Ghatasthapana/International Day of Rural Women/ Global Handwashing Day | घटस्थापना / नवरात्र आरम्भ/अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस / विश्व हातधुने दिवस | २०८० असोज २८ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Sep/Oct 2023
    २०८० असोज
    २८
    आइतवार
    Oct 15, 2023
    असोज शुक्ल प्रतिपदा
    घटस्थापना / नवरात्र आरम्भ/अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस / विश्व हातधुने दिवस ( Ghatasthapana/International Day of Rural Women/ Global Handwashing Day )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    घटस्थापना । नवरात्र आरम्भ । अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस । विश्व हातधुने दिवस




    घटस्थापना विशेष अडियो सामाग्री

    घटस्थापना | नवरात्रि आरम्भ
    दुर्गा मन्त्र
    सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके ।
    शरण्ये त्र्यम्बके गौरि नारायणि नमोऽस्तु ते ॥

    सबैभन्दा शुभ र सम्पूर्ण संसारलाई शुभ प्रदान गर्ने पवित्र र स्वच्छ दुर्गा माता हुनुहुन्छ। वहाँले आत्मसमर्पण गर्नेहरूको रक्षा गर्नुहुन्छ र वहाँलाई तीन लोककी माता पनि भनिन्छ । पर्वत राजाकी छोरी गौरी हाम्री माता दुर्गालाई बारम्बार नमन गर्छौं। हामी उनको पूजा गर्छौं।

    आज घटस्थापना अर्थात् नवरात्रिको प्रथम दिन को हार्दिक मङ्गलमय शुभकामना ।

    चाहे गाउँमा बस्नुहुन्छ या सहरमा, चाहे स्वदेशमा हुनुहुन्छ या विदेशमा, चाहे परिवारसँग हुनुहुन्छ या परिवारविना । यो वर्षको दसैँको रौनकले तपाईँलाई छुने वाला छ । छुने मात्र होइन आजदेखि आधिकारिक रूपमा छोई नै सक्यो । ल है ! आज जमरा छर्ने दिन अर्थात् घटस्थापना ।



    जमरा अर्थात् जौ को जीवन ।
    जसलाई थोरै बालुवा मिसिएको माटोमा छरिन्छ । अनि नवरात्रिभरि नै हरेक दिन पूजा–अर्चना गरिन्छ । जमरा वास्तवमा जौको अङ्कुरण भए तापनि दसैँको जमरामा जौ लगायत धान, मकै र गहुँका पहेँला, हरिया अङ्कुरित बालाहरू समावेश हुन्छ ।

    माटो, पानी, हावा, फूल, आँकुरासँगै जुटेको यो संस्कारले वनस्पतिसँग हामी अत्यन्तै नजिक छौँ भन्ने स्पष्ट पार्छ । हिन्दुहरूको महान् पर्व दसैँमा जमरा संस्कृति एउटा मौलिक धरोहरको रूपमा रहिआएको छ भने यस दशमीको दिन लाइने जमरा उमार्न आजको दिन अर्थात् घटस्थापना महत्त्वपूर्ण दिन हो ।

    नवरात्रिको सुरुवात
    नवरात्रिको सुरुवात आजबाट भयो । अब हरेक बिहान देशका सम्पूर्ण नवदुर्गा भगवतीका शक्ति पीठहरूमा श्रद्धालुहरूको भीड हुन्छ । बिहान बिहान जमराको पूजा–पाठ गर्ने गर्नुपर्छ । अनि दशमीका दिन चामल, रातो अबिर, दही, केरा मिश्रित अक्षता टीकाले निधार भरेर जमरा ग्रहण गरी आफ्ना मान्यजनहरूबाट प्राप्त आशिष सँगै जीवनमा खुसीयाली प्राप्त गरिन्छ ।

    जमराको मात्रा अर्थात् कति जमरा छर्ने भन्ने कुरा चाहिँ परिवारको सङ्ख्या अनुसार निर्धारण गरिन्छ । संयुक्त परिवारहरूले निकै ठुलो ठाउँमा जमरा छर्ने गर्छन् भने परिवारका सदस्य सङ्ख्या कम भएको परिवारहरूले सानो ठाउँमा जमरा छर्ने कार्य गर्छन् । यसरी छरिने जमरालाई माटोको चतुर्भुज आकारको बिच भागमा भने माटो या तामाको कलश स्थापना गरेर राखिन्छ । दशमीका दिन भने आवश्यकता अनुसार जमरालाई उखेलेर टिका लगाउन चाहिए जति झिक्ने गरिन्छ । यही जमरा, टिका अनि सद्भावले दसैँको रौनकता बढाउँछ । प्रत्येक मुहारमा दसैँको आकर्षणको वास्तविक चित्र कोर्ने गर्दछ ।

    दसैँको जमरा राख्ने चलन भने ठाउँ अनुसारको फरक–फरक हुन्छ । कतै सामूहिक रूपमा दसैँ–घर स्थापना गरेर, गुठीमा या शक्ति पीठ अनि मठ–मन्दिरमा जमरा राखिन्छ अथवा व्यक्तिगत रूपमा आफ्नै घरको पूजा कक्षमा या घरको अन्य कुनै सफा ठाउँमा जमरा राख्ने गरिन्छ । जमरा राख्दा त्यस्तो कोठा छनौट गरिन्छ जसमा प्रकाश राम्ररी छिर्न नपाओस् । यसरी प्रकाश नपरेका जमराका बालाहरू पहेँला हुन्छन् । घटस्थापनाबाट प्रारम्भ हुने दसैँको नवरात्रि भनेको जमराको नौ दिने जीवन र दैनिक अङ्कुरणको प्रक्रिया पनि हो । जौको दानाभित्र रहेको जीवन शक्तिलाई जमराले उजागर गर्दछ र माटोले पोषण गर्दछ ।

    १६ औँ शताब्दीका राजा महेन्द्र मल्लले निर्माण गरेको वसन्तपुर दरबार क्षेत्रमा अवस्थित तलेजु भवानीको मन्दिरमा रहेको दसैँ घरमा गोर्खाबाट ल्याइएको फूलपातीहरू फूलपातीकै दिन भित्राइन्छ । यसरी भित्र्याइँदै आएको फूलपातीको जमरा पनि आजैका दिन विधिपूर्वक गोर्खामा छरिने चलन रहिआएको छ ।

    उहिले आजभोलि जस्तो यातायातको सहज सुविधा थिएन । त्यति बेला भने गोर्खाबाट आबुखैरेनीसम्म हरेक एक एक किलोमिटरमा सरकारी कर्मचारीहरू उभ्याउन लगाई एउटा कर्मचारीले अर्कोलाई हस्तान्तरण गर्ने र अर्को सोही अनुरूप अर्को एक किलोमिटरको दूरीमा भएकालाई हस्तान्तरण गरेर रीतपूर्वक फूलपातीलाई रिले दौड जस्तै गरी मानव साङ्लो निर्माण गरेर आबुखैरैनीसम्म फूलपातीलाई ल्याइन्थ्यो ।

    आबुखैरेनीदेखि भने गाडीमा राखेर काठमाडौँसम्म ल्याइन्थ्यो । यसरी ल्याइएको जमरालाई काठमाडौँको जमलसम्म गाडीमा ल्याएर त्यसपछि तलेजु भवानीको मन्दिरमा अवस्थित दसैँ घरसम्म पारम्परिक बाजागाजासहित भित्र्याउने गरिन्थ्यो । गोर्खाबाट ल्याइएको फूलपाती कुनै पनि अवस्थामा चौबीस घण्टा नबित्दै काठमाडाैं ल्याइ पुर्याउनु पर्ने मान्यता समेत रहेको छ ।

    लमजुङको मोरियाकोटमा स्थानीयबासी हरूले राइनासकोटको तल्लो भेगलाई (धमलीकुवा र गरमवेशीका केही स्थानीय भेगहरू) परिक्रमा गर्दै तल रहेको दूध पोखरी खोला र मस्याङ्गदीको दोभानमा गई नुहाई–धुवाई गरी चोखो भई कुभिन्डो तथा अन्य मौसमी फलफूलहरू लगायत फूलपाती बोकेर राइनासकोटस्थित राष्ट्रिय विभूति सरदार वीर भक्ति थापाको मन्दिरमा फूलपाती ल्याएर पूजाआजा गर्ने गरिन्छ ।

    स्मरणीय रहोस्, उक्त मन्दिर कुनै पनि देशभक्त वीरको नाममा स्थापित देशकै एक्लो मन्दिर हो । राइनासकोट एउटा अत्यन्त सुन्दर र मनमोहक दृश्यहरू भएको लमजुङ जिल्लाको पर्यटकीय स्थल हो, जहाँबाट १५ वटा जिल्ला देखिन्छ । यस ठाउँमा दसैँ लगायत शिवरात्रिमा पनि दर्शनार्थीहरूको विशेष भीड रहन्छ । यसबाहेक मेचीदेखि महाकालीसम्मका सम्पूर्ण शक्ति पीठहरू र काली माताको मन्दिरमा प्रातः कालदेखि नै मेला लाग्ने गर्छ ।

    सभ्यताका प्रक्रिया अनि इतिहास हेर्दा मानवले जङ्गली युगको समाप्तिसँगै व्यवस्थित रूपमा कृषि गर्न थालेको पहिलो अन्न नै जौ हो । ठूूल्ठूला नदीको किनारामा भएको यो मानव सभ्यता प्रक्रियाको उत्खनन र अन्वेषण गर्दा मिश्र देशहरू अनि चीनमा पनि हजारौँ वर्ष पुराना जौको अवशेष भेटिएका छन् । संसारभरि नै जौलाई धेरै पुरानो अन्नका रूपमा विशेष महत्त्वका रूपमा हेरिन्छ ।

    तः छो

    हाम्रा सनातन संस्कारहरू जौ, तुलसी, कुश र तिलविना संकल्पित र पूर्ण हुन सक्दैनन् । नेवारी भाषामा भने जौलाई तः छो भनिन्छ भने अङ्ग्रेजीमा बार्ली भनिन्छ । जौको पौष्टिकता निर्विकल्प छ । टिभी रेडियोमा आउने विज्ञापनहरूमा धेरै पौष्टिक भनिएका आयातित महँगा खाने कुराहरूमा पनि जौको मात्रा देखाएर नै प्रचार प्रसार हुने गर्छ । यसमा ‘ऐण्टिअक्सिडेन्ट’ र ‘विटाक्यारोटिन’ लगायतका तत्त्वहरू पाइन्छ ।

    यही जौको अङ्कुरणलाई शिरमा राखेर टिका थाप्ने संस्कारले हरेक नेपालीहरूलाई सद्भाव, सदाचार, समृद्धिसहितको दुर्गा भवानीको शक्ति प्राप्त होस् । जसरी छरिएको जमरा बिस्तारै अङ्कुरण हुँदै जान्छ, त्यो प्रक्रियामा पहिले जरा माटोतर्फ बढ्न थाल्छ अनि जरा पलाएपछि बिस्तारै जमराका पातहरू माथि–माथि बढ्न थाल्छ ।

    त्यसै गरी सायद प्रकृतिले पनि हामीले हाम्रो जरा अर्थात् संस्कार, परम्परा र मानवीय आधारहरूका बारेमा जानकारी दिएको पनि हुन सक्छ । बिरुवाहरू जतिसुकै ठुला, अग्ला र मोटा भए पनि, उनीहरूको हाँगाले आकाशै छुन खोजे तापनि जरा भने माटोमै हुन्छ । अर्थात् हामीले जतिसुकै परिवर्तन या प्रगति गरेर आकाशै छोए पनि हाम्रो बहुमूल्य मौलिक संस्कार र परम्पराको जग भने बिर्सन हुँदैन भन्ने महत्त्व दर्साउँछ ।

    यो दसैँमा सबैको जय होस् । मङ्गल होस् । भ्रातृत्व बढोस् अनि शान्ति छाओस् । हाम्रो सिरमा जमरा शोभायमान रहोस् । बडा दसैँको मङ्गलमय शुभकामना ।

    अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस



    पृष्ठभूमि
    घरभित्रको काममा सीमित ग्रामीण महिलाहरूलाई परिवार र समाजको महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने स्थानमा पुर्‍याउने पवित्र भावनाले ग्रामीण महिला दिवस मनाइन्छ । ग्रामीण महिलाहरूलाई घरको काम बाहेक आयआर्जन मूलक काममा सहभागिता गराई गरिबी न्यूनीकरणमा टेवा पुर्‍याउनु यो दिवस मनाउनुको अर्को ठुलो उद्देश्य हो । संयुक्त राष्ट्र सङ्घको आह्वानमा १८ डिसेम्बर २००७ मा यो दिवस मनाउने निर्णय भए अनुसार १५ अक्टोबर २००८ देखि विश्वव्यापी रूपमा यो दिवस मनाउने क्रम सुरु भएको हो ।

    नेपालमा ग्रामीण महिलाहरूको भूमिकालाई सम्मान गर्दै यो दिवस वि.स. २०७० देखि मनाउन थालिएको हो । दिगो विकासका लागि आर्थिक, वातावरणीय र सामाजिक परिवर्तनको आवश्यकता पर्ने भएकोले त्यसका लागि ग्रामीण महिलाहरू नै महत्त्वपूर्ण प्रतिनिधि हुन भन्ने राष्ट्र सङ्घको बिचार रहेको छ । नेपाल जस्ता देशहरूमा भने सम्पत्ति, स्वास्थ्य र शिक्षामा महिलाको पर्याप्त पहुँच पुग्न सकेको छैन । ग्रामीण महिलाहरूलाई सशक्तीकरणका माध्यमबाट सक्षम नागरिकका रूपमा पहिचान गराउन सके परिवार र समग्र देशकै समृद्धि हुने विश्वास गरिएको छ ।

    लैङ्गिक समानता र महिला सशक्तीकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, राजनीति र राज्यका हरेक निकायमा महिला त्यसमा विशेष गरी ग्रामीण महिलाहरूको पहुँच समान रूपमा सुनिश्चित हुनु अत्यावश्यक रहेको छ । महिला सशक्तीकरणका लागि विश्वव्यापी रूपमा प्रयासहरू नभएका भने होइनन् । विभिन्न आन्दोलन र अभियानहरूका कारण संयुक्त राष्ट्र सङ्घले सन् १९७५ लाई संयुक्त राष्ट्रसङ्घीय महिला वर्ष रुपमा मनाएको थियो । त्यसै गरी सन् १९७५ देखि १९८५ सम्मको समयलाई महिला दशक घोषणा गरी विभिन्न घोषणापत्रहरू जारी गरिएको थियो । सन् २००० देखि २०१५ सम्मको सहश्राब्दी विकास लक्ष्य अनुसार लैङ्गिक समानता, प्रवर्द्धन तथा महिला सशक्तीकरणका लागि प्रयासहरू गरिएका छन् । सोहीअनुरूप नेपाल जस्ता अल्पविकसित देशहरूमा छुट्टाछुट्टै कार्यक्रम तथा योजनाहरू बनाई कार्यान्वयन गरिँदै आएका छन् ।

    वर्ष २०२३ को अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवसको नारा चाहिँ ““DigitALL: Innovation and technology for gender equality,” रहेको छ ।

    विश्व हात धुने दिवस
    विश्वभरि नै हात सफा नभएका कारणले नै विभिन्न रोग अनि सङ्क्रमणहरूका कारण लाखौँले मृत्यु भोगी सकेको तथ्याङ्कले भन्छ । स्मरण रहोस् अहिले पनि प्रतिवर्ष विश्वभरि करिब १ करोड ८० लाख बालबालिकाको मृत्यु गराउने एक मुख्य कारण झाडापखाला पनि हो । सुन्दा अचम्म लाग्न सक्दछ हात धुने चलन र व्यवहार मात्र पनि नियमित र प्रभावकारी गर्न सके करौडोंको सङ्ख्यामा जीवन बचाउन सकिने अवस्था छ ।

    खाना खानु अघि, खाएपछि, शौचालय प्रयोग पछि र अन्य आवश्यक अवस्थामा हात धुने बानी बच्चैदेखि बसाल्न जरुरी छ । यसरी हात धुँदा साबुन पानी ले मज्जाले मिचिमिची धुन जरुरी छ ।

