ट्रम्पले सङ्घर्षविरामका लागि सहमति भएको बताएपछि पनि थाईल्यान्ड र क्याम्बोडियाबीच लडाइँ जारी

ट्रम्पले सङ्घर्षविरामका लागि सहमति भएको बताएपछि पनि थाईल्यान्ड र क्याम्बोडियाबीच लडाइँ जारी

bbc.com . २ दिन अघि

थाई र क्याम्बोडियाली फौजबीच शनिवार बिहान पनि लडाइँ जारी छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देश सङ्घर्षविरामका लागि सहमत भएको बताएका थिए।

थाईल्यान्डका प्रधानमन्त्री अनुतिन चर्नभिराकुलले आफूले अमेरिकी राष्ट्रपतिलाई क्याम्बोडियाले आफ्ना सबै फौज फिर्ता लिएपछि र बारुदी सुरुङ हटाएपछि मात्र युद्धविराम सम्भव हुने बताएको उल्लेख गरेका छन्।

"जबसम्म हामीले हाम्रो भूमि र जनतालाई थप क्षति र खतरा नरहेको महसुस गर्दैनौँ, थाईल्यान्डले सैन्य कारबाही जारी राख्नेछ। म यो स्पष्ट पार्न चाहन्छु। आज बिहान हाम्रो कदमले त्यो बोलिसकेको छ," उनले सामाजिक सञ्जालमार्फत बताएका छन्।

थाई सेनाले सीमा क्षेत्रका केही बिन्दुहरू नियन्त्रणमा लिन दबाब बढाएपछि रातभर गोलाबारी चलेको थियो।

ताजा लडाइँमा कम्तीमा २१ जनाको मृत्यु भएको छ र दुवैतर्फका ७ लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

ट्रम्पले यसै साताको सुरुमा थाई र क्याम्बोडियाली सेनाबीच सोमवार सुरु भएको लडाइँ फोनबाटै रोक्न सक्ने दाबी गरेका थिए।

उनले दुवै देशका प्रधानमन्त्रीसँग कुराकानी गरेपछि शुक्रवार राति सामाजिक सञ्जालमा 'दुई देश साँझदेखिनै लागू हुने गरी गोली हानाहान रोक्न र अक्टोबरमा अमेरिकी राष्ट्रपतिका अगाडि आफूहरूले हस्ताक्षर गरेको सम्झौतामा फर्किन सहमत भएको' उल्लेख गरेका छन्। उनले लेखेका छन्, "दुवै देश शान्तिका लागि तयार छन्।"

थाई प्रधानमन्त्री अनुतिनका अनुसार उनले ट्रम्पलाई थाइल्यान्ड आक्रमणकारी नभएको, र सङ्घर्षविराम सम्भव बनाउन क्याम्बोडियाले आफ्नो सेना फिर्ता लगेको र सीमा क्षेत्रबाट बारुदी सुरुङ हटाएको देखाउनु पर्ने बताएका थिए। "उनीहरूले पहिले त्यो हामीलाई देखाउनु पर्छ," उनले भनेका छन्।

थाइल्यान्डले अमेरिकालाई यो द्वन्द्वलाई व्यापारसँग नजोड्न चेतावनी दिएको छ।

क्याम्बोडियाले थप थाई हवाई आक्रमणबाट प्रभावित भएको शनिवार जनाएको छ।

थाई र क्याम्बोडियाली सेनाबीच सिमानामा गोली हानाहान, कम्तीमा १२ जनाको मृत्यु

थाई-क्याम्बोडिया सीमामा सङ्घर्ष जारी, युद्ध हुन सक्ने थाई नेताको चेतावनी

रक्षा मन्त्रालयले कैयौँ निशानाहरूलाई लक्षित गरेर 'सन् २०२५ डिसेम्बर १३ मा थाई सेनाले दुईवटा एफ-१६ लडाकु विमानहरू प्रयोग गरेर सात वटा बम खसालेको' एक्स पोस्टमा उल्लेख गरेको छ।

"थाई सैन्य विमानहरूले बमबारी अझै रोकेका छैनन्," क्याम्बोडियाको रक्षा मन्त्रालयले भनेको छ।

थाई सेनाले पनि लडाइँ जारी रहेको पुष्टि गरेको छ।

दुई देशबीच लामो समयदेखि सीमा विवाद छ। जुलाई २४ मा क्याम्बोडियाले थाइल्यान्डमा रकेट प्रहार सुरु गरेपछि त्यो विवाद बढेको हो। थाईल्यान्डले हवाई आक्रमणमार्फत त्यसको जबाफ दिएको थियो।

दुवै देशहरूले आक्रमण सुरु गरेको आरोप एक अर्कामाथि लगाएका छन्।

दर्जनौँ मानिसको ज्यान जाने गरी केही दिनसम्म चलेको भीषण लडाइँपछि ट्रम्प र मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमको मध्यस्थतामा दक्षिणपूर्वी एशियाली ती मुलुकहरू 'तत्काल र बिनासर्त सङ्घर्षविराम' गर्न सहमत भएका थिए।

अमेरिकी राष्ट्रपतिको उपस्थितिमा गत अक्टोबरमा मलेसियामा आयोजित एक समारोहमा त्यसलाई औपचारिकता दिइएको थियो।

तथापि दुवै पक्षले युद्धविराम उल्लङ्घनको आरोपहरू एक अर्कामाथि लगाउने क्रम जारी राखे, क्याम्बोडियाली सेनाले बारुदी सुरुङ बिछ्याएको प्रमाण थाईल्यान्डले प्रकाशित गर्‍यो, जसले गर्दा सात जना थाई सैनिकहरूले हातखुट्टा गुमाएको उसले आरोप लगाएको छ।

ती बारुदी सुरुङहरू सन् १९८० को दशकमा भएको गृहयुद्धको अवशेष भएको क्याम्बोडिया बताउँछ।

त्यसयता तनाव निरन्तर बढ्दो छ।

थाईल्यान्डको अयुथ्या र भारतको अयोध्याबीच कस्तो सम्बन्ध छ?

क्याम्बोडिया-थाईल्यान्ड द्वन्द्वको कारण बनेको सदीयौँ पुरानो शिव मन्दिर

गत आइतबार भएको झडपमा आफ्ना दुई सैनिक घाइते भएपछि थाईल्यान्डले क्याम्बोडियाभित्र हवाई आक्रमणहरू गरेको थियो।

क्याम्बोडियाले रकेट प्रहारबाट त्यसको जवाफ दिएको छ।

यस लडाइँबाट कारण उत्तर-पूर्वी थाईल्यान्डका छवटा प्रान्तहरू र कम्बोडियाका उत्तर र उत्तर-पश्चिमका छवटा प्रान्तहरू प्रभावित भएका छन्।

दुई देशबीच ८०० किलोमिटर लामो सिमाना छ, जहाँ उनीहरूबीच एक शताब्दीभन्दा बढी समयदेखि विवाद छ।

क्याम्बोडिया फ्रान्सको उपनिवेश रहेका बेला सन् १९०७ मा फ्रेन्च मानचित्रकारहरूद्वारा उक्त सिमाना निर्धारण गरिएको थियो।

थाईल्यान्ड र क्याम्बोडियाबीच फेरि तनाव, क्याम्बोडियामा 'चार जनाको मृत्यु'

थाईल्यान्ड र क्याम्बोडियाबीच 'निसर्त सङ्घर्षविराम' गर्ने सहमति, तत्काल लागु हुने

त्यही सीमा निर्धारणका बेलादेखिनै विवाद उत्पन्न भएको हो।

सन् २००८ मा क्याम्बोडियाले विवादित भूभागमा अवस्थित तथा एघारौँ शताब्दीमा निर्मित एउटा मन्दिर यूनेस्कोको विश्व सम्पदा सूचीमा दर्ता गर्न खोजेपछि थाईल्यान्डले त्यसको विरोध गरेको थियो।

त्यससँगै दुई देशबीचको सीमा विवाद चर्किएको हो।

त्यसयता दुई देशका सैनिकहरूबीच भिडन्त र आक्रमण हुँदै आएको छ। जसमा परेर दुवै देशका सैनिक र नागरिकहरूले ज्यान गुमाउँदै आएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.