Bala Chaturdashi Barta/ Shatbij Chharne Din/International Day for the Elimination of Violence against Women | बाला चतुर्दशी व्रत /शतबीज छर्ने/अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस | २०७६ मंसिर ९ | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

आउँदा दिनहरु

राशीफल

ब्लग / साहित्य

Nov/Dec 2019
२०७६ मंसिर

सोमवार
Nov 25, 2019
चतुर्दशी
बाला चतुर्दशी व्रत /शतबीज छर्ने/अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस ( Bala Chaturdashi Barta/ Shatbij Chharne Din/International Day for the Elimination of Violence against Women )
MY NOTE
तपाईँले नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

बाला चर्तुदशी | शतबीज छर्ने | अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस




बाला चर्तुदशी विशेष अडियो सामाग्री

आज शतवीज छर्ने हो, आज मसिंर कृष्ण चर्तुदशी अर्थात बाला चर्तुदशी पनि भनिन्छ र आजको दिन मृत्यूवरण गरेका पितृहरुको मोक्षयात्राका लागी अत्यन्त महत्पूर्ण दिनका रुपमा मानिन्छ । नेपाल अनि भारतका विभिन्न शक्तिपीठ अनि त्रिवेणी धामहरुमा आज शतवीज छर्ने तिर्थालुहरुको घुईँचो रहने गर्दछ । शतवीज भन्नाले पितृ उद्धारकालागी धार्मीक वनहरु जस्तै कैलाश डाँडा, श्लेष्मान्तक बन अनि अन्य बनहरुमा गई छर्ने सातप्रकारको अन्नहरु पर्दछ ।

यस्ता अन्नहरुमा धान, गहुँ, मास, मुगी, कागुन, र सामा मिलाईएको सप्तधाना यूक्त शतवीज र विभिन्न प्रकारका फूलहरु रहनेगर्दछ । शतवीज छर्नेकुरामा ठाँउअनुसार आफ्ना आफ्नै चलनहरु रहेको पाईन्छ र माथी उल्लेख गरेका अलावा चना, तील, मकैहरुपनि राखेर शतवीज छर्ने चलन रहेको छ भने अन्नका साथसाथै कागती, निबुवा, विमिरो, सुन्तला, स्याउ, उखु, अम्बा,केरा पनि राख्ने चलन रहेको छ । यसरी शतवीज छर्नका लागी चर्तुदशी भन्दा एकदिन अगाडिनै अर्थात त्रयोदशीकै दिन राती जाग्राम वसेर दिप प्रज्वलन गर्दै अनि भजन किर्तन गर्दै आँखा झिमिक्क नपारी भोलीपल्ट विहानै स्नान गरेर चोखोनितो बनेर मात्र शतवीज भर्ने चलन छ । यसरी पृथ्वीलोकमा छरिएको शतवीज चाँही पितृहरुको लोकमा गएर अकुंरण हुने र यिनै विजकाकारणले पितृहरु कहिल्यै भोकै बस्न नपर्ने मान्यता रहेको छ ।

काठमाडौको पशुपतिनाथ अनि आसपासका किरातेश्वर, गौरीघाट, गुहेश्वरी, आर्यघाटको तट, श्लेषमान्तक बन लगायत पूर्वी नेपालको चतरा, बराहक्षेत्र, पर्वत जिल्लाको सेतीवेणी धाम, गुल्मी शान्तिपुरको चक्रेश्वर मन्दिर, नवलपरासीको देवघाट धाम, धनुषाको क्षिरेश्वर लगायत देशभरिका शिवालय एवं त्रिवेणी धामहरुमा विशेष घुईँचो अनि मेला लाग्ने गर्दछ । पितामाता या पितामह या मातामह अर्थात हजुरवुवा अनि हजुरआमा या सातपुस्ता भित्र जुठो बार्न पर्ने जो कोहीको पनि जुठो बार्ने या बर्खि बार्ने क्रममा पूरा गर्नुपर्ने नियम पुरागर्न नसकेमा या कुनै त्रुटीभएमा बाला चर्तुदशीको दिन पवित्र खोलामा तिनफेर डुबुल्की मारेर चोखो भई शतवीज छर्नाले र त्रयोदशीमा जाग्राम वसेर मृतात्माको नाममा दिप प्रज्वलन गर्नाले सम्पूर्ण दोषवाट मुक्तिपाउने जनविश्वास रहेको छ ।

यसरी दिप प्रज्वलनगर्न शिवालय या शक्तिपीठ नै पुग्ननसकेको खण्डमा मृतात्माको नाममा घरमै श्रद्धाकासाथ वत्ति प्रज्जवलन गरेर, दुना या टपरीमा बत्तिलाई राखी माथीवाट ज्वाला निस्कने ठाँउ दिएर अर्को दुना, टपरी या वोहतीले छोपेर खोलामा वगाउने चलन छ । यसरी सहजै वत्तिवगेको खण्डमा पितृले वैतर्नी तरेको र वत्ति सहजरुपमा नबगेको खण्डमा पितृले वैतर्नी नतरेको मान्यता पनि छ ।

सबैभन्दा रोचक प्रसँग चाही आजको दिन पशुपतिको विश्वरुप मन्दिर छेउको गणेशको मुर्तीसँग समबन्धीत छ । उक्त गणेशको मुर्तीलाई कान नसुन्ने रुपको भगवानका प्रतिकका हिसाबले लिईन्छ र तसर्थ भक्तालुहरु ले जोड जोडले चिच्याएर, कराएर, हल्लाएर उक्त मुर्तीलाई कान सुनाउन खोज्ने चलन र अथक प्रयासहरुले बालाचर्तुदर्शीको अन्त्यमा रोचक महत्व राख्दछ ।

बाला चर्तुदशी एउटा मित्रताको प्रसँग पनि हो, बाला एकजना असुर हुन भनेँ उन्का साथी व्रिसलाई राजाले बाला लाई मार्नकालागी पठाएका हुन्छन् । बाला ले आर्यघाटमा मृतकका आफन्तलाई तर्साउने र मृतकको शव खाईदिने गरेकाले जनताहरुले धेरै दुख्ख पाएका हुन्छन् । व्रिसले आफ्नो साथी बाला लाई छलले मार्न उचित ठान्दैनन र मित्रताको न्यानो परिधीभित्र बाला ले जस्तोसुकै असुरभएको भएपनि आफ्नो साथी भएकाले हत्या गर्न नसक्ने भएकाले गएर श्लेषमान्तक बनमा गएर आदिददेव शिवजीको तपस्या गर्दछन् । शिव व्रिसको तपस्याले प्रसन्न भएर बालालाई असुरजुनीवाट मुक्त गरिदिन्छन् र व्रिसलाई शतवीज छरेर आफ्नो साथी बालालाई पापवाट मुक्त गराउन आज्ञा दिन्छन् । यसरी शतवीज छर्ने चलन शुरुभएको र आजको यो दिन मित्रताको दृष्टान्तकारुपमा पनि उत्तिकै महत्पूर्ण रहेको कुरा बाला र व्रिसको यो कथाले प्रष्टपारेको छ ।

बाला चर्तुदशीको हामीसबैलाई शुभकामना, मृतात्माहरुले चिर शान्ति पाउन अनि हाम्रो मित्रता कायम रहोस् । फेरि अर्को विशेष चाड या दिनका वारेमा जानकारी लिएर आउनेनै छौ, तवसम्मलाई नेपालको सर्वाधीक डाउनलोड गरिएको अनि नेपालीहरुले अत्याधिक रुचाउनुभएको मोवाईल सहयात्री हाम्रो पात्रो नविराई प्रयोग गर्नुहोला ।
जयहोस्

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस


 

हरेक वर्षको २५ नोभेम्वर देखि १० डिसेम्वरसम्म १६ दिनसम्म लैङ्गिक हिंसाका विरुद्ध एैक्यवद्धता जनाउन र जनचेतना कायम राख्न विभिन्न क्रियाकलाप र कार्यक्रमहरु आयोजना गरिन्छ ।

विभिन्न अध्यनहरु अनुसार संसारभरिका प्रत्येक तिन मध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनैनकुनै प्रकारको हिंसा भोगेका हुन्छन् र धेरैजसो हिंसा भने उनिहरुका निकट, प्रेमी, विश्वासपात्र या जीवनसाथीबाट भोगेका हुन्छन् भन्ने जनाइएको छ । त्यस्तै अर्को अध्यनले संसारभरिका ३५ प्रतिशत महिलाहरुले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको शारीरीक या यौनजन्य हिंसाको शिकार भएका हुन्छन् भन्ने तथ्याङ्कले देखाउँछ । अर्कोतर्फ पुरुषहरुबाट कहिलेकाँही जानअञ्जानमा महिलाको संवेदनामा ठेस पुग्ने महिला हिंसाजन्य कार्यहरु भईरहेको हुन्छ । महिला हिंसाका क्रियाकलापहरु फराकिलो दायरा अन्तर्गत महिलाहरुको स्वीकृती बेगैर उनिहरुलाई असहज र अश्लिल कुरा सुनाउने कार्यहरू यौनजन्य हिंसाभित्र पर्दछ । केटी जिस्क्याउनुलाई पुरूषार्थसँग जोडेर कम्मर कसेर जिस्क्याउने अल्लारे उस्तादहरुदेखि बाटोमा साईकल या मोटरसाइकल कुदाउँदा छेउमा महिला देखेर हर्न बजाउने अनि घुरेर हेर्ने अनेक क्रियाकलाप अथवा बानी तपाईहामी धेरैमा हुनसक्छ । एक पटक हामी आफै सच्चिन पनि प्रयास गर्ने की?

विपरित लिङ्गि प्रति आकर्षित हुनु स्वभाविक हो तर आकर्षणको अर्थ हिंसा हैन । कर-बल हैन माया, तर्क हैन, भावना अनि शरीर हैन मन जित्नसक्ने पुस्ताको खाँचो छ, नयाँ पुस्तामा लैङ्गिक समानताका धारणाहरुको विजारोपण गर्न जरुरी छ । शरीर हैन मन जित्ने कला सिकाउन जरुरी छ अनि नारी पुरुष सँगै हिंड्ने समान समाज आजको आवश्यक्ता हो ।

संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको दिवसकारुपमा मनाउने निर्णय गरेको हो ।
नारी पात्र अर्थात महिलाको भूमीका मानव जीवनको विकासक्रममा अभूतपूर्व छ, पूज्य छ । आमाको कोंखबाट शुरुहुने मान्छेको जिन्दगी क्रमशः दिदी-वहिनीको माया, श्रीमतीको साथ, समाजको सह-अस्तित्व हुँदै अगाडी बढ्दछ । शुरुमा मुखमा परेको दुधको धर्सो देखि लिटोको रूपमा परेको प्रथम गाँस, 'कोखाई कोखाई' गरेर खुवाउने, माया दिने तिनै नारी पात्र आमा नै हुन तर विडम्वना कस्तो छ भने संसारकै श्रृष्टि थेग्ने यिनै नारी पात्रहरु आजपनि संसारभरी नै हिंसाका शिकार भईरहेका छन् । आज यहि प्रकृतिका पर्याय अनि मानव सृजनाकी प्रतिमूर्ती नारी अर्थात् महिलाहरु प्रति हुने कुनैपनि हिंसा विरुद्धको दिवस हो ।

अझै पनि दिनँहुजसो पत्रपत्रिका, टिभी या रेडियोका समाचारहरुमा महिलामाथीको हिंसाका खबरहरु तारन्तार आउने गर्दछ । फलाना ठाँउमा दाईजो नल्याएको झोँकमा यसो भयो रे ? बोक्सीको आरोपमा यसो गरियो रे अनि बालिकामाथी जबरजस्ती यसो गरियो भन्ने समाचारहरुले मुटु चिर्दछ । नेपालमात्र नभई संसारका धेरै विकसित देशहरुमा पनि महिला हिंसा र असमानताका ध्वनीहरु सुनिन्छ ।

महिला विरुद्धको हिंसा नितान्त रुपमा मानव अधिकारको हनन हो, हामी सबै यसप्रति सजग रहन जरुरी छ । महिला विरुद्धको हिंसा लैगींक असमानताको उपज पनि हो र यसका विरुद्धमा कानुनहरुले सम्वोधन पनि नगरेका होइनन तथापि यो विकसित संसारमा अझैपनि कुनै न कुनै अवयवकारुपमा महिला हिंसा र लैङ्गिक असमानता कायमै छ ।आजको दिनले महिला विरुद्धको हिंसाका विरुद्ध समग्र विश्व समूदाय भेला भएर एैक्यवद्धता जनाउने गर्दछ । इतिहास साक्षी छ कि जुन समूदायमा महिला र पुरुषकाबिचमा समान व्यवहार छ र मिलेर घर व्यवहारमा हातेमालो गरिएको छ भने त्यो परिवार, त्यो समूदाय विकासका पूर्वाधार र जागरणका अभ्यासहरूमा सदैव अगाडि रहने गर्दछ । एउटी आमालाई शिक्षा दिनु सम्पूर्ण परिवारलाईनै शिक्षा दिनु हो भनेर महिला शिक्षा, प्रौढ शिक्षा अनि विभिन्न अनौपचारीक शिक्षा मार्फत् महिलाहरुलाई साक्षर र जागरुक बनाइने कार्यक्रमहरु जनस्तरमा सरकारी र गैरसरकारी माध्यमबाट चलायमान छन् । शान्ति, सुरक्षा र संभावनाकालागि लैङ्गी समानता अपरिहार्य छ ।

वैदिक सनातन हिन्दू अनि हाम्रो वैदिक परम्पराको व्यवहारीक नियममा हाम्रो समाज, अझ भनौ सिन्धु नदिको तटमा भएको यो शालिन सभ्यताले महिला पुरुष दुबैलाई समानता र आदर दिएको ईतिहासका पानाहरु साक्षी छन् । पूजिने देवीहरु, लक्ष्मीको पर्यायकारुपमा छोरी अनि बुहारीलाई मान्ने चलन, हरेक पूजा या यज्ञहरुमा आवश्यक पर्ने पञ्चकन्याहरु अनि कुमारी अर्थात जिवित देवीको चलन, यी सबै महिलाप्रतिको सम्मान र आदरका संस्कारहरु हुन् ।

हाम्रो समाजमा पनि छोरा र छोरीकाविचमा धेरै भेदभाव गरिन्छ, यो छोराले गर्ने काम, छोरा भनेको आँटी हुनपर्छ अनि छोरी पराईको घर जाने जात, छोरी भएर पनि बोल्ने बानी नराम्रो आदिजस्ता हाम्रो आफ्नै व्यवहार अनि भनाइहरु नै महिला विरुद्धको हिंसाको प्रारम्भ हुने कारण हो, जुन हाम्रो मष्तिश्कमा जरा गाडेर बसेको छ । छोरी होस् या छोरा समाज-परिवार अनि राष्ट्रले समान ब्यवहार नगरेसम्म महिला हिंसा विरूद्धको अभियान सफल हुनेवाला छैन । महिला हिंसाका कथाहरु अनि ब्यथाहरु धेरैजसो गुपचुप अनि अभिब्यक्त नै नभएर हराउँदछन् । खासगरी नेपाल सरकारले महिला पुरुष कानुनतः समान र सक्षम छन्, तपाईमाथी कुनैपनि प्रकारका हिंसा भएका छन् भने सम्बन्धित निकायमा खबर गरेर न्याय पाउन सक्नुहुनेछ । हिंसालाई सहनु अथवा भोगेर केहि नबोल्नु भनेको हिसालाई प्रश्रय दिनु नै हो जुन राम्रो कदापी हुन सक्दैन । महिला हिंसा भन्ने वित्तिकै हामी हिंशक पुरुषलाई देख्छौँ तर महिला हिंसामा महिलाहरुकै भूमीका पनि उत्तिकै रहन्छ, बुहारी तहलाउने सासुदेखि भाउजु तहलाउने नन्दसम्म, छोरी तहलाउने आमादेखि छात्रा तहलाउने शिक्षिकासम्म अझै हाम्रो समाजमा छ्यापछ्याप्ती पाईन्छन् । महिलाहरु सवंय पनि महिला हिंसा विरुद्ध सजग रहन जरुरी छ है ।

जसरी पार्वती विनाका शिवको अस्तित्व गौण छ, लक्ष्मी विनाका विष्णु आधी छन्, राधा विनाका कृष्णको कथा रोमाञ्चक हुन्न, माता मरियम विनाका जिसस क्राईस्टको पौरख पूर्ण छैन, त्यसै गरि नारीको प्रेम र आत्मियता विना पुरुष र पुरुषको साथ र सम्मान विना महिला पूर्ण हुदैनन्, आउनुहोस् आज वाचा गरिदिउँ कि महिला हिंसाविरुद्धमा हामी सदैव सजग रहनेछौ । महिला सशक्तिकरणकालागि हिंसाको अन्त्य, जय होस् !


हाम्रो पात्रोकालागी सुयोग ढकालले तयार पार्नुभएको ।



आउँदा दिनहरु

राशीफल

ब्लग / साहित्य

Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.