
अमेरिका: शिकागो नजिकै सार्वजनिक कार्यक्रममा बन्दुक आक्रमण गरेको अभियोगमा एकजना सन्दिग्ध पक्राउ
अमेरिकाको शिकागो सहरनजिकै स्वतन्त्रता दिवसको अवसरमा आयोजित परेडमा ६ जनाको मृत्यु हुने गरी बन्दुक आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
स्थानीय समय अनुसार दश बजे अचानक विस्फोटनको आवाज सुनिए पछि इलिनोइसस्थित हाइल्यान्ड पार्क सहरमा आयोजित कार्यक्रम रद्द भएको थियो।
अधिकारीहरूका अनुसार २४ जनालाई अस्पताल लगिएको छ।
घटनामा संलग्नताको सन्दिग्ध २२ वर्षीय रोबर्ट ई क्रिमो तृतीय हुन्। हतियारधारी ती व्यक्तिलाई प्रहरीले खतरनाकको सङ्ज्ञा दिएको छ।
सन्दिग्धले उच्च क्षमता भएको राइफलले परेडमा सहभागीहरूलाई लक्षित प्रहार गरेको प्रहरीले जनाएको छ। सन्दिग्ध बन्दुकधारीले परेड सुरु भएको केही मिनेटपछि, स्थानीय समय अनुसार १०:१५ मा गोली चलाएका थिए।
सहरको स्वतन्त्रता दिवस समारोहमा साङ्गीतिक र्यालीदेखि अन्य सामुदायिक मनोरञ्जनात्मक कार्यक्रमहरू तय भएका थिए। तर, वर्षको सर्वाधिक रमाइलो दिनहरू मध्ये एक हुनु पर्ने उक्त दिनमा आतङ्क मच्चियो।
घटनास्थलमा उपस्थित मानिसहरू भाग दौड गर्दा विभिन्न किसिमका कुर्सी तथा झोलाहरू सडकभरि यत्रतत्र छाडिए।
अमेरिकामा बन्दुकबारे कडा कानुनको माग गर्दै हजारौँको प्रदर्शन
बन्दुक नियन्त्रणका लागि अमेरिकाभरि र्याली
सन्दिग्ध व्यक्तिले नजिकैको पसलको छतबाट आम मानिस लक्षित गोली प्रहार गरेको ठानिएको छ। त्यहाँबाट प्रहरीले "बन्दुकको प्रमाण" बरामद गरेको छ।
गोलाबारीमा परी पाँच जनाको घटनास्थलमै र अर्का एक जनाको उपचारको क्रममा नजिकैको अस्पतालमा मृत्यु भएको हत्या सम्बन्धी अनुसन्धान गर्ने स्थानीय अधिकारीले बताए।
"स्वतन्त्रता मनाउन जम्मा भएका हामीले एउटा दु:खद घडीको शोक मनाउँदै छौँ," सहरकी मेयर न्यान्सी रोटरिङले भनिन्।
सन् १७७६ मा ग्रेट ब्रिटेनबाट स्वतन्त्र भएको उपलक्ष्यमा अमेरिकी उपनिवेशहरूले हरेक वर्ष ४ जुलाईको दिन राष्ट्रिय बिदा मनाउँछन्।
घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरूले गोली चलेको आवाज सुनेपछि भयावह बनेको परिस्थितिबारे वर्णन गरेका छन्।
आक्रमणकारीबाट आफू १०० मिटरभन्दा कम दूरीमा रहेको बताउने आनन्द पीले बीबीसीसँग भने,"त्यो बन्दुक निकै छोटो अवधिमा धेरै वटा गोली प्रहार गर्ने खालको थियो। त्यसबाट अविश्वसनीय रूपमा ठूलो आवाज आएको थियो र त्यसपछि त्यहाँ पूर्ण मौनता छायो।"
यस उपनगरीय क्षेत्रमा बन्दुक सम्बन्धित हिंसा निकै कम भएका छन्। आनन्दले थप भने: "मैले यहाँ निकै सुरक्षित महसुस गर्थेँ तर अहिले सुरक्षाका निम्ति आश्रयस्थलमा लुकेका छौँ। यहाँ मानिसहरू रोइरहेका छन् र यो अनुभूति सुखद छैन।"
अर्का प्रत्यक्षदर्शी नोएल हाराले आफ्नो छोरालाई समारोहमा छोडेर आफू खाजा खाँदै गर्दा आतङ्क मच्चिएको बताए।
हाराले बीबीसीलाई भने, "करिब ३० जना मानिसहरू अचानक हतारिँदै, चिच्याउँदै आए। त्यसपछि हामीलाई स्टारबक्सको शौचालयमा थुनियो।"
"केही क्षण पछि आक्रमण गर्ने मानिस पछाडिको ढोकाबाट त्यहीँ पस्न खोजिरहेको शङ्का भयो र उनीहरूले हामीलाई स्टारबक्सबाट बाहिर निकाले।"
अमेरिकामा बन्दुकबारे कडा कानुनको माग गर्दै हजारौँको प्रदर्शन
बन्दुक राख्न पाउने कानूनमा कडाइ गर्न माग
आक्रमण भएको घन्टौँ बितिसक्दा पनि प्रहरीले शङ्कास्पद व्यक्तिको खोजी गरिरहेको छ। त्यसका लागि प्रहरीले कुकुर र ड्रोनको प्रयोग गरेर र्याली हिँडेको मार्ग, सहरको भित्री भाग र जिल्लाको व्यापारिक केन्द्रमा आफ्नो अनुसन्धान केन्द्रित गरेको छ।
प्रहरीले "सक्रिय अपराध स्थल" घोषणा गरेको क्षेत्र वरपर बसोबास गर्नेहरूलाई आश्रयस्थल मै रहन सुझाव दिएको छ।
शिकागोमा सप्ताहान्तको बिदाका बेला गोलाबारी बढ्दो छ। गर्मीका कारण मानिसहरू त्यस समयमा बाहिर निस्कन्छन्।
सन् २०२१ मा शिकागो सहरमा जुलाईको ४ सम्ममा एकसय भन्दा बढी मानिसहरूमाथि गोली प्रहार भएको थियो र तीमध्ये १७ जनाको मृत्यु भएको थियो।
टेक्ससको युभाल्डी र न्यूयोर्कको बफलोमा भएको घातक गोलाबारीको एक महिनापछि यो घटना भएको हो।
लगातारका गोलीकाण्डहरूपश्चात् अमेरिकी सिनेटको द्विपक्षीय समूह बन्दुकको सुरक्षासम्बन्धी एउटा सम्भावित कानुनको ढाँचामा सहमत भएको छ।

Liked by: