Matatirtha Aunshi (Mother's Day)/World Redcross Day/Law Day | मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन)/विश्व रेडक्रस दिवस/कानुन दिवस | २०८१ वैशाख २६ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Apr/May 2024
    २०८१ वैशाख
    २६
    बुधवार
    May 08, 2024
    वैशाख कृष्ण औंसी
    मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन)/विश्व रेडक्रस दिवस/कानुन दिवस ( Matatirtha Aunshi (Mother's Day)/World Redcross Day/Law Day )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन)/विश्व रेडक्रस दिवस/कानुन दिवस




    मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) विशेष अडियो सामग्री

    यो वर्ष सबै आमाका छोराछोरीहरू सुरक्षित रहुन् । हरेक छोराछोरीका आमाहरू सुरक्षित रहुन् । पृथ्वीका हरेक जीवात्माहरूका आमा र सन्तानहरूमा कृपा रहोस् । मुस्कान कायम होस् अनि सबैका परिवारजन खुसी रहुन् ।

    कोरोना भाइरस सन्त्रासमा हरेक दिन बढ्दो मृतकको संख्या, संक्रमण र संक्रमितको वृद्धिदर अनि अस्पतालमा बढ्दो बिरामीको चाप, अक्सिजन र भेन्टिलेटरको कमीका बीचमा यो वर्षको मातातीर्थ औँसीमा सबैलाई साधुवाद छ ।

    मातृदेवो भव ।
    पितृदेवो भव ।।
    आचार्यदेवो भव ।।।

    ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’
    ‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’

    उल्लेखित संस्कृत श्लोकहरूले आमा अर्थात् मातृ महिमा बोकेका छन् । आज वैशाख कृष्ण पक्षको औँसी यिनै महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औँसी ।

    शास्त्रहरूमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मीठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरूले आमाबाट शुभ–आशिर्वाद ग्रहण गर्ने चलन छ ।

    आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यो दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । यो घडीमा मातातीर्थ औँसी, मातृऔँसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झिने दिन हो । संसारको सबैभन्दा पवित्र नाता, आमा, संसारको सबैभन्दा पवित्र सम्बोधन हो, ‘आमा’ ।

    हामीमध्ये धेरैले सर्वप्रथम बोल्न सिकेको शब्द, आमा । अनि पल–पलमा सम्झना आउने, सुख दुःखमा झझल्को आउने एउटा अनुहार, ‘आमा’ ।
    बिहान सबेरै उठी स्नान गरी आमालाई उपहार प्रदान गर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने गरिन्छ । आज आमाबाट टाढा रहेका सन्तानहरू आमालाई भेट्न पुग्छन् । आमालाई मीठा खानेकुरा खुवाउँछन् ।
    बिवाह गरेर पतिका घर गएका चेलीबेटीहरू मीठा परिकारहरूसहित आमाघर अर्थात माइती पुग्छन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरूले भने संचारका साधनहरूमार्फत् पनि सम्झने गर्छन् ।

    मानिसहरूले सामाजिक सञ्जालहरूका माध्यमबाट पनि आमाप्रतिका भावना सम्झनाहरू व्यक्त गर्छन् । पौराणिक कालदेखि नै मनाउँदै आएको आमाको मुख हेर्ने दिन आमाले गरेका महान र कष्टपूर्ण कामहरूको सम्झना गरिन्छ । आमा नभएकाहरूले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै आज श्राद्ध तर्पण गरी मातृत्वको स्मरण गर्छन् । आज काठमाडौं उपत्यकाका नेवार समुदायले भने भक्तपुरको हनुमानघाट पुगी आमाको सम्झनामा परम्परा अनुसार श्राद्ध तर्पण गर्छन् ।

    तपाई पनि आमाबाट पर हुनुहुन्छ भने एकफेर फोन गरेर आमाको आवाज सुन्ने पो हो कि ? या आमाको याद अनि स्मरण गर्दै साथी–भाईसँग आफ्नी आमाको वर्णन र स्नेहको वृत्तान्त सुनाएर आमाको याद ताजा गर्ने पो हो कि ? जे गर्नुहुन्छ । राम्रो काम गर्नुहोस् । जगतको भलो होस् । आमाको माया र उहाँले खुवाउनुभएका दूधका धर्साहरू प्रति हामी वफादार र इमान्दार हुन जरुरी छ ।

    मातातीर्थ औँसी जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिककालदेखि मनाइँदै आएको पर्व हो । आजको दिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरूको सम्झना गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झिने दिन हो । यिनै आमा जसले हामीलाई संसार देखाइन् । गर्भमा राखेर जन्म दिइन् । अनि काखमा राखेर पालिन् । ममता कि खानी अनि बालापनामा हाम्रा हरेक इच्छा, आकांक्षा अनि चाहान पूरा गरिदिने कल्प वृक्षसरी, यस पृथ्वी लोकका सम्पूर्ण आमाहरूलाई कोटी–कोटी नमन छ ।

    रेडक्रस दिवसको पृष्ठभूमि
    आजभन्दा १८२९ वर्ष पूर्व, ई सं १८२८ को मे ८ को दिन युरोपमा स्वीटजरल्यान्डको जेनेभामा जि हेनरी ड्यूनान्टको जन्म भएको थियो । नोबेल शान्ति पुरस्कारका प्रथम विजेता अनि रेडक्रस जस्तो विश्वव्यापी परोपकारी संस्थाका संस्थापक यी महान् व्यक्तित्वको जन्मदिनलाई हरेक वर्ष विश्व रेडक्रस दिवसकारुपमा संसारले सम्झना, समर्पण अनि सद्भाव व्यक्त गर्दछ ।


    रेडक्रसले के गर्दछ?
    रेडक्रसको मुख्य कार्यहरुमा मानवताको संरक्षण अनि युद्ध ग्रस्त क्षेत्रहरूमा घाइतेहरूको उद्धार रहेको छ । यो संसारले धेरै युद्धहरू खेपेको छ, रक्तपातको इतिहास बोकेको छ अनि हरेक युद्धमा कैयनका सख्यामा घाइतेहरू उपचार नपाईकन छटपटाएर मरेको छन् । हेनरी ड्यूनान्टले मानवताको मूल्य अनि सेवाको आवश्यकतालाई महसुस गरेर स्थापना गरेका यो रेडक्रस आज संसारभरिका १९० भन्दा बढी देशहरूमा कार्यरत छ।

    नेपालमा रेडक्रस
    नेपालमा पनि सन् १९६३ बाट नेपाल रेडक्रस को सुरुवात भएको हो । सम्पूर्ण ७७ वटै जिल्लाहरूमा नेपाल रेडक्रसले आफ्नो सेवाहरू दिँदै आएको छ । स्वयंसेवा उन्मुख संस्था भएकाले रेडक्रसका कार्यहरू विद्यार्थी, युवा स्वयंसेवी अनि स्वयंसेवी शिक्षकहरू, समुदायका व्यक्तिहरूले गर्दछन् । विसं १९९०, २०४५ अनि २०६३ सालमा ठूलाठूला भूकम्पको मार खेपेको नेपाली भूमिमा रेडक्रसले विपद् व्यवस्थापनमा ठुलै गुण लगाएको छ । रक्तदान अनि सहज रक्त उपलब्धता कालागि रेडक्रस अद्वितीय संस्था हो । यसका अलावा अपाङ्गताको क्षेत्रमा अनि सशस्त्र द्वन्द्वताका हराएका र बेपत्ता पारिएका परिवारलाई सही सूचना प्रदान गर्न र वर्तमान समयमा पुनर्निर्माण हातेमालोको सहकार्लायमा समेत रेडक्रसको उल्लेखनीय भूमिका नेपालमा रहेको छ।

    रेडक्रसका मुख्य सिद्धान्तहरू सात वटा रहेका छन् जून यस प्रकार छन्:
    १. मानवता
    २. निष्पक्षता
    ३. तटस्थता
    ४. स्वतन्त्रता
    ५. स्वयंसेवा
    ६. एकता
    ७. सर्वव्यापकता ।

    हेनरी ड्यूनान्टको मानव सेवाका सपनाको साकारोक्ती रेडक्रस सँग जोडिएर अन्य थुप्रै नामहरूका अतुलनीय योगदानहरू पनि आउँदछन्, मानव सेवा कालागि जीवन समर्पण गर्ने रेडक्रसका संसारभरका स्वयंसेवक अनि नेतृत्वलाई नमन छ । पछिल्ला समयमा रेडक्रसलाई केही आर्थिक पारदर्शिताका हिसाबले उत्ति पारदर्शी नभएको आरोप पनि संसार भरि लाग्न थालेको छ, निष्पक्ष सेवा भाव भएको यो शताब्दी भन्दा धेरै वर्ष पुरानो मानव आस्थाको संस्थामा व्यापार नछिरोस्, संसारलाई रेडक्रसको आवश्यकता छ । जय होस्, मगंल होस् ।

