युद्ध अन्त्यसम्बन्धी छलफलअगावै आफूले 'युक्रेन शान्ति योजना' तयार पारेको अमेरिकाको दाबी
अमेरिकी विदेशमन्त्री मार्को रुबिओले युक्रेन युद्ध अन्त्य गर्न प्रस्तावित योजना "अमेरिकाद्वारा तयार पारिएको"मा जोड दिएका छन्। त्यसलाई व्यापक रूपमा रुस अनुकूल ठानिएको थियो।
सिनेटरहरूको एउटा समूहले रुबिओको उक्त योजनाले अमेरिकाको अडान प्रतिबिम्बित नगर्ने बताइएको भनेसँगै रुबियोको सो भनाइ आएको हो। एकजना सिनेटरले रुबिओले त्यसलाई रुसले "चाहेअनुसारको" योजनाका रूपमा अर्थ्याएका थिए।
आफूलाई ती दाबीहरूबाट पर राख्दै रुबिओले उक्त योजना अमेरिकाले तयार पारेको र रुस तथा युक्रेन दुवैको "योगदानमा आधारित" रहेको बताए।
उक्त योजनाबारे युक्रेनी र युरोपेली सुरक्षा अधिकारीहरूसँग वार्ता गर्न स्विटजरल्यान्डको जिनिभा जाने क्रममा उनले यस्तो बताएका हुन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले किएभलाई उक्त योजनामा शीघ्र सहमत हुन आह्वान गरेका थिए।
यद्यपि युक्रेनका सहयोगीहरूले चिन्ता प्रकट गरेपछि ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्ने अमेरिकी योजना किएभका निम्ति 'अन्तिम प्रस्ताव' नभएको बताए।
देशले मर्यादा गुमाउने युक्रेनी राष्ट्रपतिको चिन्तासँगै युरोपेली नेता वार्तामा अग्रसर
किएभले युक्रेनको पूरै भूमि फिर्ता पाउन सक्ने ट्रम्पको भनाइ
शनिवार युरोप, क्यानडा र जापानका नेताहरूले अमेरिकी योजनामा "न्यायसङ्गत र स्थायी शान्तिका निम्ति आवश्यक तत्त्व" भएको तर त्यसमा "अतिरिक्त कार्य आवश्यक" भएको बताएका थिए। उनीहरूले माना परिवर्तन र युक्रेनी सेनाको आकारबारे सीमा तय गर्नेबारे चिन्ता जनाएका हुन्।
युक्रेन युद्ध अन्त्य गर्ने विषयमा ट्रम्पसँग 'सहमति' गरेको पुटिनको खुलासा
युक्रेन युद्ध अन्त्यबारे नयाँ अमेरिकी प्रस्ताव, जेलेन्स्कीले ट्रम्पसँग कुरा गर्ने
'युक्रेनी इतिहासकै कठिन घडी'
आइतवार ब्रिटेन, फ्रान्स, जर्मनी, अमेरिका र युक्रेनका सुरक्षा अधिकारीहरूबीच स्विट्जरल्यान्डको जिनिभामा बैठक हुँदै छ।
यसअघि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोको अनुकूल ठानिएको योजना स्वीकार गर्न अमेरिकाको दबाबका कारण "युक्रेनले इतिहासकै कठिन घडीको सामना गरिरहेको" बताएका थिए।
ट्रम्पले उक्त २८ बुँदे योजना स्वीकार गर्न युक्रेनलाई २७ नोभेम्बरसम्मको समय दिएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि त्यो (अमेरिकी योजना) सम्झौतातर्फको "आधार" हुन सक्ने बताएका छन्।
अमेरिकाद्वारा प्रस्तुत मस्यौदा युक्रेनका निम्ति उनको अन्तिम प्रस्ताव हो कि भनेर सोधिएको प्रश्नमा ट्रम्पले ह्वाइटहाउसमा संवाददाताहरूसँग भने, "होइन, यो मेरो अन्तिम प्रस्ताव होइन।"
"हामीले कुनै न कुनै तरिकाले यसलाई (युद्धलाई) टुङ्ग्याउनु छ, त्यसैले हामी यस विषयमा काम गरिरहेका छौँ," उनले थपे।
आइतवार जिनिभामा हुने बैठकमा सहभागी हुनेमा अमेरिकी विदेशमन्त्री रुबिओ र विशेष दूत स्टिभ विट्कफ छन्। यूकेका तर्फबाट राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पावेलले उक्त बैठकमा भाग लिनेछन्।
