भारतबाट सुक्खायाममा साँझ ६ बजेपछि बिजुली नआउने, यस्तो छ लोडशेडिङ टार्ने उपाय

भारतबाट सुक्खायाममा साँझ ६ बजेपछि बिजुली नआउने, यस्तो छ लोडशेडिङ टार्ने उपाय

bbc.com . २ घण्टा अघि

अबको दुई सातापछि भारतले बिहानदेखि साँझ छ बजेसम्म मात्रै बिजुली दिने भएपछि सुक्खायामको समय नेपालमा लोडशेडिङ हुनसक्ने चिन्तामाझ विद्युत् प्राधिकरणले त्यस्तो अवस्था नआउने दाबी गरेको छ।

बीबीसीले कुरा गरेका एक जना पूर्व कार्यकारी निर्देशकले पनि सर्वसाधारण उपभोक्ताले लोडशेडिङको सामना गर्नुपर्ने अवस्था नआउने आफूले ठानेको बताए।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार भारतसँग हालै नवीकरण भएको विद्युत् खरिद सम्झौता अनुसार नेपालले अबको १५ दिनसम्म २६सै घण्टा नियमित विद्युत् आपूर्ति गर्न सक्छ।

भारतीय ऊर्जा विनिमय बजार (इन्डिअन इनर्जी एक्सचेन्ज)बाट विद्युत् खरिदका लागि यसअघि भएको सम्झौता यसै मार्चमा सकिएको थियो।

नेपालले भारत र चीनसँग विद्युत् प्रसारणलाइन बनाउने प्रस्ताव, कार्यान्वयनको खाका यस्तो

नेपालले बर्सेनि कति मेगावाट बिजुली बेच्न सक्ला? चुनौती के छन्?

मार्च पछिको खरिदका लगि भएको नवीकरण अनुसार नेपालले अघिल्लो दिन (डे अहेड)को बजार र प्रत्यक्ष (रिअल टाइम) बजारबाट बोलकबोल गरेर बिजुली खरिद गर्ने सुविधा पाएको छ।

जस अन्तर्गत अब नेपालले एप्रिल १ देखि १५ सम्म २४सै घण्टा बिजुली खरिद गर्न सक्ने ढकालले बताए।

"त्यसपछि चाहिँ १६ घण्टा बिजुली लिने गरी स्वीकृति प्राप्त भएको छ," उनले भने।

"त्यसमा पनि दुई वटा छ। एउटा चाहिँ १६ एप्रिलदेखि ३० सम्म बिहानको २ बजेदेखि साँझ छ बजेसम्म। त्यसपछि मे १ देखि ३० जुनसम्म बिहानको ४ बजेदेखि बेलुकाको ८ बजेसम्म १६ घण्टा छ। रातिको समयमा चाहिँ बिजुली किन्न स्वीकृति प्राप्त भएको छैन।"

राति भारतबाट बिजुली नआउँदा लोडशेडिङ हुँदैन?

नेपाल विद्युत् प्राधिकरणका अनुसार सुक्खायाममा नेपालमा १,५०० देखि १,६०० मेगावाट मात्रै बिजुली उत्पादन हुने गरेको छ।

तर पीक समय भनिने बिजुलीको उच्च खपत हुने साँझ बिहानको समयमा बिजुलीको माग २,००० मेगावाटसम्म हुने गरेको प्राधिकरणको तथ्याङ्कले देखाएको छ। एक दिनअघि २,०५० मेगावाट माग रेकर्ड भएको ढकालले बताए।

तर अब गर्मी बढ्दै जाँदा वैशाख जेठसम्म २,२०० देखि २,३०० मेगावाटसम्म पुग्ने आकलन गरिएको छ।

आन्तरिक उत्पादनबाट अपुग हुने बिजुली भारतबाट आयात गरेर माग पूरा गर्दै आएको प्राधिकरणले नेपालमा बिजुलीको माग धेरै हुने साँझको समयमा नै आयात गर्न नपाउँदा भार व्यवस्थापनबारे चिन्ता व्यक्त भएका छन्।

बिजुली बेचेर एकै दिनमा १० करोड रुपैयाँसम्म भित्र्याउँदै नेपाल

निजी कम्पनीबाट ५,००० मेगावाट बिजुली किन्ने प्राधिकरणको योजना 'अलपत्र' पारिदिने सरकारी नीति

