इरानमा पक्राउ परेका अमृत झा 'अझै जेलमै', सरकार भन्छ 'प्रक्रियामा छ'

इरानमा पक्राउ परेका अमृत झा 'अझै जेलमै', सरकार भन्छ 'प्रक्रियामा छ'

bbc.com . २ घण्टा अघि

परराष्ट्रमन्त्री शिशिर खनालले इरानमा पक्राउ परेका नेपाली युवा अमृत झा रिहा भएको यसअघि बताए पनि उनको परिवारले झा अझै रिहा नभएको बताएको छ।

अमृत झाकी दिदी पूजाले आफ्ना भाइले सोमवार दिउँसो मात्रै आफू अझै जेलमै रहेको जानकारी गराएको बीबीसी न्यूज नेपालीसँग बताइन्। "मेरो भाइको अहिले भर्खरै फोन आएको थियो," उनले बीबीसी न्यूज नेपालीसँग भनिन्।

"उसले 'नेपालबाट रिहाइका लागि के भइरहेको छ?' भन्यो। 'यहाँबाट त रिहा भइसक्यो भनेर कुरा आएको छ' भनेँ मैले," उनले अमृतसँगको संवाद सुनाउँदै भनिन्।

इरानको पानीजहाज अमेरिकी नियन्त्रणमा : ट्रम्प

इरान युद्धका असरबारे शक्तिमा भएकाहरू के सोच्छन्

"'त्यस्तो केही पनि छैन। उतातिरबाट पहल केही पनि छैन। आज बिहान बल्ल अदालतबाट हामीले एउटा पत्र पायौँ। तिमीहरूको मुद्दा अहिले पनि अनुसन्धानको क्रममा छ। त्यस कारण अहिले हामीलाई यहीँ राख्छौँ भनेर पत्र आएको छ' भन्यो।"

परराष्ट्र मन्त्रालयका प्रवक्ताले उनको रिहाइ प्रक्रिया सुरु भइसकेको बीबीसीसँग बताएका छन्।

यूएईमा मुख्यालय रहेको ब्ल्याक सी मरीन एलएलसी नामक कम्पनीको स्वामित्वमा रहेको पानीजहाजको चालकदलका सदस्य रहेका उदयपुरको त्रियुगाका झा दुबईबाट तेल लिन इरानतिर गएका समयमा पक्राउ परेको विवरण आएका थिए।

उनीबारे विवरण सार्वजनिक भएपछि परराष्ट्रमन्त्री शिशिर खनालले झा इरानमा रिहा भएको र कतारस्थित नेपाली राजदूतावाससँग सम्पर्कमा रहेको बताएका थिए। अधिकारीहरूले झा केश्म टापुमा रहेको बताएका थिए।

तर दिदी पूजाका अनुसार अमृतले आफू अहिले पनि बन्दर अब्बास जेलमा रहेको जानकारी दिएका हुन्। होर्मोज्गान प्रान्तमा रहेको यो जेल इरानमा मानवाधिकारकर्मीहरूले धेरै प्रश्न उठाउने हिरासत केन्द्र हो।

"भर्खरै फोन आएर म स्तब्ध भएँ," पूजा झाले भनिन्।

"अस्ति भाइ रिहा भयो भनेर खुसीको खबर भयो भनेर विश्वास गर्‍यौँ। त्यसको भोलिपल्ट भाइको खबर आउँदा हामी माथिबाट भुइँमा खसेजस्तै भयौँ।"

'रिहाइको प्रक्रिया सुरु भइसक्यो'

परराष्ट्रमन्त्री खनालले यसअघि बुधवार अपराह्ण उनी रिहा भएको जानकारी पाएको बीबीसीसँग बताएका थिए। सोमवार बीबीसीले टेलिफोन गर्दा खनालसँग सम्पर्क हुन सकेन।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले झाको रिहाइका लागि पहल सुरु भइसकेको र [त्यो सकिन] केही समय लाग्न सक्ने बताए।

"रिहाइको प्रक्रिया सुरु भएको छ। अदालतको प्रक्रिया हुन्छ त्यसका लागि केही समय लाग्ने होला," क्षेत्रीले भने।

"उहाँको रिहाइका लागि लाग्ने शुल्क महावाणिज्य दूतावासबाट भुक्तानी गरेर उहाँलाई सकुशल नेपाल ल्याउने पहलमा मन्त्रालय लागिरहेको छ।"

अमेरिका-इरान युद्धमा अब के होला? यस्ता छन् चार सम्भावित परिदृश्य

इरानमा पक्राउ परेका नेपालीले 'वकिल भेटे', उनलाई छुटाउन नेपाल सरकार के गर्दै छ

अमृतको झाको उद्धारका लागि पहल गरिदिन आफूले परराष्ट्र मन्त्रालय र कन्सुलर सेवा विभागमा पत्र लेखे पनि हालसम्म कुनै जबाफ नपाएको उदयपुरको त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले बीबीसी न्यूज नेपालीसँग बताए।

"मैले (परराष्ट्र)मन्त्रीज्यूसँग पनि भेटेर कुरा राखौँ भनेको भेट्न पाइएन। पत्र लेखेको छ अहिलेसम्म कुनै जबाफ आएको छैन। परिवारलाई पनि रिहा भयो भन्नेसम्म मात्रै सूचना छ त्यसपछिको अवस्थाबारे थाहा छैन भनेका छन्," नगरप्रमुख बस्नेतले भने।

झाकी आमा प्रभावतीले यसअघि बीबीसीसँग कुरा गर्दै आफ्नो छोरा एक दशकदेखि पानीजहाज कम्पनीमा काम गर्दै आएको बताएकी थिइन्।

इरानमा रहेका अन्य नेपालीहरूको विवरणबारे परराष्ट्र मन्त्रालयले थप खुलाएको छैन।

मन्त्रालयले झासहित इरानमा अलपत्र परेका ११ जना नेपाली नागरिकलाई स्वदेश फर्काउन कूटनीतिक पहल थालिएको बताएको थियो।

अमेरिका र इजरेलले इरानमा आक्रमण गरेपछि त्यहाँबाट फर्कन चाहिरहेका नेपालीहरू व्यावसायिक उडान नभएका कारण फर्कन सकेका छैनन्।

इरान युद्धका असरबारे शक्तिमा भएकाहरू के सोच्छन्

इरानीहरू किन अमेरिकासँग सहमति हुनेमा ढुक्क हुन सकेका छैनन्

मन्त्रालयका अनुसार इरानको राजधानी तेहरानमा १० जना र झासहित ११ जना नेपाली छन्।

छिमेकी देश भारतले आफ्ना नागरिकसहित अन्य तीन देशका नागरिकलाई उद्धार गरेर ल्याएपछि नेपाली नागरिकको उद्धारबारे चासो सुरु भएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले इरानमा द्वन्द्व सुरु भएयता २,३६१ जनालाई उद्धार गरेर स्वदेश फर्काइएको शुक्रवार बताएका थिए।

उनका अनुसार तीमध्ये २,०६० जना आर्मेनियाको बाटो हुँदै र ३०१ जना अजर्बैजानको बाटो हुँदै सकुशल स्वदेश फर्किएका हुन्।

भारतले उद्धार गरेका व्यक्तिहरूमध्ये एक जना बाङ्ग्लादेश, एक जना श्रीलङ्का र एक जना गायनाका नागरिक पनि थिए।

भारतबाट अध्ययन, रोजगारी र व्यापारिक कामका लागि धेरैजसो मानिसहरू इरानमा जाने गरेको विदेश मन्त्रालयले बताएको छ। इरानमा अझै पनि ६,००० देखि ७,००० भारतीयहरू रहेको भारतीय विदेश मन्त्रालयको आकलन छ।

नेपालीहरूको उद्धारबारे के हुँदै छ

नेपालबाट पनि रोजगारीका लागि मानिसहरू इरान पुगेको पाइएको छ।

गत वर्ष जुनमा इजरेलले इरानमा आक्रमण गरेपछि भारतले ११ जना नेपाली नागरिकहरूको उद्धारमा सहयोग गरेको थियो।

त्यस बेला कूटनीतिक अधिकारीहरूले त्यहाँ रहेका नेपालीहरूलाई सम्पर्कमा आउन आह्वान गर्दा १७ जना नेपालीहरू इरानमा रहेको खुलेको थियो।

तीमध्ये पाँच जना अध्यागमन कानुन उल्लङ्घन गरेको आरोपमा जेलमा थिए।

यो पटक पनि अमेरिका र इजरेलको आक्रमण गर्नुअघि नै इरानमा एक जना नेपाली पक्राउ परेको युद्ध सुरु भएपछि सार्वजनिक भएको थियो।

सरकारको तयारी के छ

अमेरिका-इजरेल र इरानबीचको द्वन्द्वको केन्द्रमा रहेको होर्मुज स्ट्रेटसँगैको केश्म टापुमा रहेको भनिएका झालाई इरानबाहिर ल्याउन प्रयास भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ताले बताएका छन्।

परराष्ट्र मन्त्रायका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले झा र अन्य १० जना नेपाली नागरिकहरूको पनि उद्धारको पहल भइरहेको बीबीसी न्यूज नेपालीसँग बताए।

"११ जनालाई नै ल्याउने गरी विभिन्न विकल्पमा आवश्यक पहल सुरु गरेका छौँ," मन्त्रालयका प्रवक्ता क्षेत्रीले बीबीसी न्यूज नेपालीसँग भने।

"तेहरानमा रहेका नेपालीहरूले यसअघि फर्कन इच्छा देखाउनुभएको थिएन। अहिले फर्कन्छौँ भन्नुभएको छ। हामीले उहाँहरूलाई कसरी फर्काउन सकिन्छ भनेर कूटनीतिक पहल गरिरहेका छौँ।"

अहिले इरानमा युद्धविराम भए पनि व्यावसायिक उडानहरू नभएकाले र होर्मुज जलमार्ग अझै खुला नभएका कारण जल तथा हवाईमार्गबाट नागरिकको उद्धार गरेर ल्याउन सहज नभएको अधिकारीहरूले बताएका छन्।

अधिकारीहरूका अनुसार नेपालले पनि भारतलाई आग्रह गरेर इरानबाट आफ्ना नागरिकको उद्धार गर्दा त्यहाँ रहेका नेपालीहरूलाई पनि सँगै ल्याइदिन कूटनीतिक माध्यमबाट अनुरोध गरेको छ।

नेपाली नागरिकहरू कूटनीतिक कार्यालयमा 'शेफ' वा 'कुक'को काम गर्न इरान पुग्ने गरेको नेपाली अधिकारीहरूले यसअघि बताएका थिए।

सामुद्रिक नाकाबन्दी के हो, होर्मुज जलमार्गमा कसरी लागु हुन्छ

होर्मुज जलमार्ग कसरी इरानको सबैभन्दा शक्तिशाली अस्त्र बन्न पुग्यो

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.