Matatirtha Aunshi | मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) | २०७८ वैशाख २८ | Hamro Patro

आउँदा दिनहरु

राशीफल

साहित्य / ब्लग

Apr/May 2021
२०७८ वैशाख
२८
मंगलवार
May 11, 2021
Aunshi
मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) ( Matatirtha Aunshi )
MY NOTE
तपाईँले आजको मिति पछि को नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

आमाको मुख हेर्ने दिन / मातातीर्थ औंसी




आमाको मुख हेर्ने दिन / मातातीर्थ औंसी विशेष अडियो सामग्री

यो वर्ष सबै आमाका छोराछोरीहरू सुरक्षित रहुन् । हरेक छोराछोरीका आमाहरू सुरक्षित रहुन् । पृथ्वीका हरेक जीवात्माहरूका आमा र सन्तानहरूमा कृपा रहोस् । मुस्कान कायम होस् अनि सबैका परिवारजन खुसी रहुन् ।

कोरोना भाइरस सन्त्रासमा हरेक दिन बढ्दो मृतकको संख्या, संक्रमण र संक्रमितको वृद्धिदर अनि अस्पतालमा बढ्दो बिरामीको चाप, अक्सिजन र भेन्टिलेटरको कमीका बीचमा यो वर्षको मातातीर्थ औँसीमा सबैलाई साधुवाद छ ।

मातृदेवो भव ।
पितृदेवो भव ।।
आचार्यदेवो भव ।।।

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’
‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’


उल्लेखित संस्कृत श्लोकहरूले आमा अर्थात् मातृ महिमा बोकेका छन् । आज वैशाख कृष्ण पक्षको औँसी ः यिनै महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औँसी ।

शास्त्रहरूमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मीठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरूले आमाबाट शुभ–आशिर्वाद ग्रहण गर्ने चलन छ ।

आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यो दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । यो घडीमा मातातीर्थ औँसी, मातृऔँसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झिने दिन हो । संसारको सबैभन्दा पवित्र नाता, आमा, संसारको सबैभन्दा पवित्र सम्बोधन हो, ‘आमा’ ।

हामीमध्ये धेरैले सर्वप्रथम बोल्न सिकेको शब्द, आमा । अनि पल–पलमा सम्झना आउने, सुख दुःखमा झझल्को आउने एउटा अनुहार, ‘आमा’ ।
बिहान सबेरै उठी स्नान गरी आमालाई उपहार प्रदान गर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने गरिन्छ । आज आमाबाट टाढा रहेका सन्तानहरू आमालाई भेट्न पुग्छन् । आमालाई मीठा खानेकुरा खुवाउँछन् ।

बिवाह गरेर पतिका घर गएका चेलीबेटीहरू मीठा परिकारहरूसहित आमाघर अर्थात माइती पुग्छन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरूले भने संचारका साधनहरूमार्फत् पनि सम्झने गर्छन् ।

मानिसहरूले सामाजिक सञ्जालहरूका माध्यमबाट पनि आमाप्रतिका भावना सम्झनाहरू व्यक्त गर्छन् । पौराणिक कालदेखि नै मनाउँदै आएको आमाको मुख हेर्ने दिन आमाले गरेका महान र कष्टपूर्ण कामहरूको सम्झना गरिन्छ । आमा नभएकाहरूले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै आज श्राद्ध तर्पण गरी मातृत्वको स्मरण गर्छन् । आज काठमाडौं उपत्यकाका नेवार समुदायले भने भक्तपुरको हनुमानघाट पुगी आमाको सम्झनामा परम्परा अनुसार श्राद्ध तर्पण गर्छन् ।

