Ram Nawami/Chhanda Diwas | श्री राम नवमी व्रत/छन्द दिवस | २०७८ वैशाख ८ | Hamro Patro

आउँदा दिनहरु

राशीफल

साहित्य / ब्लग

Apr/May 2021
२०७८ वैशाख

बुधवार
Apr 21, 2021
Nawami
श्री राम नवमी व्रत/छन्द दिवस ( Ram Nawami/Chhanda Diwas )
MY NOTE
तपाईँले आजको मिति पछि को नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

श्री राम नवमी व्रत | छन्द दिवस





शुरु गरौं वाल्मिकी रामायणको एउटा घटनाक्रमबाट, एकदिन वानवासको बेला मर्यादा पुरुषोत्तम भगवान श्री राम र सीताबिच लुकामारी चल्दछ । एउटा सामान्य दम्पतीजस्तै मायालु भावहरुबिच चलिरहेको लुकामारीमा राम एक्कासी धेरै बेरसम्म लुकेपछी जङ्गलमा रहनुभएकी सीताले एउटा मिठो विलौना अझ भनौ पुकार गर्नुहुन्छ जसलाई भक्त कविर लगायत थुप्रै भजन श्रष्टाले छन्द अनि गधका रूपमा लेख्नुभएको छ । आउनुहोस्, सरल नेपाली भजनकारुपमा हाम्रो आफ्नै नेपाली भाषामा प्रस्तुत छ, केवल हाम्रो पात्रोमाः

सीता रानी आज्ञा गर्नुहुन्छ!
हे राम , कहाँ लुक्नुभएको,
आउनुहोस राम, हृदयको दियो जलाउनुहोस् राम
पुरुष महिलाबाट नै बनेको संसार, एउटा बिना अर्को बेकार
छुटेको साथ, मिलाउनुहोस राम, हृदयको दियो जलाउनुहोस् मेरा राम
मेरो बचन निभाउनु मेरा राम, हृदयको दियो जलाउनुहोस् राम

यी अनि यस्ता धेरै रोमाञ्चक भजन, घटनाक्रम अनि पात्रहरुले रामायणको समग्र प्रस्तुतिलार्इ एउटा महान ग्रन्थ बनाउन सकेको हुनुपर्छ ।

राम अनि सीताको जीवनको वरीपरी रहेर तुलसीदासले 'रामचरित्रमानस'मा अवधी भाषामा कथेका छन् । यसै रामचरित्रमानसका अवधी श्लोकहरुका आधारमा आज नेपालको तराई लगायत भारतका विभिन्न ठाँउमा रामलिला अनि श्लोकहरुकै लय अनि माधुर्यतामा रामसिताका कथाहरु प्रस्तुत गरिन्छ ।

कवि तुलसीदास प्रभू लेख्नुहुन्छः
राम राम कहि जे जमुहाहीं ।
तिन्हहि न पापांपुज समुहाहिं ।
तर्जनीभ्यायं नमः


अर्थात् पापका असरहरु तिनकालागि निस्तेज रहनेछ, जसले हाई काढ्दापनि रामको नाम लिन्छ ।

आउनुहोस् यिनै पापमोचन गर्ने जनक सुपुत्री जानकीको मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन अर्थात् अाज राम नवमी, असत्यको अन्धकारमाथी सत्य अनि मर्यादाको उज्यालोको प्रतिककारुपमा मनाईदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बिहरूले अाजको दिन श्रद्धा, भक्ति अनि आराधनाका माहौलबिच आज नेपाल, भारत, बङ्गलादेश, म्यानमार, थाईल्याण्ड, श्रीलङ्का, फिजी टापू, साउथ अफ्रिका अनि ईन्डोनेसियासम्म रामको जीवन अनि घटनाक्रम झल्काउने नाटक, सभा, किर्तन लगायतका कार्यक्रमहरुको अायोजना गर्ने गर्दछन् । हिन्दू धर्ममा आस्थावान जो कोही राम नवमीका दिन सबेरै नुहाइधुवाइ, शुद्ध बनी राम मन्दिरहरुमा पुगि पूजा आराधना गर्दछन् ।

राम नवमीका दिन राजधानीको बत्तिसपुतली, ललितपुर र भक्तपुरका अन्य राम मन्दिरमा भक्तजनहरुको भिड लाग्ने गर्दछ । राम नवमीमा जनकपुरस्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्दछ । उक्त मेलामा भारतबाट समेत हजारौं श्रद्धालु भक्तजन सहभागी भई पवित्र गङ्गासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजाआजा गर्दछन् । आज देशभरका नदि, ताल एवं कुण्डहरुमा नित्य स्नान गरी ब्रत बस्ने गरिन्छ र रामगीता पाठ गरिन्छ । साथै अध्यात्मयुक्त वाल्मीकीकृत्य भानुभक्तीय रामायण समेत वाचन गरिन्छ । रामभक्तियुक्त भजनकीर्तनका साथ रात्री जाग्राम बस्ने परम्परा समेत चलिअाएकोछ ।

राम मन्दिरहरुमा विहानैबाट घुँईचो रहने गर्दछ, आजको यस चैत शुक्ल नवमी धार्मिक, सांस्कृतीक अनि सामाजिकरुपमा वास्तवमै अत्यन्त महत्पूर्ण छ । बुवा दशरथको आज्ञा पूरा गर्नकालागि १४ वर्षसम्म वनवास जान मुस्कुराएरै तैयार हुने यिनै राम, जसको नाम अनि जीवनमा आधारित प्राचिन हिन्दू धर्म ग्रन्थ रामायण लेखिएको छ । यिनै रघुवंशी सत्यवक्ता, मर्यादा पुरुषोक्तम अनि ज्ञानी राम नामको कृपाले हामीसबैमा सत्यमार्गको द्वार खुलोस् ।

त्रेतायूगमा चैत्त शुक्ल नवमीमा जन्म लिएका यी विष्णुका अवतारको यस लोकमा आगमनको खुशियाली आज हजारौं वर्षसम्म पनि उत्तिकै उत्साह र श्रद्धाका साथ मनाईन्छ ।

। अहिलेसम्मको खोज अनुसन्धान अनुसार भगवान रामको जन्म इशापूर्व ७३९३ तिर दिनको मध्यान्न समयमा भएको थियो । वाल्मिकी पुराण अनुसार भगवान रामको जन्म पाँचवटा ग्रहहरु उच्च स्थानमा रहेका थिए । रामले परिवार, समाज र राज्यभित्र कायम हुनुपर्ने सवै मर्यादाको सधैं ख्याल गरेका कारण वहाँलाई मर्यादा पुरुषोत्तम भनिएको हो । भगवान रामको राज्य (राम राज्य) पनि न्यायकालागि नूमना मानिन्छ ।

रामलाई वैदिक सनातन हिन्दू धर्म संस्कृतिमा सबैभन्दा धेरै बढि पुजिने भगवानका रुपमा लिइन्छ । त्यहि भएर रामका भार्इहरू भरत, लक्ष्मण र शत्रुधन नाम गरेका अरु तीनजना भाईहरु थिए । भरतकी माता कैकेयीले छलपूर्वक दशरथ राजालाई परिबन्धमा पारेर रामलाई १४ बर्ष वनवास पठाएकी थिइन् । तर रामका प्रिय भक्त भएका कारण भरतले पनि वनमै पुगेर रामले लगाउने चप्पल (खराउ)लाई सिंहासनमा राखेर पुजेको किंवदन्ती छ । भगवान रामका सवैभन्दा असल साथी हनुमान हुन् । रामभक्त हनुमान रावणराज्य लङ्का तहननहस बनाउने प्रमुख पात्र पनि हुन् ।

राम अनि रावणको कुरा गर्दा खेरि दक्षिणी भारत लगायत श्रीलंका अनि माल्दिभ्ससम्ममा अझै पनि रावणलाई पनि राम जत्तिकै श्रद्धा मानेर पूजा गर्ने चलन छ । रामायणले समावेश नगरेको भएतापनि रावण आँफै अत्यन्त ज्ञानी भएको अनि मर्यादा पुरुषोक्तम रामको हताबाट वध भएमा मात्र आफू बैकुण्ठलोक पुग्ने भएकाले सीताको अपहरण गरि रामलाई आफूसँग यूद्धगर्न घटना रचेको भन्ने तर्कहरु पनि छन् ।

बैकुण्ठ निवासी भगवान विष्णुका सातौ अवतारका रुपमा श्री रामले असत्यका प्रतिरुप रावणको दुराचार र अन्यायका विरुद्ध विजय प्राप्त गरेका थिए । अयोध्याका राजा दशरथका जेठा छोराका रूपमा जन्म लिएका रामले मिथिलापुत्री तथा राजा जनककी छोरी सीतासँग विवाह भएको थियो । राम र रावणको जन्म कुण्डली एकै प्रकारको रहेको थियो । फरक( रामको कुण्डलीमा कर्कट लग्न र मेष रावणको लग्न थियो । त्यहि कारण अत्याचारी रावणको वध गरी अयोध्या राज्यका रैतीहरुलाई सुखशान्ति दिएका कारण भगवान रामलाई युगपुत्रका रुपमा पुजिन्छ ।

आजभोली सनातन धर्मका भगवानरुपी पात्रहरु राम, कृष्ण, हनुमान लगायतलाई केवल हिन्दुका सम्पतीकारुपमा ब्याख्या गर्न थालिएको छ । तर यो कुरा ठिक हैन्, भागवत गीता देखि पुराण्हरुका कुना कुना सम्म पनि हिन्दुधर्म लाई धर्म भन्दा पनि जिवन वाँच्ने शैलीका रुपमा मात्र ब्याख्या गरिएको छ । सत्यपथ, धर्म अनि मानवता लाई प्रकृतीप्रेम सगँ एकढिक्काका रुपमा सनातन धर्मले ब्याख्या गरेको छ ।

राम, उनको सत्यता अनि मर्यादा संसारमा सबैकालागी एउटा अनुकरणीय उदहारण हो, सत्यको जीत होस् अनि हामीसबैमा सत्य वोल्न सक्ने सार्मथ्य वढिरहोस् ।
जय होस्

छन्द दिवस


साहित्यको कविता विधामा प्रयोग हुने छन्दको संरक्षण सम्बन्धि कार्यक्रमहरु गरी आज छन्द दिवस मनाईंदैछ । कविता साहित्यमा छन्दको प्रयोग घट्‍दै गएको बिषयमा चिन्ता जनाउँदै कवि माधव वियोगीले वि.सं. २०५३ साल बैशाख ८ गते छन्द बचाउ अभियान सुरु गरेका थिए । छन्दको प्रयोगलाई पुन:र्स्थापना गर्ने प्रयत्न स्वरुप कवि वियोगीले अभियान सुरु गरेको दिन बैशाख ८ गते हरेक बर्ष छन्द दिवसका मनाउन थालिएको हो । नेपाल सरकार पञ्चाङ्ग निर्णायक समितिले बैशाख ८ लाई छन्द दिवसका रुपमा मनाउन सहमति दिएको थियो । छन्द दिवसको अवसरमा देशका अधिकांश साहित्यिक डबलीहरुमा छन्दमा लेखिएका कविताहरु बाचन गर्दै साहित्यिक कार्यक्रम आयोजना गरिन्छ । साहित्यमा काव्य संस्कृतिको रक्षा र छन्द शैलीको उजागर गर्न यो दिवस मनाइन्छ ।

जव कवितामा मात्रा अथवा वर्णहरूको संख्या, विराम, गति, गेयहरु नियमसंगत रुपमा मिल्दछ, तव छन्दात्मक रचना तयार हुन्छ । छन्दलाई पद्य लेखन अथवा वृत्त भनिन्छ । छन्द भनेको लय हो । सामान्य भाषामा छन्द लय मिलाएर कृति लेख्ने वा बाचन गर्ने तरिका हो । छन्द वेदको अर्को नाम पनि हो । वर्ण र मात्राको गेय व्यवस्था छन्द हो । भाषामा शब्द र शब्दहरूमा वर्ण र स्वरहरु रहन्छन् । निश्चित विधान अपनाएर वर्ण र स्वरहरुलाई व्यवस्थितगर्दा छन्द तयार हुन्छ । अर्को तरिकामा छन्द भन्नाले ध्वनिहरूको समष्टिलाई बुझिन्छ । ध्वनिलाई सानो अथवा ठुलो पारी लयहरुको व्यवस्थापन गर्नु नै छन्दात्मकताको प्रस्तुति हो । कवितामा छन्दलाई नौ रससँग मिसाएर प्रस्तुतगर्दा श्रवण गर्ने श्रोताहरु मन्त्रमुग्ध हुने गर्दछन् । लय मिलाएर बाचन गरिएका कवितालाई रुचिपुर्वक श्रवण गरिन्छ । छन्दमा श्रोतालाई लठ्ठ बनाउने शक्ति हुन्छ । तर यस्तो क्षमतायुक्त छन्दको प्रयोग भने कविता साहित्यमा घट्दै गएको पाइन्छ । छन्द- अद्भुत साहित्य प्रयोगलाई कविताका माध्यमबाट उतार्नु भने त्यति सजिलो छैन । छन्दमुलक लेखन कठिन लेखन हो । लेख्नमात्र हैन, वाचन गर्न पनि उतिनै कठिन हुन्छ । 'इ' कार, 'ऊ' कार जस्ता साना कुरालाई पनि मिलाउनु पर्ने र अन्य नियमहरुमा बाँधिएर कृति लेख्नु निकै चुनौतिपुर्ण हुन्छ ।
----
अभियन्ता वियोगी भन्नुहुन्छः "छन्द पुरानो भयो, यसको युग समाप्त भयो भनी अफबाह फैलाउने काम यो अभियान सञ्चालन पूर्व व्यापक थियो तर अभियान सञ्चालनपछि अहिलेको युग छन्दको युग बनेको छ भने छन्द नयाँ चिन्तन र नयाँ परिपाटीका लागि आधारशीला बनेको छ । छन्दका नाममा अभियान अन्तर्गत रही देशभर सञ्चालित कार्यक्रमले त्यो कुराको पुष्टि गरिसकेको छ । पुराना वस्तु यदि राम्रा र उपयोगी छन् भने तिनलाई उपयोगमा ल्याउनुपर्छ भन्ने मान्यता पनि छन्द अभियानको छ । पुरानो वस्तु त्याग्ने वा छन्दलाई पुरानो मान्ने हो भने हामी बसेको घर र पृथ्वी पनि पुरानो भएको छ । पुरानो भएपनि घर र पृथ्वी जसरी उपयोगी र अत्यावश्यक छन् । त्यसरी नै छन्द पनि अत्यावश्यक छ भन्ने मान्यताको विकास अभियानले गरेकैले आजको युग छन्दको युग बनेको हो ।"

वहाँ अगाडि थप्नुहुन्छ, "मैले छन्दलाई मानव सभ्यताको उषाकालसँग जोडेको छु । मिष्ठ भोजन, सौन्दर्यको प्राप्ति, सुमधुर वाणी, सुविधाजन्य वासस्थान र सन्तोष आदि मानिसका नैसर्गिक चाहाना हुन् । प्रत्येक व्यक्तिमा यी कुराको एषणा रहन्छ जस्को पूर्तिका लागि आत्मसंयमता, इमान्दारिता, साधना र सद्भावपूर्ण व्यवहारको आवश्यकता पर्दछ । त्यो व्यवहार नै छन्दसँग जोडिएको व्यवहार हो । पछि त्यस मानव एषणालाई वेदमा समावेश गरिएपछि मानवव्यवहारले लिपिवद्ध हुने अवसर पाएको मैले पाएको छु । छन्दलाई वेदको एक अङ्ग मानिएको छ । वेदका शिक्षा, निरूक्त, व्याकरण, ज्योतिष, कल्प र छन्द यी ६ अङ्ग मध्ये छन्दलाई पाउ मानिएको छ भने आखालाई ज्योतिष मानिएको छ । छन्द वेदको आधार हो जसको अभावमा वेद लङ्गडो मात्र नभएर स्वादहीन हुन्छ र ज्योतिष दृष्टिसँग सम्बन्धित भएकाले त्यसका अभावमा वेदको पनि अर्थ गौण बन्दछ ।"

"मद्वारा एकल रूपमा शुरू भएको आन्दोलन आज साझा आन्दोलन बन्नु र आन्दोलनकै प्रभावममा छन्दको विकास र प्रचारका लागि संस्था खोलिनुले छन्दको अपरिहार्यता पुष्टि भएको छ । छन्दमा फूटकर कविता, गजल, मुक्तक, खण्डकाव्य र महाकाव्य लेख्ने क्रम तीब्र बन्नु, छन्द प्रशिक्षण चलाइनु र छन्द जनिने गरी नाम राखिनुले पनि छन्दको सुदूर भविष्य समुज्जवल हुनु हो । छन्द आन्दोलनलार्इ टेवा दिने गरी मद्वारा सञ्चालित "महाकाव्यलेखन अभियान-२०६०" पनि सशक्त भइ हाल देशमा छन्दोबध्द महाकाव्य लेखन तीब्र गतिमा भइरहेका छन् । मैले यस अन्तर्गत पनि अनौपचारिक रूपमा प्रशिक्षण जारी राखेको छु ।"

"आन्दोलनको प्रभावमा हिजो अनिल पौडेलहरू खटेझैं अहिले केही साथीहरू रामप्रसाद ज्ञवाली, देवी नेपाल, कविराज पौडेल, रमेश शुभेच्छु लगायतले गरेका क्रियात्मक कार्य पनि छन्द विकासमा महत्वपूर्ण छन् ।"

"छन्ददिवस मनाउने कार्यमा साहित्यिक संघसंस्थाको सक्रियता बढ्दै गएको अवस्था एकातिर छ भने अर्कोतिर संचार माध्यमको चासो बढ्दै गएको छ । छन्ददिवस केही वर्ष त म एक्लैले मनाएँ । दिवस मनाउँदा, प्रशिक्षण दिदा र पत्रकार सम्मेलन गर्दा मैले लाख रुपैयाँ लगानी गरे र परिवारको सुख खोसें । परिणामत: छन्ददिवस् आयो, छन्दमा लहर आयो, लाखौंलाखको मन छोयो । सत्यको साधना अन्तत: फलदायी हुने रहेछ ।"

"कविशिरोमणि लेखनाथ पौडेल, छन्दशिरोमणि माधव घिमिरे र कविवर मुकुन्दशरण उपाध्यायलाई मैले आफ्ना लेखन आदर्श मानेक छु । उहाँहरूको सिर्जनाको प्रभाव कुनै न कुनै रूपमा छन्द आन्दोलनमा छ । मेरो बाँकी जीवन छन्द र महाकाव्य लेखनमै बित्नेछ । लामो समयदेखि मधुमेह रोगले ग्रसित छु र पनि छन्द विकास र महाकाव्य सिर्जनामा लाग्दा मलाई सकारात्मक ऊर्जा मिलेको छ ।"

---
छन्दलाई ऋग्वेदमा उल्लेख गरिएको छ । गद्य लेखनको नियमन व्याकरणबाट हुन्छ भने पद्यको नियामक छन्द शास्त्र हो । नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्यको रामायण पनि छन्दमा लेखिएको छ । रामायणमा “शार्दुलविकृडित” र “शिखरिणी” छन्दको प्रयोग धेरै छ । यी छन्दहरु संस्कृतका छन्दहरु हुन् । छन्दलाई मात्रा र वर्ण, स्वतन्त्र वा मिश्रित, यति, वैदिक र लौकिक र पिङ्गल आदिका आधारमा विभाजन गरिएको छ । छन्दको सवैभन्दा प्रचलित प्रयोग पिङ्गल नै हो । जस अनुसार अनुष्टुप, विद्युन्माला, इन्द्रवज्रा, उपेन्द्रवज्रा, उपजाति, वंशस्थ, स्रग्विणी, स्वागता, भुजङ्गप्रयात, तोटक, द्रुतविलम्बित, वसन्ततिलका, मालिनी, पञ्चचामर, मन्दाक्रान्ता, चित्रवतीहरिणी, चित्रलेखा, शिखरिणी, शार्दूलविक्रीडित, स्रग्धरा, आर्या, शालिनी, ललिता, पृथ्वी र मञ्जुभाषिणी छन्द हुन् । यिनीहरुलाई नै छन्दको प्रकारका रुपमा मानिएको छ ।

-----
हाम्रो पात्रोकालागी सुयोग ढकाल



आउँदा दिनहरु

राशीफल

साहित्य / ब्लग

Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.