दक्षिण अफ्रिकामा आयोजित जी-२० सम्मेलनमा शनिवार जारी गरिएको संयुक्त वक्तव्यमा क्यानडा, फिनल्यान्ड, फ्रान्स, आयरल्यान्ड, इटाली, जापान, नेदरल्यान्ड, स्पेन, युके, जर्मनी र नर्वेका नेताहरूले हस्ताक्षर गरेका छन्। हस्ताक्षरकर्ताहरूमा युरोपेली सङ्घका उच्च अधिकारीहरू पनि छन्।
"उक्त मस्यौदा एउटा आधार हो जसमाथि अतिरिक्त कार्यको खाँचो छ भन्ने हाम्रो ठहर छ। आउँदा दिनका निम्ति स्थायी शान्ति सुनिश्चित गर्नेतर्फ सहभागी हुन हामी तयार छौँ। सिमानालाई बलपूर्वक फेरबदल गर्नु हुँदैन भन्ने सिद्धान्तबारे हामी स्पष्ट छौँ," उक्त वक्तव्यमा भनिएको छ।
"हामी युक्रेनको सशस्त्र शक्तिलाई सीमित पार्ने प्रस्तावप्रति पनि चिन्तित छौँ, जसले युक्रेनलाई भविष्यका आक्रमणप्रति असुरक्षित बनाउने छ।"
त्यसमा अगाडि भनिएको छ, "युरोपेली सङ्घ र नेटोसँग सम्बन्धित विषयहरूलाई लागु गर्न क्रमशः ईयू र नेटो सदस्यहरूको सहमतिको खाँचो पर्छ।"
ट्रम्पले पुटिनलाई फेरि भेट्ने, टेलिफोन कुराकानीमा 'ठूलो प्रगति' भएको ट्रम्पको भनाइ
युक्रेन युद्ध अन्त्य गर्ने विषयमा ट्रम्पसँग 'सहमति' गरेको पुटिनको खुलासा
उच्चस्तरीय संवाद
जी-२० सम्मेलनका निम्ति जोहानेसबर्गमा रहेका यूकेका प्रधानमन्त्री सर किअर स्टार्मरले शनिवार जेलेन्स्कीसँग टेलिफोनमा कुरा गरेका थिए। त्यसपछि उनले ट्रम्पसँग पनि कुरा गरे।
डाउनिङ स्ट्रिटका प्रवक्ताका अनुसार ट्रम्पसँगको टेलिफोन कुराकानीमा स्टार्मरले "शनिवार जी-२० सम्मेलनमा सहभागी युक्रेनका सहयोगीहरूबीच भएको चर्चाबारे अवगत गराए।"
"जिनिभामा आइतवार हुने बैठकमा आफ्ना समूहहरूले २८ बुँदे अमेरिकी शान्ति योजनाबारे सहकार्य गर्ने र आइतवार पुनः कुरा गर्ने विषयमा नेताहरू (स्टार्मर र ट्रम्प) सहमत भएका छन्," डाउनिङ स्ट्रिटका प्रवक्ताले थपे।
स्टार्मरले यसअघि अमेरिकी योजनामा प्रस्तावित युक्रेनी सेनामाथि सीमा लगाउने विषयबारे आफू चिन्तित भएको बताएका थिए। "युद्धविराम भएको खण्डमा युक्रेन आफ्नो रक्षा गर्न समर्थ हुनु पर्ने कुरा आधारभूत हो।"
व्यापक रूपमा बाहिर आएको अमेरिकी शान्ति योजनाले हाल युक्रेनी नियन्त्रणमा रहेको पूर्वी डोनेत्स्क क्षेत्रबाट उसको सेना पछि हट्नु पर्ने तथा डोनेत्स्क, छिमेकको लुहान्स्क क्षेत्र र सन् २०१४ मा रुसले कब्जा गरेको क्राइमिया प्रायद्वीपमा रुसको प्रभावकारी नियन्त्रण हुने उल्लेख छ।
उक्त योजनामा युक्रेनको दक्षिणी खेरशन र ज्यापोरिज्या क्षेत्रको सीमालाई पनि अहिलेको युद्धरेखा अनुरूप स्थिर गर्ने प्रावधान सामेल छ। दुवै क्षेत्र आंशिक रूपमा रुसको नियन्त्रणमा छन्।
उक्त अमेरिकी मस्यौदामा युक्रेनी सेनाको सङ्ख्यालाई ६,००,००० मा सीमित गर्ने र युरोपेली युद्ध विमानहरू छिमेकी पोल्यान्डमा तैनाथ गर्ने उल्लेख छ।
योजनामा किएभले "विश्वसनीय सुरक्षा प्रत्याभूति" प्राप्त गर्ने भनिएको छ तर विस्तृत विवरण दिइएको छैन। रुसले आफ्नो छिमेकीहरूमाथि आक्रमण नगर्ने र नेटोको पनि अगाडि विस्तार नहुने "अपेक्षा गरिएको" उक्त दस्ताबेजमा भनिएको छ।
उक्त योजनामा रुसमाथिका प्रतिबन्धहरू हटाउने, पुनः जी-७ समूहमा सामेल हुन आमन्त्रित गर्ने र उसलाई "विश्वव्यापी अर्थतन्त्रमा समेट्ने" उल्लेख छ, जसबाट विश्वका शक्तिशाली देशहरूको जी-७ समूह पुनः जी-८ बन्ने छ।
ट्रम्प के भन्छन्?
