होर्मुज स्ट्रेट नखोले इरानका विद्युत केन्द्र र पुलहरू ध्वस्त पारिदिने ट्रम्पको धम्की

होर्मुज स्ट्रेट नखोले इरानका विद्युत केन्द्र र पुलहरू ध्वस्त पारिदिने ट्रम्पको धम्की

bbc.com . २ घण्टा अघि

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मङ्गलवारसम्म सबै जहाजका लागि होर्मुज स्ट्रेट खुला नगरे इरानका विद्युत् केन्द्र र पुलहरू ध्वस्त पार्ने चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमा कडा शब्दहरूले भरिएको पोस्ट गर्दै उनले त्यस्तो धम्की दिएका हुन्।

उनले पहिले झैँ "नर्क बनाउने" चेतावनी दोहोर्‍याए तर उनले अमेरिकी सञ्चारमाध्यमहरूसँग तेहरानसँग सम्झौता हुने "राम्रो सम्भावना" रहेको पनि बताए।

इरानले भने उक्त धम्कीलाई खारेज गर्दै त्यसलाई "निरुपाय, भयग्रस्त र मूर्खतापूर्ण" भनेको छ।

इरानमा खसालिएको अमेरिकी लडाकु विमानका अर्को चालकदलका सदस्यलाई सफलतापूर्वक उद्धार गरिएको घोषणापछि ट्रम्पले यो धम्की दिएका हुन्।

इरानले खसालेको विमानका चालकदलका सदस्य सकुशल भेटिएको ट्रम्पको भनाइ

हामी तेस्रो विश्वयुद्धतर्फ उन्मुख छौँ कि डर बढेको मात्र हो?

अमेरिका र इरान दुवैले दक्षिणपश्चिम इरानको पहाडी क्षेत्रमा हराएका अमेरिकी सैनिकलाई खोज्न तीव्र प्रयास गरेका थिए। एफ–१५ लडाकु विमानका पाइलटलाई भने शुक्रवार विमान खसालिएलगत्तै उद्धार गरिएको थियो।

उक्त घटना एक महिनाभन्दा बढी समयदेखि जारी युद्धका क्रममा भएको हो। जारी युद्धमा इरानले अमेरिका र इजरेलका हवाई आक्रमणको जबाफमा ती देशका सहयोगी खाडी राष्ट्रहरूमाथि आक्रमण गर्दै आएको छ।

इरानले होर्मुज स्ट्रेटमा आवतजावतलाई पनि उल्लेखनीय रूपमा अवरोध गरेको छ। यो विश्वकै महत्त्वपूर्ण जलमार्ग हो, जहाँबाट विश्वको करिब २० प्रतिशत तेल र ग्यास ओसारपसार हुन्छ। यसले विश्वभर तेलको मूल्य अकासिँदै गएको छ र मुद्रास्फीति बढ्ने चिन्ता समेत बढाएको छ।

इरानको प्रतिक्रिया

ट्रम्पले होर्मुज स्ट्रेट खोल्न धम्की दिँदाका समयसीमा धेरै पटक पर सार्दै आएका छन्।

सुरुमा उनले गएको २१ मार्चमा ४८ घण्टाभित्र उक्त स्ट्रेट "पूर्ण रूपमा खुला" नगरिए इरानका विद्युत् केन्द्रहरू ध्वस्त पार्ने चेतावनी दिएका थिए।

त्यसको दुई दिनपछि उनले इरानसँग "राम्रो" र "रचनात्मक" वार्ता चलिरहेको भन्दै अर्को पाँच दिनसम्म आक्रमण नगर्ने बताए। तर इरानले ट्रम्प प्रशासनसँगको कुनै सम्पर्कलाई नकार्दै आएको छ।

बाब अल-मान्डब : इरानले बन्द गर्ने धम्की दिइरहेको दोस्रो महत्त्वपूर्ण जलमार्ग

खाडी देशहरूले इरानविरुद्ध जबाफी कारबाही नगर्नुका कारण

उक्त समयसीमा नजिकिएपछि ट्रम्पले फेरि १० दिन थपेर ६ अप्रिल पुर्‍याए। ४८ घण्टाको नयाँ समयसीमा यही मितिबाट सुरु भएको हो।

इरानका राष्ट्रपति कार्यालयका प्रवक्ता मेहदी ताबातबेईले भने "युद्धबाट भएको क्षतिको पूर्ति गर्न यातायात शुल्कको केही भाग प्रयोग हुने" अवस्थामा मात्रै होर्मुज स्ट्रेट "पुन: खुल्ने" बताएका छन्।

इरानले स्ट्रेट पार गर्ने जहाजहरूबाट शुल्क लिन योजना बनाएको सङ्केत गरेको छ।

इरानको केन्द्रीय सैन्य कमान्डका जनरल अली अब्दोल्लाही अलिआबादीले ट्रम्पको धम्कीलाई "निरुपाय, भयग्रस्त, असन्तुलित र मूर्खतापूर्ण कार्य" भनेका छन्। साथै उनले "नर्कको द्वार अमेरिकी नेताको लागि खुल्ने" टिप्पणी पनि गरे।

आक्रमण जारी

यी घटनाक्रमबीच इजरेलले इरानका पेट्रोकेमिकल पूर्वाधारसहितका सार्वजनिक संरचनाहरूमाथि आक्रमण गरेको विवरणहरू आएका छन्। इरानका थप ऊर्जा पूर्वाधारहरूमा आक्रमण गर्न अमेरिकी अनुमति कुरिराखिएको रक्षा अधिकारीहरूले बताएका छन्।

अमेरिकी-इजरेली आक्रमणले आइतवार दक्षिणपश्चिम इरानको कासिम सुलेमानी अन्तर्राष्ट्रिय विमानस्थलमा पनि असर पुर्‍याएको छ।

के स्ट्रेट अफ होर्मुजको अर्को विकल्प छैन?

के खाडी मुलुकमा नेपालीले रोजगारी गुमाउन थालेका हुन्?

इरानले पनि इजरेल र अमेरिकाका खाडी क्षेत्रका सहयोगीहरूमाथि ड्रोन र क्षेप्यास्त्र प्रहार जारी राखेको छ।

इजरेलको हाइफा शहरमा आइतवार एउटा आवासीय भवनमा बलिस्टिक क्षेप्यास्त्र प्रहार भएको छ। उक्त घटनामा चार जना घाइते भएका छन्।

आबुधाबी, कुवेत र बाहरेनबाट पनि ऊर्जा केन्द्रहरूमा हमलाका विवरण आएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.