World First Aid Day/Dashami Shraddha | प्राथमिक उपचार दिवस/दशमी श्राद्ध | २०७७ भदौ २७ | Hamro Patro

आउँदा दिनहरु

राशीफल

साहित्य / ब्लग

Aug/Sep 2020
२०७७ भदौ
२७
शनिवार
Sep 12, 2020
Dashami
प्राथमिक उपचार दिवस/दशमी श्राद्ध ( World First Aid Day/Dashami Shraddha )
MY NOTE
तपाईँले आजको मिति पछि को नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

प्राथमिक उपचार दिवस | दशमी श्राद्ध




प्राथमिक उपचार दिवस विशेष अडियो सामाग्री

दूर्घटना र आकस्मिक अवस्थाहरु अप्रिय छन् तथापि मानवले यस्ता घटनाहरु घट्न सक्ने नकारात्मक संभाब्यतालाई शुन्य बनाउन सक्दैन् । दूर्घटनाहरु जहाँ, जहिले र जुनसुकै अवस्थामा जो कोहीलाई पनि हुन सक्छ । प्राथमिक उपचारको ज्ञान भएमा घाईतेहरुको जीवन जोखिमलाई कम गर्न सकिन्छ, दूर्घटनालाई बिछोडमा रुपान्तरण हुन नदिएर ज्यान जोगाउन सकिन्छ ।

प्राथमिक उपचारको सीपको कुरा गर्दा धेरै जनाले बिद्यालय स्तरमै त कसैले पेशागत अनि कार्यगत रुपमा सिकेको हुनुपर्छ । दूर्घटनाहरु अस्पतालको दैलोमा हुन्छ त ? प्राथमिक उपचारले हामीलाई दूर्घटनामा परेका अञ्जान व्यक्तिको मात्र नभई आफन्तजनहरुको पनि जीवन जोगाउन सक्षम बनाउँदछ ।

प्राथमिक उपचार जानेका दक्षहरूको सख्यां समूदायमा बढ्नाले हाम्रो समूदाय अझ सुरक्षित र स्वस्थ हुन सक्दछ । अझ नेपाल जस्तो बिकासोन्मुख देश जहाँ स्वस्थ उपचारका उपलब्धता समान, सरल छ सहज छैन, प्राथमिक उपचारको महत्व अझै धेरै हुन्छ । दूर्घटना र आकस्मिक अवस्थाहरुको भर हुँदैन् तर प्राथमिक उपचारले केही भइहालेमा ज्यानै जाने जोखिमलाई भने न्यून गर्न सक्दछ ।

हाम्रो कार्यस्थल, बाटोघाटो या समूदायमा कुनै दूर्घटना घटेमा हामी निरीह रमिते मात्र नभईकन, घाईतेहरुलाई तत्काल पीडा कम गर्न र जोखिम कम गर्न अस्पताल या अन्य कुनै प्राणरक्षा गर्ने ठाउँ पूर्याउनु अघि गरीने सर्वप्रथम उपचार विधि नै प्राथमिक उपचार हो । दूर्घटना र यूद्धका घाईतेहरुको प्राण रक्षार्थ प्राथमिक उपचारको ठूलो महत्व छ ।

प्राथमिक उपचारको तालिमका माध्यमले हामीहरुले आधाभूत जीवन रक्षाका सीपहरु जस्तै सिपीआर, अचेत घाईतेको ध्यान राख्ने सीप, चोट र रक्तश्राव रोक्ने ज्ञानहरू प्राप्त गर्न सक्दछाैं । थूप्रै दुर्घटनाहरु जस्तै आगलागी, बिषपान, जीवजन्तूहरूबाट हुने आक्रमण अनि सर्पदंशका घाईतेको ज्यान जोगाउने जस्ता सीपहरु यसभित्र पर्दछ ।

कारखाना, गाडी, कार्यालय, विद्यालय, कलेज अनि पदयात्रा लगायत बिभिन्न ठाँउहरुमा प्राथमिक उपचारका किटहरु अझ भनौं तत्काल उपचारका बाकसहरु महत्वका साथ राखिन्छ । कुनै अप्रिय घटना या दूर्घटना घटेमा प्राथमिक उपचारहेतू उपचार साम्रगीहरु यसमा राखिन्छ । सामान्यतया मल्हम, पट्टी, ह्यान्डीप्लास्ट, आधारभूत ओखतिहरु, जीवनजल, सामान्य कैंची, ब्लेड, थर्मामिटर अनि एन्टीसेप्टीक धुलोहरु यस बाकसमा राखिन्छ । आकस्मिक बिरामी परिएमा या दूर्घटना भएमा यी कुराहरुले प्राणरक्षा गर्दछन् ।

सन् २००० बाट अर्थात् सह श्राब्दिबाट IFRC को पहलमा यो दिवस मनाउन शुरु गरिएको हो । नेपाल एउटा सुन्दर देश हो तथापि शदियौं देखि जनस्वास्थका मुद्दाहरुमा धेरै सुधार हुन नसकेको तथ्य यस देशको सुन्दरतासंगै गाँसिएर आउँछ । हरेक गाउँपालिकामा स्वास्थ चौकी सैद्धान्तिक रुपमा त छ तर व्यबहारीक पक्षको मलिनो रुप र सिमाहरु हामीले देखेकै छौं । तालिमप्राप्त जनस्वास्थ सेवक अनि जागरुक जनस्वास्थ प्रशासकहरुको कदमको कमि लगायत अन्य थुप्रै संरचनागत समस्याले नेपाली गाँउहरु अझै पनि स्वास्थोपचारको मूलधारमा छैनन । प्राथमिक स्वास्थ उपचारको सहज तालिम र प्रावधानले नेपाली गाँउमा सामान्य कारणले मूल्यवान जीवनको बाजी थाप्नु पर्ने थिएन ।

बिभिन्न अध्यनहरुले नेपालमा सन् २०३० सम्म हृदयघात दर अहिलेको ९ प्रतिशतबाट बढेर करिब ३४ प्रतिशतमा पुग्ने तथ्याङ्क देखाएको छ । हरेक बर्ष करिब १० दशमलव २२ प्रतिशतले बढिरहेको नेपाली बाटोहरूमा हुने सवारी दूर्घटनाहरुमा बर्षेनी ५ दशमलव ४० प्रतिशत मृतकको संख्यामा बृद्धि भइरहेको छ । मान्छेको ज्यान जोगाउन तुरुन्तै स्वास्थोपचार शुरु गर्नु जरुरी हुन्छ, प्राथमिक उपचारको सहज उपलब्धता अनि तालिमकालागि नेपाल अझै सक्रिय बन्नुपर्छ ।

यसवर्षको प्रार्थमिक उपचार दिवसको दैलो अलिक फरक छ, कोभिड त्रासमा आक्रान्त विश्वमा अब क्यामोफ्लाउन पोशाकका सैनिक र सेतो कोटमा रहेका स्वास्थकर्मीहरु दुबै राष्ट्ररक्षार्थ जरुरी जनशक्ति भएका छन्, अबको देशको सुरक्षा र स्वास्थ सुविधामा स्वास्थकर्मीहरुको अवस्था अनि सेतो कोट भित्रका देवता समान स्वास्थसेवा प्रदायक हरकोहीलाई आज सलाम छ ।

संक्षेपमा प्राथमिक उपचारका साध्यहरु भन्न चाह्यौं, यदि घाउ भएमा त्यसलाई सफा गरेर अनि साबुन पानीले सफासंग धुने, एन्टीसेप्टीक धुलो या मल्हम लगाउने गर्न जरुरी छ ।

रक्तश्रावको समयमा रगत आएको शरीरको भागलाई उचाईमा राख्ने ताकि रगतको बहाव तल आउन गई रक्तश्राव रोकियोस् । औंलाको चापले रक्तश्रावलाई बन्द गर्ने या पट्टि लगाएर रक्तश्रावको बहाव कम गर्न पर्दछ ।

जनावरले टोकेमा र घाउ भएमा तुरुन्त सफापानी अनि साबुनपानीले धुने र अस्पताल लान जरुरी छ । बिभिन्न संक्रमणहरु जस्तै रेबिज लगायत अन्य संक्रमण बिरुद्धको खोप पनि स्वास्थकर्मीको सल्लाहमा लगाउनु पर्दछ ।

अचेत मान्छेहरुको नारीमा छामेर पल्स पत्ता लगाउने अनि ३० सेकेन्ड भन्दा धेरै पल्स मधुरो भएमा या हराएमा सीपीआर अर्थात कृत्रिक श्वाँसप्रश्वासको प्रक्रियामा जानु पर्दछ ।
प्राथमिक उपचार दिवसमा प्राणरक्षार्थक उपचार सीपहरु सक्दो छलफल गर्ने र बाँड्ने प्रयास गरौं । सर्वत्र शान्ति र समृद्धीको कामना ।

दशमी श्राद्ध

सोह्र श्राद्धका तिथीहरु क्रमश अघि बढ्दैछन्, यस वर्ष अन्य वर्षहरु भन्दा फरक छ, यस वर्ष कोरोना त्रासका कारणले सहज पितृ कर्महरु गरिन सकिएको छैन यद्धपी आँउदा वर्षहरुमा यी कठिनता र जटिलता हटेर जाउन, हाम्रो कामना छ ।

सोह्र शाद्धको प्रारम्भसंगै अबका सकल पक्षहरु पितृ पक्षका स्वरुपमा आँउदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरुको मोक्षको कामना, सकल पितृहरुले बैतर्नी नदि तर्न पाउन अनि पितृप्रेम कायम रहोस् । पितृहरुको आर्शिवाद कायम रहोस्, सदिक्षा र शुभेच्छा कायम रहोस्, हामी आजको स्वरुपमा पितृहरुको अवशेष र पितृहरुकै स्वरुप हौं, हैन र ?

प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्डदान गर्नु पर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।

वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात श्राद्ध दुईपटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरुको देहावसान भएको तिथीमा र अर्को श्राद्ध चाँही सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस बर्षको सोह्र श्राद्धको शुरुवातसंगै हरेक परीवारमा शान्ति, खुशियाली कायम भइरहोस्, पितृहरुको आशिष सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरुको बैकुण्ठ वास होस्
दशमी श्राद्ध तिथीमा बैकुण्ठवास हुनुभएका पितृहरुको मोक्षको कामना ।

---
हाम्रो पात्रोका लागि सुयोग ढकाल



आउँदा दिनहरु

राशीफल

साहित्य / ब्लग

Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.