Ganga Dasahara/World Refugee Day | गङ्गा दशहरा/विश्व शरणार्थी दिवस | २०७८ असार ६ | Hamro Patro

आउँदा दिनहरु

राशीफल

साहित्य / ब्लग

Jun/Jul 2021
२०७८ असार

आइतवार
Jun 20, 2021
Dashami
गङ्गा दशहरा/विश्व शरणार्थी दिवस ( Ganga Dasahara/World Refugee Day )
MY NOTE
तपाईँले आजको मिति पछि को नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

गङ्गा दशहरा | विश्व शरणार्थी दिवस




गङ्गा दशहरा विशेष अडियो सामग्री

पौराणिककालमा राजा भगीरथले आफ्ना साठी हजार छोराका मुक्तिका लागि तपस्या गरेर गङ्गा नदीलाई पृथ्वीमा ल्याएको दिनलाई गङ्गा दशहरा मानिन्छ । गङ्गादशहरा पर्व हरेक वर्षको ज्येष्ठ शुक्ल दशमी तिथिमा मनाइन्छ । अनि भनिन्छ, आजकै दिन धर्तीमा गंगाको अवतरण भएको विश्वास गरिन्छ । आजको दिन गङ्गा नदीमा स्नान या गङ्गाजलले आफूलाई पवित्र बनाउनु अत्यन्त लाभकारी मानिन्छ ।

दशयोग जोडिएको दिनलाई दशहरा अर्थात् दशमी पर्व मानिन्छ भने आजको दिन गङ्गा नदीमा स्नान गर्दा या गङ्गाजलले अभिषेक गर्दा मात्र पनि दश प्रकारका पाप नाश हुने धार्मिक विश्वास छ । पाप नाश हुने र सँगसँगै आज गङ्गा स्नान गरेर पितृलाई तर्पण दिँदा पितृले मुक्ति पाउने र स्वर्ग जाने र आफ्नो सबै मनको इच्छा पूरा हुने जनविश्वास पनि छ ।

गङ्गादशहराको अवसर पारेर नेपालको धार्मिकस्थल गोसाइँ कुण्डमा हरेक वर्ष भव्य मेला आयोजना हुने गर्छ । अघिल्लो र यो वर्ष भने कोरोना महामारीको कारण उक्त मेला आयोजना हुन सक्ने स्थिति रहेन । महामारी नहुँदा हरेक वर्ष आयोजना हुन्थ्यो । उक्त मेलामा हजारौँ स्वदेशी तथा विदेशी तीर्थालु तथा पर्यटकहरू गोसाइँकुण्ड पुग्ने गर्थे ।

यसरी धार्मिक मेलामा जाने भक्तजनले आफूले चिताएको पुग्ने, घरपरिवारमा सुख हुने, सन्तानको चाहना पूरा हुने र रोग नलाग्ने विश्वासका साथ हरेक वर्ष यो मेलामा भक्तजनको भीड लाग्ने गरेको पाइन्छ । गोसाइँ कुण्डमा यो किसिमका मेला वर्षको दुई वटा ठूलो पर्व भएको बेला लाग्ने गर्छ । अर्को ठूलो पर्व जनै पूर्णिमाको दिन पर्छ । गङ्गादशहरा पर्वको अवसरमा यस्तै भव्य मेला सुदूरपश्चिमको खप्तड क्षेत्रमा समेत लाग्ने गर्छ ।

यस वर्षको गंगा दशहरा एकाग्रतामा नै समापन भएको छ, भगवान शिवले आफ्ना भक्तहरूलाई भेट्न जान सक्ने माहौल सिर्जना गरून्, विश्वमाथि निलकण्ठको कृपा रहोस् ।

विश्व शरणार्थी दिवस


 

यो वर्षको शरणार्थी दिवस विश्वले अलिक फरक तवरले मनाउनुपर्नेछ । कोभिड १९ को महामारी र लकडाउन÷निषेधाज्ञाबीच विश्वले कुनै भेला, सभा या भीड भन्दा पर एक–अर्काको आपसी ऐक्यबद्धता, सद्भाव र मानवताको उद्घोषका साथ मनाउनेछ ।

सन् २०२० मा यूएनएचसीआरले आइभोरी भन्ने देशका २२ वर्षीय कलाकार ओ प्लेरुले बनाएका इमोजीलाई आधिकारिक शरणार्थी दिवसको इमोजी बनाएर उतारेको थियो । ट्वीटरले पनि यसलाई आधिकारिक मान्यता दिँदै विभिन्न ‘ह्याशट्याग’हरूको उदघोष गरेको थियो ।

यस इमोजीमा हृदय अर्थात् मुटुको आकृतिमा दुई वटा हातहरू मिलेको देखिएको थियो । यसरी सन् २०२० मा शरणार्थी दिवसको नारा र सांकेतिक पैरवीको शुरुवात सन् २०२१ मा पनि जारी छ । सन् २०२१ मा चाहिँ शरणार्थी दिवसको नारा कोरोना त्रासबाट नैरोग्यता, सिकाई र वृद्धिसँग सम्बन्ध राख्ने खालको छ । सन् २०२१ को शरणार्थी दिवसको नारा 'Together we heal, learn and shine' छ ।

शरणार्थी दिवसको उपलक्ष्यमा विश्वभरि अनेकन कार्यक्रमहरू आयोजना गरिन्छ । संक्रमणका कारण ‘भर्चुअल’ भेला र कार्यशालाहरू गरिने र मिडियामा अनेकखाले पैरवीमूलक अभियानहरू गरिने शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्चआयोग यूएनएचसीआरले जनाएको छ । यस वर्षको विश्व शरणार्थी दिवसमा संघारमा विश्वभरि विस्थापन बढेको र नाटकीय सामाजिक परिवर्तनको पृष्ठभूमिमा विश्व समुदाय नै उभिएको पाइएको छ ।

महामारी र भर्खरको रंगभेदी विरोधी प्रदर्शनले बढी समावेशी र न्यायसंगत विश्वको आवश्यकतालाई रेखांकित गरेको छ । युएनएचसीआर र यसका साझेदारहरूले लाखौँ शरणार्थीहरू र अन्य जबरजस्ती विस्थापित र राज्यविहीन मानिसहरू बचाउने प्रयासलाई जोड दिइरहेका छन् । स–साना समुदाय, कबिला या समूहमा बस्ने मानिस अब भौगोलिक रेखाभित्रका देश अनि सीमाभित्र बस्न थालेका छन् । उनीहरूको पहिचानको प्रथम चरण नै देशबाट शुरु हुन्छ, म फलाना देशको नागरिक, म ढिस्काना देशको नागरिक...।

तर केही यस्ता मानिसहरू पनि हुन्छन्, जसको देश त हुन्छ तर उनीहरू त्यस देशका नागरिक भएर बस्न पाउँदैनन्, यावत् कारणले । यस्ता मानिसहरू जब अर्कै कुनै देश या सीमामा बास माग्न या बस्न पुग्छन्, तब तिनीहरूलाई शरणार्थी भनिन्छ । शरणार्थीसम्बन्धी घोषणापत्र सन् १९५१ जारी भएको ५० वर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा बसेको संयुक्त राष्ट्र संघको साधारणसभाले सन् २००१ जून २० देखि अन्तर्राष्ट्रियस्तरमा शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो ।

राष्ट्रसंघीय उच्च आयोग (युएनएचसीआर) ले द्वन्द्व लगायतका कारणले धेरै मानिस विस्थापित भएको र यस्ता विषयको निराकरण छिटो हुनुपर्नेमा जोड दिँदै आएको छ । संयुक्त राष्ट्रसंघले अरु मानिसझैँ शरणार्थीहरू रहेको र उनीहरूले आफ्नो बसोबासमा सामान्य रूपमा फर्किन चाहने अधिकारलाई प्रमुखताका साथ उठाउँदै आएको छ । त्यसका लागि विश्वभर मानवीयता, सहअस्तित्व, विविधता र शरणार्थीहरूप्रति खुल्‍ला हृदयहरूको आवश्यकता छ । थोरै खानेकुराका पोका, महिला, लालाबाला अनि केही गुटी–गुन्टा अनि धेरै त्रास र भय बोकेर यसवर्ष पनि थुप्रै देशहरूबाट शरणार्थीका लावालस्कर निस्केका छन् ।

मध्यपूर्वी एसियाका देशहरू लगायत यसपाला सर्वाधिक चर्चामा रोहिँग्या मुसलमानहरू बर्मामा रहन–बस्न नसक्ने स्थिति पैदा भयो । अनि तिनी बंगलादेश लगायतका देशमा शरणार्थी बन्न बाध्य भएका छन् । शरणार्थी चाहे जुनसुकै देशका हुन्, तर तिनीहरूले जति गरिबी, भोकमारी, दुःख, जोखिम, उत्पीडन अनि बग्रेल्ती आँशुका ढिकहरू सायदै अरूले खसाउलान् ।

नेपालले पनि पालैपालो गरी शरणार्थीलाई बास दिएकै छ, कहिले तिब्बती त कहिले भुटानी शरणार्थीलाई बास दिएकै छ । देश सानो भएपनि नेपालले शरणार्थीप्रति देखाएको त्यो सदाशयताबाट विश्वले सिक्न पर्ने कुराहरू भने धेरै छ । नेपालमा अझ पनि २० हजारको हाराहारीमा तिब्बती शरणार्थीसहित सोमालिया, बंगलादेश, नाइजेरिया लगायतका देशका शरणार्थी छन् । नेपालमा भुटानबाट ठूलो संख्यामा आएका शरणार्थीहरू लामो समय नेपालमै बसोबास गरे । उनीहरूमध्ये धेरैलाई अष्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्याण्डस्, न्यूजील्याण्ड, नर्वे, बेलायत र अमेरिका लगायतका तेश्रो देशमा पुर्नबास गराइएको छ ।
छ दशक भन्दा बढी समयदेखि नेपालमा शरणार्थीको संख्या बढ्न थाले पनि नेपालले अझसम्म शरणार्थीसम्बन्धी राष्ट्रसंघीय अभिसन्धिमा हस्ताक्षर पनि गरेको छैन । शरणार्थीलाई सम्बोधन गर्ने राष्ट्रिय कानुन समेत बनाएको छैन । सायद आजको यस दिवसमा सरोकारवालाहरूको यतातिर पनि ध्यान जानेछ भन्ने कामना गरौं ।

आज विश्वभरिका देशका सरकारलाई आधारभूत यी बुँदाहरूमा स्वीकारोक्ति गराउन आह्वान गरिन्छ । हरेक शरणार्थी बालबालिकाले पढ्न पाउनुपर्छ, शरणार्थी परिवारले यथोचित बास पाउन र हरेक शरणार्थीले परिवार पाल्न केही काम या सीप सिक्ने मौका पाउन् । विश्वमा हरेक ११३ मानिसमध्ये १ जना शरणार्थी भएर घरबार छाड्न परेको तथ्यांक छ । तसर्थ, यो विषयलाई हामी सबैले ध्यान दिन जरुरी छ । विश्व बन्धुत्व र ‘बसुदैव कुटुम्बकम’को धारणा विश्वका हरेक देशले अपनाओस् । अनि युद्ध र प्राकृतिक प्रकोप कम होस्, जसले गर्दा शरणार्थी समस्या आफैँ समाधान हुनेछ । जून २० को शरणार्थी दिवसको सबैलाई शुभकामना ।

#WorldRefugeeDay #RefugeeDay #WithRefugees

हाम्रो पात्रोका लागि सुयोग ढकाल



आउँदा दिनहरु

राशीफल

साहित्य / ब्लग

Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.