तपाई पनि आमाबाट पर हुनुहुन्छ भने एकफेर फोन गरेर आमाको आवाज सुन्ने पो हो कि ? या आमाको याद अनि स्मरण गर्दै साथी–भाईसँग आफ्नी आमाको वर्णन र स्नेहको वृत्तान्त सुनाएर आमाको याद ताजा गर्ने पो हो कि ? जे गर्नुहुन्छ । राम्रो काम गर्नुहोस् । जगतको भलो होस् । आमाको माया र उहाँले खुवाउनुभएका दूधका धर्साहरू प्रति हामी वफादार र इमान्दार हुन जरुरी छ ।

आजभोलि अनेकन कारणले आमा बुबालाई वास्ता नगर्ने अनि वृद्धाश्रम लगायत आगन्तुक ठाउँमा लगेर राख्ने चलन बढ्दै गएको छ । जुन मानवताप्रति नै एउटा आक्षेप हो । समय त खोला न हो । आफूले गरेका काम–व्यवहारहरू आफैतिर फर्किने समय पनि आउँछ । बगेको समयमा आफ्नो दायित्वबाट विमुख हुनु मानव चरित्र पक्कै होइन ।

मातातीर्थ औँसीका दिन काठमाडौंको थानकोट नजिकै अवस्थित मातातीर्थमा धुमधामका साथ मेला लाग्ने गर्छ । तीर्थाटनमा सहभागीहरूले मातातीर्थ कुण्डमा स्नान गर्छन् । जनश्रुति अनुसार, पहिले मातातीर्थमा गोठालाहरूले गाई–बस्तुहरू चराउने मैदान थियो । एक दिन त्यो मैदानमा एउटा गोठालाले फ्याँकेको रोटीको टुक्रा अनाचक हराउन पुग्यो । त्यो घटनाले गोठालाहरू अचम्मित भए । गोठालाहरूले पुनः अरु रोटीका टुक्राहरू पनि फ्याँके । ती टुक्राहरू क्रमशः हराउँदै गए । ती गोठालाहरूमध्ये एउटाको आमा थिइन् भने अरुका आमा थिएनन् । तर आमा हुने गोठालाले फालेको रोटीको टुक्रा भने हराएनन् ।

आमा नहुने गोठालाहरूले फ्याँकेका रोटीका टुक्रा मात्रै गायब हुन्थे । उक्त दिन बैशाख कृष्णपक्ष औँसी थियो । यो कुरा अरु गाउँलेहरूले पनि थाहा पाए । गाउँलेहरूले उक्त दिन मृत्यु भइसकेका आमाले छोराछोरीले दिएका चिज खाँदा रहेछन् भन्ने विश्वास गरे । हरेक वर्ष उक्त औँसीका दिन मातातीर्थको चौरमा आमाको मृत्यु भइसकेकाहरूले अनेकन मिष्ठान भोजन लागि चढाउन थाले । पछि त्यहाँ एउटा कुण्ड समेत बनाइयो र मातातीर्थका नामले प्रचलनमा ल्याइयो ।
यसरी हरेक वर्ष आमा नहुनेहरूले मातातीर्थमा गई त्यहाँको कुण्डमा नुहाउने र मृतक आमाका नाममा मीठा–मीठा खाद्य पदार्थ चढाउने प्रचलन कायम भयो । आमाप्रतिको श्रद्धास्वरूप मातातीर्थमा ‘साझा आमा’ को मूर्ति समेत स्थापना गरियो ।

मातातीर्थ औँसी जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिककालदेखि मनाइँदै आएको पर्व हो । आजको दिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरूको सम्झना गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झिने दिन हो । यिनै आमा जसले हामीलाई संसार देखाइन् । गर्भमा राखेर जन्म दिइन् । अनि काखमा राखेर पालिन् । ममता कि खानी अनि बालापनामा हाम्रा हरेक इच्छा, आकांक्षा अनि चाहान पूरा गरिदिने कल्प वृक्षसरी, यस पृथ्वी लोकका सम्पूर्ण आमाहरूलाई कोटी–कोटी नमन छ ।

सुयोग ढकाल



आउँदा दिनहरु

राशीफल

साहित्य / ब्लग

Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.