अमेरिका-इरान युद्धमा अब के होला? यस्ता छन् चार सम्भावित परिदृश्य

अमेरिका-इरान युद्धमा अब के होला? यस्ता छन् चार सम्भावित परिदृश्य

bbc.com . २ घण्टा अघि

युद्धविरामका लागि इरानसँग दोस्रो चरणको वार्ताका निम्ति अमेरिकाले कुराकानी गरिरहेको ठानिन्छ।

गत आइतवार २० घण्टाको वार्ताले कुनै परिणाम नदिए पनि दुई साता लामो युद्धविराम अहिले कायम छ।

ती निष्कर्षविहीन वार्ताको एक दिन नबित्दै राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलक्षित होर्मुज जलमार्गवरपर सामुद्रिक नाकाबन्दीको घोषणा गरे।

इरानीहरू किन अमेरिकासँग सहमति हुनेमा ढुक्क हुन सकेका छैनन्

सामुद्रिक नाकाबन्दी के हो, होर्मुज जलमार्गमा कसरी लागु हुन्छ

वार्ताको यस प्रारम्भिक विफलतालाई हामीले कसरी बुझ्ने अनि भावी वार्ताका सम्भावना के होलान्? के इरान र अमेरिका नियन्त्रित सङ्घर्ष वा रोक्न नसकिने विस्तारित युद्धतर्फ लम्किरहेका छन्?

सम्भावित चार परिदृश्यबारे तल चर्चा गरिएको छ।

१. कमजोर युद्धविरामको "कार्यनीतिक कदम"

कैयौँ साताको लडाइँपश्चात् भएको युद्धविरामले दुवै पक्षमा सङ्कट नियन्त्रणको चाहना देखायो। तर सुरुदेखि नै यसबारे प्रशस्त द्विविधा देखा परेका छन्।

यसका सर्त, भौगोलिक दायरा, सङ्घर्षविरामले समेट्ने निसानाका किसिममा देखा परेका मतभिन्नता मात्र होइन कि युद्धविराम उल्लङ्घनकै व्याख्याले पनि कतिपय पर्यवेक्षकहरूलाई यो कुनै दिगो आधारभन्दा पनि लडाइँमा लगाइएको कार्यनीतिक रोकजस्तो मात्र लागेको छ।

"लडाइँ जब सुरु भयो, सहमतिको सम्भावना लगभग शून्य थियो," वाशिङ्टनस्थित शोधकेन्द्र फाउन्डेशन फर डिफेन्स अफ डिमोक्रसिजका वरिष्ठ शोधकर्ता बेहनाम बेन तालेब्लूले भने।

"यी यस्ता सिद्धान्त, अडान तथा नीतिहरू हुन् जसमा अमेरका र इरानबीच वर्षौँदेखि मतभिन्नता कायम थिए। तत्कालका निम्ति युद्धले ती भिन्नता कम पार्न सकेको छैन, बरु चर्किएका छन्," बीबीसी न्यूज पर्सिअनलाई उनले भने।

यसबीच दुवै पक्षले दिएका विरोधाभाषपूर्ण बयानले कमजोर स्थिति देखाउँछ।

सहमतिको बारम्बार उल्लङ्घन भएको भनेर इरानी अधिकारीहरूले भनिरहँदा इजरेल र अमेरिकाले चाहिँ तिनको प्रतिबद्धता सीमित रहेको भनिरहेका छन्।

यसले अविश्वास गहिरिएको छ र युद्धविरामको दिगोपनाबारे द्विविधा उत्पन्न गराएको छ।

अमेरिकी नाकाबन्दीबीच भान्सले इरानमाथि लगाए होर्मुजमा 'आर्थिक आतङ्कवाद'को आरोप

खाडीमा तनाव लम्बिए नेपालीको रोजगारी र रेमिटन्स बिथोलिने चिन्ता, सङ्कट टार्ने उपाय खोज्दै सरकार

युद्धविराम केवल समय लिने बहाना हुने देखिन्छ ता कि युद्धरत पक्षहरूले रोकिने, सम्हालिने, पुनर्गठित हुने र अर्को चरणका निम्ति तयार हुने मौका पाऊन्।

कुनै एक पक्षलाई वर्तमान अवस्थाले थोरै मात्रै फाइदा पुगेको ठान्यो र अर्थपूर्ण दबाव दिनुपर्ने ठान्यो भने यो परिदृश्यको सम्भावना बढ्छ।

उदाहरणका निम्ति, अमेरिकाले त्यसपछि ऊर्जा केन्द्र र पुलजस्ता इरानका महत्त्वपूर्ण संरचनाहरूलाई निसानामा पार्ने कार्यलाई एक सम्भावित विकल्प ठान्न सक्छ।

त्यस्ता आक्रमणले तत्कालीन दबाव बढाइदिन सक्छ तर त्यसले व्यापक मानवीय तथा आर्थिक परिणाम निम्त्याएर इरानतर्फबाट झन् सशक्त प्रतिरोध उब्जाइदिन सक्छ।

अनि उसै पनि वार्ताबारे उदासीन इजरेल प्रभावशाली खेलाडी बन्न सक्छ।

"वार्तामा सहभागीसहितका इरानी नेताहरूको हत्याजस्ता कारबाहीमा इजरेल उत्रन सक्छ," अन्तर्राष्ट्रिय सम्बन्धका शोधकर्ता हमिदरेजा अजिजीले भने।

"डोनल्ड ट्रम्पको होर्मुज जलमार्गमा नाकाबन्दी गर्ने घोषित नीतिले कुनै पक्षले नचाहँदा नचाहँदै पनि टकरावको खतरा बढाइदिन्छ," उनले भने।

लडाइँ चर्कने सम्भावना बेवास्ता गर्न सकिन्न तर त्यसको चर्को मूल्य - उदाहरणका लागि विस्तारित क्षेत्रीय युद्ध तथा विश्वव्यापी आर्थिक दबाव -ले त्यस्तो परिदृश्यको सम्भावना, कम्तीमा तत्कालका निम्ति, अलि कम गराउँछ।

२. "छद्मयुद्ध"

अर्को परिदृश्य - सायद सबैभन्दा सम्भावित - भनेको चाहिँ "नियन्त्रित लडाइँ"तर्फ फर्कनु हुने छ।

यो भनेको दुवै पक्षले पूर्ण स्तरको युद्ध नगर्ने तर सैन्य कारबाही पूरै रोक्दा पनि नरोक्ने हो। यसमा संरचना, सैन्य निसाना तथा आपूर्ति मार्गमा सीमित आक्रमणको निरन्तरता हुन सक्छ।

यस्तो अवस्थामा छद्म ('प्रोक्सी') समूहहरूको प्रयोग उल्लेखनीय हुन सक्छ। इराक वा रेड सीमा इरानसमर्थित समूहरूको गतिविधि बढ्न सक्छ। लडाइँको सघनता प्रत्यक्ष रूपमा नबढे पनि यस्तो स्थितिमा युद्धको भौगोलिक दायरा विस्तार हुन सक्छ। कतिपय विश्लेषकहरूले यस्तो स्थितिलाई "छद्मयुद्ध" भनेका छन्।

"दुवै पक्षले आफ्ना विकल्प तथा दबावका साधनहरू एकअर्काविरुद्ध प्रयोग गर्छन् तर पूर्ण स्तरको युद्धमा प्रवेश गर्न चाहँदैनन्," अजिजीले बीबीसी न्यूज पर्सिअनलाई बताए।

"यदि युद्धविराम उल्लङ्घन भयो भने इरानले उसका समर्थक समूहमार्फत् खास गरी यमनमा नयाँ कारबाहीहरू गर्न सक्ने सम्भावना उच्च छ," उनले भने।

तथापि यो परिदृश्यका पनि जोखिमहरू छन्। तनाव बढ्दै जाँदा गल्ती हुने खतरा बढ्छ। कुनै पनि पक्षले लडाइँ चर्काउन नचाहे पनि गलत आकलनले युद्धलाई अनियन्त्रित बनाइदिन सक्छ।

अमेरिका-इरान वार्ताका प्रमुख पाँच जटिल मुद्दा

युद्धविराम गैरसैनिकका निम्ति अस्थायी राहत तर लामो समय नटिक्न सक्छ

३. शान्त कूटनीतिको निरन्तरता

पाकिस्तान वार्ताको विफलतापश्चात् पनि अब कूटनीतिक प्रयास काम लाग्दैन वा वार्ता हुँदैन भनेर निचोड निकाल्न सकिँदैन।

यी वार्ताको सहजीकरण गराएको पाकिस्तानले आगामी दिनहरूमा तेहरान र वाशिङ्टनबीच सन्देश आदानप्रदान गराइदिएर उसका प्रयास जारी राख्न सक्छ।

साथै कतार, ओमान, तथा साउदी अरब र इजिप्टसहितका देशलगायत केही परम्परागत मध्यस्थकर्ताहरू पनि यद्ध अनियन्त्रित हुने चिन्ताका कारण सक्रिय हुन सक्छन् र सम्पर्कको माध्यम बनेर सङ्कटलाई अचानक चर्कनबाट रोक्ने कार्य गर्न सक्छन्।

तर यस मार्गको प्रगति भनेको दुई पक्षबीच कायम आधारभूत भिन्नता साँघुरिँदै जानेमा भर पर्छ।

अमेरिकाको १५ बुँदे प्रस्ताव अनि इरानको १० बुँदे प्रतिक्रियाले दुई पक्ष आआफ्नै अडानलाई थोपर्न चाहिरहेको देखाउँछ। मध्यविन्दु फेला पार्ने कोसिस भएको देखिँदैन।

त्यसैले नयाँ चरणको वार्ता त सम्भव छ तर तत्कालका निम्ति द्रुत तथा विस्तृत सम्झौताको अपेक्षा अवास्तविक हुन सक्छ।

भारतको उच्च आर्थिक वृद्धिलाई मध्यपूर्वमा उत्पन्न तेल सङ्कटबाट धक्का

निसानामा धनी र विलासी सहरहरू : इरान युद्धले खाडी क्षेत्र कसरी फेरिँदै छ

४. सामुद्रिक नाकाबन्दीको निरन्तरता

अमेरिकी राष्ट्रपतिले अमेरिकी नौसेनाले होर्मुज जलमार्गबाट पानीजहाज आउजाउ रोक्न इरानलक्षित नाकाबन्दी गर्ने घोषणा गरे।

साथै इरानलाई शुल्क तिरेर जलमार्ग प्रयोग गरेका जहाजलाई पनि रोकिदिने उनले धम्की दिएका छन्। यो रणनीति इरानलाई तेलबाट आम्दानी सुकाइदिएर उसको अर्थतन्त्रलाई धक्का दिने अनि इरानी तेलको मुख्य क्रेता चीनलाई पनि दबाव दिनेतर्फ लक्षित छ।

"पर्याप्त खुफिया सूचना तथा निगरानी हुने भए इरानको सामुद्रिक नाकाबन्दी प्रभावकारी हुन सक्छ," इरानको लामो तटतर्फ सङ्केत गर्दै बेहनाम बेन तालेबूले भने।

तर अन्य विश्लेषकले त्यस्तो नीति लागु गर्न अमेरिकालाई उल्लेखनीय स्रोत आवश्यक पर्ने अनि त्यसले उसको सैन्य फौजलाई इरानी फौजको निकट पुर्‍याइदिने तथा आक्रमणको जोखिममा पार्न सक्ने बताए।

अनि प्रभावकारी हुनाका निम्ति अमेरिकी नौसेना इरानको सिमानानजिक लामो समयसम्म परिचालित हुनु पर्छ, जसको खर्च ठूलो हुन सक्छ।

त्यस्तो नीति कायम गर्दा विश्वभरि तेल तथा ऊर्जाको मूल्य बढ्न सक्छ अनि हूथी समूहले रेड सीस्थित बाब-अल-मान्डब जलमार्गमा व्यवधान गरिदिएमा तेलको मूल्य झनै चुलिन सक्छ।

इरान युद्धले भारतमा यसरी महँगो बनाउन सक्छ पानी र बिअर

हामी तेस्रो विश्वयुद्धतर्फ उन्मुख छौँ कि डर बढेको मात्र हो?

संरचनागत अस्थिरता - नयाँ क्षेत्रीय व्यवस्था?

अन्तत: यी परिदृश्यबाट युद्ध र शान्तिबीच अस्पष्ट रेखा कोरिएको क्षेत्र उदाउन सक्छ।

पाकिस्तान वार्ताको विफलताले कूटनीतिको अन्त्य दर्शाउँदैन, न यसले विस्तारित युद्धको अनिवार्यता झल्काउँछ। बरु यसले अस्पष्ट स्थितिको निरन्तरता औँल्याउँछ।

"दुवै पक्ष युद्धको अन्त्य चाहन्छन् तर तत्कालका निम्ति यो सम्भव देखिँदैन," हमिदरेजा अजिजीले भने।

वर्तमान स्थितिमा कार्यनीतिक निर्णय, सुरक्षा प्रश्न तथा साना घटनाक्रमले पनि सङ्कटको दिशानिर्देशमा ठूलो प्रभाव पार्न सक्छ।

यसलाई कतिपय विश्लेषकहरूले सो क्षेत्रमा भएको "संरचनागत अस्थिरता" भनेका छन्, जसको अर्थ अस्पष्ट नियमन अनि अनुमान गर्न नसकिने परिणाम हुन्छ।

यो भनेको इरान र अमेरिका युद्ध र वार्ता सँगसँगै चल्ने परिस्थितिमा पुगेको विश्लेषण सबैभन्दा सही हुन सक्छ। दुवै पक्ष सैन्य साधनमा भर परिरहेका छन् तर कूटनीतिक माध्यम पनि आंशिक खुला राख्दै।

होर्मुज जलमार्ग कसरी इरानको सबैभन्दा शक्तिशाली अस्त्र बन्न पुग्यो

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.