Nepali New Year / Mesh Sankranti / Biska Jatra/Matsya Jayanti Wrata | नयाँ वर्ष / मेष संक्रान्ति / बिस्का: जात्रा/मत्स्य जयन्ती व्रत | २०७८ वैशाख १ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Apr/May 2021
    २०७८ वैशाख

    बुधवार
    Apr 14, 2021
    चैत शुक्ल द्वितीया
    नयाँ वर्ष / मेष संक्रान्ति / बिस्का: जात्रा/मत्स्य जयन्ती व्रत ( Nepali New Year / Mesh Sankranti / Biska Jatra/Matsya Jayanti Wrata )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    नयाँ वर्ष २०७८ | बिस्का: जात्रा | मेष संक्रान्ति | मत्स्य जयन्ती व्रत





    नयाँ वर्ष विक्रम सम्वत् २०७८ : आजदेखि हाम्रा सामु उपस्थित भएको छ । सबैमा नयाँ वर्षसँगै सुख, शान्ति, लक्ष्य प्राप्तिमा सफलता मिलोस् ‘हाम्रो पात्रो’ सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छ !

    आजको दिनबाट हामी अर्काे वर्षमा प्रवेश गर्दैछौं । यो नव वर्ष बितेका वर्षहरू भन्दा फरक अवश्य हुनेछ । यसपालि नव वर्षमा हामी एक अर्कासँग अङ्कमाल गरेर हैन, सामाजिक दूरी कायम राख्दै एक अर्कालाई शुभकामना व्यक्त गर्दैछौं । हामी अघिल्लो वर्ष नयाँ वर्ष शुरु हुँदा पनि कोराना भाइरसको सन्त्रासमा थियौ । एक वर्षभरि हामी त्यसैबाट गुज्रियौ । यो नयाँ वर्ष शुरु हुँदा पनि कोभिड–१९ बाट विश्वलाई मुक्ति मिलेको छैन । विश्व नै कोभिड–१९ को दोस्रो चरणमा प्रवेश गरेको छ ।

    त्यसकारण पनि यो नव वर्षको उत्साह हामीले भीडभाडमा घुमफिर गरेर होइन कि घर आँगन र सीमितबीच मात्र रमाउन सुझाव दिन चाहन्छौं । कोराना भाइरसकै कारण बितेको वर्षको नयाँ वर्ष पनि हामीले धुमधामसँग मनाउन पाएनौ । यो वर्ष पनि सन्त्रासको स्थितिमा धेरै बद्लाव आएको छैन । त्यसकारण पनि सतर्कता अपनाउनु हाम्रो पीडादायी वाध्यता हो ।

    अझ हाम्रो समाजमा एउटा भनाइ निकै प्रचलित छ, ‘नयाँ वर्षको दिन जे गरिन्छ, वर्षभरि त्यही चलिरहन्छ ।’ यस अर्थमा हामीले बुझ्न सक्छौं, आजको दिन सुरक्षित भएर आ–आफ्नै घरमा बसे, सायद हामी वर्षभरि पनि यो महामारीबाट सुरक्षित रहनेछौं । म त विक्रम सम्वत् २०७७ लाई नै मास्कभित्रको वर्षका रूपमा व्याख्या गर्छु । मास्कभित्रका अनुहार । आँखा र निधार हेर्दै मानिस पहिचान गर्नुपर्ने वाध्यता । अनि हरेकका आँखामा त्रास । अनि हातमा स्यानीटाइजर धस्दा–धस्दा विरूप भएका हत्केलाहरू । बितेको वर्षभर ती दृश्य हाम्रा नित्य कर्म बने । अनि विश्व नै ‘लकडाउन’, ‘क्वारेन्टाइन’, ‘स्यानीटाइजर’ शब्दावलीसँग रम्नुपर्यो, वर्षभर ।

    अर्थात्, बितेको वर्ष कोरोना संक्रमणको दर, ‘क्वारेन्टाइन’, मृतकका संख्या अनि ‘लकडाउन’को फेहरिस्त हाम्रो दिनचर्या बन्यो । भन्ने नै हो भने विक्रम सम्वत् २०७७ ले जति हामीलाई पछिल्ला शताब्दीका अन्य कुनै वर्षहरूले सिकाउन सकेन । प्रविधि र प्रकोपको अनेक दोसाँधबाट वर्ष गुज्रियो । त्यति मात्र होइन, त्यही अन्यौल आउने वर्षलाई पनि सापट दिएर गएको छ । आशा गरौं, यो नयाँ वर्षहरू अलिक होलो–खुकुलो हुन् ।

    आउनुहोस् नेपालीहरूको नव वर्षको यो दिनमा सम्पूर्ण नेपाली मनहरूलाई मात्र नभई विश्वभरकै मानव जातिको सुस्वास्थ्यको कामना गरौं । यो नेपाली नव वर्ष विश्वको लागि नै सुरक्षित अनि स्वस्थ्य सावित होस् ।

    नव वर्ष २०७८ को हार्दिक मंगलमय शुभकामना ! हर पाइलाले सफलता चुमिरहोस् ।

    हरेक वर्ष पुरानो क्यालेन्डर थन्काउँदै नयाँ क्यालेन्डरलाई स्वागत गर्छाै । नयाँ वर्षको क्यालेन्डरका नयाँ पानाहरूसँगै नयाँ अवसर र आशाहरू पनि देखा पर्छन् नै । यी वर्षहरू भनेका किताबका नयाँ अध्यायहरू झैं हुन्, जसको आउँदा अध्यायहरू पनि पढ्न अनि पल्टाउन बाँकी उत्साहजनक पानाहरू जस्ता हुन् । लेखिन बाँकी कपीका सादा पानाहरू जस्ता जहाँ दिनहरूले अनि महिनाहरूले बाँच्दै जाँदा अनि हाँस्दै, खिन्न हुँदै जाँदा अनुभवका अक्षरहरू भर्दै जान्छन् ।

    अर्कोतर्फ गत वर्षमा हामीले मारेको फन्को पनि उत्तिकै उल्लेख्य छ । बितेका वर्षहरूका राम्रा नराम्रा अनुभव, याद अनि कदमहरू संगाल्दै स्वागत छ, नयाँ वर्षको संस्करणमा ।

    शुभकामनाका खातहरू अनि शुभेच्छाका मालाहरू चढाउन चाहन्छ हाम्रो पात्रो परिवार, नव वर्ष २०७८ को । सिरुवाको शुभकामना ! जुटशितलको शुभकामना !! बैशाखीको शुभकामना !!!

    विद्यालय जीवनमा फिल्मी हिरो अनि हिरोइनका तस्बिरमा लेखिएका शायरी तथा शुभकामना सन्देश प्रेषण गरिने कार्डहरूदेखि हिजोआज फेसबुक, ट्वीटर लगायत सामाजिक सन्जालका भित्ताहरूमा लेखिने शुभेच्छासम्म, नयाँ वर्षमा आमाले पकाउनुभएको सेलरोटी र काक्राको अचार विविध परिकारहरूदेखि, विदेश अनि खाडीका मरुभूमिमा घर फर्कन क्यालेण्डरमा रातो धर्का कोर्दै बस्नुभएका औंलाहरूसम्म यो नयाँ वर्षको उत्साह अनि उत्सर्गको कमी नरहोस् । तराईको न्यानो रापले हिमाल गलेर बनेको कञ्चन पानी जनजनमा मीठो मुस्कान बनेर शितलता प्रदान गरोस् । सामाजिक अनि नवयुगको फरक चेतले उर्जावान बनेर अब देश माया, प्रेम, सद्भाव, समभाव अनि विश्वासले अघि बढोस्, स्वागत छ यो नयाँ वर्षलाई ।

    बितेको वर्ष जे भयो भयो, नराम्रोले सिकाएर गयो । जे भयो राम्रो त्यसले सजाएर गएको ठान्नुपर्छ । अबको वर्ष शुभ हुन्छ । प्रगति हुन्छ । अनि स्वस्थ्य, सुखद र कल्याणकारी हुन्छ, हामीले उत्साही विश्वास राख्नुपर्छ ।

    आराध्यदेव, राष्ट्रदेव महादेव झैँ ‘समय’ पनि शून्य अनि निराकार, अन्त्यहीन अनि बलवान पनि । समय रोक्न, नियन्त्रण गर्न मानिसको बशको सवाल होइन । तथापि मानिसहरू निरन्तर साहस गरिरहन्छन्, समयलाई आफ्नो प्रकारले गणना गरिरहन्छन् । हात या भित्तामा भएको घडी अनि क्यालेण्डरहरूले यस्ता समयको मापन गर्ने गर्छन्, दिन, घडी, पला, नक्षत्र, पक्ष, मास अनि वर्षहरू फेरिरहन्छन् । सँगै धर्तीमा अनुहार फेरिरहन्छन्, अनि फेरिन्छ, मानिसहरूका पेरिफेरी पनि ।

    फूलेका आँप, लिच्ची, दाना बसेका नासपातीका हाँगाहरू, बोट–बिरुवामा भर्खरैका चिल्ला पातहरूले बसन्त आगमनको सूचक स्वरूप कुहु–कुहु गरेका सुन्दर कोइलीका सुमधूर गीतले पनि सबैलाई नव वर्षको शुभकामना सन्देश प्रवाह गरेझैँ लाग्छ ।
    गत वर्षको तीता–मीठा यादहरूलाई याद मात्रै बनाउँदै भित्ताका क्यालेण्डरहरू पुराना भए । हात–हातमा भएका मोबाइलले डिजिटल क्यालेण्डरका रूपमा अपडेटेड ‘हाम्रो पात्रो’ यहाँहरूका लागि विक्रम सम्वत् २०७८ का विशेष पारम्परिक चाडवाड, वैदिक कर्मकाण्डी, सामाजिक, राजनीतिक तथा सरकारी सम्पूर्ण आधिकारिक जानकारीका साथ उपलब्ध छ ।
    यहाँहरूले एप्लिकेशनका लागि देखाउनुभएको हौसलापूर्ण संलग्नता र सल्लाह सुझावले हामी हाम्रा तमाम प्रयोगकर्ताहरूप्रति कृतज्ञ छौं । वि.सं. २०७८ ले गज्जबसँग सम्पूर्ण नेपालीजनका असल सोचहरूलाई सफलताका सगरसम्म डो¥याओस्, फलोस फुलोस अनि फक्रिओस् ।

    संसारभरिका मानिसहरूले विभिन्न प्रकारका आ–आफ्नै तरिकाले र आ–आप्mनै समयमा नयाँ वर्ष मनाउने चलनमा ल्याएका छन् । तर विक्रम सम्वत् भने एउटा पुरानो अनि ऐतिहासिक सम्वत्का रूपमा विशेषतः पूर्वीय दर्शन अनि पौराणिक वैदिक सनातन संस्कारमा ब्याख्या गरिएको छ । विक्रम सम्वत् अङ्ग्रेजी सम्वत् अर्थात् एडी भन्दा ५६ दशमलव ७ वर्षले अगाडि छ । यसबाटै प्रमाणित हुन्छ यसको महत्व अनि मानव सभ्यतामा वैदिक सनातन हिन्दू धर्मको प्रभाव र उमेर । विक्रम सम्वत् समग्र तिथि मितिहरू पृथ्वी र चन्द्रबीचको कोण अनि अवस्थितिमा फरक पर्छन्, सायद त्यसैले पनि यसलाई चन्द्रमास भनिएको हुनपर्छ ।

    कसरी मापन गरिन्छ त चन्द्रमासमा समयलाई ?
    चन्द्रमा र सूर्यबीचको देशान्तरीय कोणको १२ डिग्रीको वृद्धि हुने समय मापनलाई तिथि भनिन्छ । सामन्यतया १९ देखि २६ घण्टासम्मको एउटा तिथि हुन्छ । पक्ष भन्नाले १५ वटा तिथिहरू हुन र कृष्ण र शुक्ल पक्ष गरी दुईवटा पक्षहरू हुन्छन् । दुईवटा पक्षहरू मिलेर लगभग २९ दशमलव ५ तिथिको एउटा मास हुन्छ । नयाँ चन्द्र उदाएपछि कृष्ण पक्षको अँध्यारो निष्पट्ट समयसम्मको पक्ष एक मास हो ।

    २ मासको एक ऋतु हुन्छ, ३ ऋतुको एक आयना हुन्छ अनि एक वर्ष भनेको २ आयना हो ।

    प्राचीनकालमा राजा विक्रमादित्यले शुरुवात गरेका यो सम्वत् नेपालको औपचारिक, आधिकारिक सम्वत् पनि हो, जसको औपचारिक आत्मसात् नेपालले श्री ३ चन्द्र शम्शेरको पालादेखि गरेको हो ।

    विक्रम सम्वत् अनुसार हरेक नयाँ वर्ष वैशाख महिनाको १ गते अर्थात् आजकै दिनबाट सुरु हुन्छ । विक्रम सम्वत् सूर्यसँग सम्बन्धित भएकाले महिनाहरू पनि ग्रह नक्षत्रका नामसँग सम्बन्धित छन् । नेपालको सम्वत् प्रणाली सूर्य पात्रोसँग सम्बन्धित छ ।

    जब पृथ्वीले सूर्यको एक परिक्रमा पूरा गर्छ, त्यतिबेला चैत्र शुक्ल प्रतिपदा हुन्छ र सूर्य मिन राशीबाट पुनस्चः मेष राशीमा प्रवेश गर्नेगर्छ । यही बेला नयाँ वर्षको शुरुवात हुन्छ, जसलाई सूर्यको शून्य अंश पनि भनिन्छ ।

    बैशाखको घामसँगै प्रारम्भ भएको यो सम्वत् क्रमशः वर्षाको रोपाई, गोडमेल अनि दशैं तिहारको रौनक हुँदै अन्नबाली भित्राइँदै, हिउँदको सिरेटो छिचोल्दै चैतमा आइपुगेपछि अन्त्य हुन्छ । यसबीचमा अन्य धेरैखाले माहौल र चाडबाड पर्छन् । विशेष तिथि मिति लगायत अनगिन्ती चाड–पर्वहरूले नेपाली समाजलाई आफ्नो परम्परा, संस्कृति तथा रहनसहनका वास्तविक चित्रहरूले सजाउने गर्छन् ।

    तराईमा आजको दिनलाई सिरुवा भनिन्छ भने पूर्वी तराईमा जुटशितल भनेर एक–अर्कामा पानी छ्यापेर मनाउने चलन छ । बारीमा पाकेका केरा, दही लगायतका खानेकुराहरू खाने अनि विशेषतः तरुवा, भरुवा अनि मुन्गा अर्थात् सोइजनको तरकारी खाने चलन आजको दिनमा ब्यापक छ । सिरुवाका मेलामा नयाँ लुगा लगाएर जाने, जिलेबी खाने अनि खेलौनाहरू किन्ने आज केटाकेटीहरूका लागि विशेष रौनक रहन्छ । तराईमा कहीँ–कतै पाकेका गहुँहरू त काट्न पनि थालिसकियो होला, आलसका र खेसारीका दानाहरू भित्राईसकियो कि बाँकी छ ?

    पहाडका खेतका गराहरूमा छरिएका मकैहरू चराहरूले नखाउन भनेर बुख्याँचा राख्ने चलन र बुख्याँचा बनाउने समय र नयाँ वर्षको उत्साह लगभग एकै समयमा पर्छ । चराहरूले मकै नखाउन्, सरोवर उम्रिउन मकैका बोटहरू, अनि त शहरमा तपाई मल्टिप्लेक्समा चलचित्रको मनोरञ्जन लिंदै पप–कर्न र चीसोको मज्जा लिन पाउनुहुनेछ । टोल, बजारमा ठेलामा सल्काइएका कोइलामा पोलिएका मकैको स्वाद लिन पाउनुहुनेछ ।

    पहाडी, मध्य पहाडी भेक अनि हिमाली भेकमा पनि उत्साहका साथ मीठो खाएर, राम्रो लगाउँदै नयाँ वर्ष उत्साह–उमङ्ग साटासाट गर्ने गरिन्छ । बैशाखका शुरुवाती दिनहरूमा भएका अनि गरेका कुरा वर्षभरि दोहोरिन्छ भन्ने विश्वास राखिन्छ । अनि यी शुरुवाती दिन मीठो खाने, राम्रो लाउने अनि सकारात्मक विचार ल्याउने दिनका रूपमा लिइन्छ । टिभी, रेडियो, पत्रपत्रिका सबैतिर नयाँ वर्षको शुभकामना छाएका छन् ।

    कोराना भाइरसले विश्वलाई नै दुःखी बनाएको बितेको वर्ष बिर्सिएर स्वस्थ सास अनि खुशी, सुखी आफ्ना सन्तानले काँधमा काँध थापी विकास सहकार्यमा अघि बढ्दै गरेको देखाउनु छ । के मधेशी, के पहाडी, के हिमाली, के शुद्र, के ब्राम्हण, के जनजाती ? सबैलाई एकताको सूत्रमा बाँध्न सक्ने नेपाल आमाको यो आँगन झन् रङ्गीन अनि बलियो बनाउन सक्ने हिम्मत राष्ट्र अभिभावकलाई प्राप्त होस्, सीमाना सुरक्षित बनाउनु छ । सबै नेपालीजनमा हामी एक थियौं, छौं र अनन्त एक भई रहिरहनेछौंः
    के रङ्गीन चरा ताज भिर्छ यहाँ र?
    जो जगमा उसकै राज चलोस्
    काली कोइली सुमधूर बोली छर्छे गज्जबको
    हिम्मत छ कसैले त्यो छल्न सकोस् ...


    अर्थात् रङ्गकै भरमा कोही समाजको अगुवा कदापि बन्न सक्दैन,
    समाज सिङ्गार्ने सुमधूर धूनको सर्जक जोसुकै हुनसक्छ, जस्तो सुकै हुन सक्छ ।

    रगत हैन पसिना बगोस्, बालीनाली खुबै सप्रियोस् अनि हृदयमा शान्ति र शरीरमा कान्ती छाओस् । संसारैभरि यो वर्ष धर्म, संस्कार अनि परोपकारको जय होस्, अधर्मको नाश होस्, विश्वको कल्याण होस्, प्राणीमा प्राण होस् अनि प्रकृतिले माया गरुन र प्रकृतिलाई माया गर्ने समाजको पनि विकास होस् । जय जय देश, जय जय नेपाल, नव वर्ष २०७८ को मंगलमय शुभकामना !
    ––––
    शुभेच्छुकः
    हाम्रो पात्रो परिवार
    प्रस्तुतिः सुयोग ढकाल
    कविताः एस.के. देवकोटा

    बिस्का: जात्रा


    विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस संक्रमणकै कारण यो वर्षको बिस्का जात्रालाई पूजामै मात्र सीमित गर्ने निर्णय गरिएको छ ।

    जात्रा, पर्व अनि तिथि–मिति त कसैले नेपालबाट सिकोस् । हरेक दिनलाई हामी पर्व झैं मनाउछौं । हरेक हर्ष अनि उत्सवको उत्सर्गमा मनाउने यो चलन यो वर्ष सम्भव नभएपनि यस वर्ष भन्दा बाहेक सदासर्वदा कायम रहोस् ।

    विक्रम सम्वत्को नयाँ वर्षको प्रथम दिन नै राजधानी काठमाडौँ वरपर भक्तपुर, धापासी, ठिमी, टोखा लगायतका ठाउँहरूमा बिस्का जात्रा मनाइन्छ । बिस्का यो जात्राको पुरानो र मौलिक नाम हो, बिस्केट हैन । विक्रम संवत्को प्रथम दिनमै यस जात्रा परेता पनि यो जात्रा मनाउने कारणहरू विक्रम सम्वत्सँग जोडिएको पाइँदैन् । बिल्कुल फरक र मौलिक यस जात्राका विषयमा केही कुराहरू प्रस्तुत छः

    ठिमीको बालकुमारी अनि भक्तपुर दरबार स्क्वायर क्षेत्रमा बिस्का जात्राको मनोरम रौनक रहन्छ । किंवदन्ती अनुसार नागको मृत्युसँग यस जात्राको सम्बन्ध छ । बिस्काको अर्थ नै सर्पको मृत्यु भन्ने हुन्छ । भैरव र भद्रकालीको भीमकाय रथ तानेर खल्ला टोल लगिन्छ । टौमडीस्थित न्यातपोल मन्दिर अघिल्तिर राखेर हरेक वर्ष चैत महिनामा यस रथलाई तयार गरिन्छ । मुख्य आकर्षण त रथलाई भक्तपुरका माथिल्लो र तल्लो भागका बासिन्दाले आ–आफ्नो क्षेत्रमा तानेर लिएर जाने क्रममा भएको तानातान हो । बडो गज्जबको प्रतिस्पर्धाबीच जात्राले क्रमशः रौनक थप्दै जान्छ । पछि रथलाई तानेर खल्ला टोल लगिन्छ ।

    उता ठिमीमा भने सिन्दुर जात्रा पनि निकालिन्छ । लयाकुमा ठिमीका बासिन्दाले आ–आफ्नै स–साना रथ ल्याउने गर्छन्, धिमे बाजाको मधुर संगीतमा सिन्दुरी नयाँ वर्ष झनै गज्जब हुन्छ । उता बोडेमा चाहिँ जिब्रो छेड्ने गरिन्छ । नयाँ वर्ष शुरु गर्ने उत्साहजनक परिवेश यस जात्राले प्रदान गर्छ ।

    यी विविध क्रियाकलाप अनि उत्सर्गको यस जात्रा नयाँ वर्ष प्रारम्भ हुनु ४ दिन अगावै शुरु हुने गर्छ । यो जात्रालाई शत्रुहन्त जात्रा पनि भनिन्छ । जात्रामा भक्तिभावसहितको सहभागिता जनाउनाले शत्रुक्षय हुने पनि विश्वास राखिन्छ ।

    सुरक्षाका हिसाबले यस जात्रा संवेदनशील मानिन्छ । तसर्थ सुरक्षा–निकायहरू यस जात्रामा विशेष रूपमा तैनाथ गरिन्छन् ।

    कला, संस्कार, परम्परा अनि इतिहास बोकेका यी जात्रा जुगौजुग अघि बढोस् । नवपुस्ताले यसको महत्व र गरिमा बुझ्न सकून् । सबलाई सुख होस् । सबको जय होस् । मंगल होस् ।

    मेष संक्रान्ति


    बैखाख १ गते अर्थात् मेष सक्रान्ति पनि हो । १२ वटा राशिहरूका आधारमा १२ वटा महिना निर्धारण भएका छन् । बैशाख अर्थात प्रथम महिना अनि यसै महिनामा प्रथम दिन अर्थात १२ वटामध्ये प्रथम राशि मेष राशिको सक्रन्ति ।

    यो संक्रान्तिका दिन विभिन्न परिकार पकाउने, खाने चलन हुन्छ । लामा लामा त्यान्द्रा भएका रुखमा फल्ने सजिवनको तरकारी, तरुवा, भरुवा अनि अन्य परिकार खाने चलन हुन्छ । विशेषतः तराईका भू–भागमा आजबाट विभिन्न स्थानीय मेलाहरूको समेत शुरु भएको छ ।

    गहुँ काटेपछिको छ्वालीहरू बग्रेल्ती भएका खेतमा आली आलीमा राखिएका पसल, खेलौना अनि खानेकुराका त्रिपालले बेरिएका पसलहरूको रौनक बेग्लै हुन्छ । मेलाको यस्तै रौनक पहाडी अनि मध्यपहाडी भू–भागमा पनि देख्न सकिन्छ । समग्र संक्रान्तिहरूमा आजको यो मेष संक्रान्ति सबैभन्दा रंगीन संक्रान्ति हो ।

    नयाँ कक्षामा बढोत्तरी हुने विद्यार्थीदेखि जागिरे जीवनमा नयाँ वर्षको प्रवेश सम्म । अबको वर्षमा गरिने योजना अनि सफलता सूत्रहरू नेपाली जीवन शैलीमा मेष सक्रान्तिकै दिनमा शुरु गरिन्छ ।

    माया गर्नेहरू तल नपरुन् । सपना देख्ने आँखा सँगै पाइला पनि अघि बढून् । यस वर्ष विश्वको कल्याण होस् । प्राणीमा प्राण होस् अनि सत्यको जय होस् ।

    मत्स्य जयन्ती व्रत

    मत्स्य अवतार भगवान विष्णुको प्रथम अवतार मानिन्छ । म यहाँनेर चाल्र्स डार्विनको ‘इभ्याल्यूशन थ्यौरी’लाई मत्स्य अवतारसँग जोडेर ब्याख्या गर्ने जमर्काे गर्छु ।

    ‘इभोल्यूशन थ्यौरी’ अर्थात् अनुकूलताको सिद्धान्तमा एकल कोष भएका जीवहरु पानीबाट क्रमशः अनुकूलताका आधारमा विकास हुँदै गएको बताइएको छ । यता सनातन दर्शनमा पनि श्रृष्टिको ब्याख्या गर्दा कमलको फूल, माछा अवतार अनि कछुवाका सन्दर्भहरु आउँछन् । यसअर्थमा मानव विकासको प्रथम आधार चाहिँ जलचर भएको कुरामा सनातन दर्शन र विज्ञान दुवैमा कुनै दुईमत छैन । भगवान विष्णुको पनि प्रथम अवतारका रुपमा मत्स्य अवतारलाई लिइन्छ ।

    महाप्रलयका समयमा एउटा सिंग भएको माछा उत्पन्न भएको कुरा ग्रन्थहरुमा पाइन्छ । चैत्र शुक्लपक्षको तृतीयामा मत्स्य जयन्ती मनाइने गरिन्छ । एक दिन अगावैबाट शुद्ध भोजन गर्ने, भगवान विष्णुको भजन कीर्तन गर्ने र जाग्राम बस्ने चलन पनि छ । यसरी मत्स्य जयन्तीकै दिनमा चाहिँ विष्णु सहस्त्रानाम, विष्णु पुराण लगायतका ग्रन्थहरु\पाठ गर्ने र श्रोता र वक्ता सबैले चित्त लगाएर मनन गर्ने चलन छ ।

    यस दिन गरिने दानपुण्यको पनि ठूलो महत्व छ ।

    म थोरै मत्स्य अवतारको ब्याख्यामा थप हौसिन चाहन्छु । सत्ययुगको शुरुवात भन्दा अगावै कलियुगको अन्तका क्रममा सबै कुराहरुलाई विनाश गर्ने क्रम चलिरहेको थियो । हामी सबैलाई थाहै छ कि चार युगका आधारमा सनातन दर्शनमा समग्र मानव अवस्थितिलाई बाँडिएको छ ।

    यसरी एउटा पूर्ण चक्र, सत्य, त्रेता, द्वापर र कलिको वृत्तपछि विनाशको संघारमा भगवान ब्रह्मा नयाँ सत्ययुगको श्रृजना गरेर निदाएको अवस्था थियो । यसै क्रममा धर्म–दर्शनका बहुउपयोगी ग्रन्थहरु वेद, उपनिषद् लगायतका अन्य थुप्रै श्रोतहरु बोकेर हायागृभ नामका दैत्य समुन्द्र मुनी लुक्न गए । यिनै हायागृभलाई खोजी गर्न र सबै ग्रन्थहरु फिर्ता ल्याउन भगवान विष्णुले मत्स्य अवतार लिएको उल्लेख छ । आज तिनै मत्स्य अवतारको जयन्ती, सबैलाई शुभकामना । यस वर्ष शुभसँग बितोस् ।

    हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.