भेनेजुएलामा कति तेल छ र उसले अमेरिकालाई केही तिर्नु छ?
अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई नियन्त्रणमा लिएको केही घण्टापछि बोल्दै राष्ट्रपति डोनल्ड ट्रम्पले सो दक्षिण अमेरिकी देशको तेल भण्डार प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
"हामी संसारकै सबैभन्दा ठूला अमेरिकी तेल कम्पनीहरूलाई त्यहाँ पठाउनेछौँ। उनीहरूले अर्बौँ डलर लगानी गर्नेछन्। अत्यन्तै जर्जर भइसकेको पूर्वाधार र खासगरी तेलसम्बन्धी पूर्वाधार मर्मत गर्नेछन् र देशका लागि आम्दानी सुरु गर्नेछन्," शनिवारको पत्रकार सम्मेलनका क्रममा ट्रम्पले भनेका थिए।
विश्वव्यापी रूपमा तेल बजारले अत्यधिक आपूर्तिको अवस्थाको सामना गरिरहेका बेला ट्रम्पको यस्तो भनाइ आएको हो।
तेलको मूल्य तुलनात्मक रूपमा कम छ र विद्युतीय सवारीसाधनहरूतर्फ विश्वको ध्यान बढ्दै जाँदा तेलको दीर्घकालीन मागबारेका अनुमानहरू अझै अनिश्चित बन्दै गइरहेका छन्।
भेनेजुएलाको तेल भण्डार कति ठूलो छ?
३०३ अर्ब ब्यारल अनुमान गरिएको भेनेजुएलामा विश्वकै ठूलो प्रमाणित तेल भण्डारण रहेको छ - "विश्वको जम्मा तेलको करिब १७ प्रतिशत," बीबीसी मनी एन्ड वर्क रिपोर्टर गिडिअन लङले भने।
तेल निर्यात गर्ने देशहरूको सङ्गठन, अर्गनाइजेसन अफ द पेट्रोलियम एक्पोर्टिङ कन्ट्रिज (ओपेक) का अनुसार साउदी अरेबिया दोस्रो नम्बरमा पर्छ र ऊसँग २६७.२ अर्ब ब्यारल छ भने त्यसपछि तेस्रोमा इरान पर्छ जोसँग २०८.६ अर्ब ब्यारल र अन्तिममा इराकमा १४५ अर्ब ब्यारल तेल रहेको छ। सबै गरी यी चारवटा देशमा विश्वको आधाभन्दा बढी खनिज तेल भण्डार रहेका छन्।
तर तुलना गर्दा भेनेजुएलाको अहिलेको तेल उत्पादन थोरै रहेको छ।
इन्टरन्याश्नल इनर्जी एजेन्सीले निकालेको तेल बजारको पछिल्लो प्रतिवेदन अनुसार नोभेम्बरमा भेनेजुएलाले करिब ८ लाख ६० हजार ब्यारल तेल एक दिनमा उत्पादन गरेको थियो।
बोअन: ट्रम्पको कदमले विश्वभरिका अधिनायकवादी शक्तिहरूका लागि नजिर स्थापित गर्न सक्छ
अमेरिका भेनेजुएलासँग युद्धमा छैनः रुबिओ
एक दशकअघिको उत्पादनको दाँजोमा त्यो मुश्किलले एक तिहाई मात्र हो जुन विश्वव्यापी तेल खपतको १ प्रतिशतभन्दा कम हो।
जबकि अमेरिकाको इनर्जी इन्फर्मेसन एड्मिनिस्ट्रेसनका अनुसार अमेरिकाले प्रति दिन करिब १ करोड ३० लाख ब्यारल तेल उत्पादन गर्छ।
भेनेजुएलाका तेल भण्डारहरूमा मुख्यतः तथाकथित "भारी, अम्लयुक्त" कच्चा तेलबाट रहेका छन्, जुन हल्का तेलभन्दा प्रशोधन गर्न कठिन हुन्छ। तर त्यो धेरैजसो डिजेल र अलकत्रा बनाउन प्रयोग हुन्छ।
"भेनेजुएलाको तेलको महत्त्वपूर्ण कुरा भनेको यो देशको पूर्वी भागमा छ र तुलनात्मक रूपमा पहुँच त्यति सहज छैन, त्यहाँ धेरै जङ्गल छ, त्यसैले जमिनमा ल्याउन त्यति सहज छैन," लङले भने।
"यो एकदमै भारी कच्चा तेल हो। त्यहाँ धेरै छ र यसको गुणस्तर त्यति राम्रो होइन । यसमा अत्यधिक प्रशोधन आवश्यक पर्छ (…) विश्वमा धेरै थोरै ठाउँ छन् जसले त्यो प्रशोधन गर्ने क्षमता राख्छन्।" त्यस्ता केही प्रशोधन केन्द्र टेक्ससमा रहेको उनले बताए।
कुनै पनि तेल जल्दा वा प्रयोग हुँदा त्यसले जलवायु परिवर्तनमा असर पुर्याउँछ, तर भेनेजुएलाको कच्चा तेल विश्वव्यापी तापमान वृद्धिका हिसाबले "फोहोरमध्येको" मानिन्छ किनभने यसलाई निकाल्दा र प्रशोधन गर्दा यसले धेरै उत्सर्जन गर्ने विज्ञहरू बताउँछन्।
भेनेजुएलाको तेल उत्पादन किन घट्यो?
सन् २००० को सुरुयता भेनेजुएलमा तेल उत्पादनमा तीव्र गिरावट आएको छ। मदुरोका पूर्ववर्ती तथा गुरु रहेका पूर्व राष्ट्रपति ह्युगो चाभेज र पछि मदुरो प्रशासनले राज्य सञ्चालित तेल कम्पनी पीडीभीएसएमाथिको नियन्त्रण कडा पारे। त्यसले गर्दा धेरै अनुभवी कर्मचारीहरूलाई पलायन हुन प्रेरित गर्यो।
अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाको प्रशासनका बेला अमेरिकाले सन् २०१५ मा पहिलोपटक मानवअधिकार उल्लङ्घनको आरोपमा भेनेजुएलामा प्रतिबन्धहरू लगायो। त्यसले गर्दा लगानी र आवश्यक जगेडा पार्टपूर्जाको उपलब्धतामा धेरै कटौती भयो।
"उनीहरूको वास्तविक चुनौती भनेको पूर्वाधार हो," इन्भेस्टेकका कमोडिटी प्रमुख क्यालम म्याक्फरसनले भने। इन्भेस्टेक एङ्लो दक्षिण अफ्रिकी अन्तर्राष्ट्रिय ब्याङ्किङ र सम्पत्ति व्यवस्थापन समूह हो।
भेनेजुएलाका राष्ट्रपति मदुरो न्यूयोर्कको हिरासतमा, अन्तरिम राष्ट्रपतिको जिम्मा उपराष्ट्रपतिलाई
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकाद्वारा 'पक्राउ', लागुपदार्थ र आतङ्कवादको मुद्दा चलाइने
अक्सफर्ड इन्स्टिट्युट फर इनर्जी स्टडिजका वरिष्ठ अनुसन्धान फेलो बिल फारेन प्राइसले बीबीसीसँग भेनेजुएृलाको तेल उद्योगको "सुनौला दिन दशकौँअघि रहेको" र विगत २० वर्षमा त्यसको गिरावट तीव्र भएको बताए।
"जटिल आपूर्ति प्रणाली र पूर्वाधारहरू लुटिएका, टुक्रा पारिएका र बेचिएका छन्," उनले भने।
अमेरिका कुनै बेला भेनेजुएलाको तेलको मुख्य खरिदकर्ता थियो। तर मदुरो सत्तामा आएयता विगतको दशकमा चीन त्यहाँको तेलको प्रारम्भिक गन्तव्य बनेको छ।
"प्रत्येक वर्ष अमेरिकाले भेनेजुएलाको करिब ४० प्रतिशत तेल खरिद गर्ने गर्थ्यो र त्यो खास किन भने उसको गल्फ अफ मेक्सिकोमा प्रशोधन गर्ने क्षमता थियो," पत्रकार लङले भने।
"त्यो वास्तवमा दुवै पक्षलाई उपयुक्त थियो। भेनेजुएलामा अमेरिकालाई भारी कच्चा तेलको पहुँच थियो र तेलका लागि मध्यपूर्व वा रुस जानुपर्दैन थियो, प्रशोधन क्षमता थियो र यसले दुवै देशलाई राम्रो काम गरेको थियो," उनले थपे।
भेनेजुएलामा कुन तेल कम्पनीहरू सञ्चालनमा छन्?
पश्चिमा तेल कम्पनीहरू अझै पनि भेनेजुएलामा सञ्चालनमा छन् त्यसमा शेभ्रन पनि पर्छ जुन देशमा रहेको एकमात्रै सक्रिय अमेरिकी तेल उत्पादक हो।
यद्यपि, तेल निर्यातलाई लक्षित गरेर अमेरिकाले व्यापक रूपमा प्रतिबन्ध लगाएपछि त्यहाँ उनीहरूको काम उल्लेख्य रूपमा खुम्चिएको छ।
अमेरिकी प्रतिबन्धका बाबजुद सन् २०२२ मा पूर्व राष्ट्रपति जो बाइडनको पालामा शेभ्रनले संचालनमा रहनका लागि लाइसेन्स प्राप्त गरेको थियो।
भेनेजुएलाले अमेरिकालाई पैसा तिर्न बाँकी छ?
पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले अमेरिकीहरूले भेनेजुएलाको तेल उद्योग निर्माण गरेको र समाजवादी शासनले "हामीबाट चोरी गरेको" भनेका छन्।
"अमेरिकी प्रतिभा, मेहनत र सीपले भेनेजुएलाको तेल उद्योग बनाएका हौँ र समाजवादी शासनले पूर्ववत् प्रशासनका बेला चोरी गर्यो", उनले भने।
"र, उनीहरूले बल प्रयोग गरेर चोरी गरे। यो हाम्रो देशको इतिहासमा अमेरिकी सम्पत्तिको सबैभन्दा ठूलो चोरीमध्ये एक हो," उनले थपे।
ट्रम्पद्वारा भेनेजुएला भित्रिने र बाहिरिने तेल ट्याङ्करहरूमाथि प्रतिबन्ध लगाउन आदेश
तेल ट्याङ्कर अमेरिकाले कब्जा गरेपछि भेनेजुएलाद्वारा 'डकैती'को आरोप
ट्रम्पको दाबीले भेनेजुएलाको अघिल्ला सरकारहरूले गरेका तेल उत्पादनलाई राष्ट्रियकरण गर्ने निर्णयलाई जनाउँछ।
अन्तर्राष्ट्रिय कानुन अन्तर्गत भेनेजुएलाले आफ्नो तेल भण्डारमाथि सार्वभौमिकता राख्छ जसले अमेरिकालाई त्यसको स्वामित्वमा कानुनी दाबी गर्न अनुमति दिँदैन।
संयुक्त राष्ट्रसङ्घद्वारा स्वीकृत प्राकृतिक स्रोतहरूमाथि स्थायी सार्वभौमिकताको सिद्धान्तअनुसार सार्वभौम राष्ट्रहरूसँग आफ्नो क्षेत्रभित्रका स्रोतहरू नियन्त्रण गर्ने र उपयोग गर्ने अधिकार हुन्छ।
तर विदेशी कम्पनीहरूले आफ्नो सम्पत्ति जफत गरिएमा क्षतिपूर्ति माग्न सक्ने अवसर पाउँछन्।
तेलको मुल्यमा कस्तो असर पर्छ?
डेटा प्लेटफर्म केप्लरका वरिष्ठ कमोडिटी विश्लेषक होमायुँ फलकशाही भेनेजुएलाका तेल भण्डार उपयोग गर्न चाहने तेल कम्पनीहरूका लागि मुख्य बाधा कानुनी र राजनीतिक रहेको बताउँछन्।
बीबीसीसँग बोल्दै उनले कम्पनीहरूले सरकारले सम्झौता गर्नु आवश्यक रहेको र त्यो मदुरोको उत्तराधिकारी आएपछि मात्र सम्भव हुने बताए।
त्यसपछि कम्पनीहरूले भविष्यको सरकारको स्थायित्वमा अर्बौँ डलरको जोखिम उठाउनुपर्ने बताए।
"राजनीतिक अवस्था स्थिर भए पनि यो प्रक्रिया महिनौँ लाग्ने हुन्छ," उनले भने।
ट्रम्पको योजनाका फाइदा लिन चाहने कम्पनीहरूले भेनेजुएलाको पूर्वाधारमा लगानी बढाउनुअघि नयाँ सरकारसँग सम्झौता गर्नुपर्नेछ।
भेनेजुएलाको ट्याङ्कर कब्जापश्चात् अमेरिकाद्वारा मदुरोमाथि थप दबाव र प्रतिबन्ध
अमेरिका भेनेजुएला तनाव: अमेरिकी हमलाको त्रास र तयारी
विश्लेषकहरूले भेनेजुएलाको तेल उत्पादन पहिलेकै स्तरमा पुन:स्थापना गर्न दशकभरीको समय र दशौँ अर्ब डलर खर्च लाग्न सक्ने चेतावनी दिएका छन्।
क्यापिटल इकोनोमिक्सका मुख्य अर्थविद् निल शियरिङले ट्रम्पको योजनाबाट विश्वव्यापी तेल आपूर्ति र मूल्यमा सीमित प्रभाव पर्ने बताए।
शियरिङ स्थयी सरकार नआउँदासम्म कम्पनीहरूले लगानी नगर्ने र आयोजनाहरू "धेरै, धेरै वर्षहरू"सम्म सम्पन्न नहुने बताउँछन्।
भेनेजुएला विगतकै करिब ३० लाख ब्यारल प्रति दिन तेल उत्पादन गर्ने स्तरमा पुगे पनि ऊ विश्वको शीर्ष १० उत्पादकभित्र नपर्ने शियरिङले बताए।
ओपेक+ देशहरूमाझ उत्पादन धेरै रहेको र विश्व अहिले "तेलको अभावबाट नगुज्रिएको" पनि उनले उल्लेख गरे।
बीपीका पूर्व प्रमुख कार्यकारी जोन ब्राउनले बीबीसीसँग बोल्दै भेनेजुएलाको तेल उद्योगलाई ब्युँताउनु "एकदमै दीर्घकालीन योजना" भएको बताए।
"काम गर्न लाग्ने समयलाई मानिसहरूले कम आँक्छन्। सबै स्रोतहरू, सामाग्री र खासगरी मानिसहरू जम्मा गर्न धेरै समय लाग्छ।"
ब्राउनले कम्पनीहरू यो प्रकृयामा संलग्न हुन चाहने बताउँछन् किनभने "विश्वका धेरै भागहरूमा व्यापारमा विकल्प हुनु राम्रो हुने" बताएका छन्।
"व्यापारको हिसाबले हेर्दा यदि तपाईँ कुनै कम्पनी चलाउँदै हुनुहुन्छ भने... तपाईँ चाँडै यसमा संलग्न हुन चाहनुहुन्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: