Mohini Ekadashi/International Day for Biological Diversity | मोहिनी एकादशी/अन्तर्राष्ट्रिय जैविक विविधता दिवस | २०७८ जेठ ८ | Hamro Patro

आउँदा दिनहरु

राशीफल

साहित्य / ब्लग

May/Jun 2021
२०७८ जेठ

शनिवार
May 22, 2021
Dashami
मोहिनी एकादशी/अन्तर्राष्ट्रिय जैविक विविधता दिवस ( Mohini Ekadashi/International Day for Biological Diversity )
MY NOTE
तपाईँले आजको मिति पछि को नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस | मोहिनी एकादशी




अन्तर्राष्ट्रिय जैविक विविधता दिवस विशेष अडियो सामग्री

जैविक विविधता दिवस : ‘हामी नै समाधान पनि’

यस वर्षको मे २२ पनि अरु वर्षहरू झैँ विश्व समुदायले जैविक विविधता दिवसका रूपमा मनाउँदैछ । आउनुहोस्, आज यसै परिप्रेक्ष्यमा वात मारौँ ।

सन् २०२१ मा जैविक विविधता दिवस चाहिँ 'We're part of the solution' अर्थात्, ‘हामी समाधानकै पक्ष बनौं’ भन्ने नारा र #ForNature ह्यास–ट्यागका साथ मनाइँदैछ । प्रकृतिको अंशका रुपमा मानवीय उपस्थितिलाई उजागर गर्दै यो वर्ष प्रकृतिको विशाल भूमिकालाई आत्मसात् गरिनेछ ।

विश्वभर जैविक विविधताको महत्वलाई दर्शाउन यो दिवस मनाइन्छ । सन् १९९२ मे २२ मा ब्राजिलको रियो दि जेनेरियोमा भएको ‘पृथ्वी शिखर सम्मेलन’ले जैविक विविधता महासन्धि अघि बढाउने निर्णय गर्यो ।

त्यसपछि सन् १९९४ देखि मे २२ का दिन जैविक विविधता दिवस मनाउने अभ्यास प्रारम्भ भयो । जेनेरियो सम्मेलनको निर्णयलाई सन् २००० डिसेम्बर २२ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकको निर्णय नम्बर ५५ र २०.१ ले थप अंगीकार ग¥यो । प्रत्येक वर्ष २२ मे लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका रूपमा मनाउने घोषणा भयो । त्यसयता हरेक वर्ष मे २२ का दिन विश्वभर जैविक विविधता दिवस मनाइँदै आएको हो ।

कानुनतः नेपालमा भने जैविक विविधतालाई वातावरण संरक्षण ऐन २०५३ को ब्याख्यामा आधारित छ । त्यसअनुरूप जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातीय प्रणाली र वंशाणुगत प्रणालीको विविधता भन्ने बुझिन्छ ।

हाम्रो हिन्दू धर्म–कर्म र जीनवैशलीमा जैविक विविधता जोडिएको मात्र छैन कि भगवानकै ग्रहण गर्ने, अनि पुज्ने चलन पनि छ । सनातन परम्परादेखि मानिस र वनस्पत्तिलाई कुनै न कुनै रुपले जोडेको छ । अझ कतिपय वनस्थितिलाई भगवानकै ‘प्रतिरुप’ ठानिन्छ पनि ।
हिन्दू संस्कार कुशबेगर चल्दैन, हरेक पूजा–आजमा सबभन्दा चोखो रुपमा कुश प्रयोग हुन्छ । अनि दुवो पनि हाम्रो धर्म–कर्मको अभिन्न तत्व हो । हिन्दू धर्माबलम्बीहरु बर–पिपल हुँदै बेल अनि रुद्राक्षलाई भगवानकै प्रतिरुप ठान्छन् । अनि हिन्दू मात्र होइन कि हरेक धर्मसँग प्राकृतिक विविधता जोडिएकै हुन्छन् । तिनलाई विविध ढंगले प्रचलन ल्याएका हुन्छन्, शैली मात्र फरक हुन् ।

अनि मानिस स्वभावले नै विविधता मन पराउँछ चाहे जेसुकै कुरामा होस् । उसलाई नयाँ–नयाँ साथी, ठाउँ, घर अनि खाना मनपर्छ । नयाँ कुराहरू गर्न रुचाउँछ ।

अनि नयाँपन विविधताले गर्दा मात्र सम्भव हुन्छ । यिनै विविधताका सवालहरूमध्ये आज जैविक विविधताका कुरा गरौँ न । भू–परिवेष्ठित देशका मानिस समुन्द्र देख्दा रमाउँछन् । अनि हिमाल–पहाड नदेखेका मानिस हिमाल–पहाड देखेपछि रमाउँछन् । यो मानवको स्वभाव हो, अर्थात् विविधतामा रमाउने ।

त्यसैले त हरेक मानिसभित्र एउटा पर्यटकको तृष्णा लुकेको हुन्छ । अरबको मरूभूमिमा बसोवास गर्ने मानिस हिमाल हेर्न नेपाल आउँछन् । विश्वभरिका मानिस सगरमाथा, यहाँका जैविक विविधता, प्रकृति, वनस्पति, जनावर, चराहरू आदि हेर्न नेपाल आउँछन् । यदि नेपालसँग यी जैविक र भौगोलिक विविधता नहुने भए यहाँ पर्यटकहरू आउने थिए, होलान् र ? तसर्थ, पनि जैविक विविधतालाई पर्यटनसँग जोडेर हेरिन्छ ।

यहाँ छोटो दूरीमा धेरै भौगोलिक संरचना, भिन्न–भिन्न मौसम एवं भीर, पहरा, गल्छी र उपत्यकाहरू छन् । पहाड र हिमाली क्षेत्रमा उत्तर–दक्षिण दुवैतिर फर्केका भित्ता पाखाहरूका कारण एकातिर घाम लाग्ने र अर्कोतिर ओसिलो हुन्छ ।

घण्टा भरिमात्र पनि यात्रा गर्ने हो भने नितान्त फरक प्राकृतिक माहौलमा पुगिन्छ । अनि जैविक विविधता अनुभव गर्न सकिन्छ । नेपालमा समुन्द्र सतहदेखिको न्यूनतम उचाई ६० मिटरको झापा जिल्लाको केचना र अधिकतम उचाई ८,८४८ मिटरको सगरमाथा छ । नेपालमा २ सय ७ प्रजातिका स्तनधारी, ८ सय ६७ प्रजातिका चरा, ४३ प्रजातिका उभयचर, १ सय प्रजातिका सरिसृप र १ सय ८५ प्रजातिका माछा, ६ सय ५३ जातका पुतली, ३ हजार ९ सय ६६ भन्दा बढी राति उड्ने पुतली छन् ।

अनि ५ हजार बढी कीरा, २ सय प्रजातिका माकुरा र ६ हजार बढी फूल फुल्ने वनस्पति, ४ सय ७१ प्रजातिका झ्याउ, १ हजार ८ सय २२ प्रजातिका ढुँसी र ३ सय ८३ प्रजातिका उन्यूहरू भएको तथ्य नेपालसँग छ । वनस्पतिमा गुराँस प्रजातिको संख्या नै ३० वटा भन्दा बढी छ । सुनगाभा र सुनाखरी परिवारका ३ सय ६३ भन्दा बढी प्रजाति छन् । सम्पूर्ण युरोपको भू–भागमा भन्दा नेपालमा धेरै प्रजातिका चराहरू पाइन्छन् । पुतलीको सबैभन्दा धेरै प्रजाति नेपालमै पाइन्छन् । नेपालमा ५ सयभन्दा बढी प्रजातिका अन्नबाली खान योग्य छन् । त्यसमध्ये २ सय प्रजातीको खेती गरिन्छ ।

यी विविधताहरू सदा सर्वदा कायम भइरहून् । तिनको संस्थागत संरक्षण र पर्यटन अभिवृद्धि निम्ति सरोकारवाला र समुदायको उल्लेखनीय भूमिका होस् । जैविक विविधता छ र हामी छौं । नेपाली हावा, पानी, माटो, आकाश र बतासको जय होस् ।
सबैलाई शुभकामना ।

मोहिनी एकादशी 


यदि एकादशीको अघिल्लो दिन दशमी तिथि ५५ घडी भन्दा अधिक छ भने त्यस्तो दशमी तिथिको भोलिपल्ट पर्ने एकादशीव्रत लिन अयोग्य मानिन्छ । उक्त भनाई अनुसार यसपालिको ७ गते गते दशमी तिथि ५८ घडी २६ पला छ, त्यसैले त्यसको भोलिपल्ट ८ गते पर्ने एकादशीव्रत लिन योग्य भएन, यदि एकपला मात्र पनि दशमीले छोएको छ भने त्यो दिन एकादशीव्रत लिन उपयुक्त हुँदैन, द्वादशी छोएको दिन व्रत लिनु पर्दछ, त्यसैले ९ गते मोहिनी एकादशीव्रत लिन योग्य भयो । यसकारण यस वर्षको मोहिनी एकादशीको तिथी र व्रत लिने दिनमा फरक पर्न गएको हो ।

वर्षका अन्य सबै एकादशीहरू झैँ मोहिनी एकादशीको पनि अलग महत्व छ । आजका दिन व्रत बस्नाले धेरै फलिफाप हुने र निरोगी हुने मान्यता छ ।

अन्य एकादशीहरू झैँ यो एकादशीमा पनि बिहानै नुहाई–धुवार्इँ गरेर भगवान विष्णुको अर्चना र पूजा गर्ने चलन छ । विष्णु सहस्त्रानाम पाठदेखि हरि कीर्तनसम्म गर्ने, एकादशी महात्मयको वाचन गर्ने अनि राति जाग्राम बस्नेसम्म चलन हुन्छ ।

बैशाख महिनाको शुक्लपक्षको एकादशीलाई मोहिनी एकादशी भनिन्छ । यो एकादशीमा भक्तिपूर्वक अर्चना गर्ने, एकादशी महात्मय सुन्ने अनि व्रत लिने गरेमा पाप मोचन हुन्छ भन्ने विश्वास छ । सांसारिक मोहबाट छुट्कारा पाइन्छ मान्यताअनुरुप यो वसन्त ऋतुको एकादशीलाई मोहिनी एकादशी भनिएको हो ।

किंवदन्ती अनुुसार, सरस्वती किनारमा एउटा राज्य थियो, जसमा एकजना चन्द्रवंशी राजा राज्य गर्थे । यसै राज्यमा एकजना वैश्य अर्थात् व्यापारी बस्थे, जसको नाम थियो धनपाल । उनी पुण्य–कार्य अनि दानमा लागिपरेकै हुन्थे । धनपालका ५ छोराहरू थिए, जसमा कान्छो छोरा पाप कर्ममा लागेका थिए । जुवातास अनि वेश्यागमनमा उनी आशक्त थिए भने दुव्र्यसनमा उत्तिकै लालयित पनि ।

धनपालले केही नलागेपछि आफ्नो मनमा पत्थर राखेरै भएपनि कान्छा पुत्रलाई नराम्रो आचरणका कारणले घर निकाला गर्न पुगे । भोजन र छतको अभावमा धनपालका कान्छा छोरा महर्षि कौडिन्य कहाँ पुग्छन् । महर्षि कोडिन्यको सुझावमा यसै मोहिनी एकादशीको व्रत लिनाले धनपालका कान्छा पुत्रले आफ्ना आशक्तिबाट मुक्ति पाएको विश्वास गरिन्छ ।

यसै एकादशी व्रतको प्रतापले पाप मोचन हुने र सांसारिक मोह र आशक्तिबाट मुक्त हुने भएकाले यो एकादशी विशेष रहन्छ । जीवनको सत्मार्ग अनि सत्संगको परिवेश यस एकादशीले सबैको जीवनमा ल्याईदियोस्, शुभकामना ।

सुयोग ढकाल



आउँदा दिनहरु

राशीफल

साहित्य / ब्लग

Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.