आज बिहानै एउटा महत्वपूर्ण काम टुंग्याउने अवसर मिल्नेछ। साथीभाइसँगको कुराकानी रमाइलो रहनेछ। घरको कुनै सामान मर्मत गर्नुपर्ने हुन सक्छ। शरीरमा थकान महसुस भए आराम लिनुहोस्। आजको शुभ रंग गाढा निलो हो भने शुभ अंक ५ रहेको छ।
नयाँ वर्ष २०८२ को अनेक तरिकाले नव वर्षको स्वागत गर्ने तयारी भइरहेको छ । अब त वर्ष मात्र नयाँ नभईकन दशक पनि नयाँ भएको छ । नयाँ वर्षलाई स्वागत गर्ने अनेक तरिकाहरू छन् । जसमा नीमको पात खाने र तेल लगाउने तरिका एउटा परम्परागत मान्यता हामी कहाँ छ । जुटशित्तल, सिरुवा, नयाँ वर्ष, नयाँ साल लगायत थुप्रै नामले नव वर्षलाई चिनिन्छ । राजा बिक्रमादित्यले चलाएको सम्वत्को २०८२ औँ संस्करणमा पाइला चाल्दा तपाई हामी सबै साथ छौँ । साल फेरिँदै जान्छन्, शताब्दी थपिँदै जान्छन् । अनि फरक हुँदै जान्छन् सामाजिक आयामहरू । बस मानिस–मानिसबिचको नाता अनि स्नेहमा कमी नआओस्, हाम्रो कामना यही छ । कुनै पनि चाड सुरु हुन अगावै तेल लगाएर उक्त चाडको सुरुवात गर्नु एउटा परम्परागत चलन हो । होली, तिहार लगायत अन्य चाडहरूमा पनि केही दिन अगावै शरीर र कपालमा तेल लगाएर उत्सर्गको औपचारिक सुरुवात गरिन्छ ।

यो बसन्त क्रृतुको उल्लासमा घर–घरमा मुस्कान अनि आँपका बोटहरुमा आँपका मजुराहरु पनि फुलेका छन् । आजको दिन आँपको रुखमा फुलेका मजुराहरु टिपेर खाने चलन पनि छ । यसरी औपचारिकताका लागि आँपका मजुराहरु टिपेर खाने चलन छ । यसो गर्नाले आँउदा दिनहरुमा आँप सप्रने अनि सबै मजुराहरु टिकुला बन्ने सम्भावना बलियो रहन्छ । आउँदो नयाँ वर्षले सबैलाई मजबुती र स्वास्थ्यकर जीवन प्रदान गरोस् । चिताएको पुगोस् ।

भगवान शिवकी प्यारी माता पार्वतीको गौरी स्वरुपको पूजालाई गणगौर पूजा भनिन्छ । यस पूजामा बिबाहिता नारीहरुले आफ्ना पति र सन्तानको चिरन्जीवी र नैरोग्यताको कामना गर्दै व्रत र पूजा गर्छन् । अबिबाहिताहरुले कुशल र योग्य पतिका लागि कामनासहित व्रत बस्ने चलन छ ।
माता पार्वती एकपटक आफ्नो माइतीबाट घर फर्कने क्रममा भगवान शिव स्वयं माता पार्वतीलाई लिन पुग्नु भएको कथा छ । यसरी भगवान शिवको आगमनपश्चात् माइती पक्ष खुशी भएर माता पार्वतीलाई गरेको उल्लासपूर्ण विदाई र पूजालाई ‘गणगौर पूजा’ले प्रतिनिधित्व गर्छ ।
गणगौर पूजा गर्दा व्रत बस्ने कारण के हो?
अर्को कथनअनुसार एकपटक नारदमुनी, भगवान शिव र माता पार्वती पृथ्वीलोकमा विचरण गर्न आउनुभयो । यसरी पृथ्वीलोकमा आउँदा एउटी समाजले घृणा गरेर अछुत मानेर भेदभाव गरेको महिलाकोमा उहाँहरु बास बस्नुभयो । राति पाहुनाहरुलाई ती महिलाले विभिन्न परिकारहरु पकाएर स्वागत गरेको र भगवान शिव प्रसन्न भएर ती महिलालाई सदा सुहागन हुनु भनी आशिष दिएको उल्लेख छ । आजको दिन जातीय भेदभाव उन्मुलनका लागि पनि तथ्यपरक कथा बोकेर आएको दिनका रुपमा मानिनु जरुरी छ । भगवानको घरमा कसैलाई भेदभाव छैन, यो स्पष्ट छ ।
गणगौर पूजा त तराई क्षेत्र अनि भारतका विभिन्न शहरहरुमा निकै उल्लासका साथ मनाइन्छ । कतिपय ठाउँमा त यो पूजा चैत महिनाको शुरुबाट मनाइन्छ । शिव र पार्वतीको एकरुपताको पैरवी गर्दै नारी शक्तिको उपासना गर्ने यस पूजाले सबैलाई खुशी दिओस् । जयहोस् ।
-हाम्रो पात्रोका लागी सुयोग ढकाल ।


