इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी अन्त्य नहुने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तेहरानसँग सम्झौता नभएसम्म इरानी बन्दरगाहमा लगाइएको नाकाबन्दी अन्त्य नहुने बताएका छन्।
अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि दोस्रो चरणको वार्ताबारे अन्योल जारी रहँदा ट्रम्पको यस्तो टिप्पणी आएको हो।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा गरेको पोस्टमा एक साताअघि सुरु भएको नाकाबन्दीले "इरानलाई पूर्ण रूपमा ध्वस्त बनाइरहेको" उल्लेख गरेका छन्। आफ्नो देशले यो द्वन्द्व "धेरैले" जितेको ट्रम्पको दाबी छ।
इरानमा पक्राउ परेका अमृत झा 'अझै जेलमै', सरकार भन्छ 'प्रक्रियामा छ'
अमेरिकी सेनाले इरानी कार्गो जहाज नियन्त्रण गर्दाको क्षण
अमेरिका र इरानबीच जारी युद्धविराम बुधवार समाप्त हुनुअघि ट्रम्पको यस्तो टिप्पणी आएको हो। पाकिस्तानमा हुने भनिएको दोस्रो चरणका शान्ति वार्ता अझैसम्म अनिश्चित देखिएको छ।
सम्भावित वार्ताको तयारीमा पाकिस्तानको राजधानी इस्लामाबादमा सुरक्षा कडा पारिए पनि अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्ने भनिएका उपराष्ट्रपति जेडी भान्स अझै वाशिङ्टनबाट बाहिरिएका छैनन्। अर्कोतर्फ इरानले पनि वार्तामा सहभागी हुने वा नहुनेबारे निर्णय नभएको जनाएको छ।
इरानमाथि अमेरिकी सामुद्रिक नाकाबन्दी सुरु भएयता अमेरिकी सेनाले २७ वटा जहाजलाई फर्केर जान वा इरानी बन्दरगाह बाहिर नजान निर्देशन दिएको अमेरिकी सेनाको केन्द्रीय कमान्ड 'सेन्टकम'ले जनाएको छ।
होर्मुज स्ट्रेटमा दोहोरो नाकाबन्दी
नाकाबन्दीको अटेर गर्ने प्रयास गरेपछि अमेरिकी सेनाले आइतवार पहिलो पटक इरानी झन्डावाहक एउटा जहाज नियन्त्रणमा लिएको बताएको थियो।
सेन्टकमले सार्वजनिक गरेका भिडिओमा सुरुमा जहाजलाई चेतावनी दिइएको र त्यसपछि सैनिकहरूले जहाजलाई नियन्त्रणमा लिएको देखिन्छ।
इरानले यो कदमलाई "डकैती" र दुई देशबीचको युद्धविरामको उल्लङ्घन भनेको छ।
विश्वकै अति महत्त्वपूर्ण जलमार्गमध्येको होर्मुज स्ट्रेटमा इरानले करिब दुई महिनादेखि आफ्नै नाकाबन्दी कायम राखेको छ। इरानी नाकाबन्दीका कारण ऊर्जाको मूल्य विश्वभरि नै तीव्र गतिमा बढेको छ।
यो जलमार्ग वरपर अहिले अमेरिकाले पनि इरान लक्षित सामुद्रिक नाकाबन्दी घोषणा गरेको छ।
अमेरिका-इरान युद्धमा अब के होला? यस्ता छन् चार सम्भावित परिदृश्य
इरानीहरू किन अमेरिकासँग सहमति हुनेमा ढुक्क हुन सकेका छैनन्
शनिवार केही समयका लागि होर्मुजको जलमार्ग खोलिएको थियो। तर त्यसलगत्तै ट्याङ्कर सहितका जहाजहरू लक्षित आक्रमण हुन थालेको विवरण आएपछि यो जलमार्ग पुन: बन्द गरियो।
ट्रम्पले जहाजहरूमाथि इरानले "गोली चलाउने निर्णय गरेको" भन्दै उक्त कार्यलाई युद्धविरामको "पूर्ण उल्लङ्घन" भनेका छन्।
वार्ता हुने सङ्केत कायमै
तेहरानले आफ्नो प्रतिनिधिमण्डल पठाउने आधिकारिक पुष्टि नगरे पनि अमेरिका र इरानबीच दोस्रो चरणको शान्ति वार्ता हुने केही सङ्केत भने देखिएका छन्।
पहिलो चरणको वार्तापछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका अघि सारेका सर्तहरू स्विकार्न इरान तयार नभएको बताएका थिए। इरानको विदेश मन्त्रालयले पनि वाशिङ्टनलाई "अत्यधिक माग र गैरकानुनी अनुरोध" नगर्न भनेको थियो।
दोस्रो चरणको सम्भावित वार्ता निर्णायक मोडमा रहेको जानकारहरूले बताएका छन्। अमेरिकी प्रतिनिधिमण्डल "छिट्टै" इस्लामाबादतर्फ लाग्ने स्रोतहरूले बीबीसीसँग सोमवार बताएका थिए। उनीहरूले समय यकिन नगरे पनि न्यूयोर्क टाइम्ससँग कुरा गरेका अधिकारीहरूले अमेरिकी वार्ता टोली मङ्गलवार प्रस्थान गर्ने बताएका छन्।
तर सोमवार अबेरसम्म पनि इरानको विदेश मन्त्रालयका प्रवक्ताले "अहिलेसम्म" वार्तामा सहभागी हुने कुनै योजना नभएको दोहोर्याएका छन्।
सामुद्रिक नाकाबन्दी के हो, होर्मुज जलमार्गमा कसरी लागु हुन्छ
होर्मुज जलमार्ग कसरी इरानको सबैभन्दा शक्तिशाली अस्त्र बन्न पुग्यो
अमेरिकी वार्ता टोलीमा यसअघि जस्तै उपराष्ट्रपति भान्ससँगै राष्ट्रपति ट्रम्पका विशेष दूत स्टीभ विट्कोफ र ट्रम्पका ज्वाइँ तथा सल्लाहकार ज्यारड कुश्नर लगायत सहभागी हुने बताइएको छ।
इरानको तर्फबाट वार्ताका लागि प्रतिनिधिमण्डल आएको अवस्थामा कोको आउँछन् भन्ने अझैसम्म स्पष्ट छैन।
इरानले वार्ताबारे टुङ्गो नगरे पनि इस्लामाबादमा वार्ताको तयारीका सङ्केत देखिएका छन्। पहिलो चरणको वार्ता भएको सेरेना होटलका पाहुनाहरूलाई होटलबाट सर्न भनिएको छ। विदेशी टोलीको सम्भावित आगमनलाई ध्यानमा राख्दै मुख्य सडक पनि बन्द गरिने प्रहरीले बताएको छ।
रोएटर्स समाचार एजेन्सीसँग कुरा गर्दै पाकिस्तानका एक जना एक वरिष्ठ सरकारी अधिकारीले आफ्नो देश इरानलाई विश्वस्त बनाएर वार्तामा ल्याउन सक्षम हुने दाबी गरेका छन्।
तेहरानमा रहेकी बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लीज डूसेटले रेडियो ४ को कार्यक्रममा परिस्थिति अनिश्चित रहे पनि वार्ता हुने सम्भावना कायमै रहेको बताएकी छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: