Mohini Ekadashi Wrata/Yug Kawi Siddhi Charan Shrestha Janma Jayanti | मोहिनी एकादशी व्रत/युग कवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती | २०७८ जेठ ९ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    May/Jun 2021
    २०७८ जेठ

    आइतवार
    May 23, 2021
    वैशाख शुक्ल द्वादशी*
    मोहिनी एकादशी व्रत/युग कवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती ( Mohini Ekadashi Wrata/Yug Kawi Siddhi Charan Shrestha Janma Jayanti )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    मोहिनी एकादशी व्रत | युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती




    मोहिनी एकादशी व्रत विशेष अडियो सामग्री

    वर्षका अन्य सबै एकादशीहरु झैं मोहिनी एकादशीको पनि अुचक र अलग महत्व छ । आजका दिन व्रत बस्नाले धेरै फलिफाप हुने र निरोगी रहने मान्यता छ । अन्य एकादशीहरु झैं यस एकादशीमा पनि बिहानै नुहाईधुवाई गरेर भगवान विष्णुको अर्चना र पुजा गर्ने चलन छ । विष्णु सहस्त्रानामको पाठ देखि हरिकिर्तनसम्म गर्ने, एकादशी महात्मयको वाचन गर्ने अनि राती जाग्राम बस्नेसम्म चलन हुन्छ ।

    बैशाख महिनाको शुक्लपक्षको एकादशीलाई मोहिनी एकादशी भन्दछन् । यस एकादशीमा भक्तिपूर्वक अर्चना गर्ने, एकादशी महात्मय सुन्ने अनि व्रत लिने गरेमा पाप मोचन हुन्छ, सांसारिक मोहवाट छुट्कारा पाइन्छ भनेर नै यस वसन्त रितुको पान एकादशीलाई मोहिनी एकादशी भनिएको हो ।

    सरस्वती किनारमा एउटा राज्य छ जसमा एकजना चन्द्रवंशी राजा राज्य गर्दछन् । यसै राज्यमा एकजना वैश्य अर्थात व्यापारी बस्छ जसको नाम धनपाल हो र उ पुण्य कार्य अनि दानमा लागिपरेकै हुन्छ । धनपालका ५ छोराहरु छन् जसमा कान्छो छोरा पाप कर्ममा लागेको हुन्छ । जुवातास अनि वेश्यागमनमा उनी आशक्त छन् भने दुव्र्यसनमा पनि उनी उस्तै लालाहित छन् ।

    धनपालले केही नलागेपछि आफ्नो मनमा पत्थ राखेरै भएपनि कान्छा पुत्रलाई नराम्रो आचरणका कारणले घरनिकाला गर्दछन् । भोजन र छतको अभावमा धनपालका कान्छा छोरा महर्षि कौडिन्यको मा पुग्दछन् । महर्षि कोडिन्यको सुझावमा यसै मोहिनी एकादशीको व्रत लिनाले धनपालका कान्छा पुत्रले आफ्ना आशक्तिवाट मुक्ति पाउछन् । यसै एकादशी व्रतको प्रतापले पाप मोचन हुने र सांसारिक मोह र आशक्तिवाट मुक्त हुने भएकाले यस एकादशी बिशेष रहन्छ । जीवनको सत्मार्ग अनि सत्संगको परिवेश यस एकादशीले सबैको जीवनमा ल्याइएदियोस्, शुभकामना ।

    युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती 


    आज हामीले तपाईँहरूलाई बि.सं १९६९ मा लान चाह्यौं, त्यो पनि पूर्वी नेपालको पहाडी जिल्ला ओखलढुङ्गामा । जहाँ लगभग आजभन्दा १०९ वर्षअघि नेपाली साहित्यका मूर्धन्य व्यक्ति युगकवि सिद्धिचरण श्रेष्ठको जन्म भएको थियो ।

    हरेक वर्ष जेष्ठ शुक्ल पञ्चमीका दिनमा युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती मनाउने गरिन्छ । यो वर्षको जेष्ठ शुक्ल पञ्चमीका दिन पर्न गएको युगकविको जन्म–जयन्तीको चर्चा गर्न चाह्यौं । कवि श्रेष्ठका कविताहरू आज पनि उत्तिकै मर्म–प्रेमी र सान्दर्भिक छन् । अनि सौन्दर्यको परख पनि उत्ति नै । त्यसैले नै उहाँलाई युगकवि भनिएको हुनुपर्छ । शुरु गर्न चाह्यौं उहाँका केही नसुनिएका कविताहरूसँगै ।

    पौडिरहेको माछा जस्तै
    उडिरहेको चरा जस्तै,
    दौडिरहेको समय जस्तै
    उसले उसलाई देख्यो ।
    पानीसँग गई उसले भन्यो
    ‘त्यो माछालाई समात्छु’
    आकाशसित गई जोड लगायो
    त्यो चरालाई पक्रन्छु
    महाकालसित गई बिन्ति चढायो
    समयलाई म रोक्छु ।
    हुन्न कसैले पनि भनेनन्,
    अनि ती दुवैको बिहे भयो ।

    कति घुमाउरो तर कति गज्जबको भाव छ । यो कवितामा एउटा व्यक्तिको मनोभाव छर्लग्ग उतारिएको जस्तो । कसले भन्छ कि यो कविताले यतिधेरै बसन्त तय गरेको छ । सिद्धिचरणका पालादेखि अबका हजारौं वर्षसम्म पनि मानवमा यस्ता मनोभाव आइनैरहन्छन् । अनि याद आइनैरहनेछन्, कवि सिद्धिचरण श्रेष्ठ । यस कविताको अन्तमा आउँछ, अनि ती दुवैको बिहे भयो भनेर, कति मीठो सरलता छ मनोभावको निष्कर्षमा, बिहे त केवल एउटा बिम्ब न हो ।

    सिद्धिचरणको ‘मेरो प्यारो ओखलढुङ्गा’ कविता त झन् जन्मस्थल छाडेर बेग्लै कर्मस्थलमा आइपुगेका नेपालीहरूलाई जन्मस्थलको एउटा थेगो गान भएको छ । कविताको भावमा डुबेर छन्दहरू हुनु र नहुनुमा खासै फरक नपर्ने गरी मर्महरू थप्दै नारायण गोपालले दुरुस्तै गाएका छन्, यस कवितालाई गीतमा ।

    ओखलढुङ्गा र कवि श्रेष्ठ यति धेरै जोडिएका छन् कि ओखलढुङ्गा र कटारी जोड्ने राजमार्ग पनि यिनै कविको सम्झनामा सिद्धीचरण राजमार्गका रूपमा नामाकृत गरिएको छ । भाग्यको लहरामा लहरीकन आफ्नो जन्मस्थल छाडेर अन्यत्र गएका नेपालीहरूको ब्यथाको समभाव छ यस कवितामा ।

    पिता विष्णुचरण र माता नीरकुमारी श्रेष्ठका पुत्र सिद्धिचरणका भने ९ जना सन्तानहरू थिए । प्रथम पुत्र विश्वको ४ वर्षको उमेरमा मृत्यु भएपछि उनले आफ्ना पुत्रशोकको पीडालाई विश्व ब्यथा कृतिमा पोखेका छन् । यी महान कविले १३ वर्षको कलिलो उमेरमा नै कविता कोर्न थालेका थिए । बिसं १९९० को बिनाशकारी भूकम्पपछि उनले भूकम्पको कहालीहरूलाई बटुलेर भुइँंचाला नामक कविता संग्रह लेखेका थिए ।

    नेपाली अनि नेवारी दुवै भाषामा उनका कविताहरू पाइन्छ । दुवै भाषामा प्रखर ज्ञान भएका युगकवि सिद्धिचरण श्रेष्ठ आफ्ना अभिव्यक्तिहरूमा समाजको वास्तविक चित्रण गर्न र सुधारवादी धारहरू ल्याउन तल्लीन देखिन्छन् । उनका कवितामा सबैको भलो होस् र जय होस् भन्ने भावहरू पाइन्छ । वसुधैव कुटुम्बकमलाई यिनका कविता जति कसले पो चित्रण गर्न सक्लान् र ? शायद यस कविता भने उनले स्वतन्त्रताको द्योतकका रूपमा लेखेका हुनपर्छ ।

    आमा तिनीहरूले जेसुकै भनून्,
    म बहुला होइन ।
    मैले गर्न नहुने केही गरेर हिँडेकै छैन,
    बोल्न नहुने केही बोलेर हिँडेकै छैन ।
    मेरो आँखा छ, त्यसैले हेर्न पाऊँ भन्छु,
    पेट छ खान पाऊँ भन्छु,
    नाङ्गो भएर कोही नहिँडोस् भन्छु,
    आवाज कानले सुन्न पाओस् भन्छु,
    विचारलाई बोलीमा उतार्न पाओस् भन्छु,
    यत्तिकैमा पनि तिनीहरू
    मलाई बहुला भन्छन्,
    आमा, म बहुला होइन ।


    बहुलापनामा उनको स्वतन्त्रता, देशमोह अनि प्रजातान्त्रिक अभिव्यक्तिको स्वाद छ । राणा शासन ढलेपछिको उनको यो कविता पनि नपस्की बस्नै सकिएन् । कविताको शीर्षक हो, बा आउनुभएन् ।

    पानी परिरहेछ,
    हावा चलिरहेछ,
    समयले अबेर ओढिसक्यो,
    बत्ती बलिसक्यो,
    भात पाकिसक्यो,
    आमा कराउनु भइरहेछ–
    बा आउनु भएको छैन ।
    युग बदलिसक्यो,
    राणा ढलिसक्यो,
    भन्दछ जंजीर टुटिसक्यो,

    उनका कविताहरूमा सचेतना पाइन्छ । असमानताप्रति प्रसस्तै झटाराहरू उनले हानेका छन् । कविताहरू पढदै जाँदा त यी समाज सुधारक योद्धा झैं भान हुन्छ । आफ्ना कलमले बहुआयामिक प्रगतिका कुराहरू उठाएका छन् । समृद्धि अनि सुधारका कुराहरू कुँदेका छन् ।

    आफ्ना विचारहरू अनि स्वतन्त्रताउन्मुख धारहरूका लागि उनलाई जहाँनिया राणा शासकहरूले १८ वर्षको कारावास पनि तोकेका थिए । आफ्नो कवितामा ‘क्रान्ति’ भन्ने शब्द प्रयोग गरेकाले कवि श्रेष्ठलाई राणा शासकहरूले १८ वर्ष जेल तोकेका थिए ।

    एक जमाना थियो, जब कवि श्रेष्ठका कविताहरूका हरेक शब्द–शब्द तौलिने गर्थे । ‘क्रान्ति’ विरोधी शासकहरू । वर्षा शीर्षक कवितामा ‘क्रान्ति बिना थन दैमखु स्वच्छ शान्ति अर्थात् ‘क्रान्तिबिना यहाँ हुँदैन स्वच्छ शान्ति’ भन्ने पंक्ति परेको थियो । पिताको किरियामा समेत उनलाई जेल–नेलवाट मुक्त गरिएन् । भनिन्छ नेपाली राजनीतिक नक्षत्रका महान योद्धाहरू पनि जेलमा सिद्धिचरणसँगै राखिएका थिए । तीनैमध्ये गणेशमान सिंहले त धेरै पटक औपचारिक अनि अनौपचारिक भेटघाट र वक्तब्यमा समेत कवि श्रेष्ठको कविताको प्रेरणा अनि व्यक्तित्वको प्रशंसा गरेका थिए ।

    हुक्काका सौखिन कवि श्रेष्ठलाई आफन्तहरूले काजी दाई भनी सम्बोधन गर्दथे । शारदा पत्रिका, गोरखापत्र, दैनिक आवाज अनि कविता पत्रिकामा समेत कार्य गरेका थिए यी कविले । उतिखेर गोरखापत्र हप्तामा केवल २ पटक प्रकाशन हुन्थ्यो भने दैनिक आवाज र कविताका त यी सम्पादक नै थिए ।

    युगकविले धार्मिक आस्थाका विषयमा देवीघाट विषयक कविता पनि लेखेका छन् । यिनका कृतिहरूमा बिर्सन नसकिने केही नेपाली अनि नेपाल भाषाका कृतिहरूको नाम प्रस्तुत गर्न चाहन्छौं । नेपाली भाषामा उर्बसी, मेरो प्रतिबिम्ब, आँशु, कोपिला, विश्व ब्यथा, मगंल मान, जुनकिरी, कुहिरो र घाम, बाँचिरहेको आवाज, ज्यानमारा सैल, तिरीमिरीतन्त्र, बाली, भीमसेन थापा, युद्ध र शान्ति, आत्मा बिलौना, सिद्धिचरणका प्रतिनिधि कविता र सिद्धिचरणका जेल सम्झना पर्छन् । नेवा भाषामा भने लुम्बीनी, तृष्णा, फुस्वाँ, सिस्वाँ, ग्वयस्वाँ, मुस्वाँ, सिद्धिचरण निवन्ध संग्रह र घाम आदि पर्दछन् ।

    हिजो थिएन, भोलि नहुने आज यहाँ सिद्धीचरण छ,
    हाँस्छ, खेल्छ र रुन्छ, घुम्छ, आफ्नै गीत गाउँछ
    गहिरो कालो माथिबाट यौटा फिलिंगो उठेको,
    निभ्न खातिर पिलिपिलि गर्छ नाम जसको जिएको ।


    उल्लेखित विचार कवि श्रेष्ठका आफ्नै शव्दहरू साभार गरिएको हो, शायद हिजो थिएन कवि सिद्धिचरण तर अबका दिनमा सधै हुनेछ र रहिरहनेछ आफ्ना कृति अनि शब्दमार्फत् । कहिले हुलाक टिकट त कहिले सालिकमा सिद्धिचरण मुस्काइरहेको नेपालका धेरै ठाउँमा पाइन्छ । ओखलढुङ्गाको गाम्नाटारमा यिनको नाममा हाईस्कुल नै स्थापना गरिएको छ । युगलाई कवितामार्फत् सम्बोधन गरेका युगकविको मृत्यु भने बिसं २०४९ सालमा भएको हो । हरेक वर्ष जेष्ठ महिनाको ९ गते यिनै कविको जयन्ती मनाइन्छ । यस वर्ष पनि कवि श्रेष्ठलाई सम्झना अनि साधुवाद ।

    हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.