.com . ३ महीना अघि

सिएरा लिओनको यो गाउँमा सेतो कपडामा बेरिएका दुई किशोरको शव अगाडि रोइरहेका मानिसहरू उनीहरू अब छैनन् भन्ने विश्वास गर्न सकिरहेका थिएनन्।

एक दिनअघि मात्रै १६ वर्षीय मोहमद बङ्गुरा र १७ वर्षीय याया जेन्हा देशको पूर्वी प्रान्तमा रहेको आफ्नो घरबाट परिवारका लागि थोरै भए पनि पैसा कमाउने आशामा निस्किएका थिए।

उनीहरू सुनको खोजीमा गएका थिए तर कहिल्यै फर्किएनन्। उनीहरूले खन्दै गरेको अस्थायी खाल्डो भासिँदै उनीहरूकै माथि खस्यो।

खानीमा भएको यो तेस्रो घातक दुर्घटना हो। अहिलेसम्म यो क्षेत्रमा विगत चार वर्षमा कम्तीमा पाँचजनाले ज्यान गुमाइसकेका छन्।

सिएरा लियोनमा भीषण पहिरो

'दुई पटक अपहरण र बेचबिखन': सिएरा लिओनकी यौनकर्मीको कथा

समुदायका अभियानकर्मी र शिक्षकहरूका अनुसार मोहमद र याया सिएरा लिओनको त्यस्तो क्षेत्रका बालकहरूमा पर्छन् जो विद्यालय छोडेर बहुमूल्य धातु सुन खोज्न जोखिमयुक्त खानीहरूमा जाने गर्छन्।

पूर्वी प्रान्त ऐतिहासिक रूपमा हिरा खानीका रूपमा चिनिन्छ। तर हालैका वर्षमा हिरा घट्दै गएपछि सुन खानी विस्तार भइरहेको छ।

खनिजले भरिपूर्ण यो भूमिमा जहाँ–जहाँ स्थानीयहरूले भण्डार भेट्छन्, त्यहाँ–त्यहाँ खानीहरू देखा पर्दछन् चाहे ती कृषियोग्य जमिनमा, पुराना चिहानस्थानमा र नदीका किनारमा नै किन नहोऊन्।

यहाँ औपचारिक खानी कम्पनीहरू धेरै छैनन् तर नाफामूलक नमानिएका क्षेत्रमा ४ मिटर (१३ फिट) सम्म गहिरो हुने यी अनियमित गहिरा खाल्डाहरूले भू-दृश्य भरिएको हुन्छ।

यस्तै र त्यत्तिकै खतरनाक खानीहरू धेरै अफ्रिकी देशहरूमा पनि पाइन्छन् र प्रायः घातक जमिन धसिने घटनाहरूको समाचार आउने गर्छ।

न्यिम्बाडुका अधिकांश परिवारहरू सानो किसानी र साना व्यापारबाट जीवन गुजार्छन्। वैकल्पिक रोजगारी न्यून भएकाले अलिकति थप आम्दानी कमाउने अवसर उनीहरूलाई निकै आकर्षक लाग्छ।

तर गाउँका बासिन्दा स्थानीय शव गृहमा भेला भएका छन् किनभने यस्तो कामका लागि धेरै महँगो मूल्य तिर्नुपर्छ भन्ने कुरा उनीहरूलाई थाहा छ। यति बेला दुई युवाका शव त्यहाँ छन्।

दक्षिण अफ्रिकाका माफिया–नियन्त्रित 'खतरनाक' सुनखानीहरू

दक्षिण अफ्रिकाका अवैध खानीमा भइरहेको 'सुनका लागि बाल यौनशोषण' को नालीबेली

यायाकी आमा नमिना जेन्हे विधवा हुन् र बाँकी पाँच छोराछोरीको पालनपोषणका लागि उनी आफ्ना किशोर छोरामाथि निर्भर थिइन्।

स्वयं पनि खानीमा काम गरेकी उनले यायालाई खानीबारे आफ्नै कारणले छोराले थाहा पाएको स्वीकार गर्छिन्। तर भन्छिन्: "उसले मलाई त्यो क्षेत्रमा जाँदै छु भनेर भनेन। मैले थाहा पाएकी भए रोक्ने थिएँ।"

जब उनले दुर्घटनाबारे सुनिन् उनले "एक्स्काभेटर चालकलाई बोलाइदिन" बिन्ती गरेको बताइन्।

"जब उनी आए उनले ती किशोरहरूलाई पुरेको माटो हटाए।"

तर उनीहरूलाई बचाउन धेरै ढिलो भइसकेको थियो।

आमा जेन्हे गहिरो पीडामा छिन्। स्क्रीन फुटेको मोबाइलमा फोटो सार्दै उनले आफ्ना छोराको तस्बिर देखाइन् जो आमालाई सहायता होस् भनेर खानी गएका थिए।

बालबालिकाको सुरक्षाबारे वकालत गर्ने अभियानकर्मी शाह्र अन्सुमनले मलाई खानी पुरिएको क्षेत्रमा पुर्‍याए।

"यदि तपाईँले केही अभिभावकलाई सोध्नुभयो भने उनीहरूले अरू कुनै विकल्प नभएको बताउँछन्। उनीहरू गरिब छन्, कैयौँ विधवा छन् र एकल अभिभावक हुन्," उनले भने।

"उनीहरूले आफ्नो बच्चाको रेखदेख गर्नुपर्छ। उनीहरूले बच्चालाई खानीमा जान र सुन खोज्न प्रेरित गर्छन्। हामी यसमा सङ्घर्ष गरिरहेका छौँ र सहायता खोजिरहेका छौँ। यो चिन्ताजनक छ र हाम्रो वशमा छैन।"

तर चेतावनी व्यर्थ भइरहेको छ। याया र मोहमदको मृत्युले पनि ती खाडलहरू खाली भएका छैनन्।

उनीहरूको अन्तिम संस्कारपछि बालबालिकासहित खानीमा जानेहरू काममै फर्किएका छन्। उनीहरूका हातले बालुवा चालिरहेका छन् र सुनका साना कणहरू भेटिने आशामा जाँच गरिरहेका छन्।

एउटा खानी क्षेत्रमा मैले १७ बर्षे कोम्बा सिसे भेटेँ जो वकिल बन्न चाहन्थे तर उनी आफ्नी आमालाई सघाउन दिउँसो खानीमा घण्टौँ बिताउँछन्।

"यहाँ पैसा छैन," उनी भन्छन्। "हामी त्यही खोज्ने प्रयासमा छौँ। विद्यालयमा जाँच दिन पाउँछु भन्नकै लागि म यहाँ काम गरिरहेको छु। म विद्यालय फर्किन चाहन्छु। म यहाँ खुसी छैन।"

कोम्बाको कमाइ नगण्य छ। धेरै हप्ताहरूमा उनी करिब साढे तीन डलर जति कमाउँछन् जुन देशको न्यूनतम ज्यालाको करिब आधा रकम हो। तर उनी धनी हुनेमा दृढ छन्। केही बिरलै दिनहरूमा उनी ३५ डलरसम्म पनि कमाउँछन्।

उनलाई काम जोखिमयुक्त छ भन्ने पक्कै पनि थाहा छ। खानी पुरिँदा उनका साथीहरू घाइते भएका छन्। तर पैसा कमाउनका लागि खानी नै एकमात्रै विकल्प भएको उनलाई लाग्छ।

विद्यालय छोडेर खानीमा जाने विद्यार्थी मात्रै छैनन्।

रुजबेल्ट बुन्डो त्यहाँको जुनिअर सेकेन्डरी स्कुलका हेड शिक्षक हुन्। उनी भन्छन्, "खानी क्षेत्रमा जानका लागि शिक्षकहरूले पनि कक्षाहरू छोड्छन्। विद्यार्थीसँगै उनीहरू पनि खानीमा सुन खोज्छन्।"

उनीहरूले सुन खानीबाट जति कमाउन सक्छन् सरकारले त्यति दिन सक्दैन।

खानी क्षेत्रमा धेरै परिवर्तनहरू पनि देखिएका छन्। दुई वर्षअघि साना शिविरहरू रहेका क्षत्र अहिले नगर जस्तो गरी विस्तार भइसकेको छ।

सरकारले यो मुद्दाको सम्बोधन गर्ने जनाएको छ।

सूचना मन्त्री चेर्नो बाले बीबीसीसँग बोल्दै सरकार शिक्षाप्रति प्रतिबद्ध रहेको तर सरकारले मानिसहरूले सामना गर्ने थुप्रै चुनौतीको पहिचान गरेको बताए।

"हामी हाम्रो कुल गार्हस्थ्य उत्पादनको ८.९ प्रतिशत खर्च शिक्षामा गर्छौँ जुन यो क्षेत्रका अन्य देशले गरेको सबैभन्दा धेरै हो," उनले भने। बजेट खासगरी शिक्षक, विद्यालय खाना कार्यक्रम र विद्यार्थीलाई कक्षामा अडाउने आशयका सहुलियत कार्यक्रममा खर्च हुने उनले बताए।

तर यथार्थमा अवस्था निकै फरक छ। नीतिलाई तात्कालिक बाँच्नुपर्ने कुराले जित्छ।

परोपकारी संस्था र स्थानीय अभियानकर्मीहरू विद्यार्थीलाई खानीका खाडलबाट बालबालिकालाई हटाउन खोजिरहेका छन् तर आम्दानीको भरपर्दो विकल्पबिना तिनै खाडल उनीहरूका लागि आकर्षक बनेका छन्।

दुई किशोरहरू गुमाएको गाउँमा परिवारहरू थकित र खोक्रो देखिन्छन्।

केवल दुई किशोरहरू मात्रै गुमेका छैनन्। पुस्तौँसम्म यस्तै हुनसक्ने सम्भावना देखिएको छ। "हामीलाई मद्दत चाहिएको छ," अभियानकर्मी शाहर अन्शुमन भन्छन्। "प्रार्थना होइन। बाचा होइन। मद्दत।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.