Basanta Panchami Brata (Saraswati Pooja) | वसन्तपञ्चमी व्रत (सरस्वती पूजा) | २०७७ फागुन ४ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Feb/Mar 2021
    २०७७ फागुन

    मंगलवार
    Feb 16, 2021
    माघ शुक्ल पञ्चमी
    वसन्तपञ्चमी व्रत (सरस्वती पूजा) ( Basanta Panchami Brata (Saraswati Pooja) )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    वसन्तपञ्चमी व्रत (सरस्वती पूजा)





    सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।
    हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।


    जो चन्द्रको समान उज्ज्वल हुनुहुन्छ, सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने मालासहित सुशोतित हुनुहुन्छ, सेतो कमलको फूलमा आसिन ती देवी जसको ब्रह्मा, विष्णु तथा शिव आदि सबैले उपासना गर्नुहुन्छ । उनै माता सरस्वती हाम्रा अज्ञानताहरु चिर्दै हामीलाई निर्मल विद्या दिनुहोस् ।

    संगीत, ज्ञान अनि विद्याकी देवी सरस्वतीको यिनै स्तोत्रको सरल नेपाली अनुवाद प्रस्तुत गर्दै आज सरस्वती पूजाका दिन यो आलेख श्री गणेश गर्न चाहन्छौं ।
    आज सरस्वती पूजा । अर्थात्, श्रीपञ्चमी । हामी सरस्वतीलाई विद्याकी देवी मान्छौ र आरधनासहित श्रीपञ्चमी मनाउँछौं ।

    आज साना नानीहरुका निम्ति अक्षराम्भ गर्ने दिन हो । सरस्वती पूजा या श्रीपञ्चमी वा वसन्त पञ्चमी जे भनिए पनि आज विद्या र संगीतकी प्रतिरूप सरस्वतीको पूजा आरधना गरी मनाइने विशेष दिन हो । आजबाट क्रमशः वसन्त ऋतुको शुरुवात हुने मान्यता राखिन्छ । यो हिउँदको मुटु छेड्ने जाडो र पानीको ठिहीबाट क्रमशः अब कोइलीको कुहु कुहु अनि न्यानोपनाको राजा मौसम वसन्तको सेरोफेरोमा स्वागत छ ।

    वैदिक सनातन हिन्दू संस्कारका अत्यन्त ब्यवहारिक आयाम छन् । यी संस्कार नेपालीपनका अभिन्न अङ्ग मानिन्छन् । हलो, गोरु, माटो, बोट–बिरुवा, कुकुर लगायत चेलीबेटी, औजारहरु अनि अन्नबालीका साथै आजको दिन श्रृजना अनि ज्ञानको पूजा गर्ने दिन हो ।

    ‘ब्रह्मा भिभर्त पुराण’मा प्रष्ट रूपमा उल्लेख छ कि विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई आजको दिनमा सबैले सम्झना गर्दै पूजा गर्नू भनी भगवान श्रीकृष्णले वरदान दिएका हुन् । बिहानै उठेर प्रातः स्नानपश्चात् चोखो–नितो गरी सफा कपडा लगाएर कलश स्थापना गरिन्छ । अनि क्रमशः गणेश, विष्णु, शिव आदि देवताहरुको अर्चना गरिन्छ, सूर्यको अर्चना पनि गरिँदै सरस्वतीको उपासना गरिन्छ ।

    विद्यालयहरुमा त आज विशेष पूजा–आजाका साथ रमाइलो चहलपहल हुन्छ । तराईतिर आजको दिन रंगीन गुलिया रसिला बुनियाँको दाना, बयर तथा अन्य फलपूmलहरू प्रसादीका रुपमा बाँडिन्छ । कतिपय विद्यालयमा विद्यार्थीहरुको सक्रियतामा शाहाकारी भोजन आयोजना गरिन्छ । विभिन्न रङ्ग रंगीन तोरणहरु झुण्ड्याएर, अशोकको रुखको पात या केराका दाम्चा अनि बाँस प्रयोग गरेर बनाएको प्रवेश द्वारहरुबाट आज धेरै विद्यालयहरु सजिसजाऊ रहन्छ ।

    कोभिडका कारणले यसवर्षको सरस्वती पूजाको रौनकमा केही कमी भने आउन सक्ने देखिन्छ । विद्याकी देवीको अनुकम्पाले आउँदा दिनहरुमा स्वछन्द विश्वको पुर्नशुरुवात होस्, विद्या र ज्ञानको प्रवाह अविछिन्न होस् ।

    विद्यार्थीहरुका लागि अर्को रौनकता भनेको आजको दिनमा विद्यालयको दैनिक पोशाक विना नै विद्यालय प्रवेश गर्न पाउनु हो । रंगीन पोशाकमा विद्यार्थीहरुको लर्को आज धेरै विद्यालय परिसरमा देख्न सकिन्छ ।

    काठमाडौंमा सरस्वती मन्दिरहरू जस्तै नीलबाराही, लाजिम्पाट, स्वयम्भू, गैरीधाराको नीलसरस्वती, ललितपुरको लेले आदिमा मेला लाग्ने गर्छ भने नेपालभरिका सरस्वती मन्दिर अनि विद्याका केन्द्र विद्यालयहरुमा जमघट रहन्छ । पशुपतिमा रहेको सरस्वतीको मूर्ति जसलाई बुद्धमार्गीहरुले मञ्जुश्रीका रुपमा पनि पूजा गर्छन् । त्यसै प्रतिमामा आज विशेष पूजा अर्चना गर्ने गरिन्छ । नेपालको परिवेशमा कुरा गर्ने हो भने हामी नेपाली साँच्चिकै सानो परिवेशमा बाँचेका भने पक्कै छैनौ ।

    नेपालभरिका धेरैजसो सरकारी विद्यालयहरुमा कहीँ कतै सानो या ठूलो सरस्वतीको मन्दिर हुन्छ नै । सरस्वती देवीलाई हिन्दू धर्म या संस्कारसँग भन्दा पनि विद्याप्रतिको आशक्तिका रुपमा हेर्न जरुरी छ । हामी जुनसुकै धर्म या विश्वास राख्ने भएपनि हाम्रो विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रुपमा विद्यादेवी सरस्वती र आजको दिनलाई लिन सकिन्छ ।

    आजकै दिनमा हामीमध्ये धेरैले अक्षराम्भ गरेका हुन सक्छौं । अर्कोतर्फ आजको दिन सर्जकहरुको दिन हो । आफ्ना सिर्जना र शब्दहरुको पूजा गर्ने विशेष दिन सरस्वती पूजाको सम्पूर्ण सर्जकलाई शुभकामना, यो सिर्जनाको डोर अनन्तः कालसम्म रहिरहोस् ।

    सिर्जनाका औजारहरु कलम, मसी अनि कागजको आज पूजा गरिन्छ । सरस्वतीको असिम कृपाले सकारात्मक शब्दहरु, भावहरु, ब्याख्याहरुको पर्दापण भइरहोस्, सर्जकहरु चाहे लेखक हुन् या गायक या ब्यूटिसियन हुन् या सूचीकार या घर बनाउने मिस्त्रीदेखि मूर्ति बनाउने मूर्तिकारसम्म सबैले आफ्नो सिर्जनाको सम्मान तथा सही मूल्य पाउन् । जाँगर लागिरहोस् अनि सिर्जनाका उजेलीले समाजका अँध्यारो सँधै दूर होस् ।

    आजको वसन्त पञ्चमीलाई मुस्लिम समुदायले सुफी वसन्तका रुपमा १२ औँ शताब्दीदेखि मनाउँदै आएको विभिन्न दस्तावेज अनि किंवदन्तीहरुमा पाइन्छ । दिल्लीका तत्कालीन फकिर निजामुद्दीनका भतिजा तकुद्दीनको असामयिक मृत्युले निजामुद्दीन अत्यन्त मर्माहित भएका थिए, सुफीका महान कवि अमिर फुस्रोले फकिरलाई खुशी पार्न आजकै दिन गमलामा फूल र पहेँलो वस्त्रमा हाँस्दै गएर फकिरलाई हँसाउन सकेको र यो दिनलाई सुफी वसन्त पनि भनिएको जनउक्तिहरु पाइन्छ । त्यसपश्चात् आजको दिनलाई निजामुद्दीन औलियाको दिल्लीमा रहेको दरगाहमा सधैं सुफी वसन्तका रुपमा मनाउन थालिएको हो ।

    तपाई–हामी जुनै धर्म या संस्कृति या विश्वास राख्ने ब्यक्ति भएपनि विद्या हामी सबैलाई आवश्यक छ । सिर्जना र सर्जकको कदर हामी सबैले गर्नु जरुरी छ ।
    लेख्नेको मसी नसकियोस्, बोल्नेको आवाज दुरुस्त रहोस् अनि हेर्नेको नजर खुल्ला रहोस् । क देखि ज्ञ सम्मका वर्णमाला अनि शब्द विन्यासहरुले हामीलाई ज्ञान अभिब्यक्त गर्दा सदैव साथ दिउन् । ए बी सी डी आदिका अक्षरस प्रयोग जारी रहोस् । ब्याकरणले साथ दियोस् । संगीतका सातै सुर अनि अभिनयका सम्पूर्ण रसहरुले साथ दिउन् । मुख्य कुरा श्रृंगार रसले जीवन भरिपूर्ण होस्, सरस्वती माताको जय ।

    हरेक वर्षको सरस्वती पूजाका दिन राष्ट्रिय पुस्तक दिवस पनि मनाइने गरिन्छ । केही वर्षअघि मात्रै राष्ट्रिय पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले सरकारसँग सरस्वती पूजाका दिनलाई राष्ट्रिय पुस्तक दिवस घोषणा गर्न माग गरेको हो ।

    महासंघले आफ्नै पहलमा अनेक कार्यक्रम गरेर राष्ट्रिय पुस्तक दिवस मनाउने गर्छ । हरेक पुस्तकका पाना अनि अक्षरहरुमा विद्याकी देवी सरस्वतीको बास छ, सरस्वतीको कृपा अनि अनुकम्पा नेपाली वर्णमाला, व्याकरण अनि शव्दमालामा सदैव रहिरहोस् । विद्याको कमी यो भूमिमा कहिल्यै नहोस्,

    हाम्रो पात्रोका लागि सुयोग ढकालले तयार पारिएको आलेख ।



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.