मनसुनी प्रणाली उत्तरतिर सर्दै, मधेशमा अझै ठूलो वर्षा हुने सम्भावना देखिएन

मनसुनी प्रणाली उत्तरतिर सर्दै, मधेशमा अझै ठूलो वर्षा हुने सम्भावना देखिएन

bbc.com . १ महीना अघि

जेठ १८ देखि सुरु भएको यसपालिको मनसुन लगभग मध्यबिन्दुमा आइपुग्दा सरदर हुने वर्षाको तुलनामा यो वर्ष केही कम पानी परेको देखिन्छ।

मधेश प्रदेशमा सुक्खा स्थिति उत्पन्न भएको छ। मधेश प्रदेशका जिल्लाहरू अनि पूर्वी नेपालका दक्षिणी भेगका स्थानहरूमा वर्षा कम भएको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कले देखाउँछ।

यो साताको सुरुमा विकसित प्रणालीले पनि उक्त क्षेत्रमा भने खासै धेरै पानी पार्ने सम्भावना नदेखिएको मौसमविद्हरूले बताएका छन्।

कोशी र मधेशमा पानी पर्ने प्रक्षेपण, सुक्खाग्रस्त ठाउँमा कति राहत पुग्ला

मनसुन उत्कर्षमा पुग्दा पनि मधेश प्रदेश र पूर्वी तराईमा सुक्खा

अहिलेसम्मको अवस्था के छ

"सोमवार बिहान बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै ठाउँहरूमा अनि लुम्बिनीको पहाडी क्षेत्रमा वर्षा भयो। मधेशमा चाहिँ 'भारी वर्षा'को सम्भावना देखिएको छैन," विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालले बताए।

"मधेशको पनि उत्तरी भागमा मध्यम वर्षाको सम्भावना छ भने दक्षिणी भागमा त्यस्तो सम्भावना कमै छ," उनले भने।

वर्षा गराउने न्यूनचापीय रेखा 'मनसुन ट्रफ' विस्तारै दक्षिणबाट नेपालतर्फ सरेको सोमवार देखिएको उनले बताए। यो प्रणालीले सोमवार र मङ्गलवार मध्यम वर्षा गराउने र त्यसपछि अलि कमजोर हुने सम्भावना देखिएको उनले बताए।

यो वर्ष असोज १४ गते मनसुन बाहिरिने प्रक्षेपण गरिएको छ। तर साउनको ११ गतेसम्म आइपुग्दा वार्षिक सरदरको केवल ३७ प्रतिशत वा ५५२ मिलिमिटरमात्र वर्षा हुन सकेको देखिन्छ। प्रायजसो यो बेलासम्म लगभग ५० प्रतिशत वर्षा भइसक्ने गर्थ्यो।

अझ मधेशका जिल्लामा सरदरभन्दा निकै कम वर्षा भएको देखिन्छ।

जल तथा मौसम विज्ञान विभागको जनकपुर तथा सिमराको मौसम केन्द्रले गरेको मापनमा त्यो भेगमा निकै कमजोर वर्षाको अवस्था देखाउँछ।

जनकपुरमा अहिलेसम्म २० प्रतिशतको हाराहारीमा अनि सिमरामा त्योभन्दा अलिकति बढि सञ्चित वर्षाको मापन भएको छ। यद्यपि सामान्यतया यो बेलासम्म ५० प्रतिशत भइसक्नुपर्थ्यो।

नेपालमा धानको उत्पादन बढ्दा पनि धानचामलको आयात वृद्धि, भारतमा देखिएका परिवर्तन हुन सक्छन् कारण

पाँच वर्षयता 'विषम खडेरी', बाली चक्रमै असर पर्न सक्ने चिन्ता

मनसुन सुरु हुनुभन्दा अगाडि विभागले गरेको प्रक्षेपणमा यो वर्ष सरदरभन्दा बढी नै वर्षा हुने जनाएको थियो।

"जुन महिनामा लगभग सरदर वर्षा भयो भने अब मनसुन सकिने बेलासम्म पहिलेको प्रक्षेपणबमोजिम नै हुने हामीले ठानेका छौँ। मधेशको हकमा चाहिँ केही कम वर्षा हुने नै प्रक्षेपण छ," मौसमविद् ढकालले भने।

'चाँडै आउने, दशैँसम्म रहने': आसन्न मनसुनबारे चार विशेष कुरा

सुक्खा मधेशमा 'आवश्यक परे सेना खटाएर' समस्या समाधान गर्ने सरकारको योजना

धान उत्पादनमा कस्तो असर

वर्षा कम भएका कारण यथेष्ट धान उत्पादन नहुने भन्दै अधिकारीहरू चिन्तित देखिन्छन्। नेपालमा धानलाई एउटा बालीमात्र नभई औसत नेपालीको जीवन पद्धित नै मानिने सरकारको भनाइ छ।

गत आर्थिक वर्ष (२०८१/८२)मा सर्वाधिक परिमाणमा ५९.५५ लाख मेट्रिक टन धान उत्पादन भएको थियो। त्यति हुँदा पनि आन्तरिक माग पूरा गर्न १० लाख मेट्रिक टन पुगेको थिएन।

यसपालि त दक्षिणी भेगमा भएको कमजोर वर्षाले धानको उत्पादनमा निकै असर गर्ने चिन्ता बढेको छ।

"यो वर्ष पोहोरको तुलनामा यतिखेरसम्म रोपाइँ भएको करिब २०-२५ प्रतिशतले कम देखिन्छ। मधेशमा त ३०-३५ प्रतिशतले नै कम रोपाइँ भएको छ," कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले बीबीसीलाई बताए।

पोहोर यतिबेलासम्म देशभरि करिब ९३ प्रतिशत रोपाइँ सकिएको थियो भने यो वर्ष जम्मा ८० प्रतिशत पनि पुगेको छैन। अहिलेसम्म सबैभन्दा धेरै रोपाइँ सुदूरपश्चिममा ९८ प्रतिशत सकिएको छ भने सबैभन्दा कम मधेश प्रदेशमा करिब ५२ प्रतिशतमात्र सकिएको छ।

उत्पादन कम भए पनि किसानले रैथाने जातका बिउ जोगाइराख्नुका कारण

माटोको गुणस्तर र त्यसअनुसार कुन बाली लगाउने कसरी थाहा पाउने?

तर अधिकारीहरू अझै पनि एक-दुई सातामा राम्ररी वर्षा हुन सके स्थिति सुध्रिने ठान्छन्।

"मधेशका जिल्लाहरूमा पहिले पनि साउन महिनाभरिसम्म रोपाइँ हुने गरेको छ। अर्को सातासम्म वर्षा राम्रो भयो भने त्यसले समग्र स्थिति सुध्रिन्छ," सञ्जेलले भने।

त्यतिन्जेल कुरेर मात्र यसपालिको धान उत्पादन कति प्रभावित होला भन्ने आकलन गर्न सकिने उनले बताए।

"यसमा दुइटा कुरा छन्। एक त रोपाइँ हुने क्षेत्रको विस्तार गर्ने चुनौती अनि अर्को चाहिँ भइसकेका ठाउँमा पनि कम पानी परेपछि उत्पादनमा पर्ने असर। साउन २०-२२ गतेसम्म हामी 'पर्ख र हेर'को स्थितिमा छौँ। त्यसपछि सोहीअनुसार वैकल्पिक बाली वा हिउँदेबाली उत्पादन वृद्धिको प्रवर्धनजस्ता उपायमा लाग्नुपर्छ," उनले भने।

हालै मधेशको स्थलगत निरीक्षण गरेर उनी समेत रहेको कार्यदलले प्रारम्भिक प्रतिवेदन बुझाएको र त्यसमा विशेष गरी कम रोपाइँ भएको क्षेत्रफल बढाउने अनि रोपाइँ भइसकेका ठाउँमा बाली जोगाउनेबारे सुझावहरू दिइएको उनले बताए।

"मुख्य सिँचाइ नै हो। हामीले निरीक्षण गर्दा कतैकतै नहरहरूमा सामान्य मर्मत गरियो भने पनि बिसौँ हजार हेक्टरमा पानी पुर्‍याउन सकिने देख्यौँ। त्यस्तै विद्युत् आपूर्ति नियमित गरिदिँदा पनि सहयोग पुग्छ," उनले भने।

कम वर्षाको यकिन प्रभावको प्रक्षेपण अहिले गर्न नसकिने बताइँदै गर्दा सरकारले राखेको दुई वर्षमा धान उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य धरमराउने देखिएको जानकारहरू बताउँछन्।

"निश्चय नै त्यो लक्ष्य चुनौतीपूर्ण बनेको छ। हामीले यसका लागि दुई किसिमका नीति अख्तियार गर्दै छौँ। एउटा चाहिँ चैतेधान रोपिने ठाउँको क्षेत्रफल बढाउने अनि अर्को चाहिँ बर्खे धानबालीको उत्पादकत्व बढाउन सिँचाइ विस्तार तथा उन्नत जातको बीउ प्रयोगजस्ता उपाय अवलम्बन गर्नु हो।"

मनसुनजन्य विपत्ति

हरेक बर्खामा बाढी र पहिरो विपद्का घटनामा थुप्रै मानिसले ज्यान गुमाउँछन्।

"यो वर्ष अहिलेसम्म यस्ता घटनामा परी ४३ जनाको ज्यान गइसकेको छ, १९ जना बेपत्ता भएका छन् भने ११७ जना घाइते भएका छन्। दुई हजारभन्दा धेरै घरपरिवार प्रभावित भइसकेका छन्," राष्ट्रिय विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले भनिन्।

यो वर्ष मनसुनले २० लाख जनसङ्ख्या प्रभावित हुने प्राधिकरणको प्रक्षेपण छ।

गत वर्ष यस्ता विपद्ले सयौँ मानिसको ज्यान गएको थियो। पोहोर असोज १० देखि १३ गतेसम्म आएको अविरल वर्षाले काठमाण्डू उपत्यकासहित विभिन्न ठाउँमा २५० जनाभन्दा धेरैको ज्यान गएको अनि ४६ अर्ब रुपैयाँको नोक्सानी भएको प्राधिकरणले जनाएको थियो।

काठमाण्डू उपत्यकामा असोज १२ गते ५४ वर्षयताकै अत्यधिक वर्षा भएको अनि वर्षा मापन गर्न थालिएको ७७ वर्षको इतिहासमा सबभन्दा ठूलो पानी कञ्चनपुरको दोधारा मापन केन्द्रमा असार २३-२४ मा २४ घण्टाको अवधिमा ६२४ मिलिमिटर वर्षा मापन गरिएको प्राधिकरणले जनाएको थियो।

बाढी, पहिरोले ठूलो जनधनको क्षति भएको तेस्रो दिन बसेको मन्त्रिपरिषद् बैठकले केके निर्णय गर्‍यो?

विध्वंश मच्चाउने गरी २५ ठाउँमा वर्षाको नयाँ रेकर्ड, काठमाण्डूको पानीपोखरीमा '५० वर्षपछि धेरै वर्षा'

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.