शुक्रवार ट्रम्पले जेलेन्स्कीले अमेरिकी प्रस्ताव "रुचाउनु पर्ने" अन्यथा युक्रेन र रुसबीचको लडाइँ जारी रहने बताएका थिए।
त्यसअघि शुक्रवारै राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा युक्रेनी नेताले "देशले या त गरिमा वा महत्त्वपूर्ण साझेदार गुमाउनु पर्ने अत्यन्तै कठिन विकल्पको सामना गर्नु पर्न सक्ने" बताएका थिए।
"यो हाम्रो इतिहासकै सबैभन्दा कठिन मध्येको क्षण हो," अमेरिकी योजनामा "रचनात्मक" तरिकाले काम गर्ने प्रतिबद्धता जनाउँदै जेलेन्स्कीले थपे।
जेलेन्स्कीले शनिवार आफ्ना कार्यालय प्रमुख एन्ड्री यर्मकले रुस संलग्न हुन सक्ने सहितका भविष्यमा हुने शान्ति सम्झौतासम्बन्धी वार्तामा युक्रेनी समूहको नेतृत्व गर्ने घोषणा गरेका थिए।
"युक्रेनका राष्ट्रिय चासोहरूको रक्षा कसरी गर्नु पर्छ र रुसलाई युक्रेनमाथि तेस्रो आक्रमण (अर्को हमला) गर्नबाट रोक्न के गर्नु पर्छ भन्ने हाम्रा प्रतिनिधिहरूलाई थाहा छ," सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा भिडिओ वक्तव्यमा उनले भनेका छन्।
ट्रम्प गाजामा सफल तर युक्रेन युद्धमा किन अझै खाली हात
ट्रम्पले कतिवटा युद्ध साँच्चै अन्त्य गराए? नोबेल पुरस्कारको 'आश'मा गरिएका दाबीको तथ्यजाँच
किएभ अमेरिकाद्वारा निर्मित उन्नत हतियारको आपूर्तिमा अत्यधिक निर्भर छ जसमा घातक रुसी हमलालाई विफल तुल्याउने प्रतिरक्षा प्रणालीका साथै वासिङ्टनले उपलब्ध गराउने गुप्तचरी सूचना पनि सामेल छन्।
पुटिनले अमेरिकाद्वारा प्रस्तावित 'शान्ति योजना' प्राप्त भएको शुक्रवार पुष्टि गरेका छन्। यद्यपि त्यसबारे क्रेम्लिनसँग विस्तारमा चर्चा नभएको उनको भनाइ छ।
मस्को "लचिलो बन्न" तयार रहको तर सँगसँगै लड्नका निम्ति पनि तयारै रहेको उनले थपे।
पुटिनले सन् २०२२ को फ्रेब्रुअरीबाट युक्रेनमा पूर्ण युद्ध थालेका थिए। भीषण क्षतिका विवरणहरूबीच हालैका दिनहरूमा रुसी सैनिकहरू बिस्तारै-बिस्तारै युक्रेनको दक्षिणपूर्वी क्षेत्रमा अघि बढिरहेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: