Kaag Tihar/Dhanawantari Jayanti/Intersex Awareness Day | काग तिहार/धनवन्तरी जयन्ती/अन्तर्लिङ्गी जनचेतना दिवस | २०७६ कार्तिक ९ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Oct/Nov 2019
    २०७६ कार्तिक

    शनिवार
    Oct 26, 2019
    वैशाख शुक्ल प्रतिपदा
    काग तिहार/धनवन्तरी जयन्ती/अन्तर्लिङ्गी जनचेतना दिवस ( Kaag Tihar/Dhanawantari Jayanti/Intersex Awareness Day )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    काग तिहार | धनवन्तरी जयन्ती | अन्तर्लिङ्गी जनचेतना दिवस




    काग तिहार विशेष अडियो सामाग्री

    वैदिक सनातन हिन्दू धर्मावलम्बीहरुले बडादशैं लगत्तै मनाउने अर्को ठूलो र महत्वपूर्ण चाडको हो- तिहार अर्थात यमपञ्चक । यहि तिहारको पहिलो महत्वपूर्ण दिनलाई काग तिहार भनिन्छ ।

    पाँचदिन सम्म तिहार पर्व अन्तर्गत कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्वितीया तिथिसम्म मनाइने तिहार पर्वको आरम्भ काग तिहारबाट हुन्छ । काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ । काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रुपमा पूजा गरिन्छ । काग तिहारका दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । काग अर्थात सन्देश प्रवाहक प्राणी, काग करायो भनें केही सन्देश या पाहुना आउने जनाउका रुपमा नेपाली समाजमा लिने चलन अझै छ, हैन र ?

    कागलाई विशेषगरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रुपमा लिइन्छ । धर्मशास्त्रहरु अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जिवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने गरेको मान्यता रहेको छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेका हुन । तर काग तिहारमा भने यी सबै नकारात्मक मान्यताहरुलाई विर्सिएर कागको पूजा गरिन्छ ।

    काँ काँ गरेर चर्को र झर्कोलाग्दो स्वरमै भएपनि कागले सन्देश बोकेर ल्याउने जनश्रुती रहेको छ, काग एउटा बाठो पन्छी हो र यस्ले हाम्रो वालीनालीमा भएका दुर्गुणी किराफट्याङ्ग्राहरुलाई खाईदिएर अन्न उत्पादनमा र मांशजन्य फोहेरहरु खाईदिएर सरसफाईमा सहयोग गर्दछ । त्यसैगरी हाम्रो सामाजमा कागलाई काकगवेषण, काकन्याय तथा काकबलि आदि विविध शब्दले काग चरित्रको चर्चा गरिन्छ । हाम्रो वैदिक सनातन संस्कारमा टेक्ने माटो देखि श्वाँस फेर्ने हावा अनि वर्षीने वादलदेखि गर्जिने वाघसम्म, कुकुर देखि काग अनि बोटविरुवासम्म सबैकुरामा पवित्रता र भगवानतत्वको गुण स्वीकारिएको छ ।

    आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । कागतिहारमा कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । आज कागतिहारकै दिन समुन्द्र मन्थनका क्षण उत्पत्ति भएका आयुर्वेदका प्रवर्तकधन्वन्तरी ऋषिको सम्झनामा धन्वन्तरी दिवस पनि मनाइन्छ । आज यमदिप दान गर्नाले यमराजको यातनाबाट मुक्त हुने अर्को धार्मिक विश्वास छ । यमदिप दान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको छ ।

    सेलरोटीको मिठास अनि दियोको प्रकाशका साथै देँउसी अनि भैलोका सङ्गीतहरु गुञ्जायमान यस पर्वको हर्षोउल्लास वास्तवमै अद्भूत छ । काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा क्रमैसंग यमपञ्चकका पाँच दिनमा गरिने यस तिहारपर्व मनाइने बारेमा धेरै किंवदन्तिहरु पाईन्छन् । जस्मध्ये एकदमै प्रचलीत कथा यम र उन्की बहिनीको प्रसगं यहा प्रस्तुत गर्न जाँदैछौ ।

    मृत्यूका देवता यम आफ्नी बहिनी यमुनासंग धेरै समयदेखि भेट्न पाएका थिएनन् । यमुनालाई आफ्नो दाजूसंग भेट्न धेरै इच्छा भएर विभिन्न माध्यमहरुमार्फत दाजुलाई भेट्न आँउन निम्तो पठाईन् । उन्ले यम समक्ष शुरुमा काग अनि कुकुर, गाई अनि अन्त्यमा आफै गएर दाजूलाई भेटेको प्रसङ्ग छ । दाजुलाई भेटेपछी उनले दाजूलाई टीका, फूलमालाले पूजा गरि रङ्गीन टिका निधारमा लगाएकी थिइन । तोरीको तेलले दाजु वरिपरि रेखा कोरेर मखमली फूलको र दुबोको माला लगाईदिई पूजा गर्दै भाईटीका लगाएकी थिइन् । त्यही क्रमलाई यमपञ्चकको पाँचौ दिनमा भाईटीका लगाएपछि तिहारको विधीवत अन्त्य हुन्छ ।

    काग तिहारमा विहानैदेखि कागको पूजा गरिन्छ, घरवाहिर विभिन्न खानेकुराहरु पात या दुना टपरीमा कागका लागी भनेँर राखिन्छ र वर्षभरि कागले घरआगनमा सुखद र प्रगतिशील खबर अनि भाग्यकाकुराहरुमात्र ल्याओस भनेर कामना गरिन्छ ।

    उता सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा भने अलिक फरक ढङ्गले काग तिहार मनाईन्छ । सुदूरपश्चिमको स्थानीय भाषमा नरहरी भनिने यस चाड माघे संक्रान्ति अर्थात पुसे तिहार भनेर मनाईन्छ । सुदूरपश्चिमका जिल्लामा पुसे तिहार अर्थात माघे संक्रान्तिमा कागलाई सेल रोटी र अन्य मिठापरिकारहरु खुवाउने चलन रहेको छ । हरेक वर्ष पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागलाई दिने गरिन्छ ।

    काग र कोईलीको अत्यन्त प्रसिद्ध कथा र चलन त हामीसबैले सुनिआएकै छौं । कोईलीले आफ्नो अण्डा गएर कागको गुँडमा पार्ने अनि कागले त्यसको अण्डा कोरलेर कोईलीको बच्चालाई आफ्नै सन्तान भनेर हुर्काउने गर्दछ । यसअर्थमा चर्कोस्वरमा नमिठोगरि कराउने कालो काग नै सुरिलोस्वर भएका हरेक कुहु कुहु गरेर बसन्तमा कराउने कोइलीको जीवनरक्षार्थक अभिभावक हो, काग र कोईलीको यो सहअस्तित्वले हामीलाई धेरै सकारात्मक कुराहरुको उदाहारण दिएको छ ।

    घरघरमा केराका बोटहरु लगायत अन्य प्रकारका झिलीमिली द्वारहरु बनाएर साँझमा दीप प्रज्जवलन गरिन्छ । विभिन्न प्रकारका पटाकाहरु पड्काउने चलनका साथै तराईमा सन्ठी अर्थात जुटको भित्रपटिको हलुका लठ्ठिहरुको मुठालाई बालेर खेतमा गएर हुक्का खेल्ने चलन छ । रमाईलोको यो माहौलमा सजग र सुरक्षीत रहन पनि एकदमै जरुरी छ । अर्कोतर्फ अब गाँउघरमा उत्साहित मान्छेहरुले उल्लासपूर्वक तिहारमा देउँसी या भैलो कहाँ कहाँ खेल्ने, को को खेल्ने अनि के के गीत अथवा नृत्य प्रदर्शन गर्ने, कसले भट्याउने आदि तैयारी शुरु भइसक्यो होला, ल है सबैलाई शुभकामना, यो तिहार उल्लासपूर्ण होस् हामीसबैको आगनीमा सदासर्वदा कागले हर्ष र उत्साहको सुसमाचारहरु ल्याईरहोस, शुभकामना !
    ------
    हाम्रो पात्रोकालागि सुयोग ढकाल

    धनवन्तरी जयन्ती
    प्रायजसो धनवन्तरी जयन्तीको दिनमा नै धन्तेरस पर्ने हो, तर यसवर्ष भने धनवन्तरी जयन्तीको अघिल्लो दिन धन्तेरस परेकाले हामीले हिजो धन्तेरस मनायौ।

    देवताहरुको चिकित्सक या भनौ आयुर्वेदका भगवान धनवन्तरिको आज जन्म जयन्ती। हामी सबैले आयुर्वेदिक औषधीहरुको बारेमा त सुनेकै छौ। आयुर्वेदीक चिकित्सा पद्धति संसारकै सबैभन्दा पुरानो चिकित्सा पद्धति हो तर अहिले सम्म यसको प्रभाव थोरै पनि कम भएको छैन। यिनै भगवान धनवन्तरिको मानवतालाई अनुपम देन हो, आयुर्वेद।

    आजकै दिन अर्थात् कार्तिक कृष्ण पक्षको त्रयोदशीको दिन समुन्द्र मन्थन गर्दा भगवान धनवन्तरि अमृत, संख, चक्र र जडीबुटीका साथ प्रकट हुनुभएको धार्मिक कथन छ। आयुर्वेद "आयु र वेद"गरी दुई शब्द मिलेर बनेको हो। आयुर्वेद भन्नाले 'आयुको ज्ञान' भनेर बुझिन्छ। आयुर्वेद चिकित्सासँग सम्वन्धित सबैले आजको दिनलाई विशेष महत्वका साथ मनाउने गर्दछन्।

    अन्तर्लिङ्गी जनचेतना दिवस
    हरेक वर्ष अक्टुबर २६ का दिन अन्तर्राष्ट्रिय रूपमा अन्तर्लिङ्गी जनचेतना दिवस मनाइन्छ । पुलिङ्गी वा स्त्रीलिङ्गी शरीरका परम्परागत धारणाहरूमा नअटाउने यौन विशेषताहरू (यौनाङ्ग, प्रजनन ग्रन्थी तथा गुणसुत्रको ढाँचा) लिएर जन्मेका व्यक्तिहरूलाई अन्तर्लिङ्गी व्यक्ति भनिन्छ । अन्तर्लिङ्गी एउटा छाता शब्द हो जसले शारीरिक विविधताको व्यापकतालाई व्याख्या गर्दछ ।

    केही अवस्थाहरूमा अन्तर्लिङ्गी गुणहरू जन्मन बित्तिकै देखिन्छ भने केही अन्तर्लिङ्गी गुणहरू किशोरावस्थामा मात्र देखिन्छ । केही अन्तर्लिङ्गी गुणसुत्र विविधता भने शारीरिक रूपमा देखा नपर्न पनि सक्छ । समष्टिगत रूपमा भन्नु पर्दा पुलिङ्गी वा स्त्रीलिङ्गी शरीर बाहेकका विविध शरीरहरूलाई अन्तर्लिङ्गी शरीर भनिन्छ । अन्तर्लिङ्गी छाता अन्तर्गत ४० वटा भन्दा बढी प्रकारका विविधता हुन्छ । अन्तर्लिङ्गी हुनु एउटा जैविक लिङ्ग हो, यसलाई लैङ्गिक पहिचान वा यौन अभिमुखिकरणसँग बाझिएर हेर्नु हुँदैन, अर्थात् अन्तर्लिङ्गी एक शारीरिक विविधता हो, यसले नीजको लैङ्गिक पहिचान वा नीजलाई को तर्फ आकर्षण छ भन्ने विषयलाई निर्धारण गर्दैन ।

    अन्तर्लिङ्गी व्यक्तिहरू आफूलाई पुरुष, महिला, दुबै वा कुनै पनि नरहेको विभिन्न ढङ्गले पहिचान गर्न सक्दछ भने उनीहरूको यौन आकर्षण पनि फरक-फरक हुन सक्छ । संयुक्त राष्ट्र संघका अनुसार संसारमा ०.०५ % देखि १.७ % जनसंख्या अन्तरलिङ्गी व्यक्तिहरू हुन् ।

    सन् १९९६ मा दक्षिण अमेरिका अन्तर्लिङ्गी समाजले यस दिवसको सुरुवात गरेको थियो भने आज विश्वका कतिपय देशहरूमा यस दिवसले औपचारिक मान्यता समेत प्राप्त गरेको छ ।
    -रुक्साना कपाली



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.