    नेपालमा विसं २००८ मा प्रधानन्यायाधीश ऐन जारी भई विसं २००९ वैशाख २६ गते तत्कालीन राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरणमा कानुन दिवस मनाउन थालिएको हो । न्यायालय कार्यपालिकाको छायाबाट मुक्त भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । नागरिकहरूको निष्पक्ष न्याय अनि समानताको चाहनालाई पूर्वपरिभाषित गर्दै हरेक वर्ष कानुन दिवस विभिन्न कार्यक्रमहरू आयोजना गर्दै मनाइन्छ ।

    कानुन दिवसको पृष्ठभूमि
    विसं २००९ मा ऐतिहासिक रूपमा नेपालले न्यायालय ऐन जारी गरेको दिन वैशाख २६ लाई नेपालले कानुन दिवसका रूपमा मनाउँदै आएको हो । नेपालमा संवैधानिक सर्वोच्चता र विधिको शासन कायम राख्न एवम् नागरिकका हक अधिकार तथा स्वतन्त्रताको संरक्षण गर्न न्यायपालिकाले थप जिम्मेवारी बोधका साथ आफ्नो भूमिका निर्वाह गर्नु पर्ने आवश्यकतालाई आजको दिनमा सबैतिरबाट जोड दिने गरिन्छ ।

    नेपाली न्यायको इतिहास मल्लकालीन न्याय व्यवस्था, राम शाहका पालामा न्याय नपाए गोर्खा जानु भन्ने उखान हुँदै मुलुकी ऐन अनि संविधानका चरणहरू हुँदै यहाँ आइपुगेको हो। इतिहासको पाना कोट्याउँदै जाँदा २००७ सालसम्म कार्यपालिका, न्यायपालिका अनि व्यवस्थापिका तिनै अगंहरु राणा शासकका हातमा रहेकामा फाल्गुन ७ को क्रान्ति सफल भएपछि वैशाख २६ गते २००७ सालमा पहिलो पटक केन्द्रीय न्यायालय स्थापना गरेर नेपालले स्वतन्त्र न्यायपालिका पाएको दिन हो, कानुन दिवस । सुस्तरी वि सं २००९ मा प्रथम र ऐतिहासिक न्यायालय ऐन २००८ जारी भयो । उक्त ऐनले प्रधान न्यायालयबाट गरिने फैसला आदेशहरू अकाट्य र अन्तिम हुने कानूनी ब्यवस्था गरेको थियो । यो नै आजको दिनसम्म आई पुगेको नेपालको स्वतन्त्र न्यायालयको प्रस्थान विन्दु थियो । यस दिनलाई प्रजातन्त्र र मानव अधिकारको जग बसेको दिनका रूपमा पनि लिने गरिन्छ । कानुन दिवसका माध्यमबाट अन्यायमा परेका जनसर्वसाधारणको न्यायिक पहुँचको सुनिश्चितता र न्यायालयप्रतिको सम्मान अभिवृद्धि हुने विश्वास गरिएको छ ।



    कानुन दिवसमा के के गरिन्छ ?

    यस दिवसका दिन तिनै तहका अदालतहरू जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतमा बिदा हुने गर्दछ ।प्रजातान्त्रिक अभ्यासमा राज्य चलाउन मुख्य तिन वटा अङ्गहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका हुन, न्यायपालिकाको मुख्य कार्य भने न्याय प्रदान गर्नु र विधिको शासन स्थापित गर्नु हो । आज सर्वोच्च अदालत परिसरमा दिउँसो विशेष कार्यक्रम आयोजना गरिन्छ भने देशैभरका न्यायलयसंग सम्बन्धी सस्थाहरुमा विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ।

    राजनीति र न्यायालयको नरुचाइएको मिश्रण मुक्त नेपाली न्यायालय आजको आवश्यकता हो । हजुर बुबाको पालाको मुद्दा नातिले पनि खेपी रहेको हजारौँ मुद्धाहरुको सुनुवाइ बाँकी छ, घर खेत बेचेर अदालती कारबाहीको पैसो तिर्नुपर्ने उदाहरण व्याप्त छ अनि दुःखदायी कुराहरू त निमुखाहरूले न्याय नपाएका अनि टाठा बाठाले बाङ्गो बनाएका मुद्दा र निर्णयहरूसँग छ । कालो कोट भित्रका सेता भावनाहरू पारदर्शी होउन्, कानुनका लामा अनि समान हातहरू सबैको शिरउपर होउन् , कानुन किनबेच नहोस् ।

    कानुन दिवसको शुभकामना

    हाम्रो पात्रोका लागी सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.