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मनोज सिलवाल घरायसी उपभोक्ताले लोडशेडिङको सामना गर्नुपर्ने अवस्था नआउने बताउँछन्।

"एकदमै खराब अवस्थामा उद्योगलाई एक दुई घण्टा बिजुली कटौती हुन सक्छ," सिलवाल भन्छन्।

"पहिलाको भन्दा यसपालि स्थिति सुदृढ छ। विगतमा हामीले सुक्खायाममा बिजुली किन्न पाएका थिएनौँ। यसपालि कम्तीमा हामीले १८० मेगावाट त २४सै घण्टा किनेका छौँ। त्यसले हामीलाई धेरै सहयोग गर्छ।"

भारतले गत वर्ष सुक्खायाममा मार्च १५ तारिखसम्म दिनको २० घण्टा र मार्च १६ तारिखदेखि जुन ३० तारिखसम्म दिनको १२ घण्टा (बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म) मात्र विद्युत् दिने गरी सम्झौता भएको थियो।

प्राधिकरणका अनुसार आगामी मे महिनासम्मका लागि भारतसँग १८० मेगावाट बिजुली २४सै घण्टा आयात गर्ने सहमति छ।

प्राधिकरणले कसरी मिलाउँछ व्यवस्थापन

प्राधिकरणका निर्देशक समेत रहेका प्रवक्ता ढकालका अनुसार साँझको समयमा भारतीय बिजुली आयात नहुँदा पनि माग व्यवस्थापन गर्ने उपाय प्राधिकरणले खोजिसकेको छ।

"त्यस्तो समस्या छैन। १८० मेगावाट २४सै घण्टा लिन सक्ने गरी पहिला नै सम्झौता भइसकेको छ," ढकाल भन्छन्। "त्यसपछि हामीसँग दिउँसो पानी जम्मा गरेर बेलुका चलाउन मिल्ने 'पीकिङ प्लान्ट'हरू छन्," ढकाल भन्छन्।

प्राधिकरणका अनुसार साँझ ६ बजेदेखि बेलुका ८ बजेसम्म हुने उच्च माग पूरा गर्न ८०० देखि ९०० मेगावाट क्षमताका उत्पादन केन्द्रहरूमा दिउँसो पानी जम्मा गर्न सकिन्छ।

माथिल्लो तामाकोशी, कुलेखानी, मर्स्याङ्दी, कालीगण्डकी सहितका आयोजनामा दिउँसो पानी जम्मा गरेर साँझको समयमा लागि सञ्चित गर्न सकिने अधिकारीहरू बताउँछन्।

डीजल र पेट्रोल जस्तै हाइड्रोजनबाट गाडी चलाउन दिने कानुन बन्दै

नेपाल र भारतबीच एक दशकभित्र आठवटा विद्युत् प्रसारण लाइन तयार पार्ने योजना

दिउँसोको समयमा भारतबाट अधिकतम ६०० देखि ७५० मेगावाटसम्म आयात गर्ने प्राधिकरणको योजना छ। यसअघि भारतले ढल्केबरबाट ६०० र टकपुरबाट ५४ मेगावाट बिद्युत् आयातको अनुमति दिएको थियो। ती बाहेकका प्रसारणलाइनबाट समेत गरेर नेपालले १००४ मेगावाट बिजुली ल्याउन सक्ने स्वीकृति भारतले दिएको छ।

नेपाल–भारतबीच १५ सय मेगावाट विद्युत् प्रसारण हुन सक्ने द्विदेशीय लाइनहरू उपलब्ध छन्।

नेपालले अगस्टसम्मका लागि पछिल्लो आयात स्वीकृति पाएको छ। तर जुनपछि नेपालमै पर्याप्त बिजुली उत्पादन हुने र निर्यात समेत गर्न सक्ने अवस्थामा पुग्ने अधिकारीहरूले बताएका छन्।

ढकालका अनुसार साधरणतया जुन १५ बाट नेपालले बिजुली निर्यात गर्दै आएको छ। नेपालले उत्पादन बढी भएका बेला भारतलाई बेच्ने र घटेका बेला भारतबाट किन्दै आएको छ।

अघिल्लो वर्षबाट नेपालले बाङ्ग्लादेशमा पनि बिजुली निर्यात सुरु गरेको छ। बर्षायामका छ महिना ४० मेगावाट बिजुली बाङ्ग्लादेश निर्यात गर्ने सहमति दुई देशबीच छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.