    विश्वमा हरेक ३ मध्ये एक जना नवजात बालबालिका झाडापखालाले औसतमा सङ्क्रमण हुने तथ्याङ्क छ । राम्ररी हात धुने, सफा पानीको प्रयोग अनि साबुन पानीको प्रभावकारी उपयोग गर्नाले हात सफा भएर झाडापखाला लाग्दैन । सुरु सुरुमा माटोले हात धुने या खरानी पानीले हात धुने चलन नेपाली समाजमा रहेको थियो, तर माटो या खरानी पानीले भन्दा साबुन पानीको प्रभावकारिता धेरै रहेको छ ।

    यसै तथ्यलाई मध्यनजर गर्दै विश्वमा बच्चा बुढा सबैलाई सरसफाइ अनि स्वस्थपनाको जागरण दिलाउन हरेक वर्ष अक्टोबर १५ तारिखमा विश्व हात धुने दिवस मनाइन्छ । सन् २००८ देखि यस दिवस मनाउन सुरु गरिएको हो । नेपालमा पनि नेपाल सरकार स्वास्थ्य मन्त्रालय अनि अन्य विभिन्न गैर सरकारी संस्थाको अर्थपूर्ण सहभागितामा यस दिवस भव्यताका साथ मनाइन्छ ।

    विश्व स्वास्थ्य सङ्गठनका अनुसार निम्न अवस्थामा हात धुन जरुरी हुन्छ:
    शौचालय गएपछि र बच्चाको न्यापीस या थाङ्ना चलाएपछि वा कोपरा फालेपछि, खाना खानुअघि र खाएपछि , पकाउनु अघि, काँचो खानेकुरा छोएपछि या बिरामी हरूलाई भेट्न अघि र भेटेपछि, धूम्रपान गरेपछि, फोहोर छोएपछि या बगैँचामा काम गरेपछि, जनावरहरूलाई छोएपछि ।

    Clean hands are within reach – Theme 2023

    सफा हात सबैको पहुँचमा छ भन्ने नाराका साथ आजको अभियानले “बलियो नेतृत्व र सामूहिक प्रयासहरूद्वारा हामी सबैका लागि हातको सरसफाइ प्राप्त गर्न पहुँच र अभ्यासमा रहेको खाडलहरू बन्द गर्न सक्छौं भन्ने सन्देश दिन्छ ।

    हात कसरी धुने ?
    सर्वप्रथम सफा पानीले हात भिजाउने।
    हातमा साबुन हाल्ने, कम्तीमा २० सेकेन्ड साबुन पानीले मिच्ने ।
    दुवै हत्केलालाई एक आपसमा दलेर औलाका कापसम्म साबुन पूर्याउने |
    यसरी धुँदा हातको पछाडि, नगंका मुनी, औँलाका काप र नारी सम्म मिच्ने |
    यसरी धुँदा औँलाका औँठी र घडीहरू निकालेर हात सफा गर्ने, यसो हुँदा औँठी र घडी मुनीका सूक्ष्म जीवाणुहरू पनि पखालेर सफा हुनेछन् ।
    धारा खोलेर साबुनका हरेक अशंहरु पखाल्न पर्नेछ ।
    सफा टाबल या कपडा प्रयोग गरेर हात सुकाउनु पर्नेछ ।
    औँठी या घडीहरू पनि पूर्णतः नसुकेसम्म लगाउन हुँदैन ।

    सामान्यतया हात धुँदा भाँडामा पानी राखेर भन्दा पनि धारा या फोहोराको पानी प्रयोग गर्न जरुरी छ । याद गर्नुहोस्, कीटाणुहरू सबैतिर छन् र हामी यी कीटाणुहरूलाई देख्न सक्दैनौँ । यी कीटाणुहरूले हामीलाई बिरामी पार्दछन् । साबुन पानीले हात धुने गरेमा हामीलाई रोग या सङ्क्रमणबाट जोगाउँदछ । हात नधोएकै कारण विभिन्न रोगको सङ्क्रमणका कारण बिरामी भएर अस्पताल बस्नु भन्दा त हात धोएरै यस्ता रोगहरूबाट जोगिनु नै बुद्धिमत्ता होला ।